coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पर्यटनमा पूर्वाधार

अन्तर्राष्ट्रिय स्तरमा नेपालको नामसँग जोडिएको छ यहाँको प्राकृतिक छटा, मानिसको मृदु मुस्कान र अनन्त सम्भावना । यही सुन्दर नामले भित्र्याउँछ यहाँ बर्सेनि लाखौं पर्यटक । प्रत्येक वर्ष जब अनुकूल मौसम सुरु हुन्छ, त्यति बेला पर्यटकीय चटारो सुरु हुन्छ । यो शारदीय मौसममा अहिले संसारभरिका पर्यटक यहाँ ओर्लिएका छन् । वर्षभरि काम गरेपछि प्राप्त हुने बिदा सदुपयोग गर्ने ध्येय उनीहरूको हुन्छ । संसारभरिका उत्कृष्ट गन्तव्यमध्येमा नेपाल पनि पर्छ । त्यही उत्कृष्टताले तिनलाई यहाँ ल्याइपु-याउने हो । घुमफिर मानिसको जीवनको अपरिहार्य गतिविधि हो । नयाँ ठाउँमा पुग्ने, त्यहाँको जनजीवनबारे बुझ्ने र त्यहाँका परिकार चाख्ने रहर कसलाई हुँदैन र ? यही इच्छाले मानिसलाई घुमाउँछ । नेपाल त यसै पनि रोमाञ्चक पर्यटनका निम्ति कहलिएको छ । संसारको छानो सगरमाथालाई नचुमी आरोहीहरूको इच्चा पूरा हुँदैन । बुद्धको देश धेरै संसारभरिका बौद्धमार्गीका निम्ति एक सपना हो । हिन्दू धर्मावलम्बीका आस्थाका धरोहर पनि यहीं छन् । विविध धर्म–संस्कृति र मानव सभ्यताबारे थाहा पाउन पनि नेपाल नआई सुखै छैन । यो एउटै मुलुकभित्र ६० भन्दा बढी जातजाति र एक सय २५ भन्दा बढी भाषाको उपस्थिति आफैंमा रोचक पक्ष छ । प्रकृतिका अनेकन रुप र आयामका निम्ति पनि नेपाल कहलिएको छ । यहाँको हावापानीमा रहेको विविधताले पनि संसारलाई आकर्षित गर्छ । संसारका धेरै मुलुक मौसमी चरम प्रतिकूलतामा बाँच्छन् । हामीकहाँ त्यति धेरै प्रतिकूलताको स्थिति छैन भने पनि हुन्छ । जेजति असजिला छन् ती हामीले पूर्वाधारको विकास गर्न नसकेका कारणबाट मात्र सिर्जित भएका हुन् । भौतिक पूर्वाधारको विकास गर्ने हो भने अहिले देखिएका प्राकृतिक विपद्बाट जोगिन हामीलाई कुनै समस्या छैन।

आन्तरिक पर्यटकको जुन हिसाबमा आकर्षण बढेको छ, त्यही रुपमा सेवासुविधा भने बढ्न सकेको छैन । मुस्ताङलगायतका ठाउँमा एकाएक आन्तरिक पर्यटक बढेका भए पनि तिनलाई राम्रो बासको व्यवस्था हुन सकेको छैन । राम्रो बस्ने व्यवस्था हुने हो भने तिनले स्थानीय स्तरमा धेरै खर्च गर्ने सम्भावना छ।

यो मुलुकको विविधताको अनुभूतिका निम्ति आउने पर्यटक विदेशीमै सीमित छैनन् । कुनै बेला हिमालका दृश्य, यहाँको प्रकृतिको आश्वादन केबल विदेशी पर्यटकले गर्ने हो भन्ने अनुभूति थियो । अहिले आन्तरिक पर्यटकमा समेत घुमफिरप्रतिको लालसा वृद्धि भएको देख्न सकिन्छ । आन्तरिक पर्यटकलाई खासै प्रोत्साहित नगर्ने र बाह्य मुलुकबाट आएकालाई मात्र ध्यान दिने गर्दा पनि ती निरुत्साहित हुने गरेको देखिन्थ्यो । अहिले स्थिति त्यस्तो रहेन । मुस्ताङमा एकै दिनमा चार हजार पर्यटक पुगेको खबरले विगतमा देखिएको प्रतिकूल अवस्था चिरिँदै गएको महसुस गर्न सकिन्छ । नेपालभित्रै आर्थिक गतिविधि बढ्न थाल्नु, मध्यम वर्गीय व्यक्तिहरूको संख्यामा वृद्धि हुनु र तिनले विदेशको समेत अनुभव गर्नुले अब देशभित्रै घुमफिर गर्नुपर्छ भन्ने भावना बलवान् भएको देखिन्छ । यसैकारण उनीहरू देशभित्रका उत्कृष्ट पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुन थालेका छन् । आन्तरिक पर्यटकले यहीं घुमफिर गर्दा दुईटा फाइदा हुन्छन् । एक, देशभित्रै आर्थिक गतिविधि वृद्धि हुन्छ । दुई, तिनले विदेश गएर खर्च नगरी आफ्नै मुलुकमा गर्छन् । दसैं–तिहारजस्ता चाडबाडका बेला नेपाली विदेशका पर्यटकीय गन्तव्य पुग्ने गरेको देखिन्छ । वास्तवमा तिनीहरूले देशभित्रै सुविधा पाउने हो भने सपरिवार घुमफिर गर्न जान प्रोत्साहित हुनेछन् । यसै पनि अहिले नेपालीहरूमा सपरिवार घुम्ने चलन सुरु भएको छ । यसरी घुमफिरले पारिवारिक वातावरणमात्र राम्रो बनाउँदैन, त्यसले गाउँघरमै गरिएका व्यवसायका निम्ति सहयोग समेत पुग्न जान्छ।

आन्तरिक पर्यटकको जुन हिसाबमा आकर्षण बढेको छ, त्यही रुपमा सेवासुविधा भने बढ्न सकेको छैन । मुस्ताङलगायतका ठाउँमा एकाएक आन्तरिक पर्यटक बढेका भए पनि तिनलाई राम्रो बासको व्यवस्था हुन सकेको छैन । राम्रो बस्ने व्यवस्था हुने हो भने तिनले स्थानीय स्तरमा धेरै खर्च गर्ने सम्भावना छ । यसै पनि नेपाली पर्यटकहरू बस्ने र घुम्नेमात्र होइन, खाना र पेयमा पनि राम्रै खर्च गर्नेमध्येमा पर्छन् । देशले सन् २०२० मा नेपाल भ्रमण बर्ष मनाउन लागेको छ । त्यो बेला यहाँ २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । वास्तवमा पर्यटक आगमनका हिसाबले नेपालमा कहिल्यै समस्या रहेन । द्वन्द्वकालमा समेत अन्तर्राष्ट्रिय पर्यटकले नेपालमा भ्रमण गरेको अनुभव छ । केही वर्षयता नेपालको सुध्रिएको राजनीतिक स्थितिले अन्तर्राष्ट्रिय जगत्को समेत ध्यानाकर्षण भएको छ । आफ्नो फुर्सदको समय बिताउन उनीहरू यहाँ आउँदा प्रशस्त गतिविधि गर्ने मौका पाउनुपर्छ । यस्ता पर्यटकका निम्ति नयाँ पदयात्रा मार्गहरूको पहिचान, रोमाञ्चक यात्रा गतिविधि, खेल कार्यक्रम आदिको व्यवस्था गर्न सकिन्छ । तर, अहिले पनि यहाँ आउने पर्यटकले सुविधा पाउन सकेका छैनन् । विमानस्थलमा घन्टौं प्रतीक्षा गर्नु, गन्तव्यमा सुविधा नपाउनु र पर्यटकीय उत्पादनमा विविधता नहुनुजस्ता समस्या छँदैछन् तैपनि तिनीहरू नेपाल आउन छाडेका छैनन् । नेपालीको कहिल्यै नबिर्सिने मिठो मुस्कानले तिनलाई यहाँ ल्याइरहन्छ । तर, हाम्रो पर्यटन व्यवसायलाई परिष्कार गर्ने र अहिले भइरहेको आम्दानीलाई अरु बढाउने हो भने सेवासुविधा विस्तारमा ध्यान दिनु उचित हुन्छ । इन्डोनेसियाको बाली, थाइल्यान्डको पताया वा यस्तै चलेका पर्यटकीय गन्तव्यले कसरी पर्यटकलाई आकर्षित गर्छन् भन्नेमा समेत ध्यान जानु आवश्यक छ । वास्तवमा पर्यटन भनेको केही नहुँदा पनि त्यहाँ केही ‘मिथ’ सिर्जना गरेर भए पनि पाहुनालाई आकर्षित गरिन्छ । हामीकहाँ भएकै क्षेत्रलाई व्यवस्थित गर्ने हो भने पनि अपेक्षित लाभ हासिल गर्न सकिन्छ । पर्यटकले यहाँ आएर दुःख भोग्नुप-यो भने तिनलाई निरन्तर आकर्षित गर्न सकिँदैन । पर्यटनमा पूर्वाधार तयार पार्न र यसको सिर्जनशील प्रयोगतर्फ हाम्रो ध्यान जानु आवश्यक छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App