७ वैशाख २०८१ शुक्रबार
समाज

अपहरण नाटक रच्दा प्रहरी खोरमा

काठमाडौं- बुधबार साँझ सात बजे एक हुल मान्छे महानगरीय प्रहरी परिसर, ललितपुर पुग्छन्। आत्तिएका उनीहरू परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीको कार्यकक्षमा पुगेर २० वर्षीया युवती अपहरणमा परेको र फिरौती मागिएको एसएमएस देखाउँछन्। अपहरणमा परेकी युवतीकी दिदीको मोबाइलमा ६ बजेर २७ मिनेटमा आएको एसएमएसमा बहिनी नियन्त्रणमा रहेको र भनेजति पैसा नदिए भारतको कोठीमा पुर्‍याइदिने उल्लेख थियो। अपहरणकर्ताले प्रहरीलाई खबर गरे वा फोन ट्याप गरे परिणाम प्रतिकूल हुने चेतावनी दिएका थिए।

एसएसपी अधिकारीले तत्काल डिएसपी इश्वर कार्कीको कमान्डमा अपहरणकारी र युवती खोज्न टोली तयार गरे। एसएमएस आएको १० मिनेटपछि फोन स्विच अफ भइसकेको थियो। लोकेशन हेर्दा चावहिल क्षेत्र देखियो। तर बाक्लो बस्ती चावहिलमा युवतीलाई हुलियाका भरमा खोजी गर्न कठिन थियो। तै पनि प्रहरीले प्रयास जारी राख्यो।

'हामीले पहिला परिवारसँग सोधपुछ थाल्यौं, एक युवकको नाम सामुन्ने आयो, हिरा भन्ने उक्त युवकका विषयमा बु‰दा अनुसन्धानमा कुनै लिड भेटिएन,' एसएसपी अधिकारीले थपे, 'परिवारबाटै अर्को युवकको नाम आयो, ती हाम्रो शंकाको घेरामा परे।'

प्रहरीले पारिवारिक स्रोतका आधारमा ती युवकलाई पछ्याउदा उनी सिन्धुपाल्चोकस्थित घरमा नभई काठमाडौं रहेको खुलेपछि प्रहरी टोली चावहिल क्षेत्रतर्फ हानियो। ती युवक फेला परे। तर सोधपुछबाहेक नियन्त्रणमा लिने प्रहरीसँग कुनै आधार थिएन। ती युवकले समेत युवतीको परिवारले भनेजस्तै युवती हिरा नामका युवकसँग गएको प्रहरीलाई बताए। त्यतिबेलासम्म प्रहरी अनुसन्धानको ६ घन्टा बितिसकेको थियो।

'हामीले शंकाको घेरामा रहेका युवकलाई प्राविधिक रुपमा पछ्याउँदै थियो, बुधबार राती ती युवक सुकेधारा दिदीकहाँ बसेको देखियो, हामी युवतीको खोजीमा थियांै,' डिएसपी कार्कीले नागरिकसँग भने। बिहान झिसमिसेमै प्रहरी फेरि शंकास्पद युवकलाई नियन्त्रणमा लिएर सोधपुछमा जुट्यो। यसपटक सिन्धुपाल्चोक, कर्थली–६ का सिजन भन्ने रामचन्द्र खत्री प्रहरी सोधपुछमा चुके। उनले आफू र अपहरणमा परेकी युवतीको सम्बन्ध विषयमा केही कुरा खोले। प्रहरीले सोध्दै जाँदा उनले अपहरणमा परेकी ललितपुर पाटनढोका बस्ने सिन्धुपाल्चोक, कर्थली–४ की साबु भन्ने सावित्री खड्का रहेको जानकारी प्रहरीलाई दिए।

प्रहरी रामचन्द्रले भनेअनुसार होटलमा पुग्दा युवती सामान्य अवस्थामा कोठामा बसेकी थिइन्। प्रहरीले दुबैलाई बिहीबार बिहान नियन्त्रणमा लिएर ललितपुर परिसर, ल्याएपछि अपहरणको गुदी कुरो खुल्यो। परिसरका अनुसार रोजगारका लागि भारत गएका रामचन्द्रले सरसापट लिएर नेटवर्क व्यवसायमा लगानी गरेका थिए। लगानी डुबेपछि उनी साथीभाइबाट भाग्दै नेपाल आए। छिमेकीसावित्रीसँग प्रेममा रहेका रामचन्द्रले आफ्नो पीडा उनलाई सुनाए। भारतीय चलचित्रबाट प्रभावित सावित्रीले अपहरणको जुक्ति सुझाइन्। दुबैले सावित्रीका बाबुको खातामा रहेको दुई लाख रुपैयाँ फिरौती माग्ने योजनासहित अपहरणको नाटक रचे।

'अपहरण गरेको र धम्कीपूर्ण एसएमएस पठाएको देखेपछि प्रहरीले सम्पूर्ण साधनस्रोत युवतीको खोजीमा खर्चेको थियो, भेटिँदा नक्कली अपहरण भन्ने खुल्यो, यो पनि अपराध नै हो,' एसएसपी अधिकारीले भने। परिसरले अपहरण जस्तो अपराधको नाटक रचेर कसुर गरेको ठहरसहित दुबैलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही चलाएको छ।

प्रकाशित: ७ आश्विन २०७३ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App