coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेताको नामका प्रतिष्ठान नियन्त्रण गर्न माग

काठमाडौं- नेकपा एमालेका नेताहरूले दिवंगत नेताको नाममा सञ्चालित प्रतिष्ठानमार्फत पार्टीभित्र गुटबन्दी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्। पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले गुटबन्दी अन्त्य गर्न प्रतिष्ठानमाथि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

नेताहरूले इतिहासको योगदान र भूमिकाभन्दा गुट मजबुत बनाउन त्यसलाई दुरुपयोग गरिएको गुनासो गर्दै यस्ता प्रतिष्ठानको माध्यमबाट जिल्ला तहसम्म संगठित गुटबन्दी भएको धारणा राखे। 'नेताहरूको नाममा रहेको प्रतिष्ठान/फाउन्डेसन/एकेडेमी कुन तहसम्म आवश्यक हो, त्यसबारे स्पष्ट नीति बनाउन आवश्यक छ,' पोलिटब्युरो सदस्य अरुण नेपालले बैठकमा भने, 'भ्रातृसंगठनजस्तो गरी संरचना निर्माण गरेर प्रतिष्ठान सञ्चालन गर्न दिँदा त्यसले घातक परिणाम ल्याउने छ।'

प्रदेश नम्बर ३ को टोली नेताको रूपमा धारणा राख्दै नेपालले कहाँ–कहाँ आवश्यक हो, त्यसमै यस्तो प्रतिष्ठानलाई सीमित गर्नुपर्ने सुझाव दिएका थिए। केन्द्रमा आवश्यक हो भने त्यसमै सीमित गर्न सुझाउँदै उनले भने, 'प्रदेशमा आवश्यक हो भने जिल्ला तहसम्म किन त्यसको संरचना आवश्यक पर्‍यो? जिल्लामा आवश्यक हो भने अरु जिल्लामा किन त्यसलाई विस्तार गर्नुपर्‍यो?'

शीर्ष नेतृत्वबाटै गुटबन्दी सुरु भएको भन्दै नेपालले शीर्ष नेताबाटै त्यसलाई समाप्त पार्न सामूहिक प्रतिबद्धता आउनुपर्ने बताए।

बिहीबारको बैठकमा नौवटा समूहमध्ये पाँच समूहका टोली नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमथि धारणा राखेका थिए। बिहीबार प्रदेश नम्बर २ का टोली नेता प्रल्हाद गिरी, प्रदेश नम्बर ४ का जगत विश्वकर्मा र प्रदेश नम्बर ७ का निरु जैरुले अध्यक्षका प्रतिवदेनमाथि धारणा राखेका थिए।

प्रदेश नम्बर ५ का टोली प्रमुख बैजनाथ चौधरीले बैठकमा २१ बुँदे सुझाव प्रस्तुत गर्दै नेताहरूलाई दसौं महाधिवेशनकेन्द्रित गरेर गुटबन्दी सुरु भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए।

'दसौं महाधिवशेन आउनु अझै तीन वर्ष बाँकी रहँदै नेताहरूले त्यसलाई लक्षित गरेर गुटबन्दी सुरु गरिसकेका छन्,' चौधरीले भने, 'त्यसलाई तत्कालै रोक्नुपर्छ। नत्र यसले पार्टीभित्र ठूलै समस्या सिर्जना गर्ने छ। यस्ता गतिविधि रोक्न आवश्यक छ।'

प्रकाशित: ७ आश्विन २०७३ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App