८ वैशाख २०८१ शनिबार
कला

‘बोहिमियन रप्सोडी’को कभर गाउने प्रतिस्पर्धा

काठमाडौं – हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपाली दर्शकमाझ कभर गीत प्रतिस्पर्धाको घोषणा गरेको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले आयोजना गरेको स्पर्धामा भाग लिन चाहनेले बेलायती रक ब्यान्ड ‘क्विन’को कुनै एक गीतमाथि कभर गीत निर्माण गर्नु पर्नेछ।

ब्यान्डका लिड भोकलिस्ट फ्रेडी मक्र्युरीमाथि बनेको बायोपिक–म्युजिकल फिल्म कात्तिक १६ गते नेपाल रिलिज हुँदैछ । विजेताले कुनै एक नेपाली लोकप्रिय ब्यान्डसँग मिलेर पर्पल हेज ठमेल, टंगालउड नक्साल, मोक्ष झम्सिखेल र क्लब फरेनहाइट ठमेलमा कन्सर्ट प्रस्तुत गर्न पाउनेछन् । मोक्षमा शनिबार बेलुका कन्सर्ट हुँदैछ।

फिल्मको शीर्षक पनि मक्र्युरीले सन् १९७५ मा लेखेको हिट गीत हो । जुन ‘अ नाइट एट द ओपेरा’मा समावेश छ । युकेको चार्ट–बस्टरमा यस गीतलाई अहिलेसम्मकै तेस्रो सर्वाधिक बेस्ट–सेलिङ गीतको रुपमा लिइन्छ।

पठाइएका गीतलाई जुरी मतको आधारमा उत्कृष्ट घोषित गरिने एप्पल इन्टरटेनमेन्टले जनाएको छ । एक मिनेट लामो भिडियोलाई विजेताले आफ्नो फेसबुक पेजमा पोस्ट गर्नुपर्नेछ । पहिलोपटक हलिउड फिल्म प्रवद्र्धनका लागि यस्तो अभियान थालिएको एप्पलले जनाएको छ।  

ब्रायन सिंगर निर्देशित फिल्मले ‘क्विन’ गायक मक्र्युरीको जीवन र सन् १९८५ मा बेलायतको वेम्वली स्टेडियममा उनले प्रस्तुत गरेको लाइभ–एड प्रस्तुतिको कथा भन्छ । मक्र्युरीको भूमिकामा हलिउडमा क्रिटिक्स र गोल्डेन ग्लोब अवार्ड जितेका रमी मलिकले अभिनय गरेका छन् । फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।

प्रकाशित: ८ कार्तिक २०७५ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App