८ वैशाख २०८१ शनिबार
अर्थ

एक वर्षमा ३४ अर्ब लगानी थपियो

बुटवल - प्रदेश ५ मा उद्योग क्षेत्रको लगानी बढ्दै गएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा मात्रै यो प्रदेशमा झन्डै ३४ अर्ब औद्योगिक लगानी भित्रिएको छ । ५३ वटा नयाँ उद्योगमार्फत झन्डै ३४ अर्बको लगानी थपिएको हो।

गत आर्थिक वर्ष २०७४/७५ मा यो प्रदेशमा ३३ अर्ब ८५ करोड २६ लाख रुपैयाँबराबरको औद्योगिक लगानी भित्रिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उद्योग क्षेत्रमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७० प्रतिशतभन्दा बढी लगानी थपिएको छ । जसमा आन्तरिकसँगै बाह्य लगानी पनि बढेको छ । कुल औद्योगिक लगानीमध्ये १२.९४ प्रतिशत वैदेशिक लगानी छ।

प्रदेशका विभिन्न जिल्लामा खुलेका ठूला र मझौला उद्योगमा चार अर्ब ३८ करोड २९ लाख रुपैयाँ बाह्य लगानी  छ । जसमध्ये सबैभन्दा बढी भारत र चीनले यस क्षेत्रमा लगानी गरेका छन् । एक वर्षमा दुई अर्ब ९१ करोड २९ लाख रुपैंयाँ भारतीय लगानी थपिएको छ । चिनियाँ लगानीकर्ताले एक अर्ब ३५ करोड १० लाख रुपैयाँ उद्योगमा लगानी गरेका छन् । त्यस्तै अमेरिका, जापान, डेनमार्क अस्ट्रेलियाले पनि औद्योगिक क्षेत्रमा लगानी गरेको मन्त्रालयले जनाएको छ।

प्रदेश ५ भारतसँगको आयात निर्यातका लागि सहज र नजिकको दूरी भएको प्रदेश हो । चौतर्फी सडक सञ्जाल, भारतसँगको नजिकको दूरी, औद्योगिक कच्चा पदार्थको उपलब्धतासँगै सुरक्षा चुनौती कम हुनु र लगानी सुरक्षाको प्रत्याभूतिका कारण औद्योगिक लगानी भित्रने क्रम बढेको जानकारहरु बताँउछन्।

गत वर्ष सबैभन्दा धेरै २३ मझौला उद्योग, १५ ठूला र साना १३ नयाँ उद्योग स्थापना भएका छन् । औद्योगिक ऐनअनुसार १० करोडभन्दा माथिको अचल सम्पत्ति हुने उद्योग ठूला, तीन करोडदेखि १० करोडसम्मका मझौला र तीन करोड मूल्यबराबरको अचल सम्पत्ति भएका उद्योग साना उद्योगअन्तर्गत पर्दछन्।

यो प्रदेशमा लगानीकर्ताको पहिलो रोजाइमा रुपन्देही र नवलपरासी जिल्ला परेका छन् । गत वर्ष थपिएका ५३ उद्योगमध्ये ३० उद्योग यी दुई जिल्लामा स्थापना भएका छन् । रुपन्देहीमा सबैभन्दा धेरै १७ र नवलपरासीमा १३ उद्योग दर्ता गरी सञ्चालनको तयारीमा छन् । केही सञ्चालनमा आइसकेका छन् । त्यस्तै कपिलबस्तुमा सात, बाँकेमा सात दाङमा तीन, बर्दियामा तीन र पाल्पामा एउटा उद्योग दर्ता भएको छ । केही वर्षअघिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेला समेत तुलनात्मक रुपमा यो प्रदेशको मुख्य नाका बेलहिया शान्त र सहज रह्यो । प्रतिकूल अवस्थामा समेत भैरहवास्थित बेलहिया नाकाको आयात निर्यात नरोकिएको र सुरक्षा चुनौती पनि कम देखिएकाले लगानीकर्ताहरु यहाँ उद्योग खोल्न आकर्षित भएको उद्योग वाणिज्य संघ प्रदेश पाँचका उपाध्यक्ष दिपक पौडेलले बताए।

यहाँ थपिएका ठूला उद्योगमा विशेषगरी निर्माणजन्य र पर्यटन उद्योगमा लगानी धेरै छ । उत्पादनमूलक तथा सेवामूलक उद्योगमा लगानीकर्ताहरु बढी आकर्षित भएको प्रदेश उद्योग वाणिज्य संघका एसोसियट उपाध्यक्ष पौडेलले बताए । सिमेन्ट तथा क्लिंकर उद्योगका लागि आवश्यक कच्चा पदार्थ चुन ढुंगाका खानीहरु रहेको पाल्पा, प्युठान, अर्घाखाँचीमा खानी उद्योग सञ्चालनका लागि समेत लगानीकर्ताहरुले चासो देखाएको उनले बताए।

बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देही, बाँके र बर्दियामा भने पर्यटन उद्योग अर्थात होटल व्यवसायमा लगानी बढ्दो छ । यो प्रदेशमा औद्योगिक विकासको मुख्य बाधक ऊर्जा र जग्गा व्यवस्थापन हो । लोडसेडिङ हटेको भनिए पनि औद्योगिक क्षेत्र र करिडोरमा अहिले पनि पर्याप्त विद्युत् आपूर्ति हुन नसकेको उद्योगीहरुको गुनासो छ।

जग्गा अत्यधिक महंगो हुँदा धेरै लगानी जमिनमै खर्चिनु पर्ने र जनशक्ति अभावको समस्या रहेको बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल श्रेष्ठले बताए । यी समस्याको बेलैमा सम्बोधन गर्न सके प्रदेशमा औद्योगिक लगानी अझ बढ्ने र उत्पादनमूलक उद्योगको विस्तारले आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनले बताए । औद्योगिक क्षेत्र निर्माण र प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने श्रेष्ठको भनाइ छ।

उद्योग मन्त्रालयका अनुसार प्रदेश पाँचमा साना, मझौला र ठूला गरी हाल आठ सय २७ वटा उद्योग सचालनमा छन् । ती उद्योगमा ४० हजारले रोजगारी पाएका छन्।

प्रकाशित: ८ कार्तिक २०७५ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App