coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सुझबुझपूर्ण प्रशासक–प्रकाशक

हेमराज ज्ञवालीका बारेमा सुरुदेखि अन्त्यसम्म त जानकारी छैन, किनभने हाम्रो क्षेत्र नै अलग प¥यो । उहाँ कर्मचारी हुँदै मिडिया उद्यमी हुनुभयो, म राजनीतितर्फ लागेँ । क्षेत्रका हिसाबले पनि म पूर्वको र उहाँ पश्चिम गुल्मीका बासिन्दा पर्नुभयो । म आफू राजनीतिक गतिविधिमा सक्रिय हुन थालेपछि उहाँको बारेमा जानकारी भयो।

१९९५ सालमा जन्मिएका ज्ञवाली २०१७ सालतिरै सरकारी सेवामा प्रवेश गर्नुभयो । उहाँ कर्मचारी हुँदाका केही मिठा अनुभूति छन् । ०२८÷०२९ तिर उहाँ झापामा सिडियो (प्रमुख जिल्ला अधिकारी) हुनुहुन्थ्यो । जुन बेला हामी झापा आन्दोलन गर्दै थियौँ । झापा आन्दोलन सुरुमा शान्तिपूर्ण तरिकाले नै चलिरहेको थियो।

०२८ साल पछि गएर हामीले शान्तिपूर्ण आन्दोलनमाथि दमन हुन थालेपछि प्रतिकार गर्दै हिंसात्मक बाटो अवलम्बन ग-यौँ । आन्दोलन हिंसात्मक हुँदा नहुँदै उहाँ सिडियो भएर झापा आउनु भयो । त्यतिबेला सिडियो र जिल्लाको हाकिमको हिसाबले आन्दोलनलाई दमन गर्नुपर्ने हुन्थ्यो । पञ्चायती व्यवस्थाको मुल आधार नै त्यही थियो । हामी पञ्चायत मात्र नभएर राजतन्त्रकै विरोध गर्ने शक्तिलाई माया गर्नुपर्ने वा सदभाव गर्नुपर्ने अवस्था थिएन् । तर उहाँ त्यतिबेला पनि विपक्षिलाई समेत कानुनी दायरामा लैजाने र कानुन भन्दा बाहिर जानु हुन्न भन्ने मान्यतामा अडिग हुनुहुन्थ्यो।

पहिले पक्राउ परेका साथीहरुले झापाका सिडियो दमन र कुटपिट गर्ने प्रवृत्तिको विरुद्धमा छन् भन्ने गरेको सुन्थ्यिो । त्यति मात्र होइन, पछि ०२९ फागुनमा हाम्रा गिरफ्तार गरिएका पाँच जना योद्धाहरु खास गरी रामनाथ दाहाल, नेत्र घिमिरेलाई गिरफ्तार गरेपछि सुखानीमा लगेर त्यतिबेलाको पुलिस प्रसासनले विशेष गरी अन्चलाधिश त्यतिबेलाका छिरिङ तेन्जिङ लामा थिए । उनी गिरफ्तारपछि काठमाडौमा आएर दरकारका कर्मचारीसँग कुरो मिलाएर षडयन्त्रको योजना बनाए । माथिल्लो तहको त्यो षडयन्त्रको योजनामा पनि हेमराज ज्ञवालीलाई सहभागी गराएनन् भन्ने चर्चा सुनिन्थ्यो । जिल्लाको प्रशासक हुँदा त उनलाई स्वभाविक रुपमा संलग्न गराउनुपर्ने हो । त्यतिबेला अन्चलाधिश सहायक मन्त्री सरह हुन्थे, पुलिस प्रशासन अञ्चलाधिशको कमाण्डमा चल्ने, ऊ राजनीतिक नियुक्तिको मान्छे, उसले जे भन्यो पुलिसले उसैको आदेश मान्थे किन भने अञ्चलाधीश सिडियो भन्दा माथिको भएपछि त पुलिसले उसैको आदेश मान्नेभयो।

त्यहाँ छिरिङको दबदबा र उसको दमनमा जाने पुलिसलाई आदेश दिन गतिविधि चर्काे सुनिन्थ्यो । तर त्यतिबेला आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ, असंवैधानीक, गैरन्यायीक हत्या गर्नु हुँदैन भन्ने मान्यतामा सिडियो छन् भन्ने कुराको चर्चा सुनिन्थ्यो । हामी गिरफ्तार भएपछि उहाँको बारेमा धेरै जानकारी हुन सकेन।

तर उहाँ पञ्चायतको प्रशासक भएर पनि गैर कानुनी हत्याको पक्षमा नरहेको सिडियो हुनुहुन्थ्यो भन्ने चर्चा निकै सुनिन्थ्यो । हामी आन्दोलनकारी भएकाले भेट् हुने कुरा त भएन । त्यसमाथि म त्यतिबेला भूमिगत पनि थिएँ । पछि साथीहरु ०२९ फागुन २१ गते साथीहरु मारिए । २०३० सालमा म गिरफ्तार भएँ । मेरो गिरफ्तारको अलि पछाडी हो वा त्यही आसपास उहाँ सिडियोबाट हटिसक्नुभएको थियो । सम्भवत म गिरफ्तार हुँदा उहाँ सिसियोबाट सरुवा भइसक्नुभएको थियो । त्यसपछि बीचका उहाँका गतिविधिबारे म जानकार हुन सकिन । पछि बहुदल आइसकेपछि ०४९ सालतिर कान्तिपुर प्रकाशन सुरु भयो । उहाँ त्यसमा जोडिएपछि उहाँसँग भेट बाक्लो भयो । मलाई त्यतिबेला पनि के लाग्यो भने, मान्छेले उद्योग गरेर पैसा कमाउन खोज्नु स्वभाविक हो।

बहुदल लागेपछि धेरै मान्छे सत्ताको नजिक भएर पैसा कमाउन थाले । कालो बजारी गरेर कमाउने, नेताहरुको पछि लागेर कमाउने प्रवृत्ति थियो । धेरै मान्छेका लागि पैसा कमाउने माध्यम यस्तै उपाय थिए । स्वतन्त्र पेशा गरेर वा मेहनत गरेर पैसा कमाउने भन्दा प्रचार गरेर पैसा कमाउनेका संख्या अत्यधिक बढ्यो । त्यसको प्रतिछायाँ राजनीतिक क्षेत्रमा पनि पुग्यो । राजनीति गर्ने मान्छेहरु पनि राजनीति भन्दा अलि बढी पैसा कमाउने तर्फ लागे भन्ने हल्ला व्यापक भयो र राजनीति प्रति धेरै वितृष्णा पनि भयो।

तर हेमराजजी २७/२८ वर्ष सरकारी सेवामा महत्वपूर्ण भूमिकामा रहेर काम गरेको मान्छेलाई पैसा कमाउने अरु पनि उपायहरु थाहा थियो होला । सत्तासँग पनि उहाँ निकट हुनुहुन्थ्यो होला । उहाँ त्यहाँ लागेर पनि पैसा कमाउन सक्नुहुन्थ्यो । त्यसो नगरेर देशको प्रजातान्त्रिक आन्दोलनलाई अघी बढाउने किन भने सञ्चार जगत भनेको राजनीतिसँग जोडिएको हुन्छ । त्यसमा पनि राजनीतिक दलको मुखपत्र भएर घुर्काएर कमाउने एउटा तरिका हुन्छ । त्यस्तै राजनीतिक गतिविधिमा आलोचनात्मक, समालोचनात्मक रुपले उभिएर राजनीतिलाई पनि पारदर्शी बनाउने बनाउने अर्काे पक्ष हो । उहाँले साच्चिकै अप्ठेरो पेशा अपनाउनुभयो।

बहुदल आएर पनि मानिसहरुमा बहुदलिय आचरण र चिन्तन देखिन सकेको थिएन् । कानुन त बहुदल आयो तर नेताहरुको संस्कारमा बहुदल आइसकेको थिएन् । देशमा प्रजातान्त्रिक वातावरण भावनामा देखिन सकेको थिएन् । त्यस्तो बेलामा उहाँले सञ्चार उद्यामशीलता रोज्नुभो र आफूसँग भएको ठूलो लगानी गरेर कान्तिपुर जस्तो महत्वपूर्ण ब्रोडसिट दैनिक निकाल्ने पहिलो अभियानकर्ताका रुपमा उहाँ अगाडी आउनुभयो । उहाँसँग एउटा टिम थियो होला तर उहाँकै नाम अगाडी आउँथ्यो।

त्यसबीचमा कान्तिपुरकै वार्षिक उत्सवका अवसरमा उहाँसँग अन्तरंग छलफल पनि भएको थियो । उहाँले त्यतिबेला झापा आन्दोलनका बारेमा हामी गिरफ्तार हुने साथीहरु मारिने घटनालाई पनि उहाँले सान्दर्भिक ढंगले उठाउनुभयो । त्यहाँ भएका घटनाहरुका बारेमा बताउँनु भयो र त्यहाँ उहाँले आफूसँग त्यतिबेलाका तस्वीरहरु पनि रहेको बताउनु भएको थियो । पछि तस्वीर लिन धेरै कोशिश पनि गरियो । उहाँले पनि पुराना कुरा भएकाले फेला पार्न सक्नुभएन् ।
उहाँले नै छ भन्नु भएको थियो, पछि पनि खोज्दै छु भन्नुभएको थियो । त्यतिबेला उहाँ हिंसाको पक्षमा हुनुहुन्नथ्यो । र सरकारको पक्षबाट हुने प्रतिहिंसाको पनि उहाँ विपक्षमा हुनुहुन्थ्यो । उहाँले पछि गएर जुन पेशा अर्थात सञ्चार उद्यमी बन्ने निर्णय गर्नुभयो, त्यो राजनीतिलाई प्रजातान्त्रिक चरित्रमा लैजाने पेशा थियो । स्वतन्त्र पत्रकारीताले राजनीतिलाई जिम्मेवार बनाउन भूमिका खेल्छ । यस्तो पेशा अवलम्बन गरेर उहाँले नेपालको पत्रकारिता जगतमा नयाँ छाप छोड्न सफल हुुनुभयो । कान्तिपुरमा केही असहमति थिए होला त्यसैले उहाँले त्यसलाई सिरोहिया गु्रपलाई जिम्मा लगाएर नागरिकको स्थापना गर्नुभयो । जुन अहिले पनि महत्वपूर्ण सञ्चारगृहका रुपमा रहँदै आएको छ।

उहाँ सामान्य नागरिकबाट कर्मचारी हुनुभयो र राम्रो कर्मचारीबाट राम्रो सञ्चार उद्यमी बनेर चाकरी गर्ने राजनीतिक संस्कारलाई प्रजातान्त्रिक बाटोमा हिडाउँन सफल हुनुभयो । उहाँ हाम्रो बीचमा नरहेपनि भोलीका दिनमा सञ्चार क्षेत्रको अगुवाका रुपमा उहाँ लामो समयसम्म पनि सम्झिइरहनुहुनेछ।

म ०५४/०५५ मा सञ्चार मन्त्री हुँदा पनि उहाँसँक कुनै द्वन्द्व भएन र उहाँले पनि कुनै गुनासो गर्नुभएन् । हामी भेटघाट हुँदै निकै राम्रो सम्बन्ध थियो । मैले सञ्चार क्षेत्रलाई असर गर्ने कुनै नीति पनि अवलम्बन गरिँन् । उहाँसँग कुनै नमिठो घटना भएन् । म राजाको मन्त्री हुँदा समेत उहाँसँग कुनै किसिमको असमझदारी भएन् । बरु कैलाश सिरोहीयाप्रति त्यतिबेलाको मन्त्रीपरिषद अलिकति नकारात्मक थियो । कारण भने मलाई थाहा छैन । तर ज्ञवालीजीप्रति त्यस्तो कुनै नकारात्मक धारणा थिएन् । उहाँ विवादमै नपरी कान्तिपुरबाट बाहिरिएर नागरिक स्थापना गर्नुभयो । नागरिकमा पनि उहाँ कहिले पनि विवादमा पर्नुभएन्।

म उहाँलाई असल र सचेत नागरिकका रुपमा सम्झिन्छु । उहाँ कर्मचारी हूँदा पनि कुनै नराम्रो काम गर्नुभएन र सञ्चार उद्यमीका रुपमा पनि उहाँ कहिल्यै विवादित हुनुभएन् । उहाँले राजनीतिलाई बिग्रन नदिन सचेत बनाउने काममा लागिरहनुभयो । उहाँप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु।

नागरिक संवाददाता वसन्त खड्कासँगको कुराकानीमा आधारित।

प्रकाशित: ८ कार्तिक २०७५ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App