coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

उहाँको त्यो ढाडस

‘यो ठाउँमा पहिले सुपरमार्केट थियो, पत्रिका बन्द गरे भने हामी सबै मिलेर बरु फेरि त्यही चलाउँला, तर तपाईंहरू लेख्न चाहिँ नहच्किनु होला है,’ हल्का हाँस्दै उहाँले तीनकुनेको कार्यालय भवनमा भनेको यो कुरा अहिले मेरो स्मरणमा आइरहेको छ।

२०६१ सालको अन्त्यतिर, राजा ज्ञानेन्द्रले सत्ता हत्याएको धेरै भएको थिएन । पहिले त उनले पत्रिकाको कार्यालयमै बर्दीधारी सैनिक तैनाथ गराएका थिए । कलम बोकेका पत्रकार होइन बन्दुक भिरेका सैन्य अधिकारी पत्रिकाका वास्तविक सम्पादक बनेका थिए । केही समयपछि समाचारकक्षबाट फौज त हट्यो, तर त्रास हटिसकेको थिएन। सञ्चार माध्यममाथि अंकुश लगाउने वा कुनै ढंगबाट प्रभावमा लिने प्रयत्न जारी थियो । त्यस्तो विषम बेलामा कान्तिपुर पब्लिकेसन्स्का तत्कालीन अध्यक्ष हेमराज ज्ञवालीले हामीलाई दिएको त्यो ढाडस अर्थपूर्ण थियो।

पब्लिकेसन्स्का अध्यक्ष ज्ञवालीबाटै त्यस्तो अडान प्रकट भएपछि सम्पादकहरूको आधा काम पूरा भइसकेको थियो, बाँकी के भयो त्यो इतिहास बनिसकेको छ।

पब्लिकेसन्स्का चारैजना सम्पादकहरू (उसबेला नारायण वाग्ले, प्रतीक प्रधान, सुवास ढकाल र म थियौँ) सँग हरेक बिहीबार दिउँसो उहाँको संयुक्त बैठक चल्थ्यो, जसको समन्वय तत्कालीन सल्लाहकार सम्पादक श्यामबहादुर केसीले गर्नुहुन्थ्यो । केही सातायता हाम्रो छलफल स्वाभाविक रूपले प्रेसमाथि चलिरहेको शाही डण्डा वरिपरि घुम्दै आएको थियो । सम्पादकहरू त स्वभावैले जोखिम मोल्न खोज्ने भइहाले, त्यस दौरान अध्यक्ष ज्ञवालीबाट पनि ‘पत्रिका बन्द गरे–गरून्, समाचार लेख्न नडराउनु होला है’ भन्ने आशयको आड प्रकट हुनु चाहिँ अनपेक्षित थियो।

‘अनपेक्षित’ यस अर्थमा कि उसबेला कतिपय प्रकाशक शाही मन्त्रीसित हिमचिम बढाउने या शशिभवनतिर सम्बन्ध–सूत्र खोज्ने चक्करमा लागिसकेका थिए । अझ अध्यक्ष ज्ञवालीले त पञ्चायतकालीन प्रशासनमा लामो समय काम गरेको, अनि तुलनात्मक रूपले परम्परागत सोच राख्ने ठान्ने गरिएको आदि कारणले उहाँको शाही सत्तातर्फ स्वाभाविक झुकाव होला जस्तो लागेको थियो । तर त्यस दिन त्यसविपरीत प्रतिक्रिया आयो । उहाँमा प्रतिवादी सोच कुन मोडबाट मुखरित हुन थाल्यो, अनि त्यसो हुनुमा उसबेला कान्तिपुरको व्यवस्थापकीय साझेदारीमा रहेका कैलाश सिरोहिया र विनोदराज ज्ञवालीको के–कस्तो भूमिका रह्यो, त्यो उहाँहरू स्वयंले राम्रोसँग बताउन सक्नु होला । तर प्रकाशनका अध्यक्षबाटै अडान प्रकट भएपछि सम्पादकहरूको आधा काम पूरा भइसकेको थियो । बाँकी के भयो, त्यो इतिहास बनिसकेको छ।

म उसबेला नेपाल म्यागेजिनको सम्पादक थिएँ । साप्ताहिक पत्रिका भएकाले प्रायः  बिहिबारे बैठकमा मात्र हेमराज सरसँग भेटघाट हुन्थ्यो । अरू बेला खासै काम पर्दैन थियो । उहाँ सक्रिय प्रकाशकभन्दा पनि भद्र अभिभावक जस्तो लाग्थ्यो । यदाकदा आफूले पाएका प्रतिक्रिया सुनाउनु हुन्थ्यो । अनि कहिलेकाहीँ पुस्तक समीक्षा, कविता र आध्यात्मिक लेख सिफारिस गर्नेबाहेक अनावश्यक दबाब झेल्नु पर्दैन थियो । त्यस्ता सामग्री पनि आफूलाई उचित लागेका छापिन्थे, अरू टेबलमै रहन्थे– खासै गुनासो आउँदैन थियो । दैनिक पत्रिकाका तत्कालीन सम्पादकहरूको अनुभव कस्तो रह्यो कुन्नि, मैले जेपी (जानैपर्ने) भन्ने गरिएका समाचारको भार पनि व्यहोर्नु परेन।

हेमराज ज्ञवालीको आठ दशक लामो जीवनयात्राका अनेक पाटाहरू होलान्, तर उहाँलाई मुख्य रूपमा सम्झने दुइटा कारणले हो । एउटा, निजामती सेवामा लामो समय बिताएको प्रशासकका रूपमा । अर्को, व्यावसायिक पत्रकारिताको प्रवद्र्धनमा भूमिका खेल्ने अग्रणी व्यक्तित्वका रुपमा । उहाँको अघिल्लो भूमिकालाई पछिल्लोले उछिनेको छ । मुलुकमा निजी क्षेत्रको पहिलो ठूलो व्यावसायिक सञ्चार गृह स्थापना गर्ने श्याम गोयन्काको सुरुवाती प्रयासलाई ज्ञवाली परिवार र सिरोहिया समूहले साथ नदिएको भए सायद अहिले नेपाली प्रेसको परिदृश्य अर्कै हुन्थ्यो होला । त्यो उदाहरणीय सफलतालाई हेरेरै थुप्रैले थुप्रै लगानी र ऊर्जा खनाएका हुन् दैनिक पत्रिका, टिभी र रेडियोको क्षेत्रमा– जसको विस्तारित रूप अहिले यत्रतत्र देख्न सकिन्छ।

साझेदारी आफैँमा सहज यात्रा हुने गरेको छैन, नेपाली समाजमा । करिब १५ वर्षपछि त्यो टुट्यो । त्यो टुट्दाको अनेक अन्तरंगका साक्षी संयोगले हामी केही पनि बन्न पुग्यौँ । त्यो सामान्य व्यापारिक–व्यावसायिक विभाजनमात्र थिएन, त्यससँग सयौँ पत्रकारहरूको भविष्य र हजारौँ पाठकहरूको विश्वाससमेत जोडिएको थियो । त्यस बखतका तिक्ततापूर्ण क्षण र रमाइला मोडहरू आफैँमा छलफलका छुट्टै विषय हुन् । सामान्यतः हाम्रो समाजमा फुट्नुलाई राम्रो मानिन्न, तर त्यो विभाजनको राम्रो परिणाम के भइदियो भने त्यसले अर्को एउटा नयाँ सञ्चार संस्था जन्मायो । नागरिक र रिपब्लिकाको दश वर्षे यात्राको प्रस्थानविन्दु त्यही घटना बन्न पुग्यो । पुरानो र नयाँ दुवै सञ्चार गृहको अभिभावकीय नेतृत्वमा एकै व्यक्ति रहन पुग्नुभयो– हेमराज ज्ञवाली । नेपाली पत्रकारिता जगत्को विकासक्रममा उहाँलाई यसरी पनि सम्झिइनेछ।

म कान्तिपुरको सम्पादक बन्ने, अनि उहाँहरू (ज्ञवाली समूह) कान्तिपुरबाट बाहिरिने काम सँगै भएको थियो– २०६५ सालमा । त्यसैले दैनिक पत्रिकाको सम्पादकका रूपमा उहाँसँग दैनन्दिन कार्य गरेको अनुभव मेरो छैन । तर त्यसअघि एउटै प्रकाशनमा पाँच–छ वर्ष उहाँलाई व्यवस्थापकीय अनुहारका रूपमा देख्दा–भोग्दा मैले कहिल्यै असहज महसुस गर्नुपरेन– सायद कार्यकारिणी भूमिकामा नभएर पनि होला । बरू जे–जति सजिला र अप्ठ्यारा क्षणहरू आए÷गए, ती प्रायः कैलाश/विनोद सरकै वरिपरि घुमे!

अध्यक्ष ज्ञवालीसँगको चिया–भेट उही सम्पादकहरूको बिहीबारे बैठकमा हुन्थ्यो, जसलाई श्याम सरले समन्वय गर्नुहुन्थ्यो । यो लेखिरहँदा म तीनकुनेको अहिले भत्किसकेको त्यो भवनको छैटौँ तलाको त्यही कक्षलाई सम्झिरहेको छु, जहाँबाट प्रतिरोधी ढाडस प्रकट भएको थियो । र, ‘आठौँ दल’ जन्माउने आधार खडा गरेको थियो।

हार्दिक श्रद्धाञ्जली!

प्रकाशित: ८ कार्तिक २०७५ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App