coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

शब्द श्रद्धाञ्जली

२०१४ जेठमा दक्षिण काेरियाकाे सिअाेलमा भएकाे भन्सार सहयाेग परिषदकाे बैठकमा हेमराज ज्ञवाली। फाइल तस्बिर

अहिलेको गुल्मी ज्ञवा गाउँमा आजभन्दा ६ सय वर्षदेखि वरिष्ठ पूर्वीय ब्राह्मणको बसोबास थियोे । वि.सं. १५७५ देखि १५८५ भित्र पाल्पाली महान राजा मणि मुकुन्द सेनले गुल्मीमा पनि सयर गरेपछि काली गण्डकी पवित्र नदी र रिडी नदीको संगमस्थल जहाँ रुरु कन्याले भगवान नारायणको तपस्या गरी वर माग्दा भगवानले यस क्षेत्रको नाम रुरु कहलिनेछ । यसै क्षेत्रमा म आइबस्नेछु भनि वरदान दिनुभएको थियो।

त्यसै वचनको परिपालनको सन्दर्भमा भगवान नारायण स्वयं प्रकट हुनुभयो र राजा मणि मुकुन्द सेनले पाल्पातर्फ स्थापना गरी शिखर शैलीको मन्दिर बनाए । आफ्ना गुरु पुरोहित भट्टराई वंशका ब्राह्मणलाई पुजारीको व्यवस्था गरी पूजाआजा चलाए भने गुल्मीतर्फ भगवान शिवको मन्दिर बनाई शिवलिंगको स्थापना गरी यहाँका वरिष्ठ र विद्वता एवं गुरुजन्य गुरालेसहित भएका यस ज्ञवाका ब्राह्मणलाई  ज्ञवा गाउँमा बसोबासको नाताले ज्ञवाली भनिएका ब्राह्मणलाई पूजारीको सम्मानद्वारा विभूषित गरी पूजा आजाको व्यवस्था गरेका थिए।

यसरी सम्मानित ज्ञवाली ब्राह्मण परिवारमा विशिष्ट व्यक्तिहरु जन्मन्दै आफ्नो जातीय पहिचानलाई अगाडि बढाउँदै आए । यसै वंशमा गुल्मी मानकोट गाउँमा भुवनेश्वर उपाध्याय एक प्रतिष्ठित व्यक्तित्व भए । उनको  विवाह पूर्णकुमारी उपाध्यायसँग भएको थियो । समाजमा उनीहरुको जीवन बडो सुखी, सम्पन्न र सम्मानित थियो । उहाँहरुकै कोखबाट वि.सं. १९९५ चैत १७ गते हेमराज ज्ञवाली (शर्मा)को जन्म भयो । प्रथम पुत्रको हैसियतमा उहाँको बाल्यकाल सुखद र बडो स्तरीय ढंगले हुर्कंदै बित्यो । परिवारले मात्र (बुबाआमा) होइन । गाउँ समाजले समेत उहाँको बाल्यकाललाई हुने बिरुवाको चिल्लोपातका रुपमा देखेर बडो माया र प्रशंसा गर्थे जसले उहाँलाई प्रोत्साहन र उत्साहको काम गथ्र्यो।

व्यक्तित्व विकास
हेमराज ज्ञवाली बचपनदेखि नै तीक्ष्ण बुद्धिको हुनुहुन्थ्यो । नेपाली तथा संस्कृतको सामान्य ज्ञान घरमै आफ्नै बुबा तथा पण्डित नारायणबाट र परिवेशबाट हासिल गर्नुभयो । यसपछि मध्यमासम्म काठमाडौं रानीपोखरी संस्कृत प्रधान पाठशालबाट प्रथम श्रेणीमा र शास्त्रीमा पनि प्रथम श्रेणीमा प्रथम भएर पास गर्नुभयो । काठमाडौंकै नेसनल कलेजबाट अंग्रेजीमा बिए पास गर्नुभयो । त्रिविबाट एमएको डिग्री हासिल गर्नुभयो । यसरी गरेको अध्ययनबाट निर्मित व्यक्तित्वशाली स्तरीय एवं प्रभावशाली हेमराज ज्ञवाली भएर उठ्नुभयो।

राष्ट्र सेवामा
राजा महेन्द्रको पञ्चायती जमाना वि.सं. २०१८ मा हेमराज ज्ञवालीजस्तो योग्य र महŒवाकांक्षी व्यक्तित्वलाई आफ्नो मातृभूमिको सेवा गर्न निजामती कर्मचारीको माध्यम नै उपयुक्त र सुरक्षित माध्यम थियो । जसबाट एकातिर उहाँमा निहित क्षमताको उपयोग हुन्थ्यो भने अर्कोतिर राष्ट्र सेवा हुन्थ्यो । यसै भएर हो निजामती सेवालाई राष्ट्र सेवा र निजामती कर्मचारीलाई राष्ट्र सेवक भनिन्छ । यिनै पक्षलाई हेरेर त्यसबेलाको अवस्थामा श्री ५ को सरकारको पहिलो पदस्थापना शाखा अधिकृत पदमा बहाल गर्नुभयो । डोटीको पञ्चायत अफिसर र पछि गृह मन्त्रालयको कर्मचारी भई काम गर्दै जाँदा पदोन्नति भई उपसचिव दर्जामा काम गर्दै जाँदा २०३३/३४ सालतिर सर्लाही जिल्लाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना भयो र त्यहाँ बहाल गरी काम गर्दै जाँदा सर्वसाधारण गरिब र अन्यायमा परेका जनताको उद्धार गर्ने प्रकारले काम गर्नुभयो भने विकास निर्माणको काममा विशेष ध्यान दिनुभयो।

यसक्रममा महेन्द्र राजमार्गदेखि सर्लाहीको सदरमुकाम मलंगवासम्म पक्की सडक बनाउने इच्छा गर्नुभएछ । त्यसबेला यो लेखक महोत्तरी जोडिएको जिल्लाको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत थियो र जनश्रमदानबाट जिल्लाका सबै बाटाघाटा र महोत्तरी सदरमुकामदेखि सर्लाहीको सीमा खैरबनी गाउँसम्म सडक बनाउन तल्लिन थियो । त्यसैबेला उहाँले यसलाई जोडिएको जिल्ला हुनाले बोलाउनु भयो । उहाँ मेरो जिल्लावासी र उमेरमा जेठो दाजु राष्ट्रसेवामा वरिष्ठ हुनाले उहाँको बोलावट मैले पालन गर्नुपर्ने विषय थियो । त्यसबेलाका अञ्चलाधिश प्रा. शंकरराज पाठक हुनुहुन्थ्यो । उहाँ सल्र्लाहीको निरीक्षण भ्रमणमा जाने क्रममा म पनि उहाँसँगै गए । उहाँलाई भेट्यो । उहाँले त यसले भन्दा धेरै राम्रो काम गर्दै हुनुहुँदो रहेछ । त्यो के भने महेन्द्र राजमार्गदेखि मलंगवासम्म जोड्ने बाटो (सडक) बनाउन जनताबाट मंसिर महिनामा धान उठाउने र गाउँ पञ्चायतमा राख्ने, श्रमदानी जनतालाई त्यही धान ज्यालास्वरुप दिई कच्ची सडक बनाउने, पक्की गर्नका लागि सरकारलाई जिम्मा लागाउने कार्यक्रम राख्नु भएको रहेछ । जो प्रशंसनीय थियो।

यस्तो कार्यक्रम धेरै उपयुक्त भएको यसलाई त जिल्लावासी दाजु र वरिष्ठ व्यक्तित्वको काम अनुकरणीय लाग्यो । यही कुरा उहाँसँग राख्यो । अञ्चलाधीशले पनि प्रशंसा गर्नुभयो । उहाँ निर्माणका लागि अगाडि बढिरहेको वरिष्ठ हुनाले प्रथम श्रेणीमा पदोन्नति हुनुभयो र केन्द्रमा अर्थ मन्त्रालयको सहसचिवमा पदस्थापन भई केन्द्रमा आउनु (आज राजमार्गदेखि मलंगवा पक्की सडक त्यही विचार सुरुवातको उन्नत रुप हो ) भयो।

अर्थ मन्त्रालयमा आएपछि यो लेखक स्थानीय स्तरमा रहिरहेकाले त्यसबेलाको काम प्रत्यक्ष देख्न नपाए पनि राजनीतिक स्तरमा दुरुपयोग गरिने राष्ट्रको ढुकुटी जोगाउनु पर्छ । जोगिनु पर्छ । रकमको सदुपयोग गरी देश विकासका कार्यमा लाग्नुपर्छ भन्ने विचारबाट काम गरिरहेको कुरा जानकारीमा आउँथ्यो । यी सबै राष्ट्रसेवाका कार्यबाट हेमराज ज्ञवाली राष्ट्र सेवामा राष्ट्रिय व्यक्तित्वमा प्रमाणित हुनुभयो।

सञ्चार क्षेत्रमा प्रवेश
यसबेलासम्म बौद्धिकस्तरमा उठेको अनुभवले परिपक्व राष्ट्रियस्तरको व्यक्तित्व हेमराज ज्ञवालीलाई सेवाको व्यापक क्षेत्रको सोच, विचार र आवश्यकता थियो । वि.सं. २०४४ सालमा सरकारी सेवाबाट अवकास प्राप्त गरी त्यस्तो योजना कार्यक्रममा व्यस्त हुनुभयो । आजको महिमा गरीमा र प्रभाव भएको सञ्चार क्षेत्रलाई रोज्नुभयो र २०४८ साल फागुन ७ गते आफू संस्थापक अध्यक्ष भएर बलियो संगठन संयन्त्र खडा गरेर ‘कान्तिपुर दैनिक’ समाचारपत्रको प्रकाशन गर्नुभयो।

‘कान्तिपुर दैनिक’ यस्तो समाचारपत्र भएर उठ्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पठनीय र लोकप्रियता हासिल ग-यो । सञ्चार क्षेत्रमा ख्यातिको झ्याली पिट्यो । देशभरका जल्दाबल्दा र जनताका समस्याहरु सरकारको अगाडि प्रस्तुत ग-यो भने अन्तर्राष्ट्रिय जगतको पनि ध्यान आकर्षण ग-यो । यता हेमराज दाजुको प्रतिष्ठा ख्याति र जनप्रियतापूर्ण नयाँ चिनारीका रुपमा उठ्यो । यसैगरी वि.सं. २०६१/६२ मा सेयर होल्डरबीच बाँडफाँट हुँदा कान्तिपुर छाडिदिनु भयो तर उहाँको जनप्रियता र चिनारी एवं जनमानसले छाडेन । यो बुझेका परिपक्व व्यक्तित्व हेमराज ज्ञवालीले त्यस्तै योजना र कार्यक्रम बनाउनु भयो र ‘नेपाल रिपब्लिक मिडिया’ खडा गरी आफ्नै संस्थापक अध्यक्षको स्तरबाट वि.सं. २०६५ वैशाख ११ गते ‘नागरिक दैनिक’ र अँग्रेजीमा पनि ‘रिपब्लिका दैनिक’ प्रकाशित गर्नुभयो । आज यस प्रकाशनले पनि उहाँको ख्याति र सञ्चार माध्यमबाट राष्ट्रसेवाको कार्यलाई उच्चस्तरमा पु-याएको छ । यसमा कान्छो छोरा बिनोदराज ज्ञवालीको निकै ठूलो योगदान रहेको छ र  बुहारी शोभा ज्ञवालीको पनि परिश्रम लागिरहेको अनुभव हुन्छ । मिडिया क्षेत्रमा हेमराज ज्ञवालीको नाम गाँसिएर रहेको कुरासत्य जतिकै सत्य छ।

पारिवारिक जीवन
हेमराज ज्ञवालीको विवाह गुल्मी अर्वाथोकका अर्याल परिवारमा जन्म लिएकी लक्ष्मी अर्यालसँग भएको हो । श्रीमती लक्ष्मी अर्याल ज्ञवाली पनि पुरानो सभ्य र खानदान परिवारमा जन्मे हुर्केकी हुनाले आफ्ना पति हेमराज ज्ञवालीलाई जीवनभर उहाँको प्रत्येक कदममा साथ र सहभागिता दिनुभयो । एक आदर्श नारीका रुपमा, आदर्श पत्नीका रुपमा । यसको परिणाम उहाँहरुको पारिवारिक जीवन उन्नत सभ्य, सामाजिक मर्यादापूर्ण थियो । यस्तो जोडी (हेमराज लक्ष्मीबाट तीन भाई छोरा भए । जेष्ठ ध्रुवराज ज्ञवाली, जसको नीता ढुंगेलसँग विवाह भएको हो । पारिवारिक जीवन राम्रो र सुखद छ । धु्रवले बिएस्सीसम्मको अध्ययन गर्नुभएको छ र कृषि क्षेत्रमा विविधीकरण गरी नमुना प्रस्तुत गर्ने काममा लाग्नु भएको छ । माइला छोरा अच्यूतराज ज्ञवाली हुनुहुन्छ, यहाँको विवाह अनिता बाँस्कोटासँग भएको छ । अच्यूत र अनिता एउटै अक्षरबाट नाम भएजस्तै पारिवारिक जीवन पनि त्यस्तै सुखद छ । यहाँले वन विज्ञानमा मास्टर डिग्री हासिल गनुभएको छ । वन विज्ञानमै प्राध्यापन गर्नुहुन्छ । कान्छा बिनोद ज्ञवाली हुनुहुन्छ, जसको विवाह शोभा अधिकारीसँग भएको छ । पारिवारिक जीवन आदर्श र उन्नत छ । यहाँको अध्ययन डिप्लोमासम्म छ र व्यवसायमा संलग्न हुनुहुन्छ । अहिले नेपाल रिपब्लिक मिडियाको प्रबन्ध निर्देशक हुनुहुन्छ । शोभा ज्ञवाली निर्देशक हुनुहुन्छ।

यसरी हेमराज लक्ष्मीले जन्माउनु भएका तीनै छोराहरु एकसेएक योग्य र व्यक्तित्वशाली हुनुहुन्छ । यहाँहरुले आफ्नो गौरवशाली ज्ञवाली वंशको परम्परा पहिचान र आफ्ना बुबा हेमराज शर्मा ज्ञवालीको इज्जत प्रतिष्ठा र ख्यातिलाई थप र संरक्षण गर्दै सन्तान दरसन्तानको भविष्यतिर पु-याउने संवाहकका रुपमा अगाडि बढ्नु हुने देखिन्छ । आमा लक्ष्मी ज्ञवालीलाई देवीको रुपजस्तै गरी सम्मान र उहाँको स्वास्थ्य र प्रतिष्ठाको हेरविचार र सेवा गर्नुहुने पनि  विश्वास गर्न सकिन्छ।

अन्त्यमा
यस पंक्तिकारलाई हेमराज ज्ञवाली दाजुको सम्बन्धमा लागेकै कुराहरुमाथि विभिन्न प्रकरणमा उल्लेख भएकै छ । अन्त्यमा दुई वाक्यमा (निष्कर्षको रुपमा) व्यक्त गर्दा स्वर्गीय हेमराज ज्ञवाली पूर्वीय सभ्यता दर्शनका हिमायती ज्ञवाली ब्राह्मण वंशमै लिएर आएको र सेवाको परिणामले नेपाल राष्ट्रको राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो । सञ्चार क्षेत्रबाट राष्ट्रिय स्तरकै चम्किला र गनिएका व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको त्यस्तो व्यक्तित्वले चम्किलो इतिहासले अहिले र भावि सन्तति समेतलाई पथप्रदर्शन गरिहरने छ । यस्ता व्यक्तित्व हेमराज ज्ञवाली आज हाम्रासाथ हुनुहुन्न तरपनि उहाँ हाम्रा बीचको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै उठेको व्यक्तित्व हुनाले हाम्रा साथमा सधै रहिरहनु हुनेछ । यो पक्षलाई बडो गौरवका साथ लिन्छु र उहाँको आत्माको पूर्ण शान्तिको प्रार्थना गर्दै उहाँप्रति श्रद्धाञ्जली चढाउँछु।

प्रकाशित: ८ कार्तिक २०७५ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App