coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आयुर्वेदिकका नाममा ठगी

हिजोआज आयुर्वेदिक औषधि तथा आयुर्वेदिक उत्पादनप्रति मानिसको आकर्षण बढ्दो छ । जडीबुटीबाट तयार पारिएका औषधि तथा सौन्दर्य प्रसाधनहरू स्वस्थकर हुने र बिना साइड इफेक्ट शरीरलाई फाइदा पुराउने विश्वासले नै जनमानसमा यस्तो आकर्षण बढेको हो । वैज्ञानिकरूपमा हेर्ने हो भने पनि मानिसको शरीरले केमिकल मेडिसिनलाई स्वाभाविकरूपमा ग्रहण गर्दैन । शरीरले यस्ता औषधि तथा रासायनिक तत्वहरू हालेका खाद्यपदार्थलाई विषजस्तो ठान्छ । त्यसैले यस्ता औषधि तथा खाद्य पदार्थ सेवन गर्दा कलेजोलाई निकै भार पर्छ । जसका कारण धेरै औषधि सेवन गर्ने तथा जंकफुड्स खाने मानिसलाई लिभर सिरोसिस तथा लिभर क्यान्सर हुने खतरा बढ्छ।

वास्तवमा केमिकल मेडिसिन तथा केमिकलजन्य सौन्दर्य प्रसाधानहरूले तत्काल केही फाइदा गरे तापनि यसका बेफाइदा धेरै छन् । मानिसको शरीरले स्वाभाविकरूपमा ग्रहण गर्ने औषधि भनेको प्राकृतिकरूपका जडीबुटी, झारपात तथा जैविक खाद्यपदार्थ हुन् । यस्ता औषधि तथा खाद्यपदार्थले मानिसको स्वास्थ्य रक्षा गर्ने र रोग लागेको खण्डमा त्यसलाई निको पारी आयु बढाउने भएकाले नै आयुर्वेदिक भनिएको हो।

आयुर्वेद के हो?
आयुर्वेद जीवनशास्त्र हो । सर्वसम्मत, सर्वप्राचीन, वैज्ञानिक तथा सर्वांगंपूर्ण चिकित्सा पद्धति हो । आयुर्वेदलाई विश्वमा हाल प्रचलति सम्पूर्ण चिकित्सा पद्धतिको जननीका रूपमा मानिन्छ । यस चिकित्सा पद्धतिमा विशेष गरेर जैविक (अर्गानिक) जडीबुटीबाट तयार पारिएका आयुर्वेदिक औषधि तथा उत्पादन उपयोगमा ल्याइन्छ । औषधिमात्र नभई आयुर्वेद उपचारअन्तर्गत वमन, विरेचन, वस्ति, नस्य, रक्तमोक्षण आदि विभिन्न शोधन विधिको पनि प्रयोग गरिन्छ । आयुर्वेद मानव जातिका लागि वैज्ञानिक र प्राकृतिक जीवन पद्धति हो । तर केही वर्षयता वैदिक ऋषिमुनि (वैज्ञानिक) हरू यस महान् आविष्कारका नाममा ठगी गर्नेको संख्या बढ्दै गएको छ।

आयुर्वेदिकका नाममा ठगी
पश्चिमी जीवनशैली तथा आधुनिक चिकित्सा विज्ञानको अन्धोनुकरणका कारण आयर्वेदको उद्गम क्षेत्र, नेपाल भारतसमेत आयुर्वेद ओझेलमा परेको थियो । तर यसबीच बाबा रामदेव र आचार्य बालकृष्णको उदय भयो । रामदेव र आचार्य बालकृष्णले छोटो समयमा नै योगका साथै आयुर्वेद र आयुर्वेदिक उत्पादन घर–घरमा पुराउने कार्य गरेका छन् । सर्वसाधारणलाई समेत आयुर्वेदप्रति आकर्षित गर्ने काम गरेका छन् । यो निकै सराहनीय र पुण्य कार्य हो । आयुर्वेदप्रति आकर्षण बढेपछि संसारभर नै आयुर्वेदिक उत्पादनको बाढी आएको छ । यही कारणले गर्दा पि एन्ड जी तथा युनिलिभर जस्ता कम्पनीसमेत बजारमा आयुर्वेदिक उत्पादन ल्याउन बाध्य भएका छन्।

तर हिजोआज बजारमा देखा परेका आयुर्वेदिक उत्पादन कति आयुर्वेदिक छन् भन्ने कुरामा ठूलो प्रश्न उठेको छ । सानातिना कम्पनीको कुरै छाडौँं, ठूलाठूला ब्रान्डेड आयुर्वेदिक कम्पनीले समेत शुद्ध आयुर्वेदिक वस्तुहरू उत्पादन गरेको देखिंँदैन । मल्टिनेसनल कम्पनी हिमालय आयुर्वेद, वैद्यनाथ, डाबर, चरक तथा नेपाली आयुर्वेदिक कम्पनीहरूले समेत आयुर्वेदिककका नाममा बदमासी गरिरहेका जानकारी बेलाबेला आउने गरेको छ । स्वयं रामदेव तथा आचार्य बालकृष्णको पतञ्जलि आयुर्वेदका अधिकांश उत्पादन अन्य उत्पादनका तुलनामा केही राम्रा भए पनि पनि पूर्णतया आयुर्वेदिकचाहिँ छैनन् । यसर्थ आयुर्वेदिकका नाममा उपभोक्ता सोझै ठगिने क्रम जारी छ।

उदाहरणका रूपमा पतञ्जलिको गुलाब जल शुद्ध आयुर्वेदिक हो भने उसकै एलोबेरा जेलमा दस प्रतिशत केमिकल मिश्रण छ । यस लाई आकर्षक बनाउन हरियो रंग मिसाइएको छ जबकि प्राकृतिक एलोबेरा जेल हरियो हु“दैन । यसैगरी डाबरको अमला तेलमा केबल ५४ प्रतिशत अमला एक्स्ट्रक्ट छ भने बा“की ४६ प्रतिशत मिनरल आयल (पेट्रोलियम) र अन्य केमिकल्स मिसाइएको छ । यी त केही उदाहरणमात्र हुन्, यस्ता धेरै चिज छन् जसले सोझै आयुर्वेदिकका नाममा उपभोक्तालाई झुक्याइरहेका छन् । जसको बेलैमा नियन्त्रण आवश्यक छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App