८ वैशाख २०८१ शनिबार
विचार

उनलाई पछिसम्मै पछुतो भयो

सबैको सबैसँग भेटघाटको प्रसंग बेग्लै किसिमको हुन्छ । र, सम्झना पनि उसैगरी भिन्न । कसैको बारेमा लेख्नु सजिलो कुरा होइन । त्यसमा पनि ‘अबिच्युरी’ लेखनमा ‘मृतकलाई न्याय गर्न नसकिएला कि’ भन्ने डर हुन्छ । सच्याउने अवसर नै हुँदैन।

केही नलेख्नु पनि अर्को मूर्खता हुन जान्छ । एकजना विद्धान र उनले समाजमा गरेको योगदानको अध्ययन नै छुट्न जान्छ । एक किसिमले भन्ने हो भने इतिहास नामेट हुन्छ । सिलसिलेबार कथाको एक–दुई पाना च्यातिएर हराएजस्तो हुन्छ । खल्लो र नमज्जा।

हेमराज ज्ञवालीसँगको मेरो भेट उनको जीवनको उत्तराद्र्धतिर भएको हो । यस लेखले उनको जीवनको सम्पूर्णता झल्काउन सक्दैन । न सक्छ उनीबारे सबैथोक भन्न । यो त उनीप्रतिको सम्मान मात्र हो । शब्दगुच्छाको श्रद्धाञ्जली हो।

पत्रकारिताको भूत
झण्डै १५ सयको भीडमा केही मान्छे विशेष थिए । तिमध्ये डा. एन्टोनियो न्युवाउर, डा. सुरेशराज शर्मा, हेमराज ज्ञवाली र किशोर नेपाल । ५४ सालको कुरा हो ककौरामा त्रिभुवन सामुदायिक पुस्तकालयको उद्घाटन थियो । भीडको एउटा टाउको म कक्षा ८ को विद्यार्थी । एन्टोनियोसँग अंग्रेजी बोल्न नजिकनजिक गएको थिएँ । क्यामेराले झिलिक्क फोटो खिच्थ्यो । पाहुनामध्ये नाम सुनेको र अनुहार चिनेको मान्छे हेमराज ज्ञवाली मात्र थिए । स्कुलका हेड सर कृष्ण आचार्य, लक्ष्मी सर लगायत अरु सर, मेडम र विद्यार्थी चिनेको थिएँ।

गुलरियाको बगलामुखीबाट ७ पास गरेर त्यसै साल त्रिभुवन माविमा भर्ना भएको थिएँ । स्कुल नयाँ । साथीभाइ सबै नयाँ । यस्तो भव्य कार्यक्रम त्यसअघि नदेखेको हुँदो हुँ शायद । पाहुनासँग भेट्ने र बोल्ने तरिका त्यत्ति थाहा थिएन।

भीडमा चम्केको ज्ञवालीको अनुहार कान्तिपुर पत्रिकाका मालिकको भनेर हेरिरहें, जो हाम्रो छिमेकी गाउँका थिए । मेरो ककौरा र उनको लक्ष्मणानजिकैका गाउँ थिए । त्यतिबेलै पत्रकार बन्ने भूत मभित्र सवार भइसकेको थियो।

काठमाडौं यात्रा
६० साल जेठ । आइएको परीक्षा दिएर बसेको थिएँ । बिदाको समय थियो । काठमाडौं घुम्न निस्कें । चिनेका मान्छे धेरै थिएनन् । न त मोबाइल फोनको जमाना थियो । फेसबुक फ्रेन्ड थिएनन् । दाइको कोठा अनामनगरमा बस्थें।

एक दिन ठूलीआमाको घर गोंगबु जान बबरमहलबाट गाडी चढें । मनोहरा काटेपछि थाहा पाएँ बस त बनेपा जाने परेछ । ओर्लेर अर्को बस चढें । गाडीबाटै कान्तिपुर लेखेको अग्लो घर देखियो । रोकें र तीनकुनेमा झरें । सोचें हेमराज ज्ञवालीलाई भेट्छु।

ठूलो कालो गेट । सिधै भित्र जान खोजें । सुरक्षा गार्डले रोके । अलिकति डर लाग्यो । ‘हेमराज ज्ञवालीलाई भेट्न आको, बर्दियाबाट’ भनें । भित्र फोन लगाए र ‘जानू’ भने । रिसेप्सनिस्टले लिफ्टमा चढाइन् र ६ नम्बर थिचिन्।

लिफ्ट जसै माथि गयो, त्यसैगरी आनन्द आयो । सिसाको बार भएको छैठौं तलाबाट काठमाडौं मनोरम देखियो । उनले हेमराज ज्ञवालीको समय लिन एकजना अर्का कर्मचारीलाई भनिन् । केहीबेरमै म भित्र छिरें । कोठा ठूलो र चिसो थियो । ज्ञवालीको अनुहार शान्त थियो । भने– बस्नुस् लम्सालजी।

मैले पुस्तकालयको कुरा गरें । ककौराको हालखबर सुनाएँ । उनलाई भेट्नुको खास उद्देश्य थिएन । तर उनले मेरो मन राखे।

दुवैले चिया खायौं । ‘गाउँमा सबैलाई सम्झना सुनाइदिनू’ भने । न मैले उनलाई ‘ठूला’ मान्छे भनेर भेटेको थिएँ । न उनले कुनै ठालूपना देखाए । उनलाई भेटेको कुरा साँझ दाइलाई सुनाएँ । दाइले कान्तिपुरभित्र कसैलाई छिर्न पनि दिँदैन भनेर पत्याउनुभएन।

कान्तिपुरमा काम
‘मेजर इंग्लिस’ लिएर नेपालगन्जमा बिए पढ्दै थिएँ । पत्रकारिता पढ्न काठमाडौं ट्रान्सफर गरें । पत्रकारिता पढाइ हुने आरआर क्याम्पसमा आइएमा पत्रकारिता नपढी बिए पढ्न नमिल्ने रहेछ।

दोहो-याएर आइए पढ्न मन लागेन । त्रिचन्द्रमा भर्ना गरें।

स्नातक तेस्रो वर्ष पत्रकारिता ऐच्छिक विषय थियो । धेरैले यही रोज्थे । धेरै नम्बर ल्याउन । मेरो यही शोख थियो । पढेर इन्टर्न गर्नुपर्ने । मैले कान्तिपुर रोजें । त्यहाँ पत्रकारिता मूल विषय लिएको हुनुपर्ने भनेर पन्छाउन खोजे । सरासर हेमराज ज्ञवालीकहाँ पुगें । काठमाडौं आउनुको उद्देश्यनै कान्तिपुरमा काम गर्ने रहेको बताएँ।

उनले सम्पादकसँग कुरा गरेर राखिदिनुस् भने । ६ महिना प्रशिक्षार्थी भएर काम गरें । बिदाई भन्न ज्ञवालीको चेम्बरमा पसें । त्यो समय अंग्रेजीमा लेख्ने कमै हुन्थे । उनले द काठमाडौं पोस्टको सम्पादकसँग ‘अंग्रेजी हेरेर जागिर दिनू’ भने । ‘इंग्लिस टेस्ट’मा म कमजोर दरिएँ । र, बाहिरिएँ।

पुस्तकालयको नाता
मैले हेमराज ज्ञवालीसँग भेटेर भन्ने कुरा एउटै हुन्थ्यो– ककौराको सामूदायिक पुस्तकालय राम्रोसँग चलेको छ । दुवै पुस्तकालयका सदस्य थियौं । उहाँ आजीवन, म साधारण । हजुरबुबाले पाएको बृद्धभत्ताबाट ५० रुपैयाँ मागेर म सदस्य बनेको थिएँ । विद्यार्थीतर्फ पहिलो । सदस्य बनेपछि मात्र किताब घरमा लैजान सकिन्थ्यो । ‘रिन्यू’ गर्दा वार्षिक १२ रुपैयाँ लाग्थ्यो । आजीवन सदस्य नबन्दासम्म रिन्यू गरिरहें।

मैले त्यस पुस्तकालयका धेरै किताब पढें । भैंसी चराउन जाँदा जंगलमा समेत किताब लैजान्थें र पढ्थें । मलाई पढाइबाहेकको समय त्यसै खेर गएझैं लाग्थ्यो । गाउँका धेरै युवा तास, क्यारम, चुङ्गी, गुच्चा खेलेको देख्दा ‘किन उनीहरु पुस्तकालय नगएको होला’ भन्ने लाग्थ्यो । पुस्तकालय आउने–जानेको संख्या कम थियो।

पुस्तकालयमा दैनिक पत्रिका आउँथे । कान्तिपुर प्रकाशनका सबै निःशुल्क । म हरेक दिनजसो ‘अपडेट’ हुन्थें । अहिले पुस्तकालयमा आइटी शाखा छ । युवा सूचना केन्द्र छ । बाल शाखा छ । रिड नेपालको दियो परियोजना छ । पुस्तक छन् । इन्टरनेट छ । नयाँ पुस्तामा पुस्तकालय मोह बढ्दो छ।

हेमराज ज्ञवालीकै सक्रियतामा पुस्तकालयले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । चारजना कर्मचारी छन् । यद्यपि थारु जातिको उत्थानका लागि खोलिएको पुस्तकालयमा प्रवेश गर्ने थारुको संख्या भने अझै न्यून छ।

राजनीतिक कोपभाजन
४८ सालको अन्त्यतिर सरकारी सेवाबाट अलग भएपछि हेमराज ज्ञवालीले समाज सेवामा जोडिने चाहना राखे । आफू हुर्के, खेलेको ठाउँको माया कसलाई नहोला र ? उनी त्रिभुवन मावि, ककौरा–बर्दियाको सञ्चालक समिति अध्यक्ष बने । २०४९ वैशाख २५ गते ककौरामा क्याम्पस खोल्ने छलफल भयो । जेठ ३० मा अवधारणापत्र तयार भयो । असार २ को बैठकले क्याम्पसको नाम जनकल्याण प्रस्ताव ग¥यो । पास भयो । चन्दा संकलन समिति बन्यो । अध्यक्ष हेमराज ज्ञवाली भए।

एउटा ग्रामीण भेगबाट चार लाख रुपैयाँ जम्मा गर्नु कठिन काम थियो । चन्दा संकलनमा गाउँलेले सक्दो सहयोग गरे । तत्कालीन जिविस सभापति देव रानाले दुई लाख रुपैयाँ सहयोग गर्ने वचन दिए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्रक्रियाका लागि आवेदन दिने जिम्मा अध्यक्ष ज्ञवालीलाई दिइयो । उनी काठमाडौं गए । तर, काम नगरी फर्किए।
 
एमालेजनले ज्ञवाली काँग्रेस नेताको प्रभावमा परेर ‘थन्किएको’ आरोप लगाए । एमाले भनेर चिनिएका धेरैजसो सहयोग संकलन कार्यमा सक्रिय थिए । सबैको मन जितेर चन्दा उठाएका थिए।   

काँग्रेसजनले क्याम्पस नबन्नुमा एमालेलाई दोष दिए । एमालेमा आवद्ध धेरै व्यक्तिको संलग्नता भए पनि ज्ञवाली अध्यक्ष हुँदा क्याम्पस स्थापनाको श्रेय काँग्रेसले लिन्छ र यसले पार्टीलाई घाटा पुग्छ भनेर एमाले पछि हटेको आरोप लगाए।

उनताका काँग्रेस र कम्युनिस्टबीच पानी बाराबारको अवस्था थियो । दोष जसलाई दिए पनि जनकल्याण क्याम्पसको सपना हावामा बिलायो । क्याम्पस निर्माण समितिको २०५० असार १४ को निर्णयले सबैको पैसा फिर्ता भयो।

क्याम्पसको साटो पुस्तकालय
पहिलोपटक नेपाल यात्रामा निस्केकी अमेरिकी महिला डा. एन्टोनियो न्युवाउरले सोलुखुम्बुको जुनीबेसीका शेर्पा थरका एक भरियालाई जानेबेला सोधिन्– ‘के उपहार दिउँ?’

शेर्पाले भने– ‘मलाई केही दिनु पर्दैन । बरु हाम्रो शेर्पा जातिका केटाकेटीलाई पढ्ने व्यवस्था मिलाउन सके हामीजस्तै भारी बोक्नु पर्दैनथ्यो कि !’ उनी भावुक बनिन्।

उनकै पहलमा सोलुखुम्बुमा पहिलोपटक सामुदायिक पुस्तकालय स्थापना भयो । उनले ग्रामीण शिक्षा तथा विकास (रिड) नेपाल नामको संस्थामार्फत पुस्तकालय स्थापना कार्यमा सहयोग गरिन्।

२०४९ फागुन ७ मा कान्तिपुर दैनिकको सुरुवात भयो । जसले नेपाली पत्रकारितामा व्यावसायिकताको विकासमा सहयोग पुग्यो । हेमराज ज्ञवाली कान्तिपुर पब्लिकेसन्सको संस्थापक अध्यक्ष बनेपछि धेरैजसो काठमाडौं बसे।

आफ्नो अनुभव, अध्ययन र रुचीका विषयमा ज्ञवालीले कान्तिपुर दैनिकमा थुप्रै लेख लेखे । रिड नेपालले बौद्धिक व्यक्तित्वका रुपमा उनलाई सल्लाहकार नियुक्त ग¥यो । काठमाडौं बसे पनि उनी लक्ष्मणा आउने–जाने गरिरहे। स्थानीय बुद्धिजीवीसँग सम्पर्कमा रहे । त्रिभुवन मावि ककौराका हेड सर, शैलेन्द्र ढकाल, लक्ष्मी अधिकारी, टंक ढकाल, तोरण थापा उनले सम्झिरहने व्यक्ति हुन् । जसले जनकल्याण क्याम्पस स्थापनार्थ धेरै मेहनत गरे।

क्याम्पस स्थापना हुन नसकेपछि हेमराज ज्ञवालीलाई खल्लो लागिरह्यो । त्यसैबेला हेडसरले पुस्तकालयको प्रस्ताव राखेपछि उनले रिडमार्फत् सहयोगको प्रबन्ध मिलाए । पुनः समाजसेवामा जोडिने अवसरको सदुपयोग गरे।

रिड नेपालका तत्कालीन अध्यक्ष डा. एन्टोनियोले पुस्तकालयको सम्भाव्यता अध्ययन गरिन् । उनले ककौरा गाउँमा थारु रहनसहन र संस्कृति हेरेपछि आदिवासी जनजातिको उत्थानका लागि त्रिभुवन सामुदायिक पुस्तकालयको स्थापना गर्ने निर्णय भयो।

२०५३ असार १५ गते रिड नेपाल काठमाडौं र पुस्तकालय स्थापना समितिबीच सहमति भयो । रिड नेपालले ६ लाख ७४ हजार दुई सय ३७ र समुदायले एक लाख ६१ हजार दुई सय ३६ रुपैयाँ लगानी गर्ने सम्झौता भयो । एक वर्षमै एकतले भवन निर्माण भयो । पुस्तक जम्मा पारिए । पुस्तकालय सञ्चालनमा आयो।

हेमराज ज्ञवाली, कृष्ण आचार्य र नारायण शास्त्री संरक्षक बने । शैलेन्द्र ढकाल अध्यक्ष । क्याम्पस निर्माण गर्न नसके पनि तिनै व्यक्तिको सक्रियतामा पुस्तकालय बन्यो । हाल लक्ष्मणामा बर्दिया बहुमुखी क्याम्पस र बाँसगढीमा बाँसगढी बहुमुखी क्याम्पस स्थापना भई सञ्चालनमा छन् । पाँच किलोमिटर दुरीमा दुइटा क्याम्पस स्थापना भए पनि जनकल्याणको सपना तुहिएकोमा हेमराज ज्ञवालीलाई पछिसम्मै पछुतो भयो।

अन्त्यमा,
बर्दियाको लक्ष्मणामा प्रशस्त जग्गा भएका जमिनदारका छोरा, सरकारी सेवामा छँदा उच्च ओहदामा पुगेका हेमराज ज्ञवाली मिलनसार, सम्पत्तिको घमण्ड नगर्ने र सामान्य व्यवहार गर्ने मानिस थिए।

थारु जातिको वर्गीय उत्थानका लागि लक्ष्मणामा विद्यालय स्थापना गरे । स्कुललाई जग्गा दिएर आमाहरुको सम्मानमा पूर्णहिरा नाम राखे । धेरै युवालाई रोजगार बनाए । गाउँठाउँको विकासमा तन, मन, धन लगाए।

कान्तिपुरबाट छुट्टिएर नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष बनेका ज्ञवाली नेपाली मिडिया क्षेत्रका एक नक्षत्र हुन् । नागरिक र रिपब्लिका दैनिकको सञ्चालनपछि नेपाली मिडियामा प्रतिस्पर्धी युगको सुरुवात भयो । समग्र पत्रकारिताको ‘स्कोप’ बढ्यो।

हेमराज ज्ञवालीले बर्दियामै ‘मर्ने योजना’ बनाएका थिए । त्यो कुरा सबैसँग भनेका पनि थिए । लक्ष्मणास्थित पुरानै घरमा दुई नयाँ कोठा थपेर ‘एसी फिट’ गरेका थिए । यद्यपि काल उनको योजनामा आउन मानेन।

नरम स्वभावका ज्ञवालीको मृत्यु ‘माइल्ड अट्याक’बाट भयो । ७९ वर्षको उमेरमा यही असोज २७ गते काठमाडौंमा उनको निधन भयो । ज्ञवाली जति बाँचे सक्रिय जीवन बिताए । उनी मरेर गए पनि उनको महानता सदैव प्रेरणाको स्रोत बनिरह्यो । मानव उत्थान, अध्यात्म र सत्कर्ममा आफ्नो जीवन समर्पण गरेका ज्ञवालीलाई भावपूर्ण श्रद्धाञ्जली।

(लम्साल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा द्वन्द्व र शान्ति अध्ययन विषयका उप–प्राध्यापक हुन्।)

प्रकाशित: ८ कार्तिक २०७५ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App