coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

श्रद्धेय ससुराप्रति

नेपाली बृहत् शब्दकोश भन्छ – महान्को अर्थ उच्च हो, विशाल अनि महत् हो। तर यो महान् शब्द प्राप्त गर्न भने त्यति सहज छैन। शब्दको अर्थ जति उचाइको छ यो प्राप्तिका लागि गर्नुपर्ने त्याग अनि तपस्या पनि त्योभन्दा कम अवश्य छैन। त्यसैले त नामको अगाडि महान् संज्ञा पाउने कमै भाग्यमानी भेटिन्छन् यस धर्तीमा।

१९९५ चैत १७ गते यस धर्तीमा पदार्पण गर्नुभएका हेमराज ज्ञवाली यस्तै सीमित भाग्यमानीको पंक्तिमा पर्नुहुन्छ । तर यो पदवी त्यत्तिकै हात परेको भने अवश्य हैन । यसका लागि उहाँले गर्नुभएको योगदान, खासगरी व्यावसायिक पत्रकारिताका क्षेत्रमा खम्बाका रूपमा खडा उहाँका कृतिले यसलाई पुष्टि गर्छ। नेपालमा पनि व्यावसायिक पत्रकारिता झांगिन सक्ला र भन्ने शंका चौतर्फीरूपमा व्यक्त भइरहेका बेला उहाँको नेतृत्वमा लिइएको जोखिम नै यो महान् शब्द प्राप्तिका लागि सबैभन्दा ठूलो योग्यता हो भन्दा फरक नपर्ला।

जीवनका पछिल्ला दिनहरुमा आफ्नो धर्म, संस्कृति र साहित्यलाई अघि बढाउन निकै सक्रिय भएर लाग्नुभएका प्रेरणादायी यस्ता व्यक्तित्वको वैकुण्ठमा बास होस्।

उहाँको नेतृत्वमा हुर्की बढेको कान्तिपुर र उहाँकै माया अनि वात्सल्यमा जन्मी आज दशौँ वर्षगाँठ खुसीसाथ मनाउन सफल नागरिक राष्ट्रिय दैनिक अनि यिनीहरूका सन्तान त्यस्ता अकाट्य प्रमाण हुन् जसले हेमराज ज्ञवालीलाई व्यावसायिक पत्रकारिताका अध्येताहरूले महान् नभनिरहन सक्दै सक्दैनन्। उहाँकै नेतृत्वमा सफल यात्रा चुमिरहेका सञ्चारमाध्यमकै कारण हुन् कि अरु पत्रिका तथा विद्युतीय सञ्चारमाध्यम पनि यही मार्गमा ढुक्कसँग लाग्न सके। समग्रमा भन्नुपर्दा आज नेपालमा व्यावसायिक पत्रकारिता जुन रूप र आकारमा झांगिरहेकाछन् त्यसको श्रेय निसन्देह उहाँलाई जान्छ। उहाँले मलजल गरेका सञ्चारमाध्यमको यतिबेलाको प्रभावशाली भूमिका नै यसको ज्वलन्त प्रमाण हो।

थोरै विगत
गुल्मीको मानकोट। ज्ञवालीहरूको पुख्र्यौली थातथलो। मुलुकमा राणा शासन थियो। पढ्नका लागि शिक्षालय थिएनन्। केही हुनेखाने र टाढाबाठा भारतको काशी, हरिद्वारतिर गएर पढ्थे। अनि उनीहरू गाउँ फर्केर जानेका कुरा अरुलाई सिकाउने प्रक्रिया नै शिक्षा प्राप्तिको एकमात्र आधार थियो। यत्तिकैमा २००७ सालमा मानकोटमा पाठशाला खुल्यो। उहाँका पिता भुवनेश्वर र माता पूर्णकुमारी आफ्ना सन्तानलाई शिक्षा दिनुपर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो। त्यसैले सोही पाठशालामा भर्ना गरिदिनुभयो। यसरी उहाँको प्रारम्भिक शिक्षा सोही पाठशालामा हासिल भयो।

पढ्ने इच्छा उहाँमा थियो भने माता/पितालाई पनि पढाइलाई निरन्तरता दिने उत्तिकै इच्छा। दुवैको इच्छा मिलन भएपछि उहाँलाई पढ्न भारतको वाराणसी पठाइयो । जहाँ उहाँले शास्त्री (स्नातक सरह) उत्तीर्ण गर्नुभयो। त्यसपछि पनि उहाँको पढ्ने क्रम रोकिएन। मातृभूमि आएर त्रिभुवन विश्वविद्यालयमा पढ्न थाल्नुभयो। अनि स्नातकोत्तर उत्तीर्ण गर्नुभयो।

२०१७ साल। मुलुकको राजनीतिक अवस्था खट्पट् खट्पट् थियो। उता हेमराज ज्ञवालीले भने यसबीच पनि आफ्नो पढाइलाई निरन्तरता दिइरहनुभएकाले अब जागिर खानुपर्छ भन्ने सोच पलायो। त्यसपछि सरकारी सेवामा प्रवेश गर्नुभयो। २०४४ सालसम्म अर्थात निजामती सेवाका २७ वर्षे अवधिमा उहाँप्रमुख जिल्ला अधिकारी, महानिर्देशक, सहसचिव जस्ता नेतृत्वदायी पदमा बसेर राष्ट्र सेवामा तल्लीन रहनुभयो।

लाखौँमा एक ससुरा
म १८ वर्षको उमेरदेखि हेमराज ज्ञवालीलाई चिन्छु जतिखेर उहाँको घरमा कान्छी बुहारी बनेर भित्रिएकी थिएँ। मैले जहिले पनि उहाँको बोलीमा शालीनता पाएँ। व्यवहारमा सधैँ भद्रता भोगेँ। निष्पक्षता उहाँको विशेषता महुसस गरेँ। दूरगामी सोचलाई पछ्याउनुपर्ने विषय ठानिरहेँ। समग्रमा भन्दा एउटा सन्तमा हुनुपर्ने सबैखाले गुणले ओतप्रोत हुनुहुन्थ्यो उहाँ। त्यसैले त मैले जहिले पनि उहाँलाई ससुराभन्दा पनि पथप्रदर्शकका रूपमा बढी पछ्याएँ। हरेक काम सुरु गर्नुभन्दा पहिले, अनि सुरु गरिसकेपछि पनि उहाँकै विशेषताहरू पछ्याउने प्रयास गरिरहेँ। उहाँका वाणीहरूलाई मनन गर्ने प्रयास गरिरहेँ। जसले जीवनलाई अवरोधहरूबाट मुक्ति दिलाउँदै सफलोन्मुख बनाएका थुप्रै कथा÷व्यथा छन् मसँग आज पनि।

घरमा होस् या कार्यालयमा। कुनै मन्दिर गएका बेला होस् वा कुनै जमघटमा। दुःखमा परेका मानिस आउँथे उहाँको शरणमा। मलाई थाहा छैन, त्यस्ता कुनै पनि दुःखी उहाँको शरणमा आएपछि दुःखै लिएर फर्केको। अर्थात साहस, आँट र खुसीको पोको लिएर फर्कन्थे उनीहरू। जुन खुबी मेरा पथप्रदर्शक अर्थात ससुरा बुबा हेमराज ज्ञवालीमा थियो। त्यसैले उहाँको निधनमा हामी परिवार त दुःखी हुने नै भयौँ, हामी जत्तिकै भक्कानिएर रुनेहरू सयौँ निस्केका। हामीलाई टुहुरो बनाएर जानुभयो भन्नेहरूको ताँती नै लागेका। जुन रोदन हामी किरिया बसेका बेला पनि सुन्न बाध्य भइरह्यौँ।

यी र यस्तै कारण हुन्, जसले मलाई उहाँको घरमा कान्छी बुहारी बनेर भित्रन पाएकामा औधी खुसी तुल्याएको। एउटा मृदुभाषी, जनसेवक, सबैलाई भलो गर्न सक्ने, पत्रकारिताको क्षेत्रमा अतुलनीय इतिहास रच्न सफल महान् पुरुषको घरको सदस्य बन्न पाएकामा गौरवान्वित तुल्याएको। उहाँको नाममात्र सम्झँदा पनि गर्वले भन्न मन लाग्छ– म भाग्यमानी रहेछु जसको छत्रछायाँ र रसिलो मायामा अघि बढ्ने सौभाग्य प्राप्त भएको छ।

त्यो कालो दिन
१३ दिनअघि अर्थात २०७५ असोज २७ गते। काठमाडौँमा भएका परिवार सबै उहाँकै निवासमा जम्मा भएका थियौँ । बिहानको खाना सबैजनाले सँगै खायौँ। दसैँ न हो, खेल्नैपर्ने हाम्रो बानी। उहाँसहित हामी छोरा/बुहारी, नाति÷नातिना सबै मिलेर ५/५ रुपियाँ खाने गरी किट्टी खेल्न थाल्यौँ। कहिले कसले खाने, कहिले कसले खाने। नास्ता पनि सबैले खेल्दै खाँदै ग-यौँ। धेरै समयपछि परिवारका धेरै सदस्य एकै ठाउँमा जम्मा हुनु, तास पनि राम्रैसँग जम्नु, धेरैजना एकै ठाउँमा बसेर भएको खानपिन पनिनिकै रमाइलो भइरहेको थियो। जसले बसाइको वातावरण निकै रोमाञ्चक बनाइरहेको थियो।

यत्तिकैमा बुबा (हेमराज ज्ञवाली) ले मलाई गाह्रो भयो भन्नुभयो। दौडाएर सबैभन्दा नजिकको अर्थात चावहिलस्थित मेडिकेयर अस्पताल लगियो। त्यहाँ इमर्जेन्सीमा राखेर केही पेनकिलर दिइयो लगातार । तर पनि उहाँको दुखाइ भने कम भइरहेको थिएन। दुःखको पीडाले होला, पसिनाले पूरै शरीर भिजेको थियो । हामी डराएको देखेर डाक्टरले बारम्बार बाहिर गइदिन आग्रह गर्थे। हामी भने बेचैन थियौँ। न उहाँको पीडा बाँडचुँड गर्न मिल्ने न त सहेर बस्न सक्ने अवस्थाबाट गुज्रिरह्यौँ। उहाँकै आग्रहमा एकपटक पसिना त पुछिदिएँ तर त्यसले पनि उहाँको पीडा के कम गर्न सक्थ्यो र ? झन् पछि झन् बढ्न थाल्यो।

उहाँको इसिजीको रिपोर्ट राम्रो आएको थिएन तर पनि अस्पतालले बेलैमा त्यो जानकारी दिएन। त्यही कारण गंगालाल अस्पताल लैजान पनि ढिलो भइसकेको थियो। हामी सबै परिवार त थियौँ, हामीसँग स्रोतसाधनको पनि कमी थिएन, राजधानीको पनि मुटुमै भएकाले अस्पताल र उपकरणको पनि अभाव थिएन। तर विडम्बना, यी सबका बाबजुद पनि हामीले बुबालाई बचाउन सकेनौँ। हामी सबैलाई टुहुरो बनाएर उहाँ प्रस्थान हुनुभयो। रुने र दुखित हुनेबाहेक हामीसँग केही विकल्प रहेन।

गन्ती नै गर्ने हो भने उक्त कालो दिन गएको पनि १३ दिन भइसकेको छ तर पनि हाम्रो मानसपटलबाट भने उक्त दिन, उक्त क्षण हराउन सकेको छैन। सासू आमा न रातमा निदाउन सक्नुभएको छ न त आँखै ओभाएका छन्। अर्थात त्यो अन्धकारले हामीलाई आजसम्म पनि थिचिरहेको महसुस भएको छ। लागिरहेको छ, यस्तो दुःखद अवस्था कसैले पनि भोग्नु नपरोस्।

फरक पाटो यस्तो पनि
एकातिर असह्य पीडाको भारीले पूरै परिवार थिचिएको महसुस भइरहेको छ। अर्कोतर्फ राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्च प्रशासकहरू, नातागोता, साथीभाइ, सहकर्मीहरू सबैले आफैँ उपस्थित भई वा विभिन्न माध्यमबाट उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहनुभएको छ भने हामी शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरिरहनुभएको छ । उहाँहरूका यी माया÷ममताले हामी एक्लै रहेनछौँ भन्ने लागेको छ भने अर्कोतर्फ जसलाई हामीले आफ्नो ससुरा/बुबा/अभिभावकमात्र ठानेका थियौँ, आखिर उहाँ त सिंगै राष्ट्रका लागि महत्वपूर्ण व्यक्ति हुनुहुँदोरहेछ भन्ने पुष्टिसमेत भएको छ। जुन सम्झँदा निकै गर्व पनि लाग्ने गर्छ । यस अर्थमा उहाँको प्रस्थानले हाम्रो एउटा घरमात्र नभएर धेरैका मनमस्तिष्क अन्धकारमय बनेको प्रष्टिन्छ।

अन्त्यमा,
कुशल प्रशासक, सफल व्यावसायिक पत्रकारिताका धरोहर, खुला सञ्चार पद्धतिका बाहक, समाजसेवी, आध्यात्मिक व्यक्तित्व, असल र इमानदार पथप्रदर्शक, सयौँका रोजगारदाता, ख्वै के भनेर सम्बोधन गरौँ? उचित शब्दको पनि खडेरी परेको छ मसँग यतिबेला उहाँका लागि सही शब्द प्रयोग गर्न पनि। जीवनका पछिल्ला दिनहरूमा आफ्नो धर्म, संस्कृति र साहित्यलाई अघि बढाउन निकै सक्रिय भएर लाग्नुभएका प्रेरणादायी तिनै व्यक्तित्वको वैकुण्ठमा बास होस्। अहिलेलाई तलको कविताले चित्त बुझाउने प्रयासका साथ यत्ति कामना:

यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।
– कवि शिरोमणि

प्रकाशित: ८ कार्तिक २०७५ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App