६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपाले आधिकारिकता पाउने

काठमाडौं - निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई वैधानिकता दिने भएको छ। नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नामको पार्टीले वैधानिकता पाउने भएको हो।

आयोगमा यसअघि नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेकाले दलको नाम जुधेको भन्दै विवाद भएको थियो। पाँच वर्षअघि ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी नामको दल आयोगमा दर्ता गरेका थिए। दुई पार्टी एकीकरणपछिको नाम नेकपा नै राखेर दर्ता भएपछि विवाद भएको थियो।

एकै नामका दुईवटा पार्टी दर्ता गर्न नमिल्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा नयाँ पार्टीको नाम आयोगमा दर्ता गरिएको थियो। गत जेठमा दर्ता भएको नेकपा आफ्नो पार्टीको नामसँग जुधेको भन्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए।

आयोगले कोस्टमा नाम राखेपछि फरक हुने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गरेको थियो। अघिल्लो दर्ता नेकपाका अध्यक्ष कट्टेलको निवेदनमाथि बुधबार आयोगमा त्रिपक्षीय छलफल भएको थियो। छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरू, नेकपाका तर्फबाट मुक्ति प्रधान र अधिवक्ता बाबुराम दाहाल आयोगमा उपस्थित थिए। त्यसैगरी नेकपाका ऋषि कट्टेलसहित अधिवक्ता छलफलमा सहभागी भएका थिए।

दुई पार्टीको एकतापछि आयोगमा दर्ता भएको नेकपा (नेकपा), नेकपा र आयोगका पदाधिकारीबीच छलफल भएको आयोगका प्रवक्ता दीपक सुवेदीले बताए। ‘नामका विषयमा आयोगमा उजुरी परेको थियो । आज त्रिपक्षीय छलफल भएको छ । कानुनी निर्णय बिहीबार आउनेछ,’ उनले भने।

आयोगले आधिकारिक निर्णय नगरे पनि दुई पार्टीको एकतापछि भएको नेकपा (नेकपा) ले आधिकारिकता पाउने आयोगका एक आयुक्तले बताए। ‘निर्वाचन आयोगले यसअघि नै नाम फरक मानेर नयाँ दल दर्ता गरेको हो। आयोगले फरक मानिसकेपछि विवाद गर्नुको अर्थ छैन। नेकपाले आधिकारिकता पाउनेछ,’ उनले भने।

कट्टेलले भने बुधबारको छलफलमा नेकपा आफ्नो ब्रान्ड भएको जिकिर गरेका थिए। उनले २०७० सालमा नेकपा नाम राखेर पार्टी दर्ता गरेका थिए। छलफलमा आफूहरूले दर्ता गरेको पार्टीको नाममा अन्य पार्टी दर्ता हुन नसक्ने कट्टेललाई उद्धृत गर्दै आयोगका प्रवक्ता सुवेदीले बताए। ‘दुवै पक्षले आआफ्ना कुरा राखे। पार्टी दर्ता भएपछिको उजुरीका विषयमा छलफल भयो,’ उनले भने, ‘नेकपा हाम्रो मात्रै हो भन्ने दाबी कट्टेलले गर्नुभएको थियो।’ कट्टेलले नेकपा भन्ने आफूहरूमात्रै भएकाले नाम हटाउन आयोगलाई आग्रह गरेका थिए।

नवगठित नेकपाले भने कोस्टभित्र राखेको नामले नै फरक देखाउने भएकाले दर्ता भएको बदर हुन नसक्ने दाबी गरेका थिए।

आयोगमा ८ वटा कम्युनिस्ट पार्टी
निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी नामका ८ वटा दल दर्ता भएका छन्। आयोगमा नेपाल कम्युनिस्ट पार्टीसहित कोस्टमा नाम थपेर यसअघि नै ८ वटा दल दर्ता भएका हुन्।

यसअघि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत गरी आयोगमा ८ वटा कम्युनिस्ट पार्टी दर्ता थिए। सबैले कोस्टमा फरक नाम लेखेर दल दर्ता गर्ने गरेका छन्। आयोगले पनि फरक मान्दै ती दल दर्ता गरेको थियो। आयोगमा नेकपा (माले), नेकपा (जनसमाजवादी), नेकपा (माक्र्सवादी), नेकपा (संयुक्त), नेकपा (एकीकृत) लगायतका दल दर्ता भएका छन्। नेकपा झुन्ड्याएर कोस्टमा नाम फरक राखेर दर्ता गर्ने चलनले विवाद बनाएको हो।

नेकपा सचिवालय बैठक आज
यसैबीच बुधबार दिउँसो बस्ने भनिएको नेकपा सचिवालय बैठक बिहीबारका लागि सरेको छ। नेताहरुको कार्यव्यस्तता देखाउँदै बैठक बिहीबारका लागि सारिएको हो। नेकपा प्रदेश समिति, जिल्ला तह र जनवर्गीय संगठनको एकीकरण विषयमा छलफल गर्ने भनिएको बैठक बुधबार दिउँसो अन्तिम समयमा आएर स्थगित भएको हो । ‘बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ,’ नेकपाका महासचिव विष्णु पौडेलले भने।

प्रकाशित: ८ कार्तिक २०७५ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App