८ वैशाख २०८१ शनिबार
समाज

पियारी पासोमा पार्न खोज्दा...

काठमाडौं - सामाजिक सञ्जाल फेसबुकमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो निशा अधिकारीको नाममा। चिनेजस्तो लाग्ने सुन्दर तस्बिरसहित आएको फ्रेन्ड रिक्वेस्टलाई कुपण्डोलका एक व्यवसायीले एसेप्ट नगरी बस्नै सकेनन्। फेसबुक साथी भएको केही दिनपछि म्यासेन्जरमा कुराकानी सुरु भयो। कुराकानीकै क्रममा ती युवतीले व्यवसायीको मोबाइल फोन नम्बर मागिन्। व्यवसायीले पनि मोबाइल फोन नम्बर सहजै दिए। मोबाइल फोन नम्बर दिएको एक सातापछि उनलाई तिनै युवती निशा अधिकारीको फोन आयो। हजुरसँग काम छ, म भेटेरै कुरा गर्छु, म कहिले आऊँ भन्दै युवतीले समय मागेपछि ती व्यवसायीले असार ३ गते कार्यालयमै बोलाए। उनी कुपण्डोलस्थित कार्यालयमा आइन् र आफ्नो असली नाम इन्दु भएको बताउँदै झनै नजिक हुन चाहिन्। व्यवसायी के कम युवती जबजब उनको नजिक हुन्थिन् तब उनी पनि आसक्त हुन्थे। आमुन्नेसामुन्ने सोफामा रहेका दुवैजना नजिकै बस्न थालेपछि युवतीले अंगालोमा राखेर चुम्बन गरिन्। केही घण्टा दुवैजना यसरी नै गफिए र युवती त्यहाँबाट हिँडिन्।

युवती हिँडेको केही दिनपछि उनलाई एक युवकको फोन आयो। फोनमा कुरा गर्दे जाँदा आफू डन गणेश लामाको मान्छे भएको र इन्दुलाई यौन दुव्र्यवहार गरेको भिडियो आफूसँग सुरक्षित रहेको सो भिडियो सामाजिक सञ्जाल र युट्युबमा सार्वजनिक गर्ने भनेपछि ती व्यवसायी छाँगाबाट खसेजस्तो भए। ती युवकले त्यतिमात्रै भनेनन्, करोड रुपैयाँ दिने भए मात्रै भिडियो सार्वजनिक नगर्ने सर्त राखे। यो क्रम केही दिन चल्यो। आफूले गल्ती नगरेको भन्दै सबै विवरण लिएर ती व्यवसायी प्रहरीको शरणमा पुगे। यसरी ‘हनी ट्रयाप’ (पियारी पासो) मा पारेर करोड असुली गर्ने युवकयुवती नै अन्ततः प्रहरीको फन्दामा परेका छन्।

यसरी माग गरियो करोड
सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीले कुपण्डोलमा व्यवसाय गर्ने व्यापारीलाई फोनमार्फत काम छ भनेर कार्यालयमा आई चुम्बन गर्दे गरेको भिडियो रेकर्ड गरी करोड रुपैयाँ माग गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले इन्दिरा उप्रेती र बद्रीनाथ लामिछानेलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार गत असार ३ गते आफूलाई निशा अधिकारी नाम बताउँदै इन्दिरा ती व्यवसायीको कार्यालयमा पुगेकी थिइन्। उनले त्यतिबेला आफ्नो नाम इन्दु भएको र झापा जिल्लाको बुधबारेमा घर भएको बताएकी थिइन्। तर, उनको वास्तविक ठेगाना भने पाँचथरको हिलिहाङ भए पनि उनी काठमाडौंको सामाखुशीमा बस्दै आएकी थिइन्।

इन्दिरा व्यवसायीको कार्यालयमा पुगेको लामो समयसम्म कुराकानी गरेकी थिइन्। कुराकानीकै क्रममा उनले व्यवसायीलाई अंगालोमा राखेर चुम्बनसमेत गर्न भ्याएकी थिइन्। चुम्बनको भिडियो रेकर्ड मोबाइलमा गराइसकेपछि उनी त्यहाँबाट बाहिरिएकी थिइन्। व्यवसायीले थाहा नपाउने गरी मोबाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखी नजिक हुँदै व्यवसायीको छेउमा गई अंगालो मारी चुम्बनसमेत गरेको रेकर्ड गरी इन्दिरा त्यहाँबाट गएपछि गुन्डा नाइके गणेश लामाको नाम लिएर बद्रीनाथ लामिछानेले करोड रुपैयाँका लागि बार्गेनिङ गरेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार लामिछानेले व्यवसायीलाई इमोबाट फोन गरी सो भिडियो रेकर्ड आफूसँग रहेकाले एक करोड रुपैयाँ माग गरेका थिए। उनले भनेजति रकम नदिए युट्युब र फेसबुकमा भिडियो अपलोड गरी बेइज्जत गरिदिन्छु भन्दै धम्क्याएपछि ती व्यवसायी प्रहरीको शरणमा पुगेका हुन्। प्रहरीले लाछिानेलाई मंगलबार साँझ र इन्दिरालाई बुधबार दिउँसो पक्राउ गरेको थियो। उनीहरूमाथि महिला प्रयोग गरी आपराधिक लाभ (एक्टोर्सन) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू यसअघि पनि यस्तै धन्दामा लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App