coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरानमा मेलाको लफडा, उपमहानगर नेतृत्व र नेकपा मेला लगाउने पक्षमा

धरान– दुई जना घाइते हुने गरी झडप भएपछि प्रशासनले बन्द गराए पनि धरान उपमहानगरपालिका नेतृत्व र नेकपाले मेला लगाउने अडान लिएको छ। पार्टी कार्यालयमा कार्यवाहक प्रमुखसहित केही वडाअध्यक्षहरुको बैठकले विरोध आएपनि नगर कार्यपालिकाको निर्णय अनुसार मेला लगाएरै छोड्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले भने मंगलबार झडप भएलगत्तै मेला बन्द गराउन प्रहरीलाई निर्देशन दिइसकेको छ। प्रहरीले पनि मंगलबारदेखि नै मेला आयोजनास्थल धरान १२, पब्लिक स्कुल मैदान आफ्नो नियन्त्रणमा राखेको छ। विभिन्न राजनीतिक दलको विरोध र प्रहरी प्रशासनको पनि असहमति हुँदाहुँदै नगर कार्यपालिकाले छिमेकी युवा समूहलाई मेला लगाउन स्वीकृति दिएको थियो। समूहले सोमवार मात्र मेला उद्घाटन गरेको थियो।

उपमहानगरका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले सबै पक्षसँग समन्वय गरेर भएपनि मेला लगाउने समझदारी बनेको बताए। स्थानीय सरकारले निर्णय गरेको हुनाले प्रहरीले शान्ति सुरक्षा दिने जिम्मेवारी भएको पनि उनको भनाई थियो। ‘मेला लगाउनुपर्छ, प्रहरी प्रशासनले शान्ति सुरक्षा दिनुपर्छ’, प्रवक्ता राईले पार्टीसँगको बैठकको समझदारीबारे भने, ‘मेलाको वातावरण बनाउँदै जाने निर्णय भयो। इगो लिएर होइन, त्यसरी जानुपनि हुँदैन। हिजो त्यस्तो ठुलो घटना भएको पनि होइन। भिडन्त गर्नुहुन्न, सुरक्षा दिनुपर्छ।’

स्रोतले दिएको जानकारी अनुसार मेला आयोजनामा विभिन्न नेताहरु र तरुण दल, युवा संघसम्बद्ध युवाहरुको लाखौं रुपैया लगानी भइसकेको छ। त्यसैले मेला जसरी पनि लगाउने पक्षमा उपमहानगर र नेकपा रहेको छ। ‘मेला लागेन भने लगानी डुब्छ, त्यसैले जसरी पनि मेला लगाउनुपर्छ’, नेकपा स्रोतले भन्यो। पार्टी कार्यालयमा भएको बैठकले कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई प्रहरी प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ भने मेलाको विरोध गरिरहेका युवाहरुलाई समन्वय गर्न नेता मिन सुब्बा, पदम इस्पो लिम्बुलाई जिम्मा दिएको छ। यस्तै, अन्य नेताहरुले मेलाको विरोध गरिरहेको पार्टीहरुसँग राजनीतिकरुपमा समन्वय गर्ने जिम्मेवारी दिएको छ।

उपमहानगर र नेकपाले पार्टी मेला लगाउने अडान लिइरहँदा सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेती भने मेलाको सुरक्षा दिन नसकिने बताउँछन्। ‘मेलालाई हाम्रो स्वीकृति थिएन। सल्लाह विना जर्बजस्ती लगाएको हो, मंगलबार त्यस्तो घटना भयो’, प्रजिअ उप्रेतीले भने, ‘हामी मेलाको सुरक्षा गर्न सक्दैनौं, जनताको सुरक्षाको जिम्मेवारी हो। यो कुरा पटक पटक जनप्रतिनिधिलाई भनिसकेका छौं।’ मेलामा झडप भएपछि मंगलबार गृह मन्त्रालयबाट पनि बन्द गराउन निर्देशन आइसकेको उनले बताए। यस्तै, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पनि घटनाप्रति चासो लिएर बुझ्ने काम भएको उनले बताए। 

मेलाले विकृति, विसंगति बढाउने र युवाहरुबीचमा मनमुटाव हुने भन्दै नगर कार्यपालिका निर्णयलगत्तै नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो भने संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान मञ्च, वाइसिएल, मंगोल नेशनल अर्गनाइजेशन, नेकपा माले र किराँत खम्बुवान साझा पार्टीलगायत दलहरुले पनि मेला नलगाउन भन्दै ज्ञापन पत्र, विरोध र्याली निकालेको थियो। यद्यपी, छिमेकी युवा समूहको ब्यानरमा कांग्रेसका केही नेता र तरुण दलका युवाहरु, एमाले पार्टी र युवा संघका युवाहरुको लगानी भएकोले मेला जर्बजस्ती आयोजना भएको थियो।

यसैबीच, बुधबार नेपाली कांग्रेस र मेलाको विरोध गरिरहेका विभिन्न ६ दलले प्रेस विज्ञप्ती जारी गर्दै मंगलबार भएको झडपको जिम्मेवारी नगर नेतृत्वले लिनुपर्ने बताएको छ। कांग्रेस नगर सचिव युवराज शंकरद्धारा जारी विज्ञप्तीमा मेलाको कारण धरानका युवाहरु दुई समुहमा विभाजित भएर भिडन्त गर्ने अवस्था जनप्रतिनिधिहरुले निम्त्याएको भन्दै मेला तत्काल बन्द गर्न माग गरिएको छ। यस्तै, संघीय समाजवादी, संघीय लिम्बुवान, वाइसिल, जनमुक्ति पार्टी, मंगोल नेशनल, किरात खम्बुवान साझा पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै मेलाको कारण हुने घटना र धनजनको क्षति उपमहानगरपालिकाले लिनुपर्ने बताएको छ। 

प्रकाशित: ७ कार्तिक २०७५ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App