coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति भण्डारीद्धारा नवदुर्गाको दर्शन

भक्तपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको अन्तिम कोजाग्रत पूर्णिमाको दिन बुधबार भक्तपुरको कमलविनायक गछेंस्थित नवदुर्गा भवानी मन्दिरमा टिका तथा प्रसादग्रहण गरी दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारी विशेष सुरक्षाका साथ मन्दिरमा साँझ चार बजे पुगेर पूजा आराधना गरेकी थिइन्। उनले झण्डै १५ मिनेट मन्दिरमा विताएकी थिइन्।

हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा  राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ। २०४५ सालदेखि राष्ट्रप्रमुखले नवदुर्गाको पूजाअर्चना गर्ने परम्परा बसेको बताइएको छ।

मन्दिर आइपुगेका राष्ट्रपतिलाई वनमाला गुठीका नाइके ईन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए। नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति भण्डारीलाई नवदुर्गाको पूजा एवं टीका प्रसाद प्रदान गरी स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीलाई तलेजु मन्दिरका मूलपुजारी नरेन्द्र जोशीले पनि स्वागत गर्नुका साथै तलेजुको टीका तथा प्रसाद प्रदान गरेका थिए। 

आर्थिक अभाबका कारण मन्दिरको पूजाअर्चना रोकिने अवस्थाबारे राष्ट्र प्रमुखहरुलाई अवगत गराएता पनि कसैले वास्ता नगरेको नवदुर्गा गणका सदस्यहरुले गुनासो गरे। हरेक वर्ष झै यो वर्ष पनि मन्दिरको आर्थिक अवस्थाबारे मन्दिरका पुजारीले राष्ट्रपतिलाई गुनासो पोखेका थिए। राष्टपति भण्डारीलाई दृष्टि विहीनहरुले बनाएको सुकुलमा पेन्टिङ गरी बनाएको फोटो हस्तान्तरण गरिएको थियो। 

प्रकाशित: ७ कार्तिक २०७५ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App