७ वैशाख २०८१ शुक्रबार
समाज

चिनियाँ रुद्राक्ष व्यापारीलाई हिरासतमा राख्न म्याद थप

संखुवासभा– रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्नलाई १० दिनको म्याद थप गरिएको छ। चार चिनियाँ रुद्राक्ष व्यापारीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ३५ वर्षीय लिनान, ४० वर्षीय लिउछिन, ३८ वर्षीय हाउ साउहुइ र ४५ वर्षीय लीन तान्वीन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पोखरेले जानकारी दिए। उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

खाँदबारीमा रुद्राक्ष खरिद बिक्री गर्ने विषयमा विवाद उत्पन्न भएपछि कुटाकुट भएको प्रहरीले जनाएको छ। एक समूहले खरिद गरेको रुद्राक्ष ल्याउँदै गर्दा अर्को समूहले थप रकम दिएर खोसाखोस गरेपछि विवाद सुरु भएको थियो। विवादका क्रममा छिन जेन्वीङलाई टाउकोमा इट्टा प्रहार गरिएको थियो भने ढाड समेत भाचिएको प्रहरी निरीक्षक पोख्रेलले बताए। गम्भीर घाइते भएका जेन्वीङको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सोमबार हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको छ। 

पक्राउ पर्ने चारै जना सहित अन्य चिनियाँ व्यापारी खाँदबारीमा घर भाडामा लिएर गत वर्ष देखि नै रुद्राक्ष खरिद बिक्रीको समयमा बसोबास गरिरहेका छन्। रुद्राक्षबाट छोटो समयमा राम्रो आम्दानी हुने भएकाले चिनियाँ व्यापारीहरु नेपालबाट खरिद गरेको रुद्राक्ष चीन लगेर बिक्री गरेर पुन आउने गरेका छन्।

पछिल्लो समय रुद्राक्ष खरिद विक्री गर्ने चिनियाँ व्यापारीहरुको ठूलो संख्यामा संखुवासभा भित्रिने गरेका छन्। एउटै रुद्राक्ष लाखौं मूल्यमा खरिद बिक्री हुने भएकाले चिनियाँ व्यापारीहरु नेपाल आउने गरेका छन्। रुद्राक्षको राजधानी भनेर चिनिएको भोजपुर र संखुवासभा जिल्लाका विभिन्न क्षेत्रमा रुद्राक्ष उत्पादनको दृष्टिकोणले निकै राम्रो मानिएको छ। रुद्राक्षकोे २१ मुखे एउटै दाना ५ लाख देखि ५० लाख भन्दा माथि सम्म खरिद बिक्री हुने गरेको छ। ४ र ५ मुखे भन्दा माथिका रुद्राक्षका दानाहरु प्रति गोटाका दरले आकार अनुसार लाखौं मूल्यमा बिक्री हुने गरेको छ। चिनियाँ नागरिक बिजेनेस भिषामा नेपाल आएर रुद्राक्षको कारोबार गर्ने गरेका छन्।

रुद्राक्ष खरिद बिक्रिका लागि संखुवासभामा ५० जना चिनियाँ व्यापारी भित्रिएका छन्।

प्रकाशित: ७ कार्तिक २०७५ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App