coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पदमार्गमा लगातार पहिरो, ४ को मृत्यु, ६ गम्भीर

गोरखा- उत्तरी गोरखाको केरौँजा–९ दोभाननजिकै बिहीबार पहिरोमा चार जनाको मृत्यु भएको छ। पहिरोमा १३ घाइते छन्, तीमध्ये ६ गम्भीर छन्। मृत्यु हुनेमा एक स्पेनिस पर्यटक, उनीसँगै रहेको पथप्रदर्शक ३५ वर्षीया दोर्जे लामा, ३० वर्षका छिरी शेर्पा र क्यान नेपालका कर्मचारी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा परी मृत्यु भएको हो। घाइतेको राजधानीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

२५ जनाको पर्यटक टोली मनास्लु जाँदै थिए भने क्यान नेपालका कर्मचारी पदमार्ग हुँदै माथिबाट आरुघाटतर्फ फर्कंदै थिए।

पर्यटक टोली र कर्मचारीबीच जम्काभेट भएकै बेला पहिरो बगेको थियो। मृत्यु भएका मध्ये बस्नेतलाई पहिरोले बूढीगण्डकीमा पुर्‍याएको र नदीले बगाएर बेपत्ता बनाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  पहिरोमा च्यापिएका तीन जनाको शव बाहिर निकाल्न सकिएको छैन। बुधबार रातभरको वर्षाले बिहीबार बिहान ८ बजे पहिरो गएको र दिनभर पनि माटो बगिरहेकाले शव निकाल्न नसकिएको घटनास्थल पुगेका प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख एसपी जनकराज पाण्डेयले बताए।

गम्भीर घाइते भएकामा चार विदेशी, क्यान नेपालका कर्मचारी प्रीति मगर र चेतकुमारी मगर छन्। घाइतेलाई दिउँसो १ बजे फिस्टेल एयरको हेलिकप्टरले उपचारका लागि काठमाडौँ लगिएको हो। घटनास्थल गोरखा सदरमुकामबाट करिब २२ कोषको दुरीमा पर्छ। त्यहाँ पुग्न तीन दिन लाग्ने र नजिकै गाउँ बस्ती नभएको, टेलिफोनले समेत काम नगर्दा घटनाबारे करिब चार घन्टापछि मात्रै जानकारी आएको थियो।

माछाखोला र जगतबाट तीन घन्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थल पुगेपछि मात्र घटनाबारे जानकारी आएको थियो। प्रहरी सञ्चार सेटले समेत काम नगर्दा समयमै सूचना आउन नसकेको एसपी पाण्डेले बताए। थप मद्यतका लागि इलाका प्रहरी कार्यालयबाट पनि प्रहरी टोली खटाइएको छ।

लगातार वर्षाका कारण प्रहरी घटनास्थल पुगेपछि पनि शव निकाल्न सकिएको छैन। अन्य सकुशल रहेका पर्यटकलाई भने सुरक्षित राखिएको छ। पदमार्गमा पहिरो बगिरहेकाले पर्यटकलाई आउजाउ नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

'प्रहरी युनिट र ठाउँठाउँ सम्पर्क गरेर पहिरो बगिरहेको र जोखिम भएकाले आउजाउ नगर्न सूचना दिएको छौँ,' प्रमुख जिल्ला अधिकारी नारायण भट्टले भने। केही समयअघि पनि केरौँजा गाविसभित्रै पर्ने मनास्लु पदमार्गमा पहिरोले पुरिएर तीन जनाको ज्यान गएको थियो।

कहालीलाग्दो बन्यो पदमार्ग

नेपालका प्रसिद्ध पदमार्गमध्ये एक उत्तरी गोरखामा पर्ने मनास्लु पदमार्गमा भूकम्पयता पर्यटक आउजाउ ठप्पप्रायः थियो। भूकम्पले पदमार्गमा जताततै पहिरो बग्ने, झोलुंगे पुल चुँडिने, पैदलमार्ग भत्कने भएपछि पर्यटक आउनै छाडे। अघिल्लो वर्ष मुख्य सिजनमा समेत पर्यटक संख्या अफसिजनमा भन्दा निकै न्यून रह्यो। यो वर्ष सिजन सुरु हुँदादेखि नै पर्यटक चहलपहल अघिल्लो वर्षको तुलनामा बढे पनि पदमार्ग निर्माण नहुँदा जोखिम मोलेर मनास्लु जाने आँट थोरै पर्यटकले गरे।

बाह्य पर्यटक आउन छाडेपछि त्यहाँको पर्यटन थला परेको छ। २००७ यता अहिलेसम्मकै थोरै पर्यटकले पदमार्गबाट यात्रा गरेका छन्। पर्यटक आउन छाडेपछि पदमार्गका होटल व्यवसायी निराश छन्।

मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का अनुसार सन् २००७ मा एक हजार चार सय १९ जना पर्यटकले मनास्लु संरक्षण क्षेत्रको यात्रा गरेका थिए।  बितेको वर्षको संख्या नौ वर्षयताकै थोरै हो। भूकम्पयता २०१५ मा अघिल्लो वर्षभन्दा तीन हजार ५ सयले घटेको पर्यटन संख्या त्यसयता झन् ह्वात्तै घटेकोे एमक्यापका प्रमुख राजकुमार गुरुङले बताए। 

मनास्लु पदमार्गअन्तर्गत चुम्चेतको सर्तीभीर र सिर्दिवास आरुघाट खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा आउजाउ समस्या छ। 'पानी पर्दा त बाटो ठप्पै हो, पानी नपरेका बेला स्थ्ाानीय जोखिम मोलरै भए पनि हिँड्छन्,' एमक्यापका सिर्दीवासस्थित कार्यालयका कर्मचारी छाङदोर्जे लामाले भने।

मनास्लु क्षेत्रमा फ्रान्स, जर्मनी, बेलायत, अमेरिका लगायत देशका पर्यटक धेरै आउने गर्छन्। सहासिक पदयात्रा गर्ने र प्रकृति प्रेमी पर्यटक उत्तरी क्षेत्रमा वढी आउने गरेको एमक्यापले जनाएको छ। उत्तरी क्षेत्रको भौगोलिक अवस्थिती, हिमश्रृखला, साँस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकनका लागी पर्यटकहरु आउने गरेका छन्।  नुवि्र भ्याली, चुम क्षेत्र, मनास्लु आरोहण र लार्केपास पर्यटक रोजाइमा पर्ने गर्छन् तर त्यहाँसम्म पुग्न पर्यटकलले जोखिम मोल्नुपर्छ।

उत्तरी गोरखाको उहिया, कासिगाउँ, केरौँजा, मान्बु, ल्हो, बिही, सिर्दीवास, गुम्दालगायत गाविसमा सडक पुगेको छैन। यहाँका स्थानीय सदरमुकाम आउन दुईदेखि सात दिनसम्म पैदल हिँड्नुपर्छ। पैदल हिँड्ने बाटो भनेकै एकमात्रै मनास्लु पदमार्ग हो। दुई महिनादेखि लापु हुँदै उत्तरी यी गाविसमा जाने बाटो भत्किँदा आउजाउ गर्दासमेत समस्या भएको सिर्दीबास–१ का रामकुमार गुरुङले बताए।

'दुई महिनादेखि पदमार्गको बाटो भत्किएर सदरमुकाम आउन जान पनि सकिएको छैन,' उनले भने, 'खुट्टा टेक्ने ठाउँ छैन।' लापु गाविसको लिदिङ, हावाडाँडा, नौलिखोला, खानीवेशी माछाखोलामा पैदमार्ग भत्किएको छ। खोर्लावेशीदेखि दोभानसम्म छ ठाउँमा पहिरो बगेको छ।

दोभानदेखि यारुबगरसम्म पाँच ठाउँमा हिँड्न नसक्ने गरी पहिरो बगेको हो। जगतदेखि फिलिम, सल्लेरी एक्लेफाँटलगायत विभिन्न पाँच ठाउँमा पैदलमार्ग बिग्रिएको छ। खच्चडले ढुवानी गर्नुपर्ने त्यहाँ आउजाउ गर्न समस्या भएपछि स्थानीय बजारमा महँगी बढेको छ।

'हामी हिँड्न त सकेका छैनौँ, ढुवानी त परको कुरा,' उहिया–७ का जंगबहादुर गुरुङले भने, 'पहिरोले बाटो भत्किएको छ, बर्खाको बेला डरैडरमा खोला तरेर हिँड्नुपर्छ।' कतै डोरी समाएर बाटो छिचोल्नुपर्ने त कतै पहिरो बगिरहने हुँदा हिँडडुल गर्न नसकिने उनले बताए।

पर्यटक घट्दा राजस्व संकलन पनि घटेको छ। मनास्लु पदमार्ग मर्मतका लागि जिल्ला विकास समितिले पर्यटन रोयल्टीको करिब ३ करोडबाट केही रकम विनियोजन गरेको थियो। द ग्रेट हिमालयन टे्रल, एमक्यापलगायत विभिन्न गैरसरकारी संघसंस्थाले पदमार्ग निर्माणमा सहयोग गरेका थिए। स्थानीय विकास अधिकारी नारायण आचार्यले भने, 'बजेट थोरै छ, जोखिम क्षेत्र धेरै छ, राम्रोसँग पदमार्ग बनाउन सक्ने गरी बजेट नहुँदा राम्रोसँग मर्मत गर्न सकिएन।'

प्रकाशित: ७ आश्विन २०७३ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App