८ वैशाख २०८१ शनिबार
अर्थ

मुस्ताङबाट २६ हजार भेंडाच्यांग्रा बाहिरिए, ३५ करोड कृषकको हातमा

म्याग्दी – दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।

गतवर्ष मुस्ताङका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चीनको तिब्वतस्थित झोङवासेन जिल्लाबाट व्यापारीले खरिद गरेर ल्याएको भेंडाच्यांग्रा मुस्ताङबाट म्याग्दी हुँदै बाहिरिएको घाँसा प्रहरी चौकी मुस्ताङका प्रहरी सहायक निरीक्षक गोपाल खत्रीले बताए।

‘एकैपटक भेंडाच्यांग्रा निकासीमा निकै समस्या भयो,’ उनले भने, ‘केही भेंडाच्यांग्रा दसैंलगत्तै बाहिरिने तयारीमा छन् ।’ सडकमार्ग हुँदै बाहिरिएको भेंडाच्यांग्रामा यसवर्ष १६ हजार चार सय च्यांग्रा र १० हजार ४५ भेंडा रहेका छन्।

गतवर्ष २२ हजार भेंडाच्यांग्रा निकासी भएको थियो । भेंडाको तुलनामा च्यांग्राको मासु स्वादिलो हुने भएकाले पनि बजारमा खपत धेरै हुने काठमाडौंका व्यवसायी पशुपती सिलवाले बताए । ‘विगतमा भन्दा धेरै सास्ती खेप्नुपर्यो, उनले भने, ‘मुस्ताङ बाहिरका धेरै भेंडाच्यांग्रा छन् ।’ गत वर्षहरुमा भन्दा यस वर्ष विभिन्न ठाउँमा कर तिर्न पर्ने भएकाले भेंडाच्यांग्रा महंगो भएको व्यापारीको भनाइ छ । २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेंडाच्यांग्रालाई व्यापारीले किसानबाट १७ हजारदेखि २४ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए । उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप क्षेत्रमा पालेका भेंडाच्यांग्रा बजारमा पुगेका छन्।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेरका भेंडापालक कृषकको गोठमै व्यापारीहरू पुग्न थालेपछि करिब ९० प्रतिशत भेंडाच्यांग्रा बाहिरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । बाँकी १० प्रतिशत भेंडाच्यांग्रा तिहारताका निकासी हुने बताइन्छ । मुस्ताङमा रोगी भेंडाच्यांग्रा निकासी हुन नदिने गरी स्वास्थ्य परीक्षण गरी निरोगीको प्रमाणपत्र जारी गरेर मात्रै निकासीका लागि अनुमति दिइएकाले चरन क्षेत्रमा कुनै पनि रोग नदेखिएकाले पनि स्वस्थ भेंडाच्यांग्रा बजारमा गएको केन्द्रका प्रमुख जीवन आचार्यले बताए।

‘भेंडापालनमा कृषकलाई आकर्षित गर्ने प्रयासमा छौं,’ उनले भने, ‘मागअनुसार बजारमा खपत हुन सकेको छैन ।’ मुस्ताङमा भेंडाको तुलनामा च्यांग्राको संख्या धेरै हुने गरेको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्कीका साथै देशका विभिन्न जिल्लाबाट भेंडाच्यांग्रा गरिद गर्न गएका व्यापारीले म्याग्दी र मुस्ताङमा फरक फरक करले मूल्य बढेको बताए।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा प्रतिगोटा भेंडाच्यांग्राको एक सय र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ३५ रुपैयाँका दरले कर तिरेका छन् । मुस्ताङबाट झरेका भेंडाच्यांग्रा म्याग्दीको बेनी हुँदै काठमाडौं, पोखरा, चितवन, बाग्लुङ, कुश्मा र पोखरासम्म पुगेका थिए । गत वर्षको तुलनामा भेंडाच्यांग्राको मूल्य अकासिएको छ । च्यांग्रालाई प्रतिगोटा १७ देखि २५ हजार र भेंडा प्रतिगोटा १९ देखि २७ हजारसम्ममा खरिद बिक्री गरिएको छ।

बाहिरी जिल्लाबाट आएका व्यापारीका अनुसार कृषकले नै व्यापारीको भूमिका निर्वाह गर्न थालेपछि आगामी वर्षमा मूल्य थप अकासिने बताएका छन् । गोठमै महंगो हुन थालेको भेंडाच्यांग्रा मुस्ताङ बाहिरबाट खरिद गरेर मुस्ताङीले आफ्नो गोठसम्म ल्याउने गरेका छन्।

मुस्ताङ बाहिरबाट आएका नेपाली व्यवसायीले सिधैं तिब्बती भेंडाच्यांग्रा खरिद गर्न पाउँदैनन् । तीन महिना अगाडि नै व्यापारीले भेंडाच्यांग्रा बुकिङ गर्ने गरेका थिए । यस वर्ष सिजनमा ३५ करोडभन्दा बढीको कारोबार भएको किसानको भनाइ छ । यसैबीच म्याग्दीका विभिन्न गाउँमा चाडपर्वलाई लक्षित गरी गरिएको भेंडासमेत खपत भएका छन् । गाउँघरमै बाहिरी जिल्लाबाट आउने भेंडाभन्दा गाउँमै उत्पादन भएका भेंडालाई प्रयोग गरिएको पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App