coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कलाकारलाई दसैं : कसैलाई रमाइलो, कसैलाई खल्लो

काठमाडौं – दसैं केही कलाकारका लागि रमाइलो भयो त केहीले पुरानो दसैं सम्झेर चित्त बुझाए ।  फिल्म, गीत संगीतका कलाकारलाई आम मानिसले झैं दसैं मनाउने चाह हुन्छ  । तर धेरैका लागि कमाउने अवसर पनि ।  कार्यक्रमको चापले चाडवाडकै बेलामा छोप्ने गर्छ ।  तथापि उनीहरूले कामको बोझबाट बाहिर निस्केर मज्जाले दसैं मनाएको सन्देश सामाजिक संजालमा पोस्ट भएका फोटोले दिन्छन्।

नायिका रेखा थापा यतिबेला आफ्नो नयाँ चलचित्र ‘मालिका’ रिलिजको अन्तिम तयारीमा छिन् । फिल्म रिलिजको झमेलाकै बीच आएको दसैं उनले खुलेर मनाउन पाइनन् ।  तर अष्टमी, नवमी र दशमी तीन दिन उनले आफ्नो पुरानो गाउँ मोरङको महादेवा पुगेर मनाइन् । हाल बजार क्षेत्रमा घर भएपनि पुरानो गाउँ पुग्दा बालापनको दसैं स्मरणले उनलाई छपक्कै छोप्यो।

‘तीसवर्ष पछि त्यहाँ पुगेको  हो,’ उनले सम्झिइन्, ‘त्यहाँको बाटो ,चउर, कालीको पुरानो मन्दिर कताकता अझै पनि मन मस्तिष्कमा मेरो स्मरणमा रहेछ ।’ दशमीको टीकामा हातभरि थापेका दक्षिणाको सम्झना उनले गरिन् । यसपालाको टीका उनले आमाकै हातबाट लगाइन् । घरमा रमाइलो गर्ने दिदीबैनीसँग भेट गर्न नपाउँदा भने खल्लो महसुस गरिन् । गाउँको दसैंको रमाइलो भर्ने लिङ्गे पिङमा मच्चिन भने छाडिनन्।

यतिबेला दर्शकले भरिएको  फिल्म हल घुमिरहेका दीपकराज गिरी र दीपाश्री निरौलाका लागि फिल्ममा बढिरहेका दर्शक नै दसैंको दक्षिणा बने । गतसाल टीका नलगाएकी दीपाश्रीले यसपाला भने विराटनगर घरमा परिवारसँग टीका लगाएर रमाइलो गरिन् । दीपकराज गिरीको भने टीकाकै मुखमा आफन्त बितेकाले टीका लगाउन पाएनन् ।  घरमा दसैंको रौनक नभएपछि उनी दसैंभरी नै फिल्म हलमा दर्शकसँग दसैं मनाउन पुगे।

‘दसैं सिनेमा हलमै वित्यो, काठमाडौंको अधिकांस हल पुगेँ,’ गिरीले सुनाए, ‘दीपाजी भने घर पायकको झापा, धरान, इटहरी, मोरङका हलमा पुग्नुभयो ।’ यो दसैं र तिहारमासमा चलेको उनीहरूको फिल्म ‘छक्कापञ्जा ३’ ले अघिल्लो फिल्मको रेकर्ड तोड्ने जमर्को गरिरहेको उनले बताए। 

अभिनेत्री प्रियंका कार्कीले दसैंको राम्रै सदुपयोग गरेको सामाजिक सञ्जालमा पोस्टिएका फोटोले देखाए ।  केही समयअघि अभिनेता आयुष्मान देशराजसँग इन्गेज्ड भएकी प्रियंकाले यसपालाको दसैं नयाँ दुलहीले झै मनाएको देखियो ।  रातो मोडर्न क्लासिकल मिक्स कुर्तामा सजिएकी उनले आफ्नो घरसँगै आयुष्मानको घरमा आयुष्मानसँगै उनका आमा रविना देशराजसँग संयुक्त टीका ग्रहण गरिन् । त्यतिमात्र हैन नजिकको नातेदारकहाँ पनि उनी आयुष्मानसँगै टीका लगाउन पुगेकी थिइन्। 

नायिका बेनिसा हमालको पनि यो पाला दसैं नभएकाले विगतको दसैंको रमाइलो सम्झनुको विकल्प उनीसँग भएन । सधैं परिवारका साथ चितवनमा दसै मनाउने उनले टीका नभएपनि परिवारसँग भेटगरी दसैंको समय व्यतित गरिन् । ‘सानै हुँदा हजुरबुबाले रुखमा हालिदिनुभएको पिङ मच्चाइ मच्चाइ खेल्दा चुँडियो,’ विगतको स्मरण गर्दै उनले भनिन्, ‘त्यसयता जहिल्यै पिङ खेल्दा डोरी कति बलियो छ भनेर हेर्छु।’

दसैंमा दक्षिणा बटुल्ने उनको सौख नै हो । ‘कालोपोथी’ सुटिङका बेला निर्देशक मीनबहादुर भामले दिएको ६ हजार रुपैयाँ उनले पाएको अहिलेसम्मको सबैभन्दा ठूलो दक्षिणा हो। 

गायिका सुनिता दुलालले भने यसपाला विदेशका सबै सांगीतिक कार्यक्रम त्यागेरै दसैं मनाइन् । सिन्धुपाल्चोकस्थित गाउँको घर जलविरेमा उनी आठवर्षपछि दसैं मनाउन पुगिन् । ‘तीज लागेसँगै  हरेक वर्ष दसैंमा विदेशका कार्यक्रममा गइन्थ्यो,’ दलालले थपिन्, ‘यो पाला त्यो सबै कार्यक्रम छाडेर गाउँमा पिङ खेलेर दसैं मनाए ।’ त्यतिमात्र हैन उनले पहिलो पटक तासको जुटपत्ति खेल्न पनि सिकिन् । बाबा आमाको हातबाट टीका लगाएपछि आफन्तीसँग बसेर रमाइलो गर्दाको गाउँले दसैंको छुट्टै रमाइलो उनले अनुभूत गरिन् । मामाघर पुगेर टीका लाउँदा पाएको दक्षिणाले बाल्यकालको झल्को दियो उनलाई।

तर अचेल दक्षिणाभन्दा आशिर्वाद ठूलो लाग्छ सुनितालाई  । अर्की गायिका राधिका हमाल भने दसैं कार्यक्रममा गीत गाएर विताइन् । ‘हतार हतार टीका त लगाइयो तर धेरैजसो कार्यक्रमतिरै भुलियो,’ उनले दसैंको व्यस्तता बताइन् , ‘रोल्पाको जस्तो दसैं काठमाडौंमा नहुने भएकाले त्यो रमाइलो यता हुँदैन ।’ धादिङ, चितवन, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएका कार्यक्रममा उनले सांगीतिक प्रस्तुती दिइन्।

पुरानो दसैंमा उनलाई धेरै खुद्रा पैसा बटुलेर हिड्न खुब मनपथ्र्यो । ‘एउटै ठूलो रुपैयाँको नोटभन्दा धेरै पैसाको थुप्रो बोकेर हिड्थेँ,’ उनले भनिन् ‘अचेल भने आफै दक्षिणा दिने स्थानमा पुगेकाले त्यता ध्यान जान्न ’ दसैंमा गाउँको पिङ खेल्नु र किनमेल गर्नु उनको अर्को सौख हो । लिङ्गे पिङ खेल्न नपाएपनि अब जाडो महिनामा हुने महोत्सवको घुमाउने पिङ भने खेल्न नछाड्ने उनले सुनाइन्।

यी कालकारले जस्तै हरेक कलाकारले दसैंलाई स्मरणीय बनाउने जमर्को गर्दै यसवर्षको दसैं बिदा गरेका छन् । केही कलाकार विदेशमा कार्यक्रमको भिसा बोकेर उतै दसैं तिहार बनाउने मेसोमा छन् भने केही तिहार स्वदेशमै मनाउने बहाना खोज्दै छन्।

प्रकाशित: ७ कार्तिक २०७५ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App