बडादसैँ र वामदेवको पीडा

बुधबार, ०७ कार्तिक २०७५, १० : ०३ पुरुषोत्तम दाहाल

77


यो वर्षको विजयादशमी कतै उत्सव, कतै शोक कतै पीडा बेहोरेर सकिएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पीडा र शोक दुवै परेको छ भने नेपालको सांस्कृतिक उन्नयन र निरन्तरताको उत्सव उहाँको पार्टीका सबै नेताले बाँकी नेपाली जनतासँगै मनाउन पुगे । कतिपयका घरमा शोकको बास भयो । यो वर्ष बडादसैँ आरम्भ हुनुभन्दा केही पहिले र बडादसैँको मध्यमा नै  ख्यातनामा सञ्चारकर्मी, साहित्यकार, कलाकार, राजनीतिकर्मीहरूको इहलीला समाप्त भयो । नागरिक राष्ट्रिय दैनिकका अभिभावक हेमराज ज्ञवाली र पत्रकार रामचन्द्र हुमागाईँको अवसान यसै समय हुन पुग्यो । हुमागाईँ जरोबाट उठेका पत्रकार थिए । ज्ञवालीले २०४६ को परिवर्तनसँगै नेपाली सञ्चार जगतलाई संस्थागत र औद्योगिकरूपमा स्थापित गर्न योगदान गर्नुभयो । आजको चर्चित कान्तिपुर समूह निर्माण गर्न उहाँ र उहाँका साथी÷सहयोगीहरूले बगाएको पसिना, समर्पण गरेको योग्यता, सिप र गरेको योगदान, अविस्मरणीय देखिन्छ।

कसैले माने वा नमाने पनि त्यस पत्रिकाको फेदमा हेमराजको नाउँ नलिई हुँदैन । पछिल्लो चरणमा ज्ञवालीले नागरिक राष्ट्रिय दैनिक र यसका सहयोगी प्रकाशन, प्रसारण संस्थाहरू स्थापना गर्नमा उहाँको देन पनि अविस्मरणीय छ । उहाँ पूर्वीय दर्शनको अध्येता, ज्ञाता र प्रयोगकर्तासमेत हुनुहुन्थ्यो । यो दसैँमा यस्ता अरु धेरै स्मरणीय नागरिकको घरमा बत्ती बलेन । नेपालको लोकतान्त्रिक आन्दोलनमा अत्यन्त चर्चित समकालीन राजनीतिमा फरक विशेषता राख्न सफल चक्रप्रसाद बांस्तोलाको पार्थिव अवशान भयो । यो पंक्तिकारको पुस्ताका निकै योग्य, इमानदार राजनीतिकर्मी सुदर्शन आचार्यको घर पनि शून्य हुन पुग्यो । चक्रप्रसाद बांस्तोला बुद्धिजीवीमाझ नेपाली कांग्रेसको एउटा बौद्धिक र सुल्झिएका नेता मानिन्थे । उनको पार्थिव अवशान एकप्रकारले उनको शारीरिक कष्टको अवशान पनि थियो । तर पनि समाकालीन राजनीतिमा चक्रलाई कुनै न कुनै अध्यायमा पढ्नैपर्ने हुन्छ।

कांग्रेसका अनेक नेता जसले परिवर्तनलाई सार्थक बनाउन सफल भए ती पनि संसद्मा पुग्न सकेका छैनन् । बामदेम मात्रलाई किन संसद् नै चाहियो ? यो प्रश्न उठेपछि उहाँको सपना तुहिन पुग्यो।

सुदर्शन आचार्य बालाजु क्षेत्रको मात्र होइन, युवा पंक्तिमा सरल, शालीन, निष्ठावान् भनेर परिचित थिए । लोकतन्त्रमा विश्वास गर्ने एकजना राष्ट्रसेवक र लोकतान्त्रिक आन्दोलनको पर्याय परिवारका सदस्य सूर्यकान्त पन्थीले पनि यसै समयमा बिदा लिएछन् । उनी हामी धेरैका बालसखा हुन् । यसैगरी लोकतान्त्रिक आन्दोलनका जुझारु योद्धा कमल पंगेनीको पनि निधन भयो । नेपालको लोकतान्त्रिक आन्दोलनका अत्यन्त प्रभावशाली विश्मयकारी र एक प्रतिभाशाली नाम हो भरतशम्शेर । उनी केही महिनाअघि यस संसारबाट बिदा भए । २००७ सालको राजनीतिक परिवर्तनले ल्याएको बहुदलवाद र बहुदलीय संस्कृतिको विकास गर्न, प्रतिपक्षी संस्कृतिलाई सबल तुल्याउन भरतशम्शेरको महत्वपूर्ण भूमिका रह्यो । उनले २०१५ सालको निर्वाचनमा स्थापित राजनीतिक दलहरूलाई पछाडि पार्दै गोरखा परिषद्लाई जसरी जनताको तहमा पु-याए र प्रजातान्त्रिक प्रणालीको अपहरणपछि लोकतान्त्रिक आन्दोलनको मूलधारमा आफूलाई समाहित गराए त्यसले उनको राजनीतिक निष्ठा र लोकतन्त्रप्रतिको अटुट आस्था प्रमाणित गरेको थियो।

केही दिनअघि मात्रै भीमराज नौलखाको देहावसान भयो । उनी मारवाडी परिवारबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने आदरणीय व्यक्तित्व थिए । विराटनगरमा कृष्णप्रसाद कोइरालाको अभियानमा साथ दिने उनका पूर्खाहरूको उत्तराधिकारित्वलाई निरन्तरता दिँदै उनले मातृकाप्रसाद, बिपी र गिरिजाप्रसादहरूले सञ्चालन गरेका लोकतान्त्रिक आन्दोलनमा सक्दो सहयोग गरे । नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा हतियार भण्डार गर्नेदेखि अन्य धेरै कार्यमा उनको सहयोग रहेको विषय सम्झनायोग्य छ।

यो दसैँलाई धेरै कलाकर्मी र साहित्यकारहरूले पनि देख्न पाएनन् । कलाकार रामकृष्ण बोगटी, भीमबहादुर थापा र कृष्ण लामाको परिवारमा दसैँको कुनै उत्सव भएन । अन्य क्षेत्रका कतिपयका घरमा दसैँको दियो बल्न पाएन । कवि, गीतकार, कलाकर्मी र हाम्रो पुस्ताका एक होनहार लेखक गगन बिरहीले समेत यो समाज र परिवार छाडेर गए। उनले नेपाली साहित्य र कलाको भण्डारमा केही भए पनि कृतित्वको योगदान दिएका छन् । यसबेला दुईजना कलासाधकलाई राष्ट्रले स्मरण गरिरहनै पर्छ । ती हुन्– हरिप्रसाद रिमाल र मनुजबाबु मिश्र । हरिप्रसाद रिमाल विशिष्ट गीत संगीतको साधना र मनुजबाबु चित्रकारिताको क्षेत्रबाट ख्यातनामा हुन् । रिमालको योगदान रेडियो नेपालमा मात्र सीमित छैन । कला क्षेत्रमा संलग्न आजको पुस्तालाई समेत प्रेरक भूमिका रह्यो । मनुजबाबुको कलासाधना देश÷विदेशमा समेत प्रख्यात छ।

सरकारले यसपटकको बडादसैँको प्रभाव र प्रयोगलाई अनुभूत गर्दै विगतमा धार्मिक, सांस्कृतिक पर्वसंँग जोडिएका र अरु अनेक महत्वपूर्ण राष्ट्रिय दिवसहरूको सार्वजनिक बिदा कटौती गर्न गरेको गल्ती सच्याउनु जरुरी छ।

कलाकार, लेखक, साहित्यकार यथार्थमा राष्ट्रका स्पन्दन हुन् । आभूषण भनेर समाजले हलुका प्रकारले लिने गर्छ तर संस्कृतिको प्राण कलाकार, साहित्यकार नै हुन् । संस्कृतिको मृत्युसँगै राष्ट्रको पनि अवशान हुन्छ । राष्ट्रका यस्ता अनेक साधक, सर्जकले आफ्नो शरीर परित्याग गरे पनि उनीहरूको स्पन्दन निरन्तर राष्ट्रको मूलमा मुटुमा प्रतिध्वनित भइरहेको हुन्छ । तर नियतिको खेल हो, उनीहरूका परिवारमा शोक छ, व्यथा छ, कुनै उत्सव छैन । हामीले मनाएको बडादसैँ यस्ता सन्दर्भहरूका कारण खल्लो बनिरहे पनि हामी परम्परालाई निरन्तरता दिइरहेका हुन्छौँ।

यसपटकको बडादसैँलाई साम्यवादी नेतृत्वको सरकारले अत्यन्त हर्ष, उत्साह र भावनाका साथ मनाएको देखियो । महंँगी रोक्न असमर्थ सरकार भए पनि बडादसैँलाई अरु आमनागरिकले जस्तै गरी राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरू, मुख्यमन्त्री र नेता सबैले जोशका साथ मनाए । साम्यवादी सत्ताको एक हिस्सा पुष्पकमल दाहाल भने पुत्रशोकमा पर्नुभएको हुनाले उहाँमा स्वाभाविक पीडा थियो । दुःखेको मनले उत्सव हुन सक्दैेन । प्रचण्डका पुत्र प्रकाशको अकस्मात निधनले उहाँको परिवारमा शोक छाएको अवस्था छ । अन्यथा अरु सबै साम्यवादी सत्तासँग जोडिएकाहरूले जसरी बडादसैँको टीका÷जमरासाथ आशीर्वाद लिने/दिने काम गरे, त्यो प्रशंसनीय छ । यद्यपि केही अपवाद देखियो र सामाजिक सञ्जालमा ती अपवादले व्यापक चर्चा पाए।

खासगरी दसैँ बिदा कटौती गर्ने तर आमनागरिकलाई बालुवाटारमा निम्ता गरी पूर्णिमासम्म टीका लगाउन समय निर्धारण गर्ने प्रधानमन्त्रीको तालिका,  राजा÷महाराजाहरूले जस्तो गरी देखाइएको ढर्रा, टीकाको समयमा राष्ट्रपति कार्यालयमा देखिएको अत्यन्त अव्यवस्था, पक्षपात र राजसी शैली, प्रधानमन्त्रीसमेतबाट टीकादान गर्ने कार्य आदिलाई लिएर अनेक कोणबाट आलोचना भए । सामाजिक सञ्जालमा आएका अनेक दृश्यचित्रले आगोमा घिउ थप्ने काम गरिरहेको देखिन्छ । एकप्रकारले यो आलोचना गलत छैन । कतिपयले धर्म निरपेक्ष राष्ट्रमा यसरी राष्ट्र प्रमुखदेखि सरकार प्रमुखसम्मले धार्मिक कार्यमा सक्रिय हुनुलाई आलोचनाभित्र पारिरहेका छन् । यो आलोचना तर्कहीन लाग्छ।

यसै पनि करिब ९० प्रतिशत नेपाली ओमकार परिवारका छन् । बहुसंख्यक जनताको भावनामाथि प्रहार गरियो भन्ने धेरैको मत छ । यसै पनि संविधानले परम्परागत धर्म संस्कृतिको रक्षा गर्ने कुरालाई किटानीसाथ उल्लेख गरेको हुनाले सरकार प्रमुख वा राष्ट्र प्रमुखको धार्मिक, सांंस्कृतिक सक्रियता र संलग्नतालाई अन्यथा मान्न सकिँदैेन । बरु साम्यवादी नेतृत्वको सरकारको परीक्षण कुनरूपमा हुनेछ भनेर आमनागरिकले हेरिरहेका थिए । धर्म निरपेक्षता मान्ने अमेरिका वा अरु पश्चिमी राष्ट्र प्रमुखहरू चर्चमा जाँदैनन् कि ? बेलायत, जर्मनी वा फ्रान्सका सरकार प्रमुख धार्मिक कार्यमा संलग्न हुँदैनन् कि ? दुर्भाग्यपूर्ण टिप्पणी भने नेपालमै मात्र हुने गर्छन्।

धर्म निरपेक्ष भारतका प्रधानमन्त्रीले मन्दिर भ्रमण गर्दै हिँडेको सर्वत्र देखिएको छ । टिप्पणी भएको सुनिँदैेन । धर्म निरपेक्षताका नाममा नेपालको अत्यन्त प्राचीन, अझ भनौँ अर्वाचीन हिमाली संस्कृति, तपोभूमिको संस्कृति, देवभूमिको संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेको छ । विजयादशमी मान्दैनौंँ भन्ने नारा र जुलुस निकाल्ने, सनातन संस्कृतिविरुद्ध तथानाम गालीगलौज गर्ने छुट नेपालमै छ । तर निरन्तर यस्तो अराजक र समुदायलाई विभाजित गर्ने कार्य छुट हुन्छ भन्ने हुँदेैन । यो विषय गम्भीर भएको जब आमनागरिकले मान्न लाग्नेछन् त्यो दिन अर्कै अवस्था हुन सक्छ । बरु सरकारले यसपटकको बडादसैँको प्रभाव र प्रयोगलाई अनुभूत गर्दै विगतमा धार्मिक, सांस्कृतिक पर्वसंँग जोडिएका र अरु अनेक महत्वपूर्ण राष्ट्रिय दिवसहरूको सार्वजनिक बिदा कटौती गर्न गरेको गल्ती सच्याउनु जरुरी छ।

यो दसैँमा अनेक चर्चित प्रतिभाको अवसान जस्तै एक राजनीतिकर्मीको सपनाको पनि अवसान हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनका महारथि दाबी गर्ने बामदेवको सपना तुहिएको छ । उहाँ बर्दियाबाट अर्का साना गौतम सञ्जयसँग पराजित भएपछि संसद्मा पुग्न नपाएकामा निकै छट्पटाइरहनु भएको छ । यसैले कहिले डोल्पा, कहिले प्युठान, कहिले बाँके त कुनै समय रोल्पातिर आँखा लगाएर बसिरहनुभएको थियो । करिब १० महिनादेखि उहाँले पालेका पीडाको घाउमा मलम लगाउन काठमाडौँ क्षेत्र नं. ७ का नेकपाका सांसद रामवीर अघि सरे । अन्तर्यमा अनेक आर्थिक खेलोफड्को चलेको र निर्वाचनमा एक अरबसम्म खर्च गर्ने दाबी आएको समाचार बजारभर व्याप्त थिए । तर केही दिनको मन्थनपश्चात् बामदेवको सपना अवसान भएको छ।

रामवीरको हनुमानगिरी निष्फल भएको छ भने काठमाडौँ ७ का मतदाताका लागि क्रय÷विक्रयमुखी राजनीतिको मूल्यांकन गर्नुपर्ने अवसर थपिएको छ । आफूलाई माओवादी र एमाले एकताको प्रमुख सूत्राधार भएको हुनाले संघीय संसद्मा पुग्नैपर्ने दाबी बामदेवको थियो । तर उहाँ किन संसद्मा पुग्ने, अहिलेभन्दा फरक क्षमताका साथ जनताको सुख, समृद्धि र राष्ट्रको उन्नयनमा उहाँका चिन्तन के छन् ? बताइएको छैन । उहाँ जस्ता नेता संसद्मा हुनुपर्ने थियो । परिवर्तनको नायकत्व गर्ने अनेक नेता संसद्मा पुग्न सकेका छैनन् । नेपाली कांग्रेसका अनेक नेता जसले परिवर्तनलाई सार्थक बनाउन सफल भए ती पनि संसद्मा पुग्न सकेका छैनन् । बामदेम मात्रलाई किन संसद् नै चाहियो ? यो प्रश्न  उठेपछि उहाँको सपना तुहिन पुग्यो । तर अब बामदेव र रामवीरको जनताप्रतिको निष्ठा भने धरापमा परेको छ । नेकपाले समेत यसका बाछिटाको सामना नगरी हुँदैन।







यसमा तपाईको मत


अन्य समाचार

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

यो हो अहिलेको सबैभन्दा राम्रो क्यामरा भएको स्मार्टफोन

DxOMark अनुसार अहिलेको सबैभन्दा अब्बल क्यामरा स्मार्टफोन ! ...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी कसरी डाउनलोड गर्ने ?

तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् : ...

Ncell Footer Ad