coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सचिवालयका निर्णयको अनुमोदन स्थायी समितिमार्फत

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकका सबै निर्णय अनुमोदनका लागि स्थायी समितिमा पेस गरिने भएको छ। प्रदेशका इन्चार्ज, सह–इन्चार्ज अध्यक्ष र सचिव तोकिएको ५ असोजको सचिवालय बैठकको निर्णयमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएपछि त्यसलाई थप छलफलका लागि स्थायी समितिमा लगिन लागेको हो।

सचिवालय बैठकमा पार्टीका नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति प्रकट गरेपछि सो निर्णयलाई अनुमोदनका लागि आगामी कात्तिक १२ र १३ गते बस्ने स्थायी समितिको बैठकमा पेस गर्न लागिएको हो । वरिष्ठ नेता नेपालले पार्टी सञ्चालनमा नेतृत्वको कार्यशैलीको विरोध गर्दै पार्टी एकता सम्बन्धी निर्णय सहमतिका आधारमा हुनुपर्ने, अन्तरिम विधानको धारा ३८ ‘ग’ को व्यवस्था विपरीत प्रदेश इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव चयन गरिएकाले त्यसलाई सच्याउनुपर्नेलगायतका विषय समेटेर ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । त्यस्तै, प्रदेश र जिल्ला एकीकरणसम्बन्धी थप मापदण्ड टुंग्याएर स्थायी समिति बैठकबाट निर्णय गर्ने, नेताहरूका दोहोरो कार्यकारी पदको बारेमा पनि नेता नेपालको असहमति छ।

सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार सचिवालय बैठकले गरेका सबै निर्णय छलफलका लागि स्थायी समितिमा लगिने छन् । ‘सचिवालयका निर्णयलाई स्थायी समितिमा लैजानुपर्छ । सचिवालयबाट सहमति जुटेका विषय स्थायी समितिबाट अनुमोदन नहुने सम्भावना कम हुन्छ तर यदि पारित नभएमा निर्णय उल्टिन्छन्’, खनालले भने । नौ सदस्यीय सचिवालयमध्ये सात सदस्य उपस्थित भएको बैठकले गरेका कारण स्थायी समितिमा बहुमत सदस्यबाट अस्वीकृत भए मात्रै निर्णय उल्टन सक्छ।

पार्टीका स्थायी समिति सदस्य बेदुराम भुसालका अनुसार सचिवालय बैठकले गरेका सबै निर्णय स्थायी समितिमा अनुमोदन गराउनुपर्छ । वैधानिक निकाय स्थायी समिति भएकाले सचिवालय बैठकले अनुमोदन नगरेका विषय उल्टिन सक्ने उनको दाबी छ । ‘पार्टीको वैधानिक निकाय स्थायी समिति हो । सचिवालले गरेको सबै निर्णय लागू हुन्छन् भन्ने छैन । स्थायी समितिमा छलफल र अनुमोदन भएपछि मात्रै कार्यान्वयनको चरणमा पुग्छ,’ भुसालले भने । सचिवालय बैठकले नेपाल र श्रेष्ठको असन्तुष्टीलाई सम्बोधन गर्ने प्रयास गरेको थियो।

स्थायी समितिको बैठकमा सचिवालयले गरेका निर्णयबाहेक अन्य एक दर्जन अजेन्डा प्रस्तुत हुने पार्टी स्रोतले जनाएको छ । बैठकमा पोलिटव्युरो निर्माण, ३२ विभागको गठन र कार्यकर्ता व्यवस्थापनको विषयमा छलफल हुनेछ।

यसैबीच, नेकपाको सचिवालय पार्टी एकता र सरकारको सीमक्षा बैठक हुने भएको छ । बुधबार प्रधानमन्त्री निवास वालुवटारमा बस्ने सो बैठकमा जनसंगठनको एकीकरण, पोलिटव्युरो निर्माण र केन्द्रीय सदस्यहरुको जिम्मेवारीसहितका अजेन्डामा छलफल हुनेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा सरकार सञ्चालन र एकीकरणपछि पार्टीका नेता कार्यकर्तालाई जिम्मेवारी दिनेलगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित: ७ कार्तिक २०७५ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App