७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिकलाई सास्ती, पहुँचवालालाई मस्ती

जुम्ला विमानस्थलमा अलपत्र यात्रु। डिबी/नागरिक

जुम्ला - क्यानडा जानको लागि अन्तरवार्ता दिन काठमाडौं जान लागेका चन्दननाथ– ३ का नन्द तिमल्सेना हवाई टिकटकै लागि जुम्ला विमानस्थलमा चार दिनसम्म बसे। गाउँबाट जुम्ला विमानस्थल आएको पहिलो दिन टिकट पाउने आशमा दिनभर विमानस्थल ढुके । तर टिकट पाउन सकेनन्। टिकट त पाएनन् नै निजी विमान कम्पनीका कर्मचारीले उनलाई राम्रो व्यवहारसमेत गरेनन् । ‘टिकट पाउने आशामै यहाँ बसेको चार दिन भइसक्यो। जहाजको टिकट नपाउने भएपछि कर्णाली राजमार्गबाट यात्रा गर्नुपर्ला भन्ने सोच्दैछु,’ तिमल्सेनाले भने। आफूभन्दा पछि आएकाहरुले सहजै टिकट लिएर जहाजमा उडेको देख्दा आफ्नो मन भक्कानिएको उनले बताए। ‘फोनबाटै टिकट बुकिङ गरेको सुन्दा आश्चर्यमा पर्थें,’ उनले भने, ‘हवाई यात्रा गर्दा सर्वसाधारणमाथि निजी एयर कम्पनीको दादागिरीको अन्त्य कहिल्यै भएन । सहजै टिकट पाउने वातावरण स्थानीय प्रशासनले कहिल्यै मिलाउन सकेन।’ टिकट नपाउनुको पीडा आफूहरुको सधैंको दुःख बनेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय जुम्लामा पटक–पटक बसेको बैठकले पहिला विमानस्थल पुग्नेलाई हवाई सेवा दिने निर्णय गरेको थियो । तर ती निर्णय पुस्तिकामै सिमित भए । कार्यान्वयनमा आएनन् । यसले गर्दा जुम्लाका सर्वसाधारणले हवाई यातायातमा सहज पहुँचको अनुभूति गर्न सकेका छैनन्।

निजी हवाई कम्पनीको टिकट त पाएनन् पाएनन् साताको दुई पटक आउने नेपाल एयरलाइन्सको जहाजमा समेत सर्वसाधारणको पहुँच छैन। नेपाल एयरलाइन्सको सरकारी जहाजलाई पनि नेता, कार्यकर्ता, सरकारी कर्मचारी, निर्माण व्यवसायी र पहुँचवालाकै विर्ता जस्तो गरिएको छ।

दसैं सकिएलगत्तै जुम्ला विमानस्थलमा हवाई यात्रा गर्नका लागि दैनिक सयौं यात्रु विमानस्थलमा पुग्ने गरेका छन् । पुहचँवालाले विमानस्थल नपुगीकनै सजिलै टिकट पाइरहेका छन् भने सर्वसाधारणले विमानस्थलमा कयौं दिन ढुक्दा पनि टिकट पाइरहेका छैनन् । ‘कर्णाली राजमार्ग हुँदै यात्रा गरौं भने जोखिम धेरै छ,’ स्थानीय जंगबहादुर शाहीले भने, ‘हवाई यात्रा गरौं भने हामीलाई टिकट दिँदैनन् । पावरवालाकै हालीमुहाली छ ।’ नागरिकलाई सेवा भन्ने नाराका साथ निजी हवाई कम्पनीले सेवा सञ्चालन गरे पनि नागरिकलाई सास्ती र पहुँचवालाको मस्ती मात्र भएको उनले बताए ।
‘विमानस्थलमा सर्वसाधरण र पहुँचवालालाई हुने विभेद रोक्न स्थानीय प्रहरी प्रशासनसँग हाम्रो माग छ । निजीमा त टिकट पाएनन् पाएनन् साताको दुई पटक आउने नेपाल एयरलाइन्सको जहाजमा समेत सर्वसाधारणको पहुँच छैन । नेपाल एयरलाइन्स पनि निजी विमान कम्पनी जस्तै छ । सरकारी जहाजलाई पनि नेता, कार्यकर्ता, सरकारी कर्मचारी, निर्माण व्यवसायी र पहुँचवालाकै विर्ता जस्तो गरिएको छ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले विमानस्थलमा भइरहेको अनियमितताका विषयमा प्रशासन कार्यालयमा कुनै गुनासो नआएको बताए । उनले भने, ‘विमानस्थलमा इ–टिकटको व्यवस्था नभएसम्म अनियमितता रोकिने अवस्था छैन। यसको लागि सबै हवाई कम्पनीलाई ध्यानाकर्षण गराउनुपर्ने देखिन्छ । हवाई सेवाको नियमित तालिका नहुने भएकाले समस्या छ,’ उनले भने, ‘पछिल्लो समय बिरामी र सरकारी सिट पनि पाइँदैन । जहाजको संख्या नै बढ्नुपर्छ।’

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत विमानस्थलमा चरम अनियमितता भएको बताउँछन् । उनले भने, ‘हवाई टिकट सिस्टमले बाँड्दैनन् । निजी एयर कम्पनीको दादागिरी छ । पहिलो आउने यात्रुले पहिलो उड्न पाउनुपर्ने व्यवस्थाका लागि प्रशासनले निजी एयर कम्पनी र विमानस्थल कार्यालयबीच छलफलको आयोजना गरेर टिकट व्यवस्थापनको निकास गर्नुपर्छ । नियमनकारी निकाय नै मौन छ,’ उनले थपे, ‘निर्णय कार्यान्वयन नगर्नेलाई कारबाहीको दायरामा ल्याउछाैं।’

प्रकाशित: ७ कार्तिक २०७५ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App