काठमाडौं - बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्। सशस्त्र प्रहरी बलमा रिक्त ६ डिआइजी पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै राणाले राजीनामा दिएका हुन्। विपत् व्यवस्थापनको प्रमुख रहेका एसएसपी राणाले सोमबार राजीनामा दिएको बताए।
आफूलाई बढुवा नगर्न सशस्त्र नियमावली परिवर्तन गरिएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको उनको भनाइ छ। ‘नेपाली सेनाबाट २०४६ सालमा सेवा प्रवेश गरेको हुँ। सरकारले सबै प्रक्रिया पूरा गरेपछि सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण भएको हो, मैले कसैको भाग खोस्न खोजेको होइन । मेरो पालो आयो, बढुवा दिनुस् भनेको हुँ’, राणाले भने ‘अन्याय सहन सकिनँ।’
२०४६ सालमा सहायक सेनानीबाट सेवा प्रवेश गरेका राणा २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि सशस्त्रमा स्थानान्तरण भएका थिए। उनले एक वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी नियमावली २०७२ सच्याउन निवेदन दिएका थिए। निवेदनमा सुनुवाइ नभएपछि उनले संवैधानिक इजलासमा समेत अन्याय परेको व्यहोरासहित निवेदन दिएका थिए। ‘२०७४ जेठमा संवैधानिक इजलासमा निवेदन दिँदा समेत सुनुवाइ भएन। मानिस मरेपछि पनि न्याय नपाउने संकेत देखियो’, राणाले भने।
सशस्त्र प्रहरी बलमा सेवा प्रवेशका बेला नेपाली सेनाबाट आएकाको हकमा आर्टिनरी वा बस्तोबस्तीका तालिममध्ये एक तालिम गरे स्नातक तहसरहको मान्यता दिइन्थ्यो। कोषराज वन्त आइजिपी हुँदा सो नियमावली परिमार्जन गरी प्रहरी निरीक्षक र सोभन्दा माथिका पदमा बढुवाका लागि अनिवार्य स्नातक तह उत्तीर्ण प्रावधान राखियो । नयाँ नियमावली आएपछि नेपाली सेनाबाट सशस्त्र प्रहरीमा सेवा परिवर्तन गरेका केही अधिकृत अन्यायमा परेका थिए । राणाको औपचारिक शैक्षिक योग्यता प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हो।
डिआइजी बढुवाको तयारी
सशस्त्र प्रहरीमा हाल रिक्त ६ डिआइजी पदमा बढुवा प्रक्रिया अघि बढेको छ। सशस्त्र प्रहरी मुख्यालयले कार्यसम्पादन मूल्यांकनको विवरण माग गरेको समय सकिएपछि केही दिनभित्रै गृह मन्त्रालयले ६ एसएसपीलाई डिआइजीमा बढुवा गर्ने भएको छ। बढुवाका लागि सम्भावित उम्मेदवारमा प्रजाभक्त श्रेष्ठ, सञ्जयविक्रम राणा (राजीनामा), रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, गोविन्द क्षेत्री, सिपी गौतम, हरिशंकर बुढाथोकी, कृष्ण भक्त कर्माचार्यलगायत छन्। राणाले राजीनामा दिइसकेका छन् तर स्वीकृत भइसकेको छैन।
प्रकाशित: ७ कार्तिक २०७५ ०१:१९ बुधबार