७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘ओली सरकार आन्तरिक द्वन्द्वको चक्रव्युहमा पर्‍यो’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेको टिप्पणी गरेका छन्। ‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ। हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो। तर, नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ। यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ।’

सरकारले अहिलेसम्म राहतका काम केही पनि गर्न नसकेको उनले आरोप लगाए। उनले भने, ‘चामल, दाल, तेल, चिनीको मूल्य वृद्धि गरिएको छ। दैनिक उपभोग्य वस्तुको मूल्य उपभोक्ताको ढाड सेक्नेगरी बढाइएको छ। जिम्मेवार मन्त्रीहरु तस्करहरुलाई संरक्षण दिने काम गरिरहेका छन्। चिनीको मूल्यवृद्धि पनि त्यसैको परिणाम हो।’

सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने, ‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन्। कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन्। आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ। यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ। समृद्धि र स्थिरतामा सरकार असफल भएको छ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले आरोप लगाए। 

नेता साउदले नेकपाको केन्द्रमा मात्रै नभएर ६ वटै प्रदेश र अधिकांश स्थानीय तहमा सरकार भएर हालीमुहाली भएपनि जनताले भनेजस्तो काम गर्न नसकेको आरोप लगाए। 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा आपत्ति जनाउँदै उनले भने, ‘सारा राज्य लागेको छ, तर अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन्। सरकारले केही कर्मचारी र प्रहरी अधिकारीलाई निलम्बित गरेर जनताको मुख्य ध्यान भड्काउन खोज्दैछ। बलात्कारीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’

 

प्रकाशित: ६ कार्तिक २०७५ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App