coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहर फर्कनै सकस

गोरखा- दसैं मनाएर सहर फर्कने सर्वसाधारणले सवारी साधनमा सकसले यात्रा गर्नुपरेको छ। पूर्णिमासम्म टिका जमरा लगाउन मान्यजनकहाँ हिड्नेहरु र दसैं मनाएर कामको शिलशिलामा सहर फर्कनेहरु जोखिम मोलेर गाडी भित्र उभिएर र छतमा यात्रा गर्न बाध्य छन्। गोरखाको ग्रामीण भेगबाट सदरमुकाम आउने र राजमार्गको नाकामा निस्कने मालबाहक ट्रक, ट्याक्टर, जिपमा भुण्डिएर यात्रा गरिरहेका भेटिन्छन्।

‘रिर्जभ’ भन्दै भाडा पनि बढी लिने गरेको गुनासो सर्वसाधारणको छ। अजिरकोट गाउँपालिकाको भच्चेक देखि काठमाडौंसम्मको भाडा करिब छ सय पर्छ। ‘एक हजार रुपैयाँसम्म लिएका छन’ नारायण अधिकारीले भने। पारसमणी अम्गाईले गाउँबाट काठमाडौं फर्केपछि लाग्ने भन्दा धेरै भाडा तिरेर फर्कनु परेको गुनासो सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। गाउँबाट सहर फर्कने धेरै यात्रु लाग्ने भन्दा धेरै भाडा तिर्नुपर्दा ठगिएका छन्।

‘गाडी नपाउने समस्या त छँदैछ, झनै भाडा पनि बढी तिर्नुपरेको छ’ गोरखाको आरुघाट गाउँपालिका आरुपोखरीका होमबहादुर पुलामीले भने। मालबहक साधनले पनि यात्रुबाहकले जस्तै गरी भाडा लिएर यात्रु ओसारेका छन्। सदरमुकाममा निजी (रातो) प्लेटका साना सवारी साधनले पनि यात्रु ओसार पोसार गरिरहेका छन्। सदरमुकाम आईंसकेपछि नारायणगढ र काठमाडौं जाने यात्रुले सहजै टिकट पाएका छैनन्। एक दिन अघि नै टिकट सकिँदा यात्रुहरु उभिएर जानुपर्ने बाध्यता छ भने टिकट काट्न काउन्टर पुगेका केहीले भने एक दिन ढिला गरी टिकट लिने गरेका छन्।

मंगलबार गोरखाबाट काठमाडौंका लागि छुट्ने माईक्रोबसको टिकट सोमबार दिउँसै सकिएको थियो। टिकट काट्न पुगेकाहरु रित्तो हात फर्किएका थिए। नियमित क्यूमा चल्ने माईक्रोबसहरु छिटो यात्रु भरिँदा गन्तब्य तर्फ समय अगाबै छुटेका थिए। ग्रामिण भेगबाट सदरमुकामसम्म झुण्डिएर आएका सर्वसाधारण सदरमुकाबाट बाहिरिँदा समेत झुण्डिनुपरेको छ। यातायात ब्यवसायी समिति गोरखाको माईक्रो बस काउन्टरका कर्मचारी कृष्ण नेपाली भन्छन् ‘टिकट बुकिङ भईरहेको छ, हामीले सबै माईक्रोबसलाई काउन्टरबाटै छुटाएका छौँ, चाप धेरै भएकाले समस्या भएको हो।’

गोरखामा यातायात ब्यवसायी समिति गोरखा, पृथ्वी राजमार्ग बस संचालक समितिले यात्रुबाहक सवारी साधन चलाउँदै आएको छ। यहाँ रहेको झण्डै तीन सय यात्रुबाहक सवारी साधनले दसैंका बेला यात्रुको चाप थेग्न मुस्किल पर्छ। यातायात ब्यवसायी समिति गोरखाका महासचिव अन्जनबाबु खत्री भन्छन् ‘अब दुई दिन मात्रै हो, त्यसपछि यात्रुका चाप अनुसार सवारी चाप मिल्छ, खाली खाली यात्रुबाहक साधन चलाउनुपर्ने बाध्यता छ, यो सिजन नै यस्तै हो।’ यातायात ब्यवसायी समिति गोरखाले सक्दो ब्यवस्थापन मिलाएर सबै ग्रामीण रुटमा बसहरु संचालन गरेको र पक्की रुटमा चल्ने साधन पनि काउन्टरबाटै छुटाएको उनले बताए।

सवारी ब्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको जनाएको छ। छतमा यात्रा गर्न नदिने, नम्बर प्लेट नटाँसेका, सवारी नियम पुरा नगरेका सवारीलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेपनि बढी भाडा लिएर यात्रुलाई जबरजस्ती यात्रा गर्न बाध्य पार्नेहरु भने उम्किरहेका छन्। यात्रुलाई रिर्जभ गरेको भन्न बाध्य बनाउने, धेरै भाडा लिएको बारे प्रशासनलाई जानकारी गराएमा नजाने धम्की दिँदै यातायात मजदुर र ब्यवसायीले यात्रु ठगिरहेको बारे प्रशासन नै बेखबर छ। ट्राफिक प्रमुख दयाराम पौडेलले यात्रुहरुबाट कुनै गुनासो नआएको बताए। उनले भने ‘नियम बिपरित भाडा लिने गरेमा यात्रुले प्रहरीलाई खबर गर्नुहोस हामीले कारबाही गर्छौँ ।’ सवारी साधन भन्दा यात्रुको चाप धेरै भएकाले अहिले यात्रुबाहक सवारी साधन ब्यवथित गर्न र यात्रुलाई सहज बनाउनमा ट्राफिक प्रहरी लागेको उनले बताए।

प्रकाशित: ६ कार्तिक २०७५ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App