७ वैशाख २०८१ शुक्रबार
समाज

संसार देखाउँदै विश्वकै अब्बल आँखा अस्पताल

आँखाको शल्यक्रियापछि संसार झलमल देख्दा खुशीको मुस्कान छर्दै बिरामी ।

लहान- माेतियाबिन्दुको कारण बायाँ आँखाको दृष्टि गुमाएका सप्तरी बलानबिहुल गाउँपालिका २ मौवाहाका उम्देश्वर साह दृष्टि पाउँदा खुशीले गदगद भए। सगरमाथा चौधरी आँखा अस्पतालमा शल्यक्रियापछि दृष्टि पाएका उनमा खसीको सीमा थिएन।

सिरहाको धनगढीमाई नगरपालिका–७ कसहा टोलका रघुबिर महतोको पनि मोतिबिन्दुका कारण आँखा देख्न छाडिसकेको तीन महिना भैसकेको थियो। अप्रेशनपछि सगरमाथा चौधरी आँखा अस्पतालको बेड नम्बर १२ मा पट्टि खुलेपछि संसार नयाँजस्तो लाग्यो उनलाई। दृष्टि पाएर खुसी अनुभूती गर्ने साह र महतो प्रतिनिधि मात्र हुन। यस अस्पतालको ३५ वर्षे उपचार यात्रामा हजारौको ज्योती फर्काइसकिएको अस्पताल प्रबन्धक अभिषेक रोशनले बताए।

'कसैलाई संसार देखाउने जस्तो खुसी अरु के हुन्छ', अस्पतालका सुपरिटेण्डेन्ट डा. सञ्जय सिंहले भने। नेपालमा करिब डेढलाख मोतियाबिन्दुबाट अन्धोपनको शिकार छन्। १५ वर्षमुनीका १ करोड १६ लाख बालबालिका मध्ये १३ हजार २ सय मोतिबिन्दुबाट अन्धोपनको शिकार भएको तथ्यांक छ।

विश्वास जित्दै 

शल्यक्रियाका हिसाबले विश्वमै अब्बल लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा आँखाका बिरामीको तथ्याँक वर्षेपिच्छे बढ्दै छ। भारतको तमिलनाडुको मधुराईस्थित अरविन्द आँखा अस्पताल शल्यक्रियाको हिसाबले विश्वमै पहिलो मानिन्छ। भारतमै भरपर्दाे आँखा अस्पताल भएपनि पनि सगरमाथा चौधरी आँखा अस्पताल भारतीय आँखाका बिरामीमाझ बलियो विश्वस जमाएको छ। 

सन् १९८३ मा स्थापना भएको सगरमाथा चौधरी आँखा अस्पतालबाट ३५ वर्षमा ४९ लाख ८४ हजार ४१६ जना बिरामीले उपचारपछि उज्यालो पाएको तथ्यांक छ। यस अवधिमा १० लाख ६१ हजार ७१२ जना आँखाका बिरामीको शल्यक्रिया मात्र भएको तथ्याक छ।

यहाँ नेपालका सबैक्षेत्रका (मधेस,पहाड हिमाल) आँखा विरामीहरु उपचार गराउन आएको तथ्याँकले देखाउँछ। अस्पताल प्रबन्धक अभिषेक रोशनका अनुसार आँखा जाँचका लागि भारतको आन्ध्र प्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, दिल्ली, गुजरात, हरियाणा, हिमाञ्चल, झारखण्ड, कर्णाटक, मध्यप्रदेश, महाराष्ट्र, मेघालय, नागाल्याण्ड, उडिसाका बिरामीहरु आउने गरेका छन्। गुणस्तरीय, सस्तो र सबैखाले सहजताले उपचार गराउन आउनेमा बढी भारतीय हुने गरेको उक्त आँखा अस्पतालका प्रबन्धक रोशनले बताए। 

यो अस्पताल बिरामीले तिर्ने न्युन्तम शुल्क एवं दातृ संस्थाहरुको सहयोगले चल्छ। अहिलेसम्म कुनै विवादमा नपरेको यस अस्पतालमा सन २०१७ मा जचाउन आउने बिरामीको संख्या ३ लाख ६२ हजार २७५ र शल्यक्रिया गराउनेहरुको संख्या ६१ हजार ४१५ छ। उक्त आँखाका बिरामीमा ४० प्रतिशतमात्र स्थानीय नेपाली छन्। पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित उक्त गैर नाफामूलक अस्पतालमा आधारभूत दृष्टि जाँचदेखि विश्वको अति विकसित अस्पतालमा मात्र उपलब्ध जटिल शल्यक्रियासम्म हुन्छ।

यो आँखा अस्पतालमा मोतिया बिन्दु, जल बिन्दु, पर्दा (रेटिना) को रोग, कोर्निया (नानी) प्रत्यारोपण, अकुलोप्लास्टिक (आँखाको ढिक्कासम्बन्धी रोग), अकुलोप्रोस्थेसिस (कृत्रिम आँखा राख्ने), बालबालिकाको मोतिया बिन्दु र आँखाको डेढोपन(स्वीकन्ट)सम्बन्धी शल्यक्रिया, बच्चाको आँखासम्बन्धी सघन सल्यक्रिया यहाँ हुन्छ। यहाँ चश्माका ठाउँमा कन्टयाक्ट लेन्स राख्ने सेवासमेत उपलब्ध छ। बस्न लाग्ने खर्च, औषधिसहित मात्र १ हजार २ सय रुपैयाँमा मोतिया बिन्दुको शल्यक्रिया यहाँ हुन्छ। प्रबन्धक रोशनले भने, '४८ रुपैयाँ पुर्जी शुल्क तिरेपछि आँखाको सम्पूर्ण परीक्षण हुन्छ। ‘नेपालमा मात्र नभर्इ अन्य देशको तुलनामा सबभन्दा कम मूल्य १२ हजार रुपैयाँमा रेटिनाको शल्यक्रिया गर्छौं।’ यही उपचार अन्य आँखा अस्पतालमा गराउँदा २४ हजारदेखि २ लाख रुपैयाँसम्म पर्छ,’ उनले भने ‘सेवा र सुविधाको तुलनामा निकै कम शुल्क राख्दा हरेक वर्गको पहुँचमा हामी छौं,’ उनले भने। बढी रकम खर्चेर मात्र स्तरीय उपचार पाइन्छ भन्ने भ्रम र हल्लाको यो अस्पताल सशक्त जवाफ भएको उनले बताए।

वर्षमै साढे तीन लाख बढीको जाँच

सन् १९८३ देखि जर्मनीस्थित क्रिष्टोफर ब्लाइण्ड मिसनको सहयोगमा संचालन हुँदै आएको अस्पतालले सन् २०१८ को पछिल्लो सेप्टेम्बरसम्म नौ महिनाको अवधिमा २ लाख ४१ हजार २२७ जनाको आँखा जाँच र ४० हजार ६४७ जनाको शल्यक्रिया गरेको प्रबन्धक रोशनले उल्लेख गरे। गत्त वर्षको तुलनामा यो अवधिभित्र विरामीको संख्यामा १२ प्रतिशतले बृद्धि भएको उनले बताए। गत्त वर्ष यो अवधिमा २ लाख १४ हजार ६१४ जना विरामीको आँखा जाँच गरिएको थियो।
सन् २०१७ मा मात्र तीन लाख ६२ हजार २७५ जना आँखाका बिरामीको जाँच र ६१ हजार ४४५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो। 

सस्तो र गुणस्तरीय आँखा उपचार हुने भएकाले आँखा उपचारका लागि आउने बिरामीको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ। बालमैत्री ओपिडी र नानी प्रत्यारोपण अस्पतालले आँखासम्बन्धी विभिन्न रोगको उपचारका लागि आउने बिरामी बालबालिकाका लागि छुट्टै बालमैत्री ओपिडी संचालनमा छ। यहाँको सेवा फास्ट ट्र्याक पेइङ क्लिनिक संचालन गरेर सहज बनाइएको छ। शल्यक्रिया र जटिल उपचार सेवाबाहेक अन्य उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउन अस्पतालले पूर्वी पहाड र तराईका छ जिल्लाका ११ ठाउँमा उपचार केन्द्र स्थापना गरी सेवा दिइरहेको छ। सगरमाथा चौधरी आँखा अस्पताल अन्तर्गत खोटाङको दिक्तेल र हलेसी, उदयपुरको गाईघाट र कटारी, सिरहाको मिर्चैया र सिर बजार, सप्तरीको राजविराज र कञ्चनपुर, महोत्तरीको जलेश्वर र बर्दिबास तथा सर्लाहीको मलंगवामा आँखा उपचार केन्द्र संचालन गरि आँखा उपचार सेवा दिँदै आएको छ। त्यसका अतिरिक्त उपचार केन्द्रसम्म आउन नसक्ने आँखाका बिरामीलाई लक्ष्य गरी गाउँमै शिविर गरेर थप उपचार गर्नुपर्ने बिरामीहलाई अस्पतालकै खर्चमा शल्यक्रिया सहितको सेवा दिँदै आएको अस्पताल प्रबन्धक रोशनले बताए। 

दूरदराजमा सेवाक्षेत्र फैलाउँदै 

सगरमाथा चौधरी आँखा अस्पताल लहानले सप्तरीको कञ्चनपुरमा आफ्नो ११ औँ आँखा उपचार केन्द्र खोलेर विश्व दृष्टि दिवस मनाएको छ। दूरदराजका आँखा विरामीका लागि आँखा उपचार केन्द्र खोलेर सेवा दिने यस अस्पतालका अध्यक्ष रबिन्द्रलाल चौधरीलाई कञ्चनरुप नगरपालिकाका मेयर बसन्त कुमारले सम्मान गरे। 

विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाट अन्धोपन हटाउन गरेको उद्घोषलाई साकार बनाउन आँखा उपचार र आँखाको हेरचाह सम्बन्धि चेतना फैलाउने उदेश्यले मधेस र पहाड गरी सगरमाथा चौधरी आँखा अस्पतालले ११ वटा आँखा उपचार केन्द्र र अस्पतालमार्फत सेवा दिँदै आएको छ। 

अस्पतालका अध्यक्ष रबिन्द्रलाल चौधरीले भने,‘हाम्रो उदेश्य गाउँगाउँमा पुगेर सेवा दिने हो । स्थानीय सरकारसँग समन्वय गरेर हामी यो उदेश्य पुरा गर्नेछौं। 

सगरमाथा चौधरी आँखा अस्पतालका मेडिकल सुपरिडेन्ट डा. संजय कुमार सिँहले तीन वर्षे बालक तोसिफको आँखा जाँच गरेर आँखा उपचार केन्द्र कञ्चनपुरको सेवा सुरु गरेका थिए।

 

प्रकाशित: ६ कार्तिक २०७५ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App