७ वैशाख २०८१ शुक्रबार
कला

‘मालिका’ मार्फत वालविवाह विरुद्ध  उक्लिदै कमला

मालिका चलचित्र मुख्य पात्र जाजरकोटकी १५ वर्षिया कमला वली नायिका रेखा थापासँग ।

जाजरकोट- भेरी नगरपालिका १ कालेगाउकी  १५ वर्षिया कमला वलीलार्इ चलचित्रमा अभिनय गर्ने त के जीवनमा ठुलो पर्दामा चलचित्र हेर्न पाउला भन्ने समेत कल्पना थिएन। अभिनय कला सिकेर होस या पैसा खर्च गरेर पनि ठुलो चलचित्रमा अभिनय गर्न सजिलो नभएको बेला कमलाले  एकै पटक ठुलो चलचित्रको  मुख्य भुमिका पाइन्। विपन्न परिवारकी कमलालार्इ अहिले भने ठुलो पर्दाको  मुख्य पात्र भएको  कुरा सपना जस्तै लाग्छ। 

कार्तिक १६ गतेदेखि  देशैभर एक साथ प्रदर्शनमा आउन लागेको नायिका रेखा थापाको मालिका चलचित्रकी मुख्य पात्र कमलालार्इ आफूले अभिनय गरेको फिल्म मालिका हेरौंला जस्तै भएको छ। चलचित्र सम्वन्धी ज्ञान मात्र होइन अभिनयबारे कुनै पनि ज्ञान नलिएकी कमला मालिका मार्फत एकाएक चर्चामा आएकी छिन्।

प्राय नारीप्रधान चलचित्र बनाउने नायिका रेखा थापाले यस पटक नन एक्टर कमलालार्इ आफनो फिल्मको हिरो बनाएकी छिन्। रेखा फिल्मसको व्यानरमा  गत जेठमा काठमाडौं, बाँके र जाजरकोटका विभिन्न ठाउँहरुमा छायांकन सकेर कात्तिक १६ मा  प्रदर्शन हुन लागेको मालिका चलचित्रको औपचारिक समारोहमा भाग लिनका लागि कमला अहिले  काठमाडौं जाने तयारी गर्दै छिन्।

'पहिला कहिले पनि  फिल्म खेलौंला र देशभरी चर्चा हाेला भन्ने लागेको थिएन, तर  समयले आज  नसोचेको स्थानमा पुर्याउँदै छ,' कमलाले  नागरिकसंग भनिन्।  रेखा थापाले म जस्तो विपन्न परिवारको केटीलार्इ  फिल्ममा लिएर जाजरकोट र कर्णालीको मात्र होइन हिंसाबाट पीडित लाखौं नेपाली छोरीहरुको मुक्तिको लागि अघि बढ्न ठूलो सहयोग गर्नु भएको छ' कमलाले भनिन्।

'यो फिल्म लाखौं नेपाली छोरीहरुका लागि सुन्दर भविस्य निर्माण गर्ने माध्यम र प्रेरणा वन्ने मलार्इ विश्वास छ,' मालिका फिल्मवारे सोधिएको एक प्रश्नमा कमलाले थपिन्। बालविवाह र महिला हिंसाले पीडित बालिका र महिलालार्इ आफूमाथिको हिंसाका विरुद्ध लाग्न मेरो अभिनयले सहयोग गर्ने छ, उनले भनिन।  बालविवाह र महिला माथि हुने चरम हिंसालार्इ मुख्य विषय वनाएर  निर्माण गरिएको उक्त चलचित्रमा कमलाले नै ती विकृतिको विरुद्ध नायकको भुमिका निर्वाह गरेको  नायिका रेखा थापाले बताइन्। छोरीहरुको लागि स्वर्णिम नेपाल  बनाउने  आफूहरुको अभियान सफल पार्न कर्णाली पुत्रीको रुपमा  जाजरकोटकी कमलालार्इ चलचित्रको मुख्य नायक बनाइएको रेखाकाे भनार्इ छ। 

अभिनयमा अब्बल र कम्जोर भन्दा पनि नेपाली छोरीहरुको लागि प्रेरणा बनेर देखाउने कामका लागि मालिका चलचित्रमा कमलाको भुमिका र उपस्थिति आकर्षक रहेको उनले बताइन्। बाल विवाह र  लैंगिक हिंसा विरुद्धको सशक्त अभियान मार्फत छोरीहरुका निम्ति स्वर्णिम नेपाल  निर्माण गर्ने लक्ष्य  सफल पार्ने  एक कार्यको रुपमा  मालिका चलचित्रमा १५ वर्षिया कमलाको मुख्य भुमिका रहेको चलचित्रका कार्यकारी निर्माता नरबहादुर कार्कीले बताए। जीवन रुपान्तरणका  विस्व प्रशिक्षक कार्कीको  परिकल्पनामा चलचित्र  तयार भएको हो।

मालिका  चलचित्रले  परम्परा, धर्म सस्कृति र विकृत राजनीतिको  शिकार हुन बाध्य लाखौं नेपाली वालिकाहरुको  निम्ति ठुलो योगदान दिने कार्यकारी निर्माता कार्कीले बताए। यो चलचित्र हेर्ने प्रत्यक नागरिकले  नेपाललार्इ  हाम्रा छोरीहरुको निम्ति कसरी सुन्दर र सुरक्षित घर बनाउने भनेर थाहा पाउने मात्र नभर्इ जिम्मेवारी समेत लिने कार्कीको भनाइ छ। 

ऐतिहासिक साँस्कृतिक एवम प्राकृतिक रुपले  धनी जाजरकोटको दरवारमा  छायांकन गरिएको  याे फिल्मकाे हल्का माया के माया के माया भन्ने बाेलको गीतले युटुवमा अपलोड भएको  केहि दिनमै सर्वाधिक लोकप्रियता हासिल गरेको  बताइएको  छ। 

प्रकाशित: ६ कार्तिक २०७५ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App