७ वैशाख २०८१ शुक्रबार
विचार

सामन्ती संस्कार

अरूको इज्जत राख्दा आफ्नो इज्जत बढ्छ । वास्तवमा अरूप्रति दर्शाइएको सम्मान चारैतिर पहाडले घेरिएको खोचमा जस्तो शब्द उच्चारण गर्यो, त्यस्तै आफ्नो कानमा प्रतिध्वनित हुन्छ । इज्जत यथार्थमा त्यस्तै प्रतिध्वनि बनेर आउँछ, हाम्रा समीपमा । नागरिक चेतनाको उच्चरूप हो लोकतन्त्र । लोक अर्थात् आम नागरिकको शासन व्यवस्था।

नागरिक सर्वोच्चताबाट लोकतान्त्रिक उच्चता प्राप्त हुन्छ । त्यही भएर जनताका छोराछोरी शासनको उच्चतामा पुग्छन् । जन्मका आधारमा होइन नागरिक अभिमतका आधारमा शासक छानिने व्यवस्था लोकतन्त्र हो । नागरिकबाटै छानिएर गएका व्यक्तिमा सामन्ती व्यवहार हुँदैन भन्ने अपेक्षा हुनु स्वाभाविक हो । जनस्तरबाट निर्वाचित भई गएका व्यक्तिमा जब सामन्ती संस्कार प्रतिविम्बित हुन थाल्छ तब नागरिक चेतनामा ठेस पुग्छ ।

हाम्रो मुलुक लामो समयसम्म सामन्ती प्रभावमा रहेको अनुभव अझै धेरैलाई छ । त्यो स्थितिबाट प्रस्थान हामी सबैले खोजेको हो । यसैकारण पटक–पटक मुलुकले परिवर्तनका पदचापलाई सुनेको छ । परिवर्तनको त्यही उत्कट अभिलाषाले मुलुकलाई लोकतान्त्रिक शासन व्यवस्थामा ल्याइपुर्याएको हो । कुनै वंशमा जन्मेकै आधारमा शासन गर्ने अवस्थाबाट अग्रगामी यात्राको थालनी २०६२–०६३ को जनआन्दोलनपछि भएको हो । राजतन्त्रका ठाउँमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको उद्देश्यबारे थप प्रस्ट्याइरहनु पर्दैन । लोकतन्त्र संस्कार पनि हो । संस्कारबाटै यसले सम्पुष्ट हुने मौका पाउँछ । लोकतान्त्रिक संस्कार भएन भने संविधानमा जतिसुकै ठूला उद्देश्य उल्लेख गरे पनि यथार्थमा अनुभूत गर्न पाइनेछैन।

राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट टीका लगाउन पुगेका विशिष्ट नागरिक र उच्च पदस्थ व्यक्तिहरूमाथि भएको व्यवहार अहिले सामाजिक सञ्जालमा सर्वत्र चर्चाको विषय बनेको छ । बडादसैँको उपलक्ष्यमा अखबारहरूको प्रकाशन स्थगित भएका बेला यस प्रसंगले सार्वजनिक चर्चालाई मुखरित गरेका छन् । र, यो घरघरको छलफलको विषय बनेको छ । पूर्व प्रधानन्याायाधीश गोपाल पराजुलीले दुई घुँडा टेकेर राष्ट्रपति भण्डारीका हातको टीका थापेको तस्बिरले मुलुकलाई लज्जित तुल्याएको छ । राज्यका तीन अंगमध्ये एक न्यायपालिकाको प्रमुख भइरहेका व्यक्तिको यो हुर्मतले जनमानसमा सकारात्मक सन्देश गएको छैन।

पराजुलीको बहिर्गमनसँग एउटा असजिलो इतिहाससमेत जोडिएको छ । तर, उनलाई दुई घुँडा टेकाएर टीका प्रदान गरेर राष्ट्रपति भण्डारीको इज्जत बढेको छैन।

यो तस्बिर सार्वजनिक भएपछि पराजुलीले आपत्तिसमेत प्रकट गरेका छन् । ‘सत्यतथ्य नबुझी फेसबुकमा जथाभावी फोटाहरू विकृत तबरबाट राख्नु र कसैको उपहास गर्नु कानुनतः अपराध हुन्छ र त्यो कार्य शिष्टाचारीहरूको मर्यादा र नैतिकताले दिँदैन,’ उनले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । यो तस्बिर सार्वजनिक हुँदा पराजुलीले आफूमाथि उपहास भएको महसुस गरेका हुन सक्छन् । तर, यथार्थमा यो तस्बिरले हाम्रो राष्ट्रपति संस्थाकै उपहास गरेको छ । जसको परामर्शमा राष्ट्रपति कार्यालयले विशिष्ट नागरिकको उपहास हुने गरी टीका ग्रहणको व्यवस्थापन मिलायो त्यो आफैँमा आपत्तिजनक छ । भलै पराजुलीको बहिर्गमनसँग एउटा असजिलो इतिहाससमेत जोडिएको छ । तर, उनलाई दुई घुँडा टेकाएर टीका प्रदान गरेर राष्ट्रपति भण्डारीको इज्जत बढेको छैन।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एउटा घुँडा टेकेर टीका थापिरहेको दृश्यले पनि त्यसै गरी मुलुकबासीलाई लज्जित तुल्याएको छ । एउटा नागरिक आफ्नो लगनबाट त्यो स्थितिमा पुगेको हुन्छ । र, त्यस्ता नागरिकको मान मर्दनबाट तिनलाई होइन त्यस्तो व्यवहार गर्ने संस्थालाई घाटा हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली, अन्य मन्त्रीहरूलाई कुर्सीमा बसाएर टीका ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयले अन्यलाई घुँडा टेक्नुपर्ने अवस्था सिर्जना गरिनु किमार्थ पनि उचित कार्य होइन । राष्ट्रपति भण्डारीको पछिल्लो कार्यकालमा उनलाई थप बद्नाम बनाउन त्यहाँको संरचनाबाटै यस किसिमको षड्यन्त्र भएको हुन सक्छ । तर, यो स्थिति देखेपछि राष्ट्रपति आफैँलाई पनि अप्ठ्यारो लाग्नुपर्ने हो।

वास्तवमा राष्ट्रपतिबाट टीकाटालो गर्ने, त्यही परम्परालाई प्रधानमन्त्रीले पनि अघि बढाउने र हरेक कार्यालयका हाकिमले पनि त्यसैलाई दोहो¥याउने हो भने हामो महान् चाड दसैँ परिवार र आफन्तजनसँगको चाड रहनेछैन । बरु यो एउटा चाकडीको अवसरका रूपमा अनूदित हुने निश्चित छ । दसैँमा उच्च पदस्थका हातको टीका थाप्न नजानेमाथि सत्ताले वक्रदृष्टि राख्ने खतरा उत्पन्न भएको छ । मुलुकले धर्म निरपेक्षतालाई अंगीकार गरेको छ।

यसमा ‘टीका बक्स हुने’ परम्पराको निरन्तरताको अपेक्षा गरिएको थिएन । कसैलाई इच्छा हुन्छ भने लगाइदिए हुन्छ । तर, जुन हिसाबले यसपटक टीक लगाउँदा नागरिकबीच विभेद गरिएको छ, यसले हाम्रो लोकतन्त्रमा असल परम्पराको थालनी गर्न सक्दैन । शासक र शासितबीचको भेदको परिकल्पना हाम्रो व्यवस्थाले गरेको होइन । तर, शासनमा हुनेहरूले आफूलाई सामन्ती शासन व्यवस्थामाझैँ नक्कल गर्न थाल्नु चिन्ताको विषय हो । यो सामन्ती संस्कारमा सुधार अपरिहार्य छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App