coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चाडपर्वमा घुम्ने आन्तरिक पर्यटकको बानीले पोखरा भरिभराउ

पोखराको शान्तिस्तुप घुम्न पुगेका पर्यटक । यतिबेला पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । तस्बिरः उमेश/नागरिक

पोखरा – पर्यटकीय सिजन र चाडबाडको लामो बिदाले यतिबेला पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय चहलपहल निकै नै बढेको छ । पोखराका सानादेखि ठूला सबैजसो होटलमा यतिबेला आन्तरिक पर्यटक बढी छन् । विदेशीभन्दा पनि आन्तरिक पाहुनाले पोखरामा भीड बढाएको छ।

विदेशीको पिक सिजन र चाडबाडको बिदामा घुम्ने आन्तरिक पर्यटकको बानीले यतिबेला पोखरा र आसपास क्षेत्रले पाहुना पाएको पर्यटन व्यावसायीको भनाइ छ । ‘चाडबाडले आन्तरिक पाहुनालाई नेपाल घुमाउन थालेको छ,’ लेकसाइडस्थित होटल एसियाका सञ्चालक धर्मराज पन्थीले भने, ‘चाडबाड नहुँदो हो त यतिबेला विदेशीको भरमा मात्र व्यवसाय पूर्ण आकारमा चल्ने थिएन । दसैंले धेरै आन्तरिक पाहुनालाई पोखरा तानेको छ ।’

उनका अनुसार होटलका झन्डै ८० प्रतिशत कोठा भरिभराउ छन् । ‘अझै एक साता पोखरालाई पाहुना अभाव हुँदैन,’ पन्थीले भने, ‘त्यसपछि बल्ल कमी हुन थाल्छ । विदेशीको सिजन भए पनि पछिल्लो समय स्वदेशी आगमनले विदेशीलाई जित्न थालेको छ ।’ दसैं बिदा सुरु भएपछि पोखरामा स्वदेशी पाहुना आउन थाल्छन् । युवापुस्ता र पारिवारिक भ्रमण यतिबेला बढी हुन्छ । गोष्ठी, बैठक कम हुने भए पनि आन्तरिक पाहुनाले यो बेला भने पोखरालाई बर्सेनि तताउने गरेको उनले बताए।

डालिया होटलका आवासीय प्रबन्धक तुलसीप्रसाद लामिछाने दसैं र सिजनैले गर्दा लेकसाइडमा भीडभाड बढेको बताउँछन् । ‘दसैं र तिहारबीचको समय भएकोले आन्तरिक पाहुनाको आगमन उत्तिकै छ,’ लामिछानेले भने, ‘सिजनका कारण विदेशीको आगमन पनि राम्रो छ।’

उनका अनुुसार पछिल्लो समय लेकसाइडमा सामान्य, मध्यमदेखि उच्चस्तरका सबैखाले होटल छन् । ती होटल खर्च गर्ने क्षमता अनुसार आन्तरिक पाहुनाका लागि उपयुक्त छन् । असोज अन्तिम साता होटल लेकसोर सञ्चालन गरेका चिरञ्जीवी पोखरेलले सुरुमै भरिभराउ पाहुना पाएको बताए । १८ कोठाको उनको होटलमा अरु होटलबाट समेत पाहुना आएका छन् । त्यसबाहेक आन्तरिक पाहुना पनि उत्तिकै आएको उनले बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्षसमेत रहेका पोखरेलले भने, ‘होटलको सुरुवात भरिभराउ पाहुनाबाट भएको छ । यसले उत्साही बनाएको छ ।’ उनका अनुसार यतिबेला पोखराका धेरै होटलमा आन्तरिक, भारतीय र तेस्रो मुुलुकका पाहुना छन् । ‘कुनै पनि होटलले यो बेला पाहुना पाएनौं भन्नुपरेको छैन,’ उनले भने, ‘स्वदेशी र विदेशीले लेकसाइडलाई राहत दिलाएको छ।’

दसैंको बेला बालबच्चालाई समेत घुमाउने गतिलो अवसर भएको काठमाडौंबाट आएका भरत अर्यालले बताए । ‘यो बेला घुम्न नआए अरुबेला समय मिल्दैन । त्यही भएर पनि दसैं नै घुम्ने सबैभन्दा उत्तम समय हुन्छ,’ परिवारसहित पोखरा घुम्न आएका उनले भने, ‘अरुबेला बच्चाको पनि बिदा नहुने, अभिभावक पनि काममा व्यस्त हुने भएकोले यो नै उपयुक्त सिजन हो।’

विदेशी पाहुनाको आगमन पनि यतिबेला सन्तोषजनक रहेको टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्यले बताए । उनका अनुसार अक्टोबर र नोभेम्बर महिनाको बुकिङ सन्तोषजनक छ । ‘पाहुना त अघिल्लो वर्ष पनि आएका हुन् । तर पोहोरतिर आएका पाहुनाको बुकिङ अवधि निकै नै कम थियो । छोटो समयको बुकिङमा पोहोर सिजनमा पाहुना आए,’ उनले भने, ‘यो पटक भने अलि बढी समय लिएर बुकिङ गरेका छन्।’

लामो अवधिको बुकिङले व्यावसायीलाई ढुक्क बनाउने उनी बताउँछन् । ‘अघिल्लो वर्ष यो सिजनमा हामीलाई के कसो होला भन्ने अन्योल थियो । तर, अन्तिम समयमा मात्र पाहुना आउँथे । योपटक भने लामै अवधि राखेर पाहुना आउन थालेका छन,’ उनले भने।

पोखरामा मात्र नभई आसपासका क्षेत्रमा पनि यतिबेला आन्तरिक पाहुनाको भीड छ । बिहान सूर्याेदय अवलोकन गर्न सराङकोट र दिउँसो फेवातालमा डुंगा सयर तथा शान्ति स्तुपसहित गुफामा यतिबेला आन्तरिक पाहुनाको भीड लागेको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App