coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पत्रकार खसोग्गीको हत्या भएको हो : साउदी

रियाद – साउदी अरबले पत्रकार जमाल खसोग्गीको हत्या भएको स्वीकार्दै त्यसका लागि ‘छाडा एजेन्टहरु’ जिम्मेवार भएको बताएको छ । विश्वव्यापी रूपमा चासोको विषय बनेको पत्रकार खसोग्गी हत्या प्रकरणमा नयाँ विवरण सार्वजनिक गर्दै साउदी विदेशमन्त्री आदिल अल–जुबैरले उनको हत्या भयंकर भूल भएको फक्स न्यूजलाई बताए ।

यद्यपि साउदी अरबका प्रभावशाली युवराज मोहम्मद बिन सलमानको निर्देशनमा पत्रकार खसोग्गीको हत्या गराइएको भन्ने आरोप भने उनले अस्वीकार गरेको फक्स न्यूजलाई उल्लेख गर्दैै बिबिसीले जनाएको छ । सुरुमा अत्यन्तै राम्रो सम्बन्ध भएपनि पछि गएर साउदी अरबको राजपरिवारको कटु आलोचक बनेका पत्रकार खसोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दूतावासमै ‘हत्या’ भएको दाबी टर्कीले गर्दै आएको छ । उनलाई अन्तिम पटक त्यही जाँदै गरेको देखिएको उसले बताउने गरेको छ।

टर्कीले पत्रकार खसोग्गीको हत्या साउदीको वाणिज्य दूतावासभित्रै भएको र त्यसको आफूसँग प्रमाण रहेको बताए पनि रियादले भने सो आरोप अस्वीकार गर्दै आइरहेको थियो । तर केही दिनअघि मात्रै साउदीले आफ्नै वाणिज्य दूतावासभित्र खसोग्गीको मृत्यु भएको बताएको थियो । वाणिज्य दूतावासभित्र झगडा हुँदा उनी मारिएको साउदीले शुक्रबार बताएको थियो । यद्यपि पत्रकार खसोग्गीलाई के भयो भन्ने विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरबमाथि विश्व समुदायबाट ठूलो दबाब परिरहेको बिबिसीले जनाएको छ।

अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खसोग्गी बेपत्ता भएका थिए । आफ्नी पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरेको प्रमाणित गर्ने कागजात लिन उनी वाणिज्य दूतावास पुगेका थिए । सुरुमा पत्रकार खसोग्गी वाणिज्य दूतावासबाट सकुशल बाहिरिएको बताउने गरे पनि शुक्रबार पहिलो पटक साउदीले पत्रकार खसोग्गीको दूतावासभित्रै मृत्यु भएको बताएको थियो । उनको झगडामा परी मृत्यु भएको बताइएको थियो । सर्वत्र विरोध भएपछि साउदीले यस्तो विवरण सार्वजनिक गरेको थियो।

सोमबार भने यस घटनाबारे साउदीका विदेशमन्त्री आदिलले नयाँ तथ्य सार्वजनिक गरेका छन् । खसोग्गीको मृत्यु भएको बताए पनि सोमबार भने साउदीका विदेशमन्त्रीले उनको आफ्ना खराब एजेन्टका कारण हत्या भएको स्वीकार गरेका छन् । ‘द वासिङ्टन पोस्ट’का लागि लेख्ने गरेका पत्रकार खसोग्गीको हत्यामा दोषी पाइए साउदीलाई कडा दण्ड दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि घोषणा गरेका थिए।

साउदीको भनाइ कसरी परिवर्तन भयो ?
पत्रकार खसोग्गीको हत्या भएको भन्ने साउदी विदेशमन्त्री आदिल अल–जुबैरको पछिल्लो भनाइ साउदी अधिकारीबाट आउने कमै मात्रको प्रत्यक्ष भनाइमध्येको एक हो । ‘पत्रकार हत्याबारेको सबै सत्यतथ्य विवरण पत्ता लगाउन र उनको हत्यामा संलग्नलाई सजाय दिन हामी प्रतिबद्ध छौं,’ फक्स न्यूजसँग विदेशमन्त्री आदिलले बताए।

‘सरकारले दिएको कार्यक्षेत्रबाहिर गएर व्यक्तिगत रूपमा यस्तो घटना भएको छ र जसले पनि यो घटना गराएको छ, सोही व्यक्ति नै पूर्ण रूपमा जिम्मेवार रहेको छ,’ उनले बताए । ‘पक्कै पनि त्यहाँ भयंकर ठूलो गल्ती भएको छ र अझै सो घटनालाई लुकाउन खोज्नु त्योभन्दा ठूलो गल्ती हो,’ विदेशमन्त्री आदिललाई उल्लेख गर्दै बिबिसीले जनाएको छ । पत्रकार खसोग्गीका शव कहाँ छ भन्नेबारे पनि आफूहरुलाई थाहा नभएको बताउँदै उनले हत्या गर्नका लागि साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानले आदेश दिएको भन्ने विवरण झुटो भएको बताएका छन् । ‘हाम्रो देशको गुप्तचर निकायका वरिष्ठ अधिकारीलाई समेत खसोग्गीका हत्याबारे थाहा थिएन,’ घटनामा छाडा एजेन्टहरु जिम्मेवार रहेको बताउँदै विदेशमन्त्री आदिलले बताए।

यद्यपि टर्की सरकार निकट मिडिया आउटलेट यनी सफाकले युवराज मोहम्मद बिन सलमानकै कार्यालयले पत्रकार खसोग्गीको हत्याका लागि निर्देशन दिएको बारे आफूसँग सूचना भएको बताएको छ । उसका अनुसार खसोग्गीको हत्यापछि वाणिज्य दूतावासबाट युवराजको कार्यालयले चार पटक फोन भएको थियो।

टर्कीबाट भएका विभिन्न अनुसन्धानका कयौं विवरण चुहावट गरिसकेको उक्त सञ्चारगृहका अनुसार दूतावासका अधिकारी माहेर मुतरेबले आफ्नै मोबाइल फोन प्रयोग गरेर साउदी युवराजको कार्यालयमा फोन गरेका थिए । त्यसैगरी युवराज मोहम्मद बिन सलमानका भाइ, खालिद बिन सलमान जो अमेरिकाका लागि साउदीका राजदूतसमेत रहेका छन्, उनको अमेरिकी फोन नम्बरमा पनि फोन भएको बताइएको छ । पत्रकार खसोग्गी बेपत्ता भएसँगै राजकुमार खालिद बिन सलमानले अमेरिका छोडेको विवरण बाहिरिएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App