coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दसैंका बेला बढी दुर्घटना, प्रदेश १ मा १० जनाको मत्यु

इटहरी – गत असोज २५ गते सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको घुर्मीमा स १ ह १७२७ नम्बरको अटो पल्टिँदा स्थानीय यात्रु ३५ वर्षीय नबुल लुंगेली मगरको मृत्यु भयो । अटो चालक कटारी वडा नं. ४ का कर्णबहादुर राईले तीव्र गतिमा अटो कुदाएकै कारण दुर्घटना भएको हो।

सोही दिन मोरङ बेलबारीमा मादक पदार्थ पिएर मोटरसाइकल चलाएका कारण ट्रकसँग ठोक्किँदा दुई जनाको ज्यान गयो । को १२ प ९६८२ नम्बरको मोटरसाइकल ना ५ ख १९२० नम्बरको ट्रकसँग ठोक्किँदा बेलबारी वडा नं. ४ का ४५ वर्षीय कर्णकुमार राई र सोही ठाउँका ४० वर्षीय मनकुमार राईको मृत्यु भएको हो । मोटरसाइकल चालक कर्णकुमारको घटनास्थलमै र मनकुमारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दिन मोरङ कानेपोखरी वडा नं. ७ मा ट्याक्टरबाट खसेर खोटाङ खोरेहाङ वडा नं. २ की ३२ वर्षीया निमु लामु शेर्पाको मृत्यु भयो।

यी घटना यस वर्ष दसैंका बेला भएका सवारी दुर्घटनाका केही उदाहरण हुन् । यस वर्ष दसैंका बेला (असोज २४ देखि कात्तिक ४ गतेसम्म) प्रदेश न. १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार मोरङमा पाँच, झापा र उदयपुरमा दुई–दुई जनाको मृत्यु भएको हो । यस्तै, पाँचथरमा एक जनाको मृत्यु भएको छ । यस अवधिमा यस प्रदेशमा ४१ वटा दुर्घटना भएका थिए । जसमा ४७ जना घाइते भएका छन्।

मादक पदार्थ पिएका चालक तथा तीव्र गति नै दुर्घटनाको प्रमुख कारण रहेको ट्राफिक प्रहरीको निश्कर्ष छ । ‘प्रदेश नं. १ का जिल्लामा यस वर्ष जति दुर्घटना भएका छन्, त्यसमध्ये ९९ प्रतिशत घटना मादक पदार्थ पिएर गाडी चलाएको तथा तीव्र गतिका कारण भएका छन्,’ प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रविकुमार पौडेलले भने । उनका अनुुसार दसैंका बेलामा यस वर्ष बेलबारी क्षेत्रमा मोटरसाइकल चालक दुई जनाको मृत्युबाहेक अरू सबै दुर्घटना भित्री सडक खण्डमा भएका छन्।

‘यसपटक तीव्र गतिमा गाडी हाँक्नेलाई राडर गनको प्रयोग गरी कारबाही र रोड सेफ्टी चेक पोइन्ट थालेकाले राजमार्गमा दुर्घटना कम गर्न सफल भएका छौं,’ एसपी पौडेलले भने, ‘यस वर्ष भित्री सडकमा ट्राफिक प्रहरी नभएका स्थानमा बढी दुर्घटना भएका छन् ।’

हरेक वर्ष दसैंका बेला बढी सवारी दुर्घटना हुने गरेका छन् । अघिल्लो वर्षको दसैंका बेला पनि प्रदेश नं. १ मा १९ जनाको मृत्यु भएको थियो । मोरङ र सुनसरीमा पाँच–पाँच जनाको मृत्यु भएको थियो । यस्तै, झापामा सात जनाको मृत्यु भएको थियो भने उदयपुर तथा धनकुटामा एक–एक जनाको ज्यान गएको थियो । त्यस बेला दसैं अवधिभर ५७ वटा दुर्घटना भएकामा ८१ जना घाइते भएका थिए।

२०७३ सालमा भने घटस्थापनादेखि पूर्णिमासम्म (१५ दिन) तत्कालीन पूर्वाञ्चलका १६ जिल्लामा भएका सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । यस्तै २०७२ सालको दसैंमा यही अवधिभित्र भएका सवारी दुर्घटनामा २२ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ । यसरी चाडपर्वका बेला सवारीसाधनको चाप, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअपनाउने, तीव्र गतिमा तथा मादक पदार्थ पिएर गाडी हाँक्ने दुर्घटनाका प्रमुख कारण हुन्।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App