coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपकुलपतिसँग दोसोपटक स्पष्टीकरण माग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालय । तस्बिरः नागरिक

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिति एवं अनियमितता अनुसन्धान गर्न गठित छानबिन समितिले उकपुलति डा. राजकुमार रौनियारलाई दोस्रोपटक २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेको छ । पहिलोपटक मागिएको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै समितिका संयोजक एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपकुलपति रौनियारलाई पुनः २४ घण्टाको अल्टिमेटम दिएको हो।

असोज २९ मिति राखिएको पत्र दसैं विदापछि आइतबार प्रतिष्ठानमा आइपुगेको छ । दोस्रोपटक स्पष्टीकरण आएको थाहा पाएपछि उपकुलपति रौनियार भने तीन दिनको विदामा बसेका छन् । ‘सुरुमा चिठी बुझ्नै मान्नु भएको थिएन, मन्त्रीको चिठी नबुझ्दा झनै समस्या हुन्छ भनेपछि पिएलाई चिठी बुझ्न लगाएर आफू विदामा बस्नुभएको छ,’ कर्मचारी स्रोतले भन्यो,‘भिसी तीन दिनको विदामा भएकाले हाजिर भएपछि जवाफ पठाउने भनेर पिएलाई चिठी बुझ्न लगाउनुभएको छ।’

असोज ५ गते कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहकुलपति एवं स्वास्थ्यमन्त्री यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिमा सिनेटरको हैसियतमा प्रतिष्ठानकै रेक्टर डा. गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सदस्य छन् । ‘दोस्रोपटक २४ घण्टा भित्र जवाफ दिनु भनेर भनिएको छ । पहिलोपटक सोधेको विषयमा पनि चित्त बुझ्दो जवाफ नआएको र थप विषयमा पनि सोधिएको छ,’ छानबिन समितिका एक सदस्यले भने।

स्पष्टीकरण मागिउको विषमयमा बुझ्न सम्पर्क गर्दा उपकुलपति रौनियारले फोन उठाएनन् भने स्वास्थ्यमन्त्री यादवका दुवै मोबाइल स्वीच अफ थिए । स्वास्थ्यमन्त्री यादवभन्दा अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदार अधिकारीको संयोजकत्वमा पनि छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले प्रतिवेदन बुझाइसकेपछि पुनः प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्रीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरेका हुन्।

यो समिति प्रतिष्ठानको ऐन २०४९ को दफा ११ घ बमोजिम गठन गरिएको हुनाले उपकुलपतिलाई पदमुक्त गर्ने उद्देश्यले गठन गरिएको बताइएको छ । ऐनको दफा ११ घ मा प्रतिष्ठानका पदाधिकारीलाई पदमुक्त गर्ने प्रावधान छ । जसमा सहकुलपतिको अध्यक्षतामा दुई सिनेट सदस्य रहने गरी छानबिन समिति गठन गर्ने र समितिको प्रतिवेदन सिनेट बैठकमा लगेर बहुमतले पारित गरी कुलपतिकहाँ प्रस्ताव लगेर पदमुक्त गर्ने उल्लेख छ।

प्रतिष्ठानमा उपकुलपति रौनियारको नियुक्ति भएपछि पदाधिकारीहरूबीच समन्वय अभावले विवादमा फस्दै गएको छ । उपकुलपति रौनियार र रजिष्ट्रारबीच सुरुदेखि नै मिलाप छैन । पछिल्लो समय रेक्टर र रजिष्ट्रार एकातिर छन् भने उपकुलपति रौनियार र अस्पताल निर्देशक डा.गौरीशंकर साह अर्का कित्तामा छन् । पदाधिकारीबीच विवाद र गुटबन्दीले प्रतिष्ठान धराशायी हुँदै गएकामा कर्मचारी र सरोकारवालाहरू भने चिन्तित छन्।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App