८ वैशाख २०८१ शनिबार
समाज

रसुवागढीमा नयाँस्तम्भ

ऐतिहासिक स्थल रसुवागढीमा निर्माण गरिएको स्तम्भ । यस स्तम्भमा सोमबार २८.५ फिटको फलामे पोलमा ५ इन्चको राष्ट्रिय झन्डा राखिएको छ। तस्बिरः हिमनाथ/नागरिक

रसुवा – रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ मा रहेको ऐतिहासिक स्थल रसुवागढीमा नयाँ स्तम्भ निर्माण गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले निर्माण गरेको स्तम्भमा नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरिएको छ । एक महिना लगाएर निर्माण गरिएको स्तम्भमा २८.५ फिट फलामे पोलमा ५ इन्चको झन्डा राखिएको छ।

यसअघि अन्तर्राष्ट्रिय नाका रसुवागढीस्थित मितेरी पुलमा राखिएको झन्डा २ इन्चको थियो । नाका नजिकै रसुवागढीमा निर्माण गरिएको स्तम्भमा मध्यपृतना हेटौडाका पृतनापति उपरथी सुर्वणबहादुर शाहले सोमबार झन्डोत्तलन गरेका हुन्।

नाकामा अन्तर्राष्ट्रियस्तरको झन्डा राख्नुपर्ने भएकाले सोहीअनुसार राखिएको गणपति शीतल बानियाँ क्षेत्रीले बताए । रातको समयमा झन्डा फहराइएको देख्न सकिने गरी स्तम्भको माथिल्लो भागमा दुईवटा हेलोजन लाइट राखिएको छ । ‘रसुवागढी अन्तर्राष्ट्रिय नाका भएकाले सोहीअनुसार झन्डा राखेका छौँ, उनले भने, ‘झन्डा रातिको समयमा समेत देख्न सकिन्छ।’

गढीको परम्परागत शैलीलाई कायम राख्दै गणले झन्डा प्रतिस्थापन गरेको उनले बताए । यसअघि नाकामा नेपालको राष्ट्रिय झन्डा राखिएको भए पनि फेरि नयाँ राखिएको हो । करिब ४ लाख ७० हजारको लागतमा स्तम्भ निर्माण गरिएको हो । गोसाइकुन्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा नेपाली सेनाले स्तम्भ निर्माण गरेको हो।

निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले साउन १० गते प्रतिस्थापन गर्ने कार्ययोजना बने पनि टिमुरेमा पहिरो गएपछि स्थगित भएको थियो । सेनाले निर्माण गरेको स्तम्भको अगाडिको भागमा प्रतिस्थापन शिलालेख तथा बायाँतिर अंग्रेजीमा र दायातर्फ नेपालीमा रसुवागढीको संक्षिप्त इतिहास राखिएको छ । रसुवागढीको प्रवेशद्वारको दाहिने पटी रसुवागढीको चिनारीसहितको बोर्ड राखिएको सेनाले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App