४ वैशाख २०८१ मंगलबार
खेल

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

पोखरा क्रिकेट मैदान । सन २००७ मा एसिसी अवार्ड प्राप्त फोटो । (तल) । तस्बिर सौजन्यः सुदर्शन रन्जित

पोखरा – समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो ।  जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ  र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो । खिचेका थिए फोटो पत्रकार सुदर्शन रन्जितले।

समय फेरिएको छ । मैदान बनेको छ । त्यही मैदानमा टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएल) हुदैै छ । जुन प्रतियोगितालाई क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । ‘सन २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनायो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने, ‘आईसिसीले पिपिएललाई दिएको मान्यताले पोखरालाई एक्पोजर गराउँछ।’

एसिसीको अवार्ड र आईसिसीको मान्यताले पोखरालाई क्रिकेटको शहरको रुपमा परिचय थपिदिएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्ने लक्ष्यलाई सहयोग पुर्याउने छ । तर त्यसको लागि आवश्यक पुर्वाधार बनाउनुपर्ने खाँचो भने पोखरेली क्रिकेटप्रेमीले औल्याएका छन्।

सन २००७ अघि पोखरा रंगशालामा क्रिकेट मैदान थिएन भन्दा फरक पर्दैन् । पत्रकार सुदर्शन रन्जितको फोटोले अवार्ड जितेपछि क्रिकेटप्रतिको क्रेज ह्वात्तै बढेको थियो । आम खेलकुदप्रेमीको चाहना क्रिकेट मैदान बनाउनुपर्छ भन्ने दबाव रह्यो । अनि शुरु गरियो मैदान निर्माण । तत्कालिन क्यानका अध्यक्ष विनयराज पाण्डेको सक्रियता, कास्की जिल्ला क्रिकेट संघका ततकालिन अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको पहलमा बर्तमान क्रिकेट मैदान बनाउन शुरु गरियो । निर्माण समितिको जिम्मेवारी लिदैं पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक पालिखेले मैदान खार्ने र सम्याउने काम भयो।

खारिएको जमिनले मैदानको आकार लियो । अनि क्रिकेट पीच बनाईयो । पाँचवटा पीच बन्यो । राष्ट्रिय खेलुकद परिषदले छुट्टाएको बजेटले थोरै थोरै काम अगाडि बढाईयो । आउट फिल्डमा माटो हालियो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको साईज बनाएपछि क्रिकेटका प्रतियोगिता आयोजना गर्ने पुर्वाधार बन्यो।

‘पिपिएल पोखराको ब्राण्ड हो । आईसिसीले मान्यता दिएको छ । हरेक खेललाई आईसिसीले अपटेड गर्छ । गेमलाई प्रत्यक्ष नियाल्छ,’ पोखरा प्रिमियर लिगका आयोजक क्विन्ट इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले भने, ‘त्यो ब्राण्ड पोखराबासीसँगै हुन्छ । हामी त आयोजना र व्यवस्थापन मात्रै गर्ने हो ।’ पिपिएलको पहिलो संस्करण सबैलाई चासो छ । त्यही अनुसारको तयारी गरिएको छ । राष्ट्रिय क्रिकेट खेलाडी, विदेशी खेलाडीसँग घरेलु खेलाडीले पनि सहभागिता जनाई एक्पोजरको मौका पाउने छन्।

पिपिएल स्पोर्टस टुरिज्मको पहिलो खुडकिलो भएको पर्यटन व्यवसायीको ठम्याई छ । पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले आईसिसीको मान्यता पाएको पिपिएलले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखरा स्पोर्टस डेष्टिनेसशनको रुपमा परिचियत हुने विश्वास व्यक्त गरे।

‘खेलकुदको आवश्यक पुर्वाधार बन्नुपर्छ । जति पुर्वाधार बन्यो उति नै स्पोर्टसले गति लिन्छ । टुरिज्म प्रोमोसन हुन्छ,’ भट्टराईले भने,  क्रिकेटसँगै उनले टेनिसको सर्वोच्च संस्था आईटिएफले ग्रेड फोरको गेमले पनि पोखरालाई स्पोर्टस सिटीको रुपमा परिचय गराएको छ।’

प्रकाशित: ६ कार्तिक २०७५ ००:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App