७ वैशाख २०८१ शुक्रबार
कला

साहित्यकारले गरे ओली सरकारको आलोचना

भक्तपुर- साहित्यकारहरुले केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्। भक्तपुरमा सोमबार सम्पन्न दुईदिने बृहत साहित्य सम्मेलनमा आआफ्ना कथा, कविता, नाटक, प्रहसन, नृत्यमार्फत उनीहरुले ओली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन्। 

भक्तपुरको कमलविनायकमा सम्पन्न ३८ औं नेपाल भाषा साहित्य तःमुज्या (बृहत साहित्य सम्मेलन) मा आआफनो रचना वाचन गर्दै सयौं साहित्यकारहरुले बहुतम प्राप्त सरकारले पनि सोचे अनुसारको काम गर्न नसकेको भन्दै आफ्नो रचनामार्फत आलोचना गरेका हुन्।

नेपाल भाषा (नेवारी भाषा) साहित्यको जर्गेनार्थ भक्तपुरमा झण्डै चार दशकदेखि (यो वर्ष ३८ औं) प्रत्येक वर्ष संचालन हुँदै आएको तःमुंज्याको यसबर्षको साहित्य सम्मेलनमा पनि सहभागी साहित्यकारहरुले प्रत्येक वर्ष जस्तै सरकारको आलोचना गरे। प्रत्येक वर्ष विजया दशमीको द्धादशी र त्रयोदशी दुईदिन भक्तपुरको फरकफरक टोलहरुमा हुँंदै आएको साहित्य सम्मेलनमा यसवर्ष सहभागी नयाँं तथा पुराना साहित्यकारहरुले यो वर्ष पनि आआफनो रचना हजारौ श्रोता दशर्कसामु खुल्ला स्थानमा बनाइएको मञ्चबाट वाचन गरेका थिए। उनीहरुमा समाजमा व्याप्त अन्याय, अत्याचार, असमानता, निर्मला पन्त वलात्कार तथा हत्या, सडक विस्तारलगायतका विषय उठाएका थिए।  

पुराना साहित्यकारहरु कवयित्री इन्दिरा प्रसाई, साहित्यकार मोहन दुवाल, कवि हरिहर तिमिल्सिना, साहित्यकार सुलोचना मानन्धर, लेखक एवं पत्रकार अभय श्रेष्ठ, कवि पूर्ण वैद्य, जताधर झा, कवि कृष्णकृमार वैद्यलगायतका पुराना साहित्यकारहले अप्रत्योगी रुपमा आआफनो रचना वाचन गरेका थिए। साथै, श्यामकृष्ण खुलिमुली, भक्तलक्ष्मी भासिमा, हरिसुन्दर पोतामाहा, आशाकाजी महर्जन, प्रेम प्रजापतिलगायतले आआफनो रचना वाचन गरेका थिए।

नेपाल भाषाबाहेक विभिन्न भाषाभाषिमा पनि साहित्यकारहरुले आआफनो रचना वाचन गरेका थिए। नेपाल भाषा मात्र नभएर नेपालमा प्रचलनमा रहेका जुन कुनै भाषा संस्कृति एवं साहित्यको संरक्षणका खातिर भक्तपुरमा तःमुंज्या गर्दै आएको आयोजकले जनाएको छ। सम्मेलनमा प्रतियोगी तथा अप्रतियोगी साहित्यहरु वचन गरिंदै आएको आयोजक समितिका अध्यक्ष नरेश खत्रीले जनाए।

दुईदिने साहित्य सम्मेलनको बीचबीचमा विभिन्न क्षेत्रका विज्ञहरुले आआफनो मन्तव्य राखेका थिए। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, पूर्व न्यायाधिश गौरीवहादुर कार्की, कथाकार लक्ष्मण राजवंशी, साहित्यकार नरेन्द्रराज प्रसाई, नेपाली सेनाका पूर्व जर्नेल तथा इतिहासकार प्रेमसिंह बस्न्यात, मुटुरोग विशेषज्ञ डा सम्पूर्णमान तुलाधर, मनोरोग विशेषज्ञ डा धनरत्न शाक्य, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा सरोज धिताल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट, एसपी हिमालयकुमार श्रेष्ठलगायतले आआफनो धारणा राखेका थिए। 

कार्यक्रमको अन्तमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले विभिन्न साँंस्कृतिक गुरुहरुलाई सम्मान गरेका थिए। बाजा गुरुद्धय मीनबहादुर सुवाल तथा पुनबीर गैडा र समाजसेवी लतंभक्त प्रजापतिलाई सम्मान गरेका थिए। साथै प्रतियोगितात्मक साहित्यतर्फ उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरेका थिए।

सम्मेलनको उद्घाटन आइतबार २०४६ सालको जनआन्दोलनका सहिद पुष्परत्न शाक्यका श्रीमती विजयलक्ष्मी शाक्य र शहिद निर्मलकुमार शाक्यका माता असलमाया शाक्यले सयुक्त रुपमा गरेका थिए। दुवै दिन राति आठ बजेपछि सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको थियो। 

 

प्रकाशित: ५ कार्तिक २०७५ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App