coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेकपामा नेपाल–ओली गुट पुनः एक हुने तयारी

काठमाडौं– नेकपाका नेता माधव नेपालले पार्टी भित्र एक व्यक्ति एक पदको अवधारणा लागू नभएकोमा दुःख व्यक्त गरेका छन्।बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकमा नेता नेपालले लिखित प्रस्ताव राख्दै पार्टी एकीकरणपछि तीनै तहमा पार्टीको व्यवस्थापन र सरकारको कार्यसम्पादन लगायतका विषयमा चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

एक व्यक्ति एक पद भनेपनि मुख्य मन्त्री रहेका शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङले पार्टीको प्रदेश प्रमुखको जिम्मेवारी पनि पाएका छन्। समाचार स्रोतका अनुसार माधव नेपाल पक्षलाई मनाउन मुख्यमन्त्री द्वयको पार्टी जिम्मेवारी हटाउनेतर्फ पनि छलफल भएको थियो। हाललाई प्रदेश इञ्चार्ज परिवर्तन नगर्ने सहमति भएको छ।

सरकारको कार्यसम्पादनलाई लिएर चौतर्फी आलोचना भइरहे पनि नेकपाको सचिवालय बैठक पार्टीको सांगठनिक व्यवस्थापनकै मुद्दामा अल्झेको छ। नेकपाले जिल्ला र त्यसभन्दा तलका तहमा पार्टी संरचनाको एकीकरण गर्न बाँकी छ।  
यसअघिको संसदीय चुनावमा हारेका बामदेव गौतम चुनाव लडेर पुनः सत्ता राजनीतिमा हावी हुने सम्भावनालाई मध्यनजर गर्दै तत्कालिन एमालेको ओली–नेपाल गुट २०५४ साल अघिको अवस्थामा सहमत हुने कोशिश गर्दैछ। ०५४ सालमा गौतमले पार्टी फुटाएका थिए। अहिले नेता गौतम पुष्पकमल दाहालसँग निकट छन्। ०५४ साल अघिको जस्तो गरी ओली र नेपाल समूह पुनः एउटै गुट बनेमा नेकपा भित्रको गुट राजनीति जीवितै रहनेछ। काठमाडौ ७ का सांसद रामवीर मानन्धरले दिएको राजीनामा पार्टीले अस्वीकार गरेपछि गौतम आजको बैठकमा निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए।

तत्कालिन माओवादीले भने अहिले संगठन एकीकरणमा सकभर धेरै पदहरु आफ्नो पक्षमा पार्ने कसरत गर्दैछ। दुइ भिन्न संस्कारमा हुर्केका एमाले र माओवादी एक भएपछि सानो संख्यामा रहेका एमालेका तल्लो तहका नेताको व्यवस्थापन तुलनात्मक सहज देखिएको छ भने जिल्ला तहमै ठूलो संख्यामा नेता रहेको माओवादीमा आकांक्षीको संख्या पनि ठूलै छ। पार्टीका तल्लो तहका कमिटिहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकतावारे छलफल गर्न बुधवार सचिवालयको बैठक बस्ने भएको छ।

केन्द्रीय सचिवालय बैठकले पार्टी प्रवक्ता पदबाट नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकार गरेको छ भने प्रदेशका इञ्चार्ज तोक्ने निर्णयलाई सदर गरेको छ। माधव नेपालले राखेको लिखित असहमति प्रस्तावलाई पार्टीले गंभिर रुपमा ग्रहण गर्ने निर्णय गरेको छ।  

प्रकाशित: ५ कार्तिक २०७५ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App