सुर्खेत – गुर्भाकोट–१४ गुमीका ३२ वर्षीय गजेन्द्र राना चाँडपर्वका बेला गाउँमा आउँदा गाउँको विद्यालयको दयनीय अवस्था देखेर चिन्तित हुन्थे। पाँच कक्षासम्मको जनसंयुक्त विद्यालयमा १०–१५ जना विद्यार्थी थिए। पढाउने शिक्षकको अभाव, भौतिक पूर्वाधार पनि जीर्ण । विद्यालय आएका विद्यार्थी दिनभरी माटोमा खेलेर घर फर्किन्थे। बादी र जनजाति समुदायको बसोबास रहेको यो गाउँमा उच्च शिक्षा अध्ययन गरेका उनी एक्ला थिए।
काठमाडौंबाट ग्रामिण विकासमा स्नातकोत्तर सकाएपछि उनी जागिर खोज्नतर्फ लागेनन् । विद्यालय सुधारको योजनासहित उनी गाउँ फर्के। पाँच वर्षदेखि उनी विद्यालयमा ‘भोलेन्टियर’ छन्। उनको नेतृत्वमा विद्यालयले गरेको प्रगति लोभलाग्दो छ । बोर्डिङ छोडेर सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको लहर चल्न थालेको छ।
‘इच्छाशक्ति भए सबै संभव हुँदो रहेछ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर सुनारले भने, ‘गजेन्द्र सर आएपछि विद्यालयले उल्लेख्य प्रगति गरेको छ।’ विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पढाई हुन्छ। बोर्डिङ स्कूलको जस्तै पोशाक अनिवार्य छ। विद्यालय परिसरभरी फोहर देखिँदैन।
सरकारी विद्यालय भन्ने वित्तिकै नाक खुम्च्याउने अभिभावकहरु आफ्ना नानी–बाबुहरु भर्ना गर्न ‘सोर्सफोर्स’ लगाउँछन् । ‘यहाँका अधिकांश अभिभावकले ऋण गरेरै भएपनि पहिले बोर्डिङ स्कुलमा आफ्ना छोराछोरी पढाउनुहुन्थ्यो,’ उनले भने, ‘अहिले बोर्डिङ छोडेर आउनेको लहर चलेको छ।’ पाँच वर्षअघि राना विद्यालय प्रवेश गर्दा २४ जना विद्यार्थी थिए। अहिले १४० भन्दाबढी विद्यार्थीहरु छन् । विद्यार्थी अनुपातमा भवन अभाव छ।
विद्यालयमा उनीसहित नौ जना शिक्षक छन्। दुई राहत शिक्षकबाहेककालाई अभिभावकले तलवको व्यवस्था गरेका छन्। सुरुमा तीन महिनाका लागि आएका उनी पाँच वर्षदेखि निरन्तर विद्यालय सुधार अभियानमा छन्। आफू जाँदा विद्यालयको अवस्था फेरि पुरानै अवस्थामा फर्किने हो कि भन्ने चिन्ता उनमा छ । ‘आफ्ना गाउँका नानीबाबुहरुको भविश्य अन्धकार देखेपछि केही महिनाका लागि सेवा गरौं भन्ने उद्देश्यले आएको थिए,ँ’ रानाले भने, ‘दिन, महिना हुँदै पाँच वर्ष पुगिसक्यो, विद्यार्थीको भविश्य र अभिभावकको मायाले छोड्नै सकेको छैन।’
अवको उनको लक्ष्य विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न बनाउँदै कक्षा आठसम्म विस्तार गर्ने हो । ‘सरकारी विद्यालयले पनि निजीको भन्दा राम्रो शिक्षा दिन सक्छन् भन्ने हामीले प्रमाणित गरिसकेका छौं,’ उनले भने, ‘अव विद्यालयलाई भौतिक पूर्वाधारले सम्पन्न बनाउँदै आगामी शैक्षिकसत्रबाट आठ कक्षासम्म पुर्याउने लक्ष्य छ।’
प्रकाशित: ५ कार्तिक २०७५ १०:४१ सोमबार