८ वैशाख २०८१ शनिबार
समाज

एक करोडको लागतमा गाउँपालिका भवन निर्माण

बनेपा- जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करीब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ। 

सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए। 

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले चौरमा नै उभिएर शपथग्रहण गरेको र अहिले गाउँलेको ठूलो सहयोगबाट १६ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताए। 

शुरुमा अस्थायी केन्द्रका रुपमा वनखुको कोलटारमा तोकिएको भए पनि सबैको पायक पर्ने ठाउँमा केन्द्र नभएको भन्दै केन्द्र सार्नुपर्ने माग बढ्दै गएको थियो। 

अध्यक्ष जिम्बाका अनुसार पछि सबैको सहमतिमा सबै वडाका बासिन्दालाई पायक गर्ने स्थान देवीटारमा सार्ने सहमति भएपछि जग्गा उपलब्ध भएका कारण कार्यालय निर्माण गरेको हो। 

गाउँपालिकाको कार्यालय निर्माण गर्न आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट रु एक करोड ४० लाख छुट्याएकोमा करिब रु एक करोडमा निर्माण गर्ने ठेक्का सम्झौता भएपछि अहिले आठ कोठे भवन र एउटा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 

गाउँपालिका–६ वडाका वडाध्यक्ष रमेश लुंगेली मगरले गाउँपालिकाको लागि जग्गा प्राप्त गर्न १७ जना वडा बासिन्दाले सहयोग गरेको बताए। 

उनले बुम्बा दोर्जे लामाले दुई रोपनीभन्दा बढी जग्गादान गरेको र जग्गादान गर्ने अन्य दातामा भीमबहादुर थिङ, लवध्वज वाइबा, बमबहादुर अस्तानी, छेवाङ दोर्जे लामा, पदमबहादुर माझी, भोरसबहादुर मोक्तान र दर्जमान मोक्तान रहेको उल्लेख गरे। रासस

प्रकाशित: ५ कार्तिक २०७५ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App