कथा

बेनामी सम्बन्ध

सोमबार, ०५ कार्तिक २०७५, १० : ४२ नागरिक

माया ठकुरी 

ढोकाको घण्टी बज्नासाथ पढ्दै गरेको पत्रिका त्यही बैठक कोठाको टेबलमा राखेर हतपत उठेर ढोकाको छेउँमा पुगेकी थिइन् अप्सरा । घण्टी फेरि बज्यो।

अप्सराले ढोकामा भएको सानो प्वालबाट बाहिर हेरिन् । बाहिर दुवै हातमा झोला झुण्ड्याएर उभिएका थिए मनोरञ्जन । मनोरञ्जनलाई देखेपछि ढोका खोलिदिएकी थिइन् अप्सराले।

“ढोका खोल्न किन यति ढिलो ?” मनोरञ्जनले अलि रुखो स्वरमा भनेका थिए।

“अरु मान्छे पो कि भनेर नि”अप्सराले उत्तर दिएकी थिइन्।

“मबाहेक अरु मान्छे पनि आउन थालेकी क्या हो ?” हातमा भएको झोला टेबुलमा राख्दै भनेका थिए मनोरञ्जनले।

“तपार्इंलाई हिजोआज के भएको छ कुन्नी जहिल्यै त्यस्तै बाङ्गोटिङ्गो कुरा गर्न थाल्नुभएको छ । तपार्इंलाई थाहा छैन... । यहाँ पनि कोलोनीका मान्छेहरुले तपाईंं र मेरो सम्बन्धलाई लिएर नानाथरिका प्रश्न गर्न थालेका छन् । अनेक थरिका शंका उपशंका हुन्छ उनीहरुका प्रश्नमा । भएन बेला कुबेला ढोका ढकढकाउने, ढोकाको घण्टी बजाउने, अनि मलाई देख्नासाथ आफू–आफूमा कुरा गरेको जस्तो गरेर व्यंग्य हान्न थाल्छन् । तपार्इंलाई त के छ र ! रात बिताउने मात्र हो । मलाई यही ठाउँमा बस्नु छ । आजित भइसकें म थरीथरीका समस्याबाट ।” सोफामा बसेका मनोरञ्जनतिर हेरेर भनेकी थिइन् अप्सराले।

“छोड यो सब गन्थन । बेकारको कुरा गरेर समय नफाल । जाउ अब पिउने पिलाउने बन्दोबस्त गर ... अँ बरफ पनि ल्याऊ ।” लगाइराखेको जुताको लेस खोल्दै भनेका थिए मनोरञ्जनले।

मनोरञ्जनले कुरा सुनेपछि एकछिन सम्म केही नबोलेर चुपचापै उनको अनुहारमा हेरेकी थिइन् अप्सराले।

“अँ आज चाहिँ तिमीले त्यो पिङ्क कलरको नाइटी ल्याउनु । पिङ्क कलरमा त तिम्रो रुप धपक्कै बल्छ ।” भान्सा कोठातिर जादै गरेकी अप्सरालाई हेर्दै भनेका थिए मनोरञ्जनले।

केही बेरपछि अप्सराले किस्तीमा काँचका गिलास, जग, रिकापी आदि ल्याएर बैठक कोठामा आइन् र किस्ती टेबलमा राखिदिएकी थिइन्। 

“तपार्इं ड्रिङ्क तयार गर्दै गर्नुस् म लुगा फेरेर आउँछु ।  भनेर अप्सरा बेडरुमतिर  लागेकी थिइन्।

“ओहो........ मैले भनेको होइन गुलाबी रङमा तिम्रो सौन्दर्य कसरी खुल्छ” भन्दै उठेर अप्सराको हात समातेर आफ्नो छेउँमा बसाएका थिए मनोरञ्जनले।

“थाहा छ तिमीलाई अप्सरा ... मैले यो नाइटी पसलमा देख्नासाथ तिमीलाई सम्झेको थिएँ । मेरी अप्सरा यो नाइटीमा साच्चै नै अप्सरा जस्तै देखिन्छिन् भनेर सोचेको थिएँ ।” अप्सरालाई अँगाल्दै भनेका थिए मनोरञ्जनले।

“म धेरै दिनअघिदेखि तपाईंंलाई सोध्न चाहन्थें तर किन–किन सोध्न सकेकी थिइनँ तर आज त म तपाईंंबाट मेरो प्रश्नको उत्तर सुनेरै छोड्छु ।” अप्सराले भनेकी थिइन् मनोरञ्जनसँग।

“पख.. पख ! पहिले म पनि लुगा फेरेर आउँ अनि मज्जासँग ड्रिङ्क गर्दै बात गरौंला है त ...।” भन्दै मनोरञ्जन उठेर बेडरुममा पसेका थिए । केही बेरपछि मनोरञ्जन बैठक कोठामा आउँदा उनको शरीरमा सेतो पाइजामा र बनियान थियो।

“अब चाहिँ आनन्दका साथ बस्ने र खाने–पिउने, सुन्ने सुनाउने है त ।” दुईवटै गिलासमा मदिरा भरिसकेपछि एउटा गिलास अप्सरातिर बढाउँदै भनेका थिए मनोरञ्जनले। 

केहीबेरसम्म दुवैले काजु र ओखर सँगसँगै दुई–तीन घुँट मदिराको स्वाद लिएपछि भनेका थिए “ल सोध के–के सोध्नु मन छ तिमीलाई मसँग तर फेरि सम्बन्धलाई नाम दिनुपर्छ भनेर भन्ने चाहिँ होइन । मैले भन्दिएको छु” मनोरञ्जनले भने। 

“म आज तपार्इंसँग अर्कै कुरो सोध्छु । तपार्इंले नढाँटी भन्नु पर्छ है त ?” अप्सराले आफ्नो हात मनोरञ्जनको हातबाट नछुटाएर भनेकी थिइन्।

“उसो भए सोध के सोध्नु मन छ । थाहा छ मलाई कति माया गर्नुहुन्छ ? भन्ने त होला नि... ठिक छ सोध म उत्तर दिन तयार छु ।” त्यति भनेपछि अप्सराको दुवै हात चुमेका थिए मनोरञ्जनले।

“तपाईं साँच्चै नै मलाई अति नै माया गर्नु हुन्छ होइन...?” अप्सराले सोझै मनोरञ्जनको आँखामा हेरेर प्रश्न गरेकी थिइन्। 

“ल हेर, मैले भनेको होइन तिमी यही प्रश्न गछ्र्यौ भनेर । अरे बाबा ! माया नगर्ने भए म भेट्न आउँथे त...? तिमीलाई थाहा छ खुकुरीको धारमा हिँडेको जस्तै छ यो सम्बन्ध मेरा लागि तर मेरो निम्ति यो मदिराभन्दा पनि मादक छौं । मलाई त यो मदिराले लठ्याउँछ ।” अप्सरालाई आफ्नो अँगालोले बेर्दै भनेका थिए । मनोरञ्जनले।

“पख्नुस्... । मलाई प्रश्न त गर्न दिनुहोस् ।” भन्दै अप्सराले बिस्तारै आफ्नो शरीर मनोरञ्जनको अँगालोमा ढल्काइन् र  मनोरञ्जनको आँखामा हेरेर भनिन् “सत्य–सत्य भन्नुहोला नढाँटीकन मलाई जस्तै तपार्इंले तपाईंंकी श्रीमतीलाई आफ्नो अँगालोमा बेरेको बेला के उनको ठाउँमा तपार्इंले मलाई देख्नु हुन्छ ?” 

“कस्तो वाहियात प्रश्न हो यो ? बेला न कुबेला ... पागल त भएकी छैनौं....? उनी मेरी विवाहिता पत्नी हुन् । अग्निलाई साक्षी राखेर समाजको अघि स्वीकारेका हौं हामीले एक अर्कालाई।”

अप्सराको प्रश्न सुन्नासाथ एकाएक आगोको लप्कोले छोइएको जस्तो गरेर तर्सेर अप्सराको काँधबाट आफ्नो हात हटाउँदै भनेका थिए मनोरञ्जनले। 

“मलाई थाहा थियो । मेरो प्रश्नको उत्तर यही र यस्तै हुनेछ भनेर । धेरै खुसी लाग्यो । अन्ततः तपार्इंले सत्य बोल्नु भयो भनेर ।” रुञ्चे हाँसो हाँस्दै भनेकी थिइन् अप्सराले। 

केही बेरपछि सदाको झैं मनोरञ्जन र अप्सरा दुवैले सामान्य व्यवहार देखाउँदै खानपान गर्न थालेका थिए । त्यसपछि त्यो रात पनि अघि–अघि भेट हुँदा बिताएका रातहरु जस्तै मदिरा संगीत, गरिष्ठ खान्की अनि एक अर्कामा लिप्त भएर बिताएका थिए मनोरञ्जन र अप्सराले। 

अर्को दिन एकाबिहानै मनोरञ्जन ब्युँझँदा अप्सरा मस्तसँग निदाइरहेकी थिइन् । केही बेरपछि मनोरञ्जन हातमुख धोएर लुगा फेरीवरी तयार हुँदासम्म पनि अप्सरा सुति नै रहेकी थिइन्।

“गुड बाय ...।” कोठाबाट निस्किन अघि मनोरञ्जनले अप्सराको गलामा बिस्तारै थपथपाएर गएका थिए । त्यसपछि करिब पन्ध दिनसम्मका लागि मनोरञ्जन अफिसियल कामले गर्दा बैंकक जानु परेको।

अप्सरासँग छुट्टिएको अठारौं दिनमा साँझ ढल्केपछि मनोरञ्जन पुगेका थिए अप्सरा बस्ने अपार्टमेन्टमा । त्यहाँ पुगेपछि उनले ढोकाको घण्टी बजाए तर निकै बेर हुँदासम्म पनि ढोका खुलेन । केही बेर कुरेपछि उनले खल्तीबाट आपूmसँग भएको डुप्लिकेट साँचो निकालेर ढोका खोलेर भित्र पसे र फेरि भित्रका ढोका बन्द गरे।

कोठा चकमन्न थियो । मनोरञ्जनले बिस्तारै अप्सरा ...! भनेर बोलाए तर उहँ...... कतैबाट केही आवाज आएन । उनी अघि बढे र बेडरुम, बाथरुम, किचेन र स्टोर रुम सबै हेरे । अप्सरा कतै पनि थिइनन्।

केही सोचेपछि मनोरञ्जन फेरि बेडरुममा पसे र त्यहाँ भएको लुगा राख्ने गरेको दराजनेर गए र बिस्तारै ढोका ताने । ढोका खुल्लै रहेछ खुल्यो तर त्यहाँ पहिलेको झैं टन्नै लुगा थिएन । हेङ्गरमा केही लुगा झुण्ड्याइएका थिए भने दराजको ताकमा केही लुगाहरु असरल्ल अवस्थामा थिए । मनोरञ्जनको मनमा चिसो पस्यो । अचानक उनको आँखामा दराजमा ताकमा कपडामाथि राखेको एउटा खाममा पर्याे।

मनोरञ्जनले त्यो खाम हातमा लिए । खाम भित्र पत्र जस्तो देखियो । उनले त्यो पत्र निकालेर हातमा लिए अनि बैठक कोठामा आएर सोफामा बसेर पत्र पढ्न थाले । पत्रको सिरानमा प्रश्नवाचक चिह्न मात्र थियो । प्रश्नचिह्नको ठिक मुन्तिर लेखिएको थियो।

तपाईंंसँगको कुनै साइनोविना नै करिब आठ वर्ष बितेछ । धेरै पटक मैले तपार्इंलाई हाम्रो सम्बन्धलाई एउटा नाम दिउँ भनेकी थिएँ तर तपार्इंले मेरो कुरालाई हाँसोमा उडाउनु भएको थियो। 

तपार्इंलाई थाहा छ मलाई हाम्रो गाउँकी एउटी फूपू पर्नेले तपार्इंको घरायसी काममा सघाउने भनेर ल्याइदिएकी थिइन् । घरको विभिन्न अवस्था, रोगी आमा र दुई भाइबैनीको उज्ज्वल भविष्यको सपना देखाएकी थिइन् ती फूपूले । “तैंले मालिक्नीलाई कामले रिझाउन सकिस् भने वहाँले तलाई स्कुल पढ्न पनि पठाउनु हुनेछ ।” उहाँले भन्नुभएको थियो । पढे लेखेर ठूलो मान्छे हुने रहर पालेर बसेकी मैले फूपूको सल्लाह मान्नु नै ठीक लाग्यो। 

मैले गाउँको स्कुलबाट कक्षा आठको जाँच सकाएकी थिएँ । त्यसपछि म यहाँ आएर तपार्इंहरु कहाँ काम गर्न थालेँ । भर्खर पन्ध्र वर्ष पुगेर सोह्र वर्षकी किशोरी । मीठो खाउँ... राम्रो लाउँ भन्ने मन।

मालिक्नीले अह्राएको काम मन लगाएर गर्थिन् । मेरो काम देखेर मालिक्नी साच्चै नै खुसी हुनुभयो र मलाई स्कुल भर्ना गरिदिनु भयो । स्कुल पढ्न पाएपछि म फुरुङ परेँ, त्यै भएर होला वहाँले मलाई आफ्नो छोरीजस्तै माया गर्न थाल्नु भयो।

मालिक्नीले दिएका ती राम्रा राम्रा कपडा लगाउन पाउँदा र बैनीलाई पनि पठाइदिन पाउँदा म अत्यन्त खुसी हुने गरेकी थिएँ।

फुपूले अर्कै ठाउँमा काम गर्ने गरेको भए पनि महिनामा एकपटक आएर मलाई भेट्नु हुन्थ्यो अनि मालिक्नीले मेरो भाग तलब उनकै हातमा दिने गर्नुभएको थियो । मेरी आमालाई महिनैपिच्छे मेरो तलबमा पाएको पैसा पठाउने काम पूmपूले नै गर्नु भएको थियो। 

“हरे..... ! तँलाई तेरी फूपूले त्यहाँ लगेर काममा नलगाइदिएको भए हाम्रो के गति हुने थियो होला । तेरा भाइबैनीले पढ्न पनि पाउँदैनथे होलान् । धन्य भाग्यले साथ दियो र त आज पनि शहरमा बसेर पढ्न पाएकी छस् । दसैंको बेला म घर जाँदा आमाले भन्ने गर्नुहुन्थ्यो । त्यसरी तपाईंंको घरमा काम गर्दा गर्दै मैले कक्षा नौको जाँच पनि सकाएँ।

“अहो .....! तिमी त यो कपडामा हिरोइन जस्ती देखिएकी छौ त ।” पहिले पहिले मतिर खासै ध्यान नदिने गरेको मान्छे एकदिन पत्नीकै अघि तपार्इंले मेरो रूपको प्रशंसा गर्नुभएको थियो । म लाजले त्यसै त्यसै खुम्चिएकी थिएँ।

त्यसपछिका दिनमा मलाई लाग्थ्यो मभित्र बाहिर गर्दा अथवा घरको काम गर्दा तपाईंंका आँखाहरुले मलाई पछ्याइरहेका छन् । बेला–बेलामा म आफैँसँग झस्किने गर्दथेँ । एक प्रकारको डर पनि लाग्दथ्यो मलाई तर के को डर .... कस्तो डर थाहा थिएन मलाई।

पछिपछि घरका सदस्यहरुको आँखा छलेर कहिले काहीँ चकलेट पनि दिन थाल्नुभएको थियो तपार्इंले मलाई । चकलेट मलाई मन पथ्र्यो । मालिक्नीलाई भन्न डर लाग्थ्यो त्यसकारण लुकेर खान्थे म ती चकलेट । कहीलेकाहीँ पैसा पनि दिन थाल्नुभयो तपार्इंले मलाई । म ती पैसा लुकाएर राख्थे र स्कुल जाँदा के–के किनेर खान्थें।

एक दिनको कुरा हो म त्यो दिन फूपूसँग गाउँ जानका लागि तयार भएर मालिक्नीको अघि उभिएकी थिएँ त्यै बेलामा तपाईंं त्यहाँ आउनु भयो र फूपू र मालिक्नीको पछाडि उभिनु भयो मेरा आँखा तपाईंंका आँखासँग अनायासै जुधेका थिए त्यति नै बेला मतिर हेर्दै बाँया आँखा झमक्क झम्काउनु भयो । म लाजले रातो पिरो भएँ । तपार्इं मुसुक्क हाँस्नु भयो । म उत्तिखेरै भान्सा कोठातिर गएँ।

त्यसपछिका दिनमा तपार्इं बढीभन्दा बढी मेरो नजिक देख्न थालेकी थिएँ तपाईंंलाई अहिले मलाई लाग्छ मसँग नजिक हुने स्थितिको सृजना तपार्इं आफैंले सृजना गर्नु हुन्थ्यो।

तपार्इंले हतार गर्नु भएन मात्र एउटा लक्ष्य लिएर मलाई आफ्नो मृद्ध मुस्कान र मीठो कुराहरुले लोभ्याइरहनु भयो।

तपाईंंकी श्रीमती मेरो इमानदारिता र फुर्तिलो काम गराइबाट प्रभावित भएर मलाई छोरीसरह व्यवहार गर्नु हुन्थ्यो।

तपार्इंको घरमा घरायसी काम सघाउँदा सघाउँदै मैले दस कक्षा उत्तीर्ण गरेँ । मलाई मालिक्नीले आफैंले उच्च माध्यमिक स्कुलमा लगेर ११ कक्षामा भर्ना गरिदिनु भयो । खुसीले म त्यसैत्यसै फुरुङ्ग परेकी थिएँ । स्कुलमा सबै केटाहरुले मलाई नै हेरिरहेको झैँ लाग्थ्यो । यता घरमा पनि मालिक्नीको र अरुको अनुपस्थितिमा तपार्इंसँग ठट्टा गर्न थाल्नुभएको थियो । हुँदा हुँदा कहिलेकाहीँ त मलाई एकान्तमा भेट्नासाथ राम्री...! भन्दै मेरा गाला समातेर तान्ने पनि गर्न लाग्नु भएको थियो।

“भनिदिन्छु ...। म अनुहार रातो पारेर भन्थेँ ।” “भन्देऊ न त म उनकै अघि गाला तान्नेछु ।” तपाईंले हाँस्दै भन्नु हुन्थ्यो । अहिले लाग्छ मैले साँच्चै नै त्यति बेला तपाईंंले मलाई जिस्काउँदा प्रयोग गरेका शब्दहरु तपाईंंले मेरो गाला तानेको कुरो सबै भनिदिनु पर्दो रहेछ तर किन किन म चुप रहे। 

दिन बितिरहेको थियो । पढाइमा म ठिक ठिकै थिएँ । फेल कहिल्यै भइनँ । तपार्इंकी एउटी छोरी र छोरो कलेज पढ्दै गर्दा म बाह्रमा पढ्दै थिएँ । तपाईंं प्रायः जसो कार्यालयको कामले १०–१५ दिनका लागि अर्को जिल्लामा जानु हुन्थ्यो र घर फर्किँदा आफ्ना छोराछोरीका लागि नयाँ खेल्ने खेलौना र थरिथरिका चकलेट ल्याइदिनुहन्थ्यो । त्यो देख्दा म गाउँमा पढ्दै गरेका मेरा भाइ र बहिनीलाई सम्झिने गर्दथेँ । मन त्यसै त्यसै अमिलिएर आउँथ्यो। 

म राति तपाईंंकी छोरी सुत्ने कोठाको एउटा कुनामा ओछ्यान लगाएर सुत्ने गरेकी थिएँ । मलाई मालिक्नीले सुरुदेखि नै रातपरेपछि त्यही कुनामा भूइँमा ओछ्यान बनाएर सुत्ने र बिहान सबै ओछ्यान पट्टयाएर एउटा कुनामा राम्रो तन्नाले ढाकेर राख्न भन्नु भएको हुनाले म त्यसै गर्दथे । एक दिनको कुरो हो त्यो दिन कसैले तपार्इंका घरका सबै सदस्यलाई रातिको खाना खानका निम्ति निम्तो गरेका थिए । मालिक्नीले मलाई पनि आजसँगै लाने हुनु भयो । तपार्इंकी छोरीले छिटोछिटो कपडा फेरिन् र कोठाबाट बाहिरिइन् । म भने भर्खरै लाइसकेको कपडा अलि नसुहाएको जस्तो लागेर त्यो खोलेर अर्को कुर्ता लगाउने जमर्को गर्दै थिएँ त्यति नै बेला मैले तपार्इंलाई ढोकामा उभिएको देखेँ । म लाजले भुतुक्कै भएँ र त्यही कुर्ताले आफ्नो पेटको माथिल्लो भाग छोपेँ । तपार्इं मुसुक्क हाँस्नु भयो र सरी भन्दै त्यहाँबाट जानु भयो । त्यसपछि जति–जति बेला तपाईंंसँग मेरो आँखा जुद्थ्यो त्यति– त्यति बेला तपाईंं आफ्ना दुवै आँखीभाँै उचालेर मतिर हेरेर हाँस्नु हुन्थ्यो । म मरे तुल्य हुन्थेँ।

त्यसरी हामी एक अर्कासँग नबोल्दा नबोल्दै पनि कता–कता मौन भाषामा जोडिएकाझैं भएका थियौं।

एकदिन अचानक मालिक्नीको हीराको हार हरायो र सबैले खोज्दा तपार्इंको छोराले त्यो मेरा ओछ्यानभित्र भेटायो । म छक्क परे । म आत्तिएँ, रोएँ “मैले चोरेको होइन” भन्दै अनेक थरिको कसम खाएँ तर अहँ तपाईंहरु कसैले पनि मेरो कुरो पत्याउनु भएन । अर्को दिन तपाईंंहरुले मेरो कपडासहित मलाई मेरी फुपूको साथ लगाएर मलाई घरबाट निकाल्नु भयो।

“हेर..... । त्यस्ता मनकारी मान्छेको घरमा काम गरेर तैँले आफू मात्र पढ्ने होइन तेरा भाइबहिनीलाई समेत पढाउन पाएकी थिइस् । तेरो पोइ मरेको विधवा आमाको रोगको उपचार खर्च समेत पाएकी थिइस् तर आज तेरो मूर्खताले र लोभले गर्दा छँदा खाँदाको जागिर गयो ।” भन्दै फूपूले बेस्सरी हकार्नु भयो मलाई मैले फुपूलाई पनि आफू निर्दोष रहेको कुरो भने तर वहाँले पनि पत्याउनु भएन । म हतास भएकी थिएँ। 

तपाईंको घर छाडेको दोस्रो दिन बेलुका झमक्क परेपछि तपाईं हामी बसेका डेरामा आउनुभएको थियो । तपाईंंले मेरी फूपूसँग धेरै बेरसम्म कुरो गर्नुभयो । मलाई तपार्इंको अघि बस्न लाज लागेको हुनाले म भित्र अगेनो भएको ठाउँमा गएर चुपचाप बसिरहेकी थिएँ। 

“धन्य मालिकको मन कमलो रहेछ । वहाँले तँलाई होस्टेलमा राखेर बाह्र कक्षासम्म पूरा पढाइदिने भन्नुभएको छ त्यै भएर भोलि तँ र म मालिकसँगै गएर तँलाई होस्टेलमा राख्ने अरे । तेरो स्कुलमा पढ्ने अरु केटीहरु पनि बस्छन् अरे त्यहीँ होस्टेलमा ।” तपार्इं गएपछि फूपूले मसँग भन्नुभएको थियो। 

“अनि घरमा आमालाई भन्नु पर्याे नि ।” मैले भनेकी थिएँ मालिकले भन्नुभएको अहिले हामीले घरमा केही नभन्ने अरे । तेरी आमालाई सित्तैमा किन पीरमाथि पीर थपिदिने तैंले बाह्र कक्षाको जाँच दिएपछि वहाँले तेरा लागि एउटा सानो–तिनो जागिर खोजिदिउँला  पनि भन्नुभएको छ । मान्छे त साँच्चै देउताजस्ता रहेछन् त्यस्ताका घरमा तँ टिक्न सकिनस् ।” फूपूले सहजरूपमा भन्नुभएको थियो। 

त्यसपछि म सात महिनाजति होस्टेलमा बसेर पढेँ । परीक्षा पनि राम्रो भयो । त्यो छ महिनाको अवधिभित्रमा तपाईंंले पटक–पटक मलाई भेट्नु भयो । मलाई खाने कुरा, कपडा र पैसा दिने गर्नु भयो र कहिलेकाहीँ मलाई आफ्नो गाडीमा राखेर शहरदेखि टाढा डुलाउन पनि लग्नु भयो त हामीबीच हीराको हारबारे कहिल्यै कुनै कुरा भएन । सत्ये भन्ने के हो म  शहरमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्थे।

त्यसको केही दिनपछि फुपूले डेरा छोडेर गाउँ जानुअगावै तपार्इंले मलाई शहरदेखि निकै टाढा भएको एउटा नवज्ञ–निर्मित अग्लो अपार्टमेन्टको एउटा फ्ल्याटमा लिएर जानु भयो । त्यहाँ पुगेपछि तपाईंंले कोठाको साँचो मेरो हातमा राखिदिएर भन्नु भएको थियो “लौ यो साँचो आजबाट यो घर तिम्रो भयो । यहाँ मैले तिमीलाई आवश्यक पर्ने सारा सामानहरुको बन्दोबस्त गरिदिएको छु । मनभित्रको खुसीलाई सञ्चित गर्दै मैले ढोका खोलेँ र भित्र पसेँ अनि कोठाभित्रको सुन्दर सजावट र कलात्मक सर–सामानहरु हेर्दै सबै कोठाहरु चहारे । अहो.... ! म कति खुसी भएकी थिएँ त्यस बेला त्यो बयान गर्ने शब्द छैनन् मसँग । बस खुसीले छचल्किएका आँखा लिएर “थेङक्यु ...!” भन्दै मैले तपार्इंलाई अँगालो मारेकी थिएँ।

त्यो दिनदेखि म तपाईंंकी पूर्णकालीन रखौटीमा रुपान्तरित भएकी थिएँ । समय बित्दै गयो जब–जब तपाईंंलाई मेरो देहको प्यास लाग्दथ्यो तब–तब तपाईंं मदिराको बोतल र मेरा लागि उपहार लिएर म बसेको फ्ल्याटमा रात बिताउन आउनु हुन्थ्यो।

त्यहाँ अपार्टमेन्टमा बस्ने अन्य छर–छिमेकीहरु मसँग निकट हुन खोज्दथे तर म कहिल्यै उनीहरुसँग खुलेर बोल्न सकिनँ । मेरो कलेजको पढाइ आफ्नै गतिमा अघि बढिरहेको थियो। 

समय बित्दै जाँदा छिमेकका केही महिला मेरो दोहोरो कुरो हुन थालेको थियो । उनीहरुले मसँग घुमाउरो किसिमले तपार्इं र मेरो सम्बन्धलाई लिएर खोतल्न थालेका थिए। 

मलाई थाहा थियो म जस्ती एक्लै बस्ने युवतीबाट समाजले धेरै प्रश्नको उत्तर खोज्छ । मैले जीवन जिउनुलाई जति सजिलो ठानेकी थिएँ । त्यस्ताे रहेन रहेछ यहाँ।

मेरा छिमेकी पुरुषहरुको मायाको दृष्टिले मलाई कसरी खेदिरहेका छन् । कतिले त मलाई एकान्तमा देख्नासाथ बडो निर्लज्जतापूर्वक अश्लील संकेत गरेर घिनलाग्दो प्रस्ताव राख्नसमेत पछि पर्दैनथे । जब म अत्यन्त दुःखी र हतास भएर आफूमाथि भएका ती सब कुराहरु भन्दथेँ त्यति बेला तपाईंंले मेरा गुनासालाई वास्ता नगरेर हाँसोमा उडाउनुहुन्थ्यो । म आहत हुने गर्दथेँ तपार्इंले मेरा गुनासाहरुको वास्ता नगरेको देखेर।

सत्य भन्ने हो भने मभित्र कता–कता तपाईंंप्रति घृणाको भाव जाग्न थालेको थियो । म मनमनै तपाईंंको व्यवहारबाट बिरक्तिँदै थिएँ। 

मलाई अझ पनि याद छ त्यो दिन... त्यो क्षण जब मैले प्रथमपटक आँखाभरि आँसु भरेर भनेकी थिएँ “कतिदिन कति समयसम्म तपाईंसँगको यो अनैतिक सम्बन्ध लिएर म बाँचिरहुँ ? अब त हामीले हाम्रो सम्बन्धलाई एउटा औपचारिक नाम दिनु पर्छ  । मानिसहरुले मलाई सौतामाथि गएकी आइमाई भनेर लाञ्छना लगाएता पनि मेरो सन्तानले पिताको नाम पाउनेछ। 

“पागल नबन.... ! बौलाही भयौ कि क्या हो ? जे छ त्यसैमा रमाएर बस्न सिक । सबथोक त पुगेको छ नि तिमीलाई । हाम्रो सम्बन्धको किन चाहियो तिमीलाई ?”

हो त्यो दिन ...... त्यही क्षण तपार्इंका शब्दहरुले मलाई मेरो दयनीय स्थितिको बोध गराएको थियो । मैले स्पष्ट रुपले आफू उभिएको धरातल अनुभूत गरेकी थिएँ।

एउटा विधवा नारीले जसोतसो दुःखसुख गरेर घर चलाएकको परिवेशमा हुर्केकी थिएँ । म सानैदेखि महत्वाकाक्षी भएकी हुनाले जे जसो गरेर भए पनि उच्च शिक्षा हासिल गर्ने र भाइ बैनी र आमालाई सुख दिन चाहन्थेँ।

मेरो उर्लँदो चाहनालाई फूपू तपार्इंकी श्रीमती र तपाईंं सबैले अ–आफ्नो किसिमले टेवा दिनु भयो तपार्इंकी श्रीमतीलाई मैले आफ्नो श्रम र इमानदारिताले रिझाउन सकेकी थिएँ । मेरा लागि त्यतिखेरको जीवन अनौठो र आनन्दमय थियो।

साँच्चै भन्ने हो भने म त्यसबेला कुमालेले कुनै बस्तुको आकार दिनभन्दा अघि मुछेर राखेको आलो काँचो माटो जस्तै थिएँ।

म खुब धेरै पढेर भाइ बैनीलाई पढाएर र आमाको हेरचाह गरेर एउटा सम्मानित र सुखी जीवन जिउन चाहन्थेँ तर मलाई थाहा थिएन तपार्इंको सुन्दर व्यक्तित्व र मिठासपूर्ण रुपमा मेरो जीवनमा राहुले प्रवेश गरिसकेको छ भनेर तपाईंको कलाकारिता र ईच्छा अनुसार मेरो जीवन पद्धतिको निर्माण भयो । म तपार्इंको देह सुख प्रदान गर्ने साधन भएँ।

जति–जति समयको पाइला अघि बढ्दै गयो र मैले शिक्षा हासिल गर्दै गएँ मभित्र आफू को हुँ र आफू कुन स्थितिमा छु भन्ने कुराको बोध हुँदै गयो । मैले मेरो दोहोरो जीवनको अर्थ बुझ्दै गएँ । मैले समाजमा बसेर एउटा सम्मानित र अपमानित जीवन जिउनुको अर्थ बुझ्दै गएँ र अन्त्यमा एउटा अठोट निर्णय लिए । तपार्इं र तपार्इंको खोक्रो सम्बन्धबाट छुट्कारा लिने।

मभित्र स्वतन्त्र भएर जिउने जिजीविषा पलायो।

अन्तिम पटकको हाम्रो भेटमा मैले हाम्रो सम्बन्धको नामबारे फेरि प्रसंग उठाएकी थिएँ । तपार्इंले सदाको झँै मेरो प्रश्नलाई हाँसो र व्यंग्यमा उडाउनु भयो। 

अब म यो अनैतिक सम्बन्धबाट अलग्गिएर एउटा स्वतन्त्र र सार्थक जीवन बिताउने निर्णय गरेँ र तपार्इंको जीवनबाट सदाका निम्ति जाँदैछु मेरो आफ्नो विगत जीवनप्रति मलाई किञ्चित मात्र पनि घृणा छैन न त म आत्महत्या गर्ने छु । म यही यसै समाजमा बसेर मेरा सारा सपना पूरा गर्नेछु। 

यसपटक जब म दसैंमा गाउँमा गएकी थिएँ त्यति बेला मेरी बहिनीले भनेकी थिई “दिदी तिमीले शरीर बेचेर हामीलाई पढाएकी छ्यौं भन्ने थाहा भएको भए हामी बरु पढ्ने नै थिएनौं । तिमीले गर्दा गाउँमा सबैले हामीलाई कति वचन लगाउँछन् त्यो तिमीलाई के थाहा ? पर्सीको दसैं पर्खेर नबसे हुन्छ गै हाल त्यही नर्कमा जहाँ तिमी रमाएर बसेकी छौ । तिमी घर आएको थाहा पाएर भाइ घर फर्केकै छैन।”

म स्तब्ध भएकी थिएँ मेरी बहिनीका ती कुरा सुनेर। 

त्यो रात म एक्लै रुँदै बसेकी थिएँ ओच्छ्यानमा । आमा चाल मारेर मेरो कोठामा पस्नु भएको थियो । “आएदेखिको अन्नको गेडो पसेको छैन तेरो पेटमा । खा छोरी । नरोऊ । भोलि बिहान भाइ आउनुभन्दा अघि गैहाल यहाँबाट” । त्यति भन्दै मेरो अघि भात राखेको थाल राखिदिनु भएको थियो।

त्यो क्षण मैले आमालाई गम्लुङ्ग अँगालो हालेर रुँदै भनेकी थिएँ । “आमा मेरो दोष छ त .....?”

“छैन छोरी छैन तेरो दोष छैन । यो हाम्रो कर्मको दोष हो । म पनि तँ सँगै जाने थिएँ तर.....।” बोल्दाबोल्दै आमाको स्वर अवरुद्ध भएको थियो । त्यसपछि त्यो रात हामी आमा छोरीले एक अर्काको अँगालोमा रहेर आँसु बगाएका गियौं।

मलाई थाहा छ रातको अन्धकारमा तपार्इंले मलाई खोज्दै मकहाँ आउने गरेको भए तापनि दिनको उज्यालोमा तपाईंं मेरो सामु आफ्नो असली रुप देखाउने सामथ्र्य राख्नु हुन्न । तपार्इंमा सत्यसँग सामना गर्ने हिम्मत छैन।

म आज यसै क्षण तपार्इंसँग जोडिएका एउटा घृणास्पद बेनामी सम्बन्धको दृश्यलाई यहीँ पटाक्षेप गर्दैछु।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।