coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रेमपत्र डिनलाई लगेर दिएँ

डाक्टर रेणु अधिकारी। तस्बिरः कृष्पा श्रेष्ठ

पेसाले डाक्टर रेणु अधिकारी अहिले डाक्टरी पेसा भन्दा पनि महिला अधिकार क्षेत्रमा काम गरिरहेकी छन् । करिब ११ वर्ष सरकारी सेवामा रहेकी अधिकारी ललितपुरको जिल्ला स्वास्थ्य प्रमुख हुँदा सरुवा गर्ने चलखेल भएपछि उनले राजीनामा दिएर महिला सशक्तीकरण तथा हक अधिकारको लागि लड्ने प्रण गरिन् । अहिले उनी तरङ्गिनी नामक संस्थामार्फत महिला अधिकारको क्षेत्रमा काम गरिरहेकी छन्। 

नागरिकतामा ४ वर्ष बढी उमेर 
सिरहा जिल्लाको लाहन बस्तीपुरमा २०१७ साल साउन २८ गते आमा  दिव्यश्वरी अधिकारी र बुबा श्यामप्रसाद अधिकारीको जेठो सन्तानका रुपमा जन्मिएकी रेणु कक्षा ४ सम्म भारतमा पढिन् । पछि मामाघर सिरहा ल्याएर हजुरआमाका साथमा बस्न थालिन् । उनी सिराहामा नै बसेर पढ्न थालिन् । पढ्नमा निकै तेज उनी १३ वर्षको उमेरमा नै एसएलसी परीक्षा दिइन् । ‘त्यतिबेला १६ वर्षभन्दा सानो उमेरको मान्छेले एसएलसी दिन नपाइने नियम थियो,’ उनले भनिन्, ‘त्यही भएर ३ वर्ष उमेर बढाइयो । मेरो नागरिकतामा मेरो वास्तविक उमेरभन्दा बढी उमेर छ। ’

‘गुण्डा’ले सहयोग गर्दा
रेणु र उनकी आमा जनकपुरको लागि जयनगरबाट रेल चढेँ । नतिजा प्रकाशित भए पनि रेणुलाई पास फेलको अत्तोपत्तो थिएन । उनी भन्छिन्, ‘क्लासको जान्ने विद्यार्थीमा गनिन्थेँ । पास फेल भन्दा पनि कुन श्रेणी आयो होला भन्ने पिरले मलाई सताएको थियो ।’ त्यसपछि उनीहरुले खजुरीमा ओर्लिएर ‘गोरखापत्र’ खोज्न थालेछन् । कुनै समय ‘गुण्डा’ भनेर चिनिएका तात्कालीन कांग्रेस नेता शरदसिंह भण्डारीले पत्रिका खोज्न र छुट्न लागिसकेको रेल चढ्न सघाएछन् । उनी भन्छिन्, ‘त्यतिबेला पञ्चायतकालमा शरदसिंह भण्डारी दाइको टिमलाई गुण्डा भन्थे । उहाँहरु फिल्म हेर्न जानुभएको रहेछ । हामीलाई पत्रिका खोज्न र  गरेर रेलसम्म पनि चढाइदिनुभयो । पछि पो उहाँहरुलाई कुपण्डोले ‘गुण्डा’ भनेर चिनिदोरहेछ भनेर थाहा पाएँ ।’ गोरखापत्रमा उनी दोस्रो श्रेणीमा पास भएको देखाएपछि भने उनलाई खल्लो लाग्यो । श्रेणी चित्त नबुझेकाले उनी घर पुगुञ्जेलसम्म रोइरहिन्।

सानैदेखि नेतृत्व लिने स्वभाव
आफू सानैदेखि निडर र हक्की स्वभावको रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सानोमा मलाई डर भन्ने चिज नै लाग्दैन्थ्यो ।’ मावलामा उनी र हजुरआमा मात्रै बस्थे । हजुरआमा बिरामी भएपछि औषधी लिन एक घण्टा जगंलको बाटो एक्लै हिँडेर गइछन् र औषधी ल्याइछन् । उनलाई अहिले यो सम्झँदा उदेक लाग्छ । कुन हिम्मतले जंगलको त्यो बाटो रातिहुँदी पार गरेँ हुँली भन्ने उनलाई लागिरहन्छ।

अन्यायबारे बोल्न सिकाउने प्रदीप गिरि 
कांग्रेस नेता प्रदीप गिरिको पनि घर सिराहा र १३ वर्षको उमेरसम्म रेणुले पनि सिराहा नै पढिन् । प्रदीप गिरिको पठन र लेखनबाट निकै प्रेरित रेणु भन्छिन्, ‘प्रदीप दाइ निवार्सनमा हुनुहुन्थ्यो । बेलाबेला सिरहा आएर अध्ययनसम्बन्धी कार्यक्रम पनि चलाउनुहुन्थ्यो । त्यसमा म पनि जान्थेँ । प्रदीप दाइले समाजवाद किन चाहिन्छ ? राजा किन हट्नुपर्छ भन्ने लगायतका कुरा बोल्नुहुन्थ्यो । उहाँले नै मलाई राजनीतिबारे जान्नुपर्छ भनेर प्रेरित गर्नुहुन्थ्यो ।’ भारतबाट आउँदा गिरिले नयाँ–नयाँ पुस्तक ल्याइदिने भएकाले उनलाई लत नै बसालिदिएका थिए । आफू व्यक्तिगत रुपमा प्रदीप गिरिबाट प्रेरित भए पनि कांग्रेस भने कहिल्यै नभएको उनले बताइन्।

अरुको प्रेमपत्र पढ्दा
स्कुल पढ्दा उनी सानै थिइन् । उनी आफैँलाई भने प्रेमपत्र कसैले पठाएनछन् । साथीहरुको प्रेमपत्र भने मज्जैले पढ्न पाइन् । उनी भन्छिन्, ‘म त सानै थिएँ, साथीहरुको प्रेमपत्र आउँथे । हाम्रो सानो ‘ग्याङ’ नै थियो । त्यो ग्याङले सबैलाई सार्वजनिक रुपमा प्रेमपत्र पढेर सुनाइदिन्थ्यो र पत्र पठाउनेको बिजोगै पारिदिन्थ्यौँ ।’ यी सबै कुराको नेतृत्व भने रेणुले नै गरिरहेकी हुन्थिन् । त्यसैले पनि गर्दा कतिपय साथीले उनलाई असाध्यै छुच्ची भन्थे । सानो छँदा निकै चञ्चले स्वभावकी उनले जे–जे छुच्याइँ र बदमासी गरे पनि उनको पढाइ तेज भएको कारणले प्रशंसक नै थिए । उनी भन्छिन्, ‘स्कुलमा सबैभन्दा उपद्र्याहा थिएँ तर पढ्नमा तेज भएको कारण गुरुहरुको प्रिय विद्यार्थी पनि थिएँ ।’ त्यसकारण उनले खासै गाली खाइनन्। 

खोलाले झन्नै बगायो
मामाघर बसेर पढेका कारण उनले कामको दुःख भोग्नु भने परेन । तर रहरले केही काम गर्दा गाली भने कडा नै खानुपथ्र्यो । ‘त्यो बेला मावली गाउँभरिका मान्छेलाई मामा भनेर बोलाइन्थ्यो । सबैले उस्तै सम्मान पनि दिन्थे । काम गर्थ्याे भने भाञ्जाभाञ्जीले गर्न हुन्न भनेर हकारिहाल्थे,’ त्यो बेलाको संस्कार सुनाउँदै उनी भन्छिन् । एक दिन वर्षाको बेला तराईमा खोलाले दाउरा बगाएर ल्याएछ । ती दाउरा टिप्न उनी र उनका साथी खोलामा गए । खोलामा उनीहरुलाई भेलले बगाइहाल्यो । उनलाई त्यो भेलले हुङ्खयाएर निकै परसम्म पुर्याएछ । धन्न त्यतिबेला गाउँका एकजना मामा पर्नेले उद्दार गरे। 

माइजूलाई गाली गर्दा 
राममणि भन्ने गुरुले उनीहरुलाई नेपाली पढाउँथे । उहाँकै श्रीमतीले मामाघरको बारीको घाँस काटिछन् । त्यो देखेकी रेणुलाई असाध्यै रिस उठेछ । उनी त्यो घटना यतिबेला सम्झँदै उनलाई हाँस उठ्छ र हाँस्दै भन्छिन्, ‘मैले त्यतिबेला यस्ता छुसा शब्दले गाली गरेछु कि ती शब्द अहिले सम्झँदा पनि मलाई लाज लाग्छ । उहाँलाई मैले गाली मात्र गरिनँ, घाँस खोसेर ल्याएर गाईभैंसीलाई पनि हालेँ ।’ त्यो गाली अझै पनि माइजूले सम्झने गरेको उनी बताउँछिन्। 

कागती चोर्दै स्कुलमा बाँड्दै
सानोमा कागती तथा ज्यामिर चोरेर पनि धेरै गाली खानुपरेको छ । एक दिन उनीहरु कागती चोर्न अरुको बारीमा गए । कागती चोरेर राख्ने भाँडो नभकाले कट्टुमा राखेछन् । कम्मर वरिपरि कागति लुकाएछन् । त्यो कागती लगेर स्कुलमा अरुलाई पनि बाँडेछन् । यो कुरा एक कान दुई कान भइहाल्यो । मावली घर फर्किएर आउँदा त उनले मज्जैले गाली खाइन्। 

उनको बदमासी यतिमा मात्र सीमित भएन । घरमा हजुरआमा नभएको बेला जोगी आएछन् । जोगीलाई एक माना मात्रै दिनुपर्नेमा ३÷४ केजी चामल दिएर पठाइछन् । जोगीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गर्दा त्यो बेला उल्टै गाली खानु पर्दा उनलाई चित्त दुखे पनि यतिबेला सम्झँदा उनलाई बडो हाँस उठेर आउँछ । भन्छिन्, ‘बालापनमा हामी भावनामा बग्दारहेछौँ ।’हजुरआमाले कुटुम्बले काम गर्नु हुन्न भने पनि उनले सानोमा रहर लागेको काम गर्न भने छाडिनन् । त्यसैले रहरले गरेका काममा उनले बेलाबेलामा मज्जाले गाली खान्थिन् तर पनि खाली बिर्सिएको दिन उनी पुनः काममा लागिहाल्थिन्।

छाउपडी भोग्दा 
उनले आफ्नो बेलामा पहिलो पटक महिनावारी हुँदा १२ दिनसम्म घाम हेर्न पाइनन् अनि २१ दिनसम्म पानी छुन दिइएन । उनी ११ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएकी थिइन् । त्यो कुरा उनकी माइजुले थाहा पाइछन् । त्यसपछि त उनलाई गोठमा लगेर राखियो । त्यो पनि अर्काको गोठमा । उनी भन्छिन्, ‘घाम आउने साना प्वालहरु थिए । घाम आउँछ भनेर माइजुले पुरै बुजो लगाइदिनुभयो । माघ महिनामा महिनावारी भएको थिएँ । हरेक दिन हजुरआमाले नजिकैको पोखरीमा लगेर चुर्लुम्म डुबाउनुहुन्थ्यो । त्यो क्रम १२ दिनसम्म चल्यो । २१ दिनको दिनमा मात्र पानी छुन पाएँ ।’ घरमा पानी छुन नदिए पनि उनको विद्रोही मनले के मान्थ्यो, उनले छोइहालिन् । ‘ऊबेलामा माटाको घैँटामा पानी राख्ने चलन थियो,’ उनी भन्छिन्, ‘मैले छोएँ भनेर थाहा पाएपछि हजुरआमाले माटोको घैँटा जति सबै फुटाइदिनुभयो।’

पढाउने नपढाउने दोधार 
ऊ बेलाको समाजमा छोरी मान्छेलाई पढाउने चलन थिएन । उनका बुबा भारत बसे पनि काकाहरु यतै थिए । काकाले अब एसएलसी पास भएपछि पुगिहाल्यो भन्न थाले । उनका बुबा पनि यसमा सहमत भए तर छोरीलाई काठमाडौँ लगेर पढाउनुपर्छ भनेर उनकी आमाले अड्डी कसिछन् । आमाले उनलाई आफैँ स्रोत जुटाउने गरी फूपूको डेरामा राखिदिइन् ।
‘२०३१ सालमा आमाले जुन हिम्मत दिनुभयो, त्यसले मलाई पढ्न बल पुग्यो,’ उनी भन्छिन्, ‘आमाकै करबलले अस्कल, इन्जिनियरिङ र महाराजगञ्जमा परीक्षा दिएँ र संयोग ३ वटै ठाउँमा नाम निकालेँ ।’ उनले महाराजगञ्जमा हेल्थ असिस्टेन्ट पढ्न थालिन् । त्यहाँ उनी सबैभन्दा सानी विद्यार्थी थिइन्। 

३० रुपियाँको डेरा
बुबा छोरी पढाउने कुराको विरोधी थिए । त्यसैले आमाले बुबाको आँखा छलेर ४ महिनामा एकचोटी ३÷४ सय पठाउँथिन् । फूपूकोमा बसेर पढ्न उनलाई अप्ठेरो हुन थालेपछि अर्काे कोठा खोजेर राखिदिइन् । महिनाको ३० रुपियाँ भाडा बुझाउने गरी उनी डेरा सरेपछि त्यो पैसा तिर्न उनलाई धौ धौ हुन्थ्यो । पछि घरबेटीका छोराछोरी पढाइदिए बापत भाडा मिनाहा भएपछि भने उनलाई हाइसञ्चो भयो । उनले कलेजबाट मासिक एक सय रुपियाँ पाउँथिन् । त्यो पैसा उनले ६०÷६५ रुपियाँ मात्र खर्च गर्थिन् । उनी पढ्न जान्ने थिइन् । उनको सक्रियता देखेर उनकी गुरुआमा डा. रीता प्रभावित थिइन् । त्यसैले विद्यार्थीकालको अप्ठेरामा डा. रीताले उनलाई बोलाई–बोलाई खाजा खुवाउँथिन्। 

गाउँले भनेपछि लास्टै हेप्ने
कुपण्डोल बस्ने उनी महाराजगञ्जसम्म हिँडेर आउजाउ गर्थिन् । कहिलेकाहीँ पैसा भयो भने मात्रै सहिदगेटबाट महाराजगञ्ज गाडी चढेर जाने गर्थिन् । त्यो बेला काठमाडौँका मान्छेले गाउँले भनेपछि निकै हेप्ने गरेको महसुस हुन्थ्यो उनलाई । उनी भन्छिन्, ‘म त फेसनअनुसार लुगा लगाउन नसक्ने, साथीहरुले धेरै फेसन गरेर कपडा लगाउँथे । हामीले फेसन गर्न नसक्दा खुब हेप्थे ।’  त्यो बेला एक सुकाको चना र चिया खाएको उनको सम्झना छ।

अनि प्रेमपत्र आएन ?
हामीले यसो भनिरँहदा उनी खिसिक्क हाँसिन् । त्यतिबेला म सानी थिएँ । खासै त्यस्तो आँखा त लगाएनन् । सबैले माया नै गर्थे । 

अलि अलि प्रेमपत्र त आएहोलान् नि ? 
त्यो बेला किताबको बीचको पानामा राखेर चिठी त आइनैहाल्थे । आएको भनेको त्यही एउटा चिठ्ठी थियो।

शम्भुजीत बास्कोटाको ग्याङ
रेणु त्यतिबेला पानीपोखरी हुँदै महाराजगञ्ज पढ्न पैदलै जान्थिन् । त्यो बेला शम्भुजीत बास्कोटाको टिम बाटोमा नै गितार लिएर गीत गाउँदै बसिरहेको हुन्थ्यो । जब केटीहरु देख्यो, उनीहरुको जिस्काउने काम सुरु हुन्थ्यो । उनी भन्छिन्, ‘विचरा अहिले शम्भुजीतले त बिर्सिसके होलान् तर मलाई भने यति नराम्रो छाप परेको छ कि उनलाई गायकको रुपमा भन्दा पनि हामीलाई बाटो छेकेर जिस्क्याउने ‘गुण्डा’ केटाकै रुपमा मैले सम्झिन्छु।’

प्रेमपत्र डिनलाई लगेर दिँदा 
कलेज पढ्दै गर्दा उनलाई एक दिन अचानक प्रेमपत्र आयो । उनलाई त यति डर लाग्यो कि त्यो प्रेमपत्र लगेर क्याम्पस डिनलाई बुझाइदिइन् । त्यो कुरालाई लिएर साथीहरुले उनलाई पछिसम्म जिस्काउँथे ।  प्रेमपत्र दिनेसँग भने उनको कहिल्यै प्रेम बस्न सकेन। 

मसँग बिहे गर्छौ ? 
उनले रुसमा छात्रवृत्तिमा पढ्ने अवसर पाइन् । एक वर्ष जति त्यहाँ पढ्दा धेरै कुरा नौला थिए । पढाइमा निकै कडा थियो । मेडिकल लाइन पढे पनि समाजवाद विषय भने अनिवार्य पढ्न पर्थ्याे। उनी त्यहाँको वातावरणमा रत्तिएर पढ्दै गर्दा एक वर्षे छुट्टिमा उनी घर आइन् । घर आउँदा त उनकी आमा नराम्ररी रोइन् । उनकी आमालाई आफन्तले रुस गएका मान्छे त वेश्या हुन्छन् भनिदिएछ । त्यसपछि त उनकी आमालाई के चाहियो र ? आमाकै कारण आफ्नो जीवनमा यत्रो परिवर्तन आएको छ, उनलाई रुवाउन कसरी सक्थिन् र ? आमालाई थुम्थुम्याउन उनले भनिन्, ‘मैले बिहे गरेँ भने ?’ ‘त्यत्ति भएपछि सन्तोष हुन्छ,’ आमाले जवाफमा भनिन् । ‘उसो भए मेरो बिहे गरिदिनू,’ उनले आमासँग आग्रह गरिन् । आमाले भनिन्, ‘भन्नेबित्तिकै को केटा पाइन्छ र ?’

उनले झट्ट तीर्थ भट्टराईलाई सम्झिइन् । उनलाई मनमनै उनले मन पराउँथे । व्यवहार हेर्दा रेणुलाई त्यस्तै लाग्थ्यो । त्यसैले उनले तीर्थलाई उनले आफ्नो समस्या बताउँदै रेणुले भनिन्, ‘तिमी मसँग विवाह गर ।’ तीर्थले पनि सहजै स्वीकारे । अनि रेणुको परिवारले उनीहरुबीच विवाह गरिदिए । गुह्येश्वरीमा सानोतिनो बिहे हुँदा तीर्थको परिवारलाई उति चित्त बुझेको थिएन । केही सम्पत्ति नभएको मान्छे भनेर हेप्न खोजे तर उनी रुसमा पढिरहेका कारण धेरै बुहार्तन खेप्नु परेन। 

रुसमा पढ्दै गर्दा वर्षैपिच्छे उनी आउनेजाने गरिरहन्थिन् । यसै क्रममा तेस्रो वर्षमा उनी गर्भवती भइन् । उनी पहिलेदेखि नै ‘भेजिटेरियन’ थिइन् । रुसमा खानको निम्ति निकै सकस हुन्थ्यो । उनले भनिन्, ‘रुसमा धेरैजसो ‘ननभेज’ नै चल्तीमा थियो । गर्भवती भएको बेला डाइट पुग्नेगरी खानुपथ्र्याे । खानेकुरा पाउनका लागि निकै सकस हुन्थ्यो । धन्न साथीहरुले कताकताबाट म्यानेज गरिदिन्थे ।’ पछि छोरी जन्मिइन् । त्यो बेला उनलाई साथीहरु ठूलो सहयोग गरे । यहीबेला आफूले मानवता के हो भन्ने बुझ्न पाएको उनी बताउँछिन् । 

केही समयपछि तीर्थ भट्टराईको दुर्घटनामा परी निधन भएको थाहा पाइन् । त्यसपछि उनी किरिया बस्न नेपाल आइन् । किरियापछि उनी पुनः रुसमै फर्किन् र पढ्न थालिन् ।  पछि उनले कलेजमा केही ब्याच सिनियर विवेक राजभण्डारीसँग विवाह गरिन् । अहिले विवेकसँग सम्वन्धविच्छेद भए पनि त्यतिबेला एउटी विधवा स्त्रीलाई विवेकले सहजै स्वीकारेको बताइन् ।  ललितपुर जिल्लाको जिल्ला स्वास्थ्य प्रमुख हुँदै गर्दा राजिनामा दिएकी उनी अहिले महिला अधिकार क्षेत्रमा काम गर्छिन्। 

प्रकाशित: ५ कार्तिक २०७५ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App