बेत्रावती – दसैं पर्वको समयमा बन्द भएका सार्वजनिक यातायातको साधन अझै निर्वाधरुपमा सञ्चालन नहुँदा नुवाकोटका यात्रुले कठिनाइ भोगेका छन। फूलपातीको दिनदेखि बन्द भएका सार्वजनिक यातायातको टिकट काउन्टर सञ्चालन नहुँदा यात्रुले तोकिएकोभन्दा बढी भाडा र क्षमताभन्दा बढी यात्रु भएर यात्रा गर्न बाध्य भएका हुन।
यातायात व्यवसायीले दसैं पर्वमा पर्याप्त संख्यामा गाडी सञ्चालनमा रहेको दाबी गरे पनि यात्रुको संख्यामा वृद्धि र गाडी नियमितभन्दा निकै कम सञ्चालन भएको जिल्ला प्रहरी प्रमुख (एसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार बन्द रहेका टिकट काउन्टर अझै सञ्चालन नहुँदा जिल्लामा सञ्चालित नियमित गाडी निकै कम चलेको र ती गाडीले तोकिएको भन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल गरेको सुचनाको आधारमा आइतबार एकैदिन २४९ सवारी साधन कारवाहीमा परेका छन।
ती सवारीबाट १ लाख ८१ हजार ५०० राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक नरहरि अधिकारीले जानकारी दिए। सामान्य समयको भन्दा निकै कम संख्यामा गाडी चलेको अवस्थामा राजश्व सङ्कलन भने धेरै गुणा बढी भएको उनको भनाइ छ।
दसैंको समयमा यात्रुको संख्या वृद्धि हुने भएकाले यातायात व्यवसायीसँग समन्वय गरी पर्याप्त संख्यामा गाडी सञ्चालन गराउन प्रशासनले पहल नगर्दा यात्रुले क्षमताभन्दा बढी यात्रु भएर आवतजावत गर्न र बढी भाडा तिर्न बाध्य भएको बेलकोटगढी नपा–६ का नवराज पनेरुले गुनासो गरे। (रासस)
प्रकाशित: ५ कार्तिक २०७५ ०१:३८ सोमबार