८ वैशाख २०८१ शनिबार
अन्य

छालाको सुरक्षा र हेरचाह

लामो समयसम्म छालालाई स्वस्थ, सुन्दर र चम्किलो राख्नका लागि कसरी हेरचाह गर्न सकिन्छ ? चाडपर्वमा छालाको सुन्दरतामा कसरी निखार ल्याउन सकिन्छ ? छाला तथा कस्मेटिक विशेषज्ञ डा. जेबिना लामासँग उपेन्द्र खड्काले गरेको कुराकानी। 

चाडपर्वमा छालाको हेरचाह कसरी गर्ने ?
नेपालीको महान् चाड दसैं तिहार हामी नेपालीको आँगनमै आएको छ । चाडपर्वको समयमा सबैलाई मिठो खाने, राम्रो लगाउने र सुन्दर बन्ने इच्छा तथा चाहना हुनु स्वभाविकै हो । राम्रो तथा सुन्दर बन्नका लागि र हाम्रो छालालाई स्वस्थ र चमकदार बनाउनका लागि चाडपर्व अगाडि मात्र हेरचाह गरेर पुग्दैन।

हामीले समय–समयमा छालाको हेरचाह र उपचार गरिरहनुपर्छ । धेरै मानिसले बजारमा आएका विभिन्न किसिमका कस्मेटिक सामग्री प्रयोग गरिरहेका हुन्छन् । जसले क्षणिक समयका लागि मात्रै छालालाई राम्रो देखाउने काम गर्छ । चाडपर्व अगाडि आफूलाई कसरी राम्रो बनाउन सकिन्छ ?

चाडपर्वमा मात्रै हैन हामीले अरु बेला पनि राम्रो र स्वस्थ छालाका लागि छालाको विशेषज्ञ डाक्टरसँग सल्लाह लिइरहनुपर्छ ।  तर, धेरै व्यक्तिले चाडपर्व अगाडि छाला चम्किलो र सफा बनाउने मेडि पिलिङ्ग माइक्रोडरमाबेजन र चाउरीपनाको उपचार बोटक्स गराउन आउने गरेका छन्। 

छालालाई चम्किलो र सफा कसरी राख्ने ?
हाम्रो छालामा हरेक महिना मरेको छाला उत्पादन भइरहेको हुन्छ । हामीले महिना महिनामा मरेको छाला सफा गरिएन भने हाम्रो छाला चमकहीन बनेर जान्छ । प्रत्येक महिना मरेको र फोहोर छाला हटाउन हामीले एक्सफोलिएसन गर्न अत्यन्त जरुरी छ। 

मरेको छालालाई कसरी हटाउन सकिन्छ ?
मरेको छाला हटाउने प्रक्रियाका विधिहरुमा हामीले मेडिपिल, डाइमण्डटिप फेसियल र मेडिफेसियल तीन प्रकारका हुन्छन् । छालामा कालो दाग, डण्डिफोर वा कुनै समस्या छ भने त्यस्तो किसिमको समस्या हेरेर मेडिपिल गरिन्छ भने छालामा केही समस्या छैन भने छालाको किसिमको समस्या हेरेर प्रत्येक महिनामा डाइमण्टिप फेसियल गरिन्छ । अर्को विधि चाहिँ मेडिफेसियल हो। 

हिजोआज पिआरपी उपचारका बारेमा धेरै सुनिन्छ । पिआरपी उपचार के हो ?
पिआरपी उपचार भन्नाले प्लेटलेट्स रिच प्लाज्माद्वारा गरिने उपचार हो । हाम्रो रगतमा भएको प्लेटलेट्स भन्ने कोषिकामा धेरै किसिमका ग्रोथ फ्याक्टर हुन्छन् । यसले उपचार गर्दा छालामा चमक आउने, चाउरीपना हटाउने, छालालाई उज्यालो बनाउनेजस्ता काम गर्छ । पिआरपी उपचार कपाल झरेका वा तालु हुन लागेका व्यक्तिले कपालमा प्रयोग गर्नु भयो भने कपाल झर्न रोकिनुका साथै नयाँ कपाल पलाएर कपाल बाक्लो बनाउन मद्दत गर्छ।

हामीले नाइट क्रिम वा एन्टिएजिन क्रिम लगाउन कत्तिको जरुरी छ ?
खासमा भन्ने हो भने नाइट क्रिम भनेर खासै कुनै क्रिम हुँदैन । हामीले नियमित रुपमा भिटामिन सी सेरम र राम्रो सनब्लक लगाइरहेका छौँ भने त्यति नै एन्टिएजिङ क्रिमको विज्ञापन देखिरहेका वा सुनिरहेका हुन्छौँ । वास्तविकतामा यी क्रिमले हाम्रो छालालाई केही फाइदा गरिरहेका हुँदैनन् । चाउरीपना हटाउनका लागि विश्वभरि नै बोटक्स भन्ने उपचार गरिन्छ । 

बोटक्स भनेको के हो ? कुन उमेर समूहका व्यक्तिले बोटक्स प्रयोग गर्न सक्छन् ?
बोटक्स भनेको चाउरीपना हटाउने एक प्रकारको सुई हो । यसको प्रयोगले एक हप्तामै चाउरीपना हटाएर छालामा चमक ल्याउन मद्दत गर्छ । बोटक्स १८ वर्षभन्दा माथिका व्यक्तिले प्रयोग गर्न सकिन्छ । बोटक्स प्रायः मानिसले चाडपर्व अगाडि, विवाह भोज हुँदा लगाउने गर्छन्। 

महिला र पुरुष दुवैले बोटक्स लगाउन मिल्छ ?
बोटक्स महिला पुरुष दुवैले लगाउन मिल्छ । पुरुषभन्दा महिलामा अलि चाँडो चाउरीपना देखापर्छ । जसको कारण महिलाले पुरुषको भन्दा कम उमेरमा उपचार सुरु गर्छन् । सामान्यतः १८ देखि ७० वर्षसम्मका महिलाले छालाको उपचार गर्न आउँछन् भने २५ देखि ६० वर्षसम्मका पुरुष छालाको छाउरीपना हटाउन तथा उपचार गर्न आउँछन्। 

बोटक्सको अरु के काम गर्छ ?
बोटक्सका धेरै फाइदा छन् । यो चाउरीपनाका लागि मात्र प्रयोग नभएर माइग्रेनजस्तो टाउको दुखाइ, अत्यधिक पसिना आउने, हत्केला, काखी पैतलाबाट पसिना आउने, आँखा झिम्क्याउने रोगका लागि पनि बोटक्सको प्रयोग गरिन्छ। 

बोटक्सको उपचार कहाँ गरिन्छ ?
नेपालमा बोटक्स विशेषज्ञ कमै छन् । बोटक्सको उपचार गर्ने छालाका विशेषज्ञले विशेष किसिमको तालिम प्राप्त गरिसकेपछि मात्र उपचार गर्न योग्य हुन्छन् । म आफैँले भने सन् २०१४ मा बोटक्सको विशेष तालिम प्राप्त गरेकी हुँ । नेपालमा मैले यसको उपचार गर्दै आइरहेकी छु । बोटक्स गर्नेको संख्या पनि बढ्दोक्रममा देखिन्छ । अहिलेसम्म मैले करिब तीन हजारभन्दा बढी व्यक्तिलाई बोटक्स लगाउने उपचार गरिसकेँ। 

प्रकाशित: ३ कार्तिक २०७५ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App