coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

जीवनयात्रा

जीवन के हो ? सुख–दुःख, उतार–चढाव, पीडा–आनन्द, भोग–चलन, आँशु–हाँसो यी सबैको सगोल जीवन हो कि अरु नै केही ? जीवन एउटा भावना मात्र हो कि अरु पनि केही ? जीवनको उत्तरार्द्धमा आएर अहिले रमिलालाई यी सबैको लेखाजोखा गर्ने फुर्सद भएको छ। 

कसैले एउटा कुरामा सुख देख्छ, अर्कोले त्यही कुरामा दुःख । बाँचुञ्जेल संसारको जीवनरुपी चक्रमा दौड्दादौड्दै, भोग्दाभोग्दै, जीवन सकिन्छ, सकिएको छ । रमिलाको पनि त जीवन अब सकिनै लागेको छ ! कसैले जीवनलाई सकारात्मक रुपमा हेर्छन्, कसैले नकारात्मक रुपमा । निकै कमले मात्र सन्तुलित जीवन र साश्वत रुपमा बुझ्न सक्लान् ! रमिलाले खुसी खोज्दाखोज्दै तीन दसक खेर फालिन् । आजभोलि भन्दाभन्दै जब आफ्नो शरीरले कार्य गर्न छाड्यो, अनि पो झसङ्ग हुँदोरहेछ– मैले जीवनका रुपमा के बिताएँ ? 

बुढ्यौली लागेर जब उनको हातखुट्टाले काम गर्न छाड्यो अनि मात्र रमिलालाई छ्याङ्ग भयो, जिन्दगी त गलत दिशामा पो पुगिसकेको रहेछ ! जब उनका हातगोडा लाग्न छाडे, उनले आफूलाई एउटा वृद्धाश्रमको साँघुरो कोठामा फेला पारिन् । एक महिना अघि मात्र त हो, छोराबुहारीका साथीभाइ भेला भएका थिए । चिया लिएर आएकी थिएँ, असन्तुलित भएँ । उनीहरुकै अगाडि चियाका कप झर्यामझुरुम भएर खसे । उनले यसअघि कहिल्यै नसुनेका शब्द त्यही बेला सुन्नुपर्या । अरु बेला मज्जाले बोल्ने बुहारीको विषवमन उनले त्यसैबेला सहनु पर्याे। 

रमिलाले कहिल्यै पनि बुहारी सिर्जनालाई बुहारीका रुपमा व्यवहार गरिनन् । सिर्जना पढेलेखेकी, करियरमा निकै माथि पुगेकी नारी थिइन् । यस्तो प्रतिभालाई घरैमा बाँध्नु हुँदैन भनेर रमिलाले नै उक्साएकी थिइन् । सिर्जनाका हरेक कुरालाई साथ दिइरहेकी थिइन् । आज उनै सिर्जनाले सबैका अगाडि बडो लज्जित पार्ने शब्द र गाली सुन्नु पर्याे ।सिर्जनाले लगाएको वचन ठूलो कुरा थिएन रमिलाका लागि, आफूबाट गल्ती भएको थियो । खासमा त्यत्रो महँगा कप–प्लेट झर्यामझुरुम पनि त भएका थिए ! आफूलाई सासू पनि नभनी काम गर्नेको दर्जा दिँदा भने रमिलालाई रातभर निद्रा लागेन । कत्रो वचन लगाएकी! 

त्यो रात रमिला झपक्क पनि निदाउन सकिन । उसलाई छोरो गर्भमा हुँदा उम्लिएको खुसी याद आइरह्यो । गर्भमा बच्चा हुँदा के खाँदा हेल्दी राम्रो हुन्छ भनी खोजी–खोजी किताब, टिभीका कार्यक्रम र पत्रिकाबाट जानकारी लिन्थी ऊ । छोरालाई यस्तो बनाउँछु, उस्तो बनाउँछु, हुर्किएपछि पुतलीजस्ती बुहारी भित्र्याउँछु, बुहारीलाई म रानीजस्तो बनाउँछु भनेर कल्पना गर्थी रमिला । यसरी माया गर्छु कि उसले ममा एउटी सासू होइन, केही कुरामा रोकटोक गर्दीनँ । उसलाई यति माया दिन्छु कि उसले आफ्नो माइतीसमेत विर्सनेछे । म उसलाई एउटा नमुना सासू बनेर देखाउँछु । रमिलाले यस्तै यस्तै सोचेर वर्षौं बिताएकी थिइन्।

भगवान् कृष्णजस्तै दिलिप संसारकै हिरो लाग्थ्यो रमिलालाई । कहिलेकाहीँ उनलाई लाग्थ्यो,एउटी आमालाई सन्तानको यति धेरै माया किन लागेको होला । मलाई मात्र यस्तो हुन्छ कि संसारकै आमाहरूलाई यस्तो हुन्छ, हँ?

आफ्नो मायामा कुनै कमी नहोस् भनेर आफ्नो ध्यान विकर्षित पार्ने जुनै कुरालाई पनि रमिलाले त्यागिदिइन् । एक्लो सन्तान दिलिप रुँदा मात्र पनि उनलाई गाह्रो हुन्थ्यो । बोकी–बोकी उनले घरका सबै काम गर्थिन् । एकैछिन पनि आँखाबाट ओझल हुन दिन्न दिइन् । तोतेबोलीमा बोल्ने दिलिपले बोलेजस्तै आफू पनि बोल्थिन्, रमिला । ऊसँगै नाच्ने–गाउने, ऊसँगै खेल्ने रमिलाको दैनिकी थियो । छोरासँग खेल्दा यस्तो लाग्थ्यो, रमिलाको बालापन फर्किएर आएको छ । उनका आफन्तले पनि त्यसै भन्थे । कतिपयले चेताउँथे, यत्री बूढी भएर पनि के केटाकेटी भएकी होली ! रमिलालाई अरुको कुरा सुन्ने फुर्सद कहाँ!

आफूबिना छोरो र छोरा बिनाको आफू एकपल पनि काट्न चाहन्न थिइन् रमिला । एकछिन यताउता हुँदा रमिलाको अाँखाले दिलिपलाई र दिलिपको आँखाले रमिलालाई खोज्थ्यो । दिलिपका बाबा रोहन अफिसमा व्यस्त रहँदा रमिलालाई कहिल्यै पनि एक्लो महसुस भएन । कुन बेला रोहन घर आए, कुन बेला सुते यसको पत्तो पनि रमिलाले पाउँदिन थिइन् । रमिलाका आँखामा त छोराबाहेक अरु कोही थिएनन् । दिलिप दुई तीनको हुँदै हुर्कंदै जाँदा रमिलाका खुसी नै दिलिपको खुसीमा परिणत भइसकेको थियो । छोराको खुसी र चाहाना नै आफ्ना खुसी र चाहनामा परिणत भइसकेको थियो। 

रमिलालाई त सबैभन्दा गाह्रो दिलिपको पहिलो दिनको स्कुल थियो । तीन घण्टा मात्र एक्ली हुँदा मात्र पनि उनलाई कति गाह्रो ! रमिलाका लागि त्यो तीन घण्टा कटाउनै मुस्किल ! त्यो दिन नै अँध्यारो भएको थियो उनका लागि । मानौँ दिलिप धेरै दिनका लागि टाढा कतै गएको होस् । त्यो दिन त उनलाई खाना खान पनि मन लागेको थिएन। 
छोरो आइपुगिहाल्यो कि ! 
छोरालाई कसैले पिट्यो कि !
ऊ कतै रोइरहेको छ कि !
हालिदिएको टिफिन खायो कि खाएन ! 

भगवान् कृष्णजस्तै दिलिप संसारकै हिरो लाग्थ्यो रमिलालाई । कहिलेकाहीँ उनलाई लाग्थ्यो, एउटी आमालाई सन्तानको यति धेरै माया किन लागेको होला ! मलाई मात्र यस्तो हुन्छ कि संसारकै आमाहरुलाई यस्तो हुन्छ, हँ ? 
रमिलाको संसार दिलिप थियो तर दिलिपको संसार बिस्तारै फराकिलो हुँदै जान थाल्यो । कसैले उसको चित्त दुखाउँदा रमिला जोरी खोज्न जान्थिन् तर छोरो नै उनीबाट टक्टकिदै जान थाल्यो । आजभोलि भन्दै दिलिप डाक्टर बनेर विदेशबाट आइपुग्यो । डाक्टरी उत्तीर्णभन्दा पनि यहीँ नेपालमा दिलिपले काम सुरु गर्दा उत्तीर्ण भएभन्दा बढी गर्वले छाति चौडिएको थियो रमिलाको। 

अब रमिलाको एउटै मात्र सपना थियो, दिलिपको बिहे । दिलिपले रोजेर ल्याएकी सिर्जना आफ्नो पनि रोज्जा नै हो भन्ने रमिलालाई लाग्थ्यो । अति हौसला, अति मोह र अति सरलपनाले कुन बेला रमिला आफैँ घरकी नोकर्नी भएँ भन्ने पत्तो नै पाइनन्।

कहिलेकाहीँ दिलिपले भन्थ्यो,‘आमा तपाईंले सिर्जनालाई धेरै नपुल्पुल्याउनुस्, दुःख पाउनु होला ।’ ‘केटाकेटी हो र उ ? ’रमिलाले जवाफमा भन्थी, ‘केटाकेटी भए पो पुल्पुल्याउनु । तँपाई पनि त मैले पुल्पुल्याएकी थिएँ,तँ कहिल्यै बिग्रिएस् त ?’ दिलिपले बहस गरेन।

दिलिप र सिर्जना अफिस जान्थे–कमाउँथे । जीवनयात्रा राम्ररी चलिरहेको थियो । दिलिपको बाबा ऊ बीस वर्षको हुँदा बितेका थिए । रमिलाको संसारै अँध्यारो भएको थियो तर छोराको आडभरोस र घरको व्यस्तताले बिस्तारै उनी सामान्य भएकी थिइन्। 

सिर्जनालाई रमिलाले दिने मायाले छेउछाउका बुहारीहरु आरिस गर्थे । छोरा–बुहारीको घर व्यवस्था गर्नेदेखि लिएर नाति–नातिना र पाहुनापाछा सबैको खुसी सोचेर उनी काममा मग्न हुन्थिन् । कहिलेकाहीँ दिलिपले भन्थ्यो, ‘आमा, तपाईंले सिर्जनालाई धेरै नपुल्पुल्याउनुस्, दुःख पाउनु होला ।’ ‘केटाकेटी हो र ऊ ?’ रमिलाले जवाफमा भन्थी, ‘केटाकेटी भए पो पुल्पुल्याउनु ! तँलाई पनि त मैले पुल्पुल्याएकी थिएँ, तँ कहिल्यै बिग्रिइस् त ?’दिलिपले बहस गरेन।

शरीर सधैँ सक्रिय नहुँदोरहेछ । क्रमशः रमिलाको जिउ गल्न थाल्यो । काममा सुस्तता देखिन थाल्यो । यसपछि भने सिर्जनाको खोट सुरु हुन थाल्यो । विसञ्चो हुँदा कहिलेकाहीँ दिलिपले सेवा गर्न खोज्थ्यो । सिर्जना धुनधानसँग रिसाउँथी । त्यसैले आफ्नो विसञ्चो सिर्जनालाई देखाउन रमिलालाई कहिल्यै मन लाग्दैनथ्यो । दिलिपसँग विसञ्चोका कुरा गर्दा सिर्जनालाई ‘एटेन्सन’ खोजेको महसुस हुन्थ्यो । त्यसैले रमिलाले आफ्नो प्यारो छोरोसँग पनि समय बिताउन पाउन छाडिन् । हुँदाहुँदा सिर्जनाले नातिनातिनालाई पनि कोठामा जान प्रतिबन्ध लाग्न थाल्यो।

सधैँ माया पोखेर बाँचेकी रमिलाका लागि ठुस्किएर कोठामा खुम्चिएर बस्न मनले मानेन । त्यसैले सिर्जनाले रमिलाका काममा कयौँ खोट लगाए पनि हरेक कुरालाई सकारात्मक रुपमा लिँदै उनले दिन बिताइरहेकी थिइन् । ‘स्वास्थ्यले साथ दिएसम्म काममा दौडी दौडी काम गर्नुपर्छ, काम गरेर कोही सानो हुँदैन,’ रमिलाले सधैँ भन्ने गर्थिन् । के सुख, के दुःख भन्दै सधैँ सिर्जनालाई खुसी पार्नेमा ध्याउन्न हुन्थ्यो रमिलाको । सिर्जना पनि सासूमाथि यति निर्भर थिई कि उसलाई सधैँभरि सासूलाई केही भयो भने मेरो जीवन त डामाडोल नै हुन्छ भन्ने लाग्थ्यो। 

यसपछि एक दिन अचानक उसका साथीभाइ पाहुना बनेर आए र रमिलाको हातबाट चिया मात्र पोखिएन महँगा ट्रे र कप पनि झर्यामझुरुम भएर फुटे । यसपछि नै सिर्जनाले बेलाबेलामा रमिलामाथि रिस पोख्ने र झर्कोफर्को मान्ने क्रम बढेको थियो । रमिलालाई लाग्यो, ‘मेरा हातखुट्टाले छिटो काम गर्न छोड्यो, सिर्जनाले घरको काम गर्नुपर्ने भयो । बसीबसी खाने भई भनेर होला रिस पोख्न थाली।’

पहिला छिमेकीले रमिलालाई भन्थे, ‘तैँले बुहारी पुल्पुल्याइस्, अब तैँले भोग्छेस् !’ रमिलालाई पनि लाग्यो– आफूले बिगारेँ, अब भोग्ने त मैले नै हो ।’तर सिर्जनाले उसका साथीभाइका अगाडि काम गर्ने ‘दिदी’को संज्ञा दिई रमिलाको आत्मसम्मान रोयो । उनलाई एकछिन पनि घरमा बस्न मन लागेन । दिलिपलाई भनिन्, ‘मैले जस्तो सुकै दुःख पाऊँ तर म यो घरमा एकरत्ति बस्दिनँ ।’ यसपछि रमिलाको आश्रम यही वृद्धाश्रम बन्न पुगेको हो । यी  सबै सम्झेर ल्याउँदा रमिलाको मन भक्कानिएर आयो । रमिला निकैबेरसम्म टोलाइरहिन्। 

त्यही कोठाको अर्को एउटा बिछ्यौनामा मञ्जु पल्टिरहेकी थिइन् । अन्दाजी ३०–३५ वर्षकी मञ्जुसँग केहीबेर भलाकुसारी भए । रमिलाले सोधिन्, ‘नानी, तिमी यो उमेरमा यहाँ ?’नरम स्वरमा पाकी महिलाको मायालु आवाज सुन्नेबित्तिकै मञ्जुले आफूलाई रोक्न सकिनन् र अँगालो मारेर घुँक्कघुँक्क रुन थालिन् । दुवैले त्यो रात एकअर्काका कुरा सुनेर अनि वह पोखेर बिताए। 

‘आमा, हजूर बुहारीपीडित भएर यहाँ आइपुग्नुभयो, म चाहिँ सासूपीडित भएर यहाँ आइपुगेँ,’ मञ्जुले दुखेसो पोखिन्, ‘म छोरासँग हाँसीखुशी भएर बसेको देख्नै सक्नु भएन । जहिले पनि घरमा रडाको भएपछि घर छोड्न बाध्य भएँ । माइती पनि जान सकिनँ, मर्न पनि सकिनँ ।’ रमिलाले मञ्जुलाई अँगालो हालिन् र ढाड थप्थपाइन्।

केही सातापछि दिलिप र सिर्जना रमिलालाई घर फर्कन अनुरोध गर्दै वृद्धाश्रम आइपुगे । सिर्जनाको आँखाभरि आँशु थियो, शब्दभरि पश्चातापका भाव थिए । कमलो मन भएकी रमिलाले मन थाम्न सकिनँ । रमिलाले भनिन्, ‘म घर जान्छु तर मैले एक जना साथी फेला पारेकी छु । उसलाई लैजान पाउनुपर्छ ।’ रमिलाको प्रस्ताव अस्वीकार गर्ने हिम्मत कसैमा थिएन । छेउमै भएकी मञ्जुको अनुहार उज्यालियो।

प्रकाशित: ३ कार्तिक २०७५ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App