coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एक तामाङ्नी आमैको चाडबाड

नेपाल विभिन्न जातजातिले भरिपूर्ण देश हो । त्यसैले त राजा पृथ्वीनारायण शाहले नेपाललाई ४ जात ३६ वर्णको साझा फुलबारी भनेका थिए । जातजाति अनुसारकै भेषभूषा, धर्मकर्म र चाडपर्व पनि छन् । नेपालमा सबै जातजातिका चाडपर्वलाई उत्तिकै महत्व दिइएको छ। 

तर दोलखा जिल्लामा अवस्थित जिरीमा बसोबास गर्ने शान्तामाया तामाङ भने रातो टीका र पहेँलो जमरा लगाएरै दसैं मनाउँछिन्, भाइलाई सप्तरंगी टीका लगाइदिएर तिहार मनाउँछिन्, अनि असार पन्ध्रदेखि माघे संक्रान्तिसम्मका सबै चाडबाड मनाउन भ्याउँछिन् । उनले अहिलेसम्म तामाङ जातिले मनाउने तमु लोसार मनाएकी छैनन् ।  शान्तामायाले भनिन्, ‘अझै माथितिर दसैंमा सेतो टीका लगाउने चलन छ तर हामीले त सानैदेखि रातो टीका लगाएर, दक्षिणा लिएरै दसैं मनाएका हौं।  

अहिले ७५ वर्षमा हिँडिरहेकी शान्तामाया दोलखामै जन्मिएकी हुन् । चिसोपानी बिरौटा भन्ने ठाउँमा जन्मिएकी उनी बिहे गरेर जिरी आइपुगेकी थिइन् । मुजा परेका गालामा लाज पोत्दै उनले भनिन्, ‘सानो छँदा बेहुली बनेर, बिहे गरी खेलिन्थ्यो, पछि बुढासँग साँच्चैको बिहे गरेर यता आइयो।’ 

आजभोलि जन्मेका बच्चा देखेर शान्तामायालाई आफू पनि अहिले नै जन्मिन पाएको भए हुन्थ्योजस्तो लाग्छ । उनले भनिन्, ‘हाम्रो पालामा दसैंमा एकजोर कपडा मात्रै पाइन्थ्यो, त्यो पनि घरमै बुनेको घरबुना फरिया र चोली । तर अहिलेका बच्चालाई सधैं दसैं छ । उनले नजिकै नातिका लागि किनिदिएको खेलौना बाइकलाई हातले सुम्सुम्याउँदै बोलिन्, हाम्रा पालामा यस्ता खेलौना कहाँबाट पाउनु र बरै। 

अहिले साना बच्चाले पाउने दक्षिणा देखेर पनि उनको आङ सिरिङ हुन्छ ।  शान्तामायाले भनिन्, ‘हाम्रो पालामा त दसैंमा टीका लगाएर दिइने पैसा भनेकै एक सुका, एक सुकी हो, अहिले त पाँच सय, हजारका नयाँ नोट दिँदा पनि बच्चाहरुको अनुहार अँध्यारो हुन्छ। 

जब उनको बिहे भयो, त्योपछि भने दसैंमा दक्षिणास्वरूप एक मोरसम्म पाउन थालिन् । उनले भनिन्, १५ वर्षको उमेरमा बिहे भयो, सानै थिएँ, अहिलेजस्तो ठूलो भएर रहरले आफैं खोजेर बिहे गर्ने चलन त्यतिखेर थिएन के गर्नु । 
बिहे गरेको वर्षमै उनले छोरी जन्माइन् । अर्को वर्षमा छोरा जन्मियो । धन कमाउन भारत पसेका श्रीमान् फर्केर आएनन्, उतै घरबार गरेर बसे । उनले भनिन्, ‘सुरुसुरुमा त अलिअलि पैसा पठाउँथ्यो, पछि त वास्तै गरेन, खोज्ने मान्छे जाँदा उतै अर्को बिहे गरेर बसेको छ रे भन्ने थाहा भयो । त्यो पछि कता गयो के गर्याे कसैलाई थाहा भएन, बेपत्तै भयो।’ 

शान्तामायाले अतीतको पोको खोल्दै भनिन्, तरुनी नै थिएँ, सबैले नजर लाउने नै भए, त्यही बेला अहिलेका बुढाले पनि नजर लगाए । उनले बुढातिर हेरेर लजाउँदै भनिन्, ‘म पनि कहाँ लुरुक्क परेर पछि लाग्नेवाला थिएँ र, माग्नै बोलाएँ ।’
त्यो समयमा पनि कुमार केटोसँग दोस्रो बिहे गरेकी शान्तामायालाई पहिलो श्रीमान्ले तानेर बिहे गरेका थिए । त्यो समय मन परेपछि तानेर घरभित्र हुलेपछि बिहे हुने चलन थियो ।  उनले भनिन्, ‘मलाई मन पराएर तानेर, नमान्दानमान्दै घिसारेर घरभित्र हुलेको हो ।’ त्यसरी बिहे गरेपछि पनि खै किन हो किन छाडेर गयो।

पहिलो बुढाको घरकाले भने उनलाई बाजागाजाका साथ बिहे गरेरै दोस्रो बुढाको घरमा पठाए । उनले त्यो क्षण सम्झँदै भनिन्, मेरा उतै दुई बच्चा थिए, यदि पढेलेखेकी हुँदी हुँ, आफैं कमाएर पाल्न सक्ने हुँदी हुँ त ती बच्चालाई अनाथ बनाएर किन अर्काको पछि लाग्दी हुँला र । पछि दुवैै बच्चा दोस्रो श्रीमानले नै ल्याएर पालेको पनि उनले बताइन्। 

दसैं भन्ने बित्तिकै शान्तामायालाई याद आउने कुरा भनेको चामलको भात हो । दसैंमा १० दिनसम्म चामलको भात र मासु खान पाइन्थ्यो, मानिसहरुको घरमा हिँड्न पाइन्थ्यो, आमा बाले काम पनि कम लगाउँथे ।  अन्य समय खोले र ढिँडोले वाक्क हुने भएकाले दसैं मात्रै होइन हरेक चाडबाड सधैँ आइरहोस् जस्तो लाग्ने उनले बताइन्।  

दसैंमा उनको दक्षिणा गाउँभरि डुल्दा पनि कहिले तीन त कहिले चार रुपैयाँ हुन्थ्यो ।  ती सबै पैसा उनी खाएरै सक्काउँथिन् । मेकअपका सामान किन्नुहुन्थ्यो भन्ने प्रश्नमा उनले भनिन्, कसरी किन्नु नि, के हो मेकअप भन्ने त थाहा थिएन त्यो बेला । अहिले छोरी नातिनीले अनुहारभरि मेकअप पोतेको देखेर भने उनलाई अचम्म लाग्छ। 

उनले तिहार पनि त्यति मनाउन पाइनन् । दुईजना भाइ भए पनि बच्चा बेलामा मात्रै तिहार मनाउन पाएको उनको भनाइ छ । ठूलो भइसकेपछि दुवै भाइ प्रदेशी बने । उनले भनिन्, ‘आफ्ना भन्ने दाजुभाइले त भुले, कता गए गए, अरुका भाइलाई के भाइ बनाएर टीका लगाउनु भनेर कसैलाई टीका लगाइएन । त्यसैले उनलाई तिहार भन्दा दसैं नै रमाइलो लाग्छ।  

ती बाहेक अन्य चाडपर्वमा माघे संक्रान्ति, साउने संक्रान्ति लगायतका पर्व मनाइने गरेको उनले बताइन् । उनले भनिन्, ‘हाम्रातिर अरु सबै चाडपर्व मनाए पनि तीज भने त्यति मनाइँदैन । सानैदेखि तीजका बारेमा जानकारी नभएको र अहिले पनि नमनाउने उनको भनाइ छ। 

प्रकाशित: ३ कार्तिक २०७५ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App