coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आत्मियताको कसिलो डोरी

अमृत गुरुङ 
कुमारी माछापुच्छे र अन्नपूर्ण हिमालको काखमा जन्मे–हुर्केको मान्छे म । झलमल्ल हिमालको उज्यालोमा गमक्क पर्छ हाम्रो पोखरा । हाम्रो गाउँ कालाबाङ फेवातालको पश्चिमपट्टि पर्छ । त्यहीँको भगवती पूर्व प्राविमा शिशु कक्षा पढेपछि ६ वर्षको हुँदा बुबाले मलाई पोखराको गण्डकी बोर्डिङ स्कुलमा भर्ना गरिदिनु भयो। 

पढाइको सिलसिलामा पोखरामा बसे पनि चाडपर्व नजिकिनेबित्तिकै मन गाउँमा हुत्तिन्थ्यो । गाउँमा हजुरआमा, साथीसंगी र लंगौटियारहरु थिए । पर्वमा हामी खुब रमाउँथ्यौं । दसैंका कुरा गर्दा पिङमा मच्चिएको झल्को आउँछ । हामी दाइहरूसँग मिलेर बाँस काट्न जान्थ्यौं । खुला ठाउँमा लिंगे पिङ हाल्थ्यौं । तिनताका दुई किसिमका पिङ हालिन्थ्यो–लिंगे र रोटे । रोटे पिङ चाहिँ सिपालु अग्रजहरुले हाल्थे। 

पिङ हालेपछि गाउँका चेलीबेटीलाई खेल्न निम्तो दिन्थ्यौं । गुरुङ भाषाको शब्द ‘कुनिध्वूँ’ले पिङ भएको ठाउँ भन्ने जनाउँछ । त्यहीँ चेलीबेटीहरु सेलरोटी, कुखुराको मासु, स्कुसको अचार र नारेपा (कोदोको रक्सी) लिएर आउँथे । एउटा सामूहिक काम फत्ते गरेर हामी समूहमै खानपिन गर्थ्याैं। 

दसैंको मौसम पनि रमाइलो हुन्छ । खेतबारीमा धान पसाउँदै गरेका बेला मीठो बास्ना हरर चल्छ । म त्यो बास्ना सुँघ्दै खेतैखेत डुल्थेँ । फेरि भर्खरै मनसुन सकिएर आकाश उघ्रेको हुन्थ्यो । नीलो आकाशमुनि टलक्क टल्केका हिमालमा आँखाले शितलता पाउँथे । म हरेक दिन घरमाथि डाँडामा जान्थेँ । गाई–गोरु चर्न मग्न हुन्थे, म भने बासुँरी बजाउन मग्न हुन्थेँ । बाँसुरीको धुन सुनेर वरपरका मान्छे जम्मा हुन्थे । कहिलेकाहीँ म ढुंगामा खरीले चित्र बनाउँथे, मेरा चित्रका विषय तिनै गोठाला, तिनै गाम्ले र तिनै हिमाल हुन्थे। 

साँझ अबेरसम्म पनि चित्र बनाएर बसेको भनेर कहिले कहिले त घरबाट गालीसमेत खाइन्थ्यो । मैले सन् १९९४ देखि चित्र बनाउन छाडेँ । अचेल पनि मनमा केही फुर्नेबित्तिकै ती कथा, ती बिम्बलाई कापीमा स्केच गरिहाल्छु । हाम्रो गुरुङ समाजमा साउने संक्रान्ति, बडा दसैं र चैते दसैंमा असला माछा र रक्सी चाहिन्छ । हामी माछा मार्न गाउँ सेरोफेरोका ठूलढुंगा खोला, धोबीखोलातिर जान्थ्यौं । कहिलेकाहीँ ठूलामान्छेसँग मार्की खोला (फेवाफाँट)सम्म पुग्थ्यौं । खोला बढेका बेला दुवाली छोपेर माछा मार्थ्याैं।

म धार्मिक कथामा लेखिएको आधार मानेर दसैं मनाउँदिन, यसको सामाजिक पक्षबाट प्रभावित भएर मनाउँछु । यस्ता पर्वले हामीबीच आत्मियताको डोरी कसिलो बनाउँछ । मनमा आनन्द र स्फूर्ति गराउँछ । त्यसैले मलाई दसैं–तिहारको सामाजिक पक्ष खुब मन पर्छ।   

औधी रमाइला थिए ती दिनहरु । हाम्रो गाउँ पुम्दी, भुम्दीमा असाध्यै असिना पर्छ । कहिलेकाहीँ त लगातार तीन–चार वर्षसम्म असिनापानीले धान झाथ्र्यो । त्यसैले बुढापाकाहरु उर्दी जारी गर्थे, ‘केटा हो यो साल मादल नबजाइकन गीत गाउनू, भैलो देउसी खेल्नू।’ 

एकपाली हामीले त्यसै गर्याैं । संयोगले त्यो वर्ष असिना परेन । त्यो समय अधिकांश सामान गाउँमै उत्पादन हुन्थ्यो, सिर्फ कपडा र नून मात्रै बाहिरबाट ल्याउनु पथ्र्यो । धान बचेन भने समस्या पथ्र्यो । दसैंको अर्को रौनक घरको रंगरोगन पनि हो । हाम्रो गाउँ कालाबाङ बीचमा छ । हाम्रो पूर्वपट्टि बाहुन गाउँ पुम्दी छ भने उत्तरमा अर्को गुरुङ गाउँ भुम्दी । बाहुन गाउँ पुम्दी पुरै रातोमाटो लिपिएको राताम्मे हुन्थ्यो । गुरुङ गाउँ भुम्दी कमेरोले पोतेर सेताम्मे । हाम्रो कालाबाङका घर चाहिँ माथि कमेरो छिपिएको र तल रातोमाटो पोतिएका हुन्थे। 

हामी गाउँ भन्दा तल कमेरो गौंडोबाट कमेरो ल्याउँथ्यौं । हाम्रै गाउँको सालडाँडामा ठिक्कको रातोमाटो खानी थियो । गाढा रातोमाटो चाहिनेहरु पुम्दीमाथि ऐंसेलुचौर पुग्थे । माटो खानीले पुरिएर मान्छे खत्तम भएको खबर सुनिन्थ्यो । त्यसैले हामी सर्तक हुन्थ्यौं । समूहमा जान्थ्यौं, समूहमै खनेर फर्किन्थ्यौं। 

हामी सानो हुँदा लगाइने रङ अग्र्यानिक हुन्थ्यो । अचेल केमिकल लगाइन्छ । इनामेल र अरु रङ प्रयोग हुन्छ । नयाँ घरहरु त वातावरणमैत्री छैनन्, सिमेन्टेड छन् । हामीले आधुनिकताका नाउँमा आफ्ना चिजलाई थाँती राखेर विकासे कुरा मात्रै भित्र्यायौं। 

पर्वका बेला अर्को व्यस्तता पनि हुन्थ्यो । सखारैदेखि घरघरमा ढिकीजाँतो चल्थे । कहिलेकाहीँ त मध्यरातसम्म पनि चलाइन्थ्यो । सामूहिक रुपमा काम गर्ने पद्धति र नियम हाम्रा पुर्खाले बसालेका थिए, अचेल त्यो थिति मासिँदै गयो ।
बालबालिका हुँदा दसैंसँग नयाँ नाना जोडिएर आउँछ । व्यक्तिगत रुपमा मेरा लागि नयाँ नानाको त्यति चाह थिएन किनभने पोखरा बजारमै बाले कपडा पसल चलाउनु भएको थियो । तर, धेरैका लागि दसैं लुगा लगाउने पर्व बनेर आउँथ्यो । मलाई सम्झना छ, बाले मेरा लागि ल्याइदिएको चप्पल मेरा साथीहरुले पालैपालो लगाउँथे । मैले कतिपय साथीलाई मेरा लुगा बाँडेको पनि छु। 

यसपालि भेट भाको मान्छेसँग अर्कोपालि भेट होला कि नहोला ! त्यसैले मान्यजनबाट आशीष थाप्न, उनीहरुका अनुभव सुन्न र परिवारसँग समय बिताउन म चाडबाडमा सधैं गाउँघरमै रमाउँछु।  

दसैंमा प्रायः खसीबोका र भैंसी काटिन्थ्यो । हाम्रो घरमा बाख्रापालन गरिएकाले घरकै खसी–बोका काट्थ्यौं । त्यसबाहेक सिलडाँडामा भैंसी काटिन्थ्यो । भैंसी काट्ने दिनको खबर कटुवालले पहिल्यै सुनाइसकेको हुन्थ्यो । त्यो दिन डाँडामा पुगेर हामीले सकेको सघाउँथ्यौं । र, भाग लगाएर मासु ल्याउँथ्यौं। 

दसैं–तिहार मनाउने प्रचलन सुरु भएका विषयमा विभिन्न कथा छन् । म धार्मिक कथामा के लेखिएको छ भन्ने पढेर त्यसकै आधारमा दसैंजस्ता चाडपर्व मनाउँदिनँ । खासमा यस्ता पर्वले हामीबीच आत्मियताको डोरीलाई कसिलो बनाउँछ । मनमा आनन्द र स्फूर्ति गराउँछ । त्यसैले मलाई दसैं–तिहारको सामाजिक पक्ष खुब मन पर्छ।   

दसैंको सबैभन्दा ठूलो र महङ्खवपूर्ण पक्ष टीका हो । हामी सेतो टीका लगाउँछौं । मान्यजनका हातबाट टीकासँगै आशीष थाप्दा वा अनुजहरुलाई टीका लगाइदिँदा मनमा लोभ, लालच, ईर्ष्या केही हुँदैन । हुन्छ त केवल आत्मियता, प्रेम र सद्भाव । त्यसैले यस्ता पर्वले आपसमा माया बढाउँछ । आत्मियता गाढा बनाउँछ। 

बाल्यकालीन आकर्षण दक्षिणामा हुन्थ्यो । टीका लगाइदिएर धेरैले ५ पैसा दिन्थे, एक रुपैयाँ पाइयो भने कति धेरै पाइयो भने जस्तो हुन्थ्यो । मेरो बुढामावली बाङ्गे गाउँमा थियो । बजैसँग दिनभर हिँडेर टीका थाप्न पुग्थ्यौं । भाञ्जा भनेर सबैले मलाई माया दिन्थे। 

हाम्रा पर्वहरु पारिवारिक वा आफन्त मिलनका अवसर हुन् । यस्तो बेला परिवारसँगै रमाउनु पर्छ । के थाहा यसपालि भेट भाको मान्छेसँग अर्कोपालि भेट हुन्छ कि हुन्न ! त्यसैले मान्यजनबाट आशीष थाप्न, उनीहरुका अनुभव सुन्न र परिवारसँग समय बिताउन म चाडबाडमा सधैँ गाउँघरमै रमाउँछु । यस्तो बेला सांगीतिक कार्यक्रम गर्न बाहिर जान्न । 
अब अलिकति तिहारका कुरा गरौं, हामी तीन दिनसम्म देउसी भैलो खेल्थ्यौं । प्रवीणता प्रमाणपत्र तह पढुञ्जेलसम्म त्यो क्रम जारी थियो । घर–घरमा धान, चामल, पैसा, सेल रोटी, स्कुसको अचार दिन्थे । हामी मीठा–मीठा रोटी बाटैमा खाइसक्थ्यौं, बाँकी अरुलाई बाँड्थ्यौं। 

त्यसरी पाएको धान र चामल एउटा घरमा जम्मा पाथ्र्यौं । र, त्यसलाई कुटानी–पिसानी गरेर राख्थ्यौं । हामी गुरुङहरु पुसे १५ (लोसार) मनाउँछौं । त्यो दिन तिहारमा हामीलाई धेरै दक्षिणा दिनेहरुलाई भोज खाने निम्तो दिन्थ्यौं । उनीहरु पाहुर (रक्सी) लिएर आउँथे । भोजमा हाम्रो तीन वटा भान्छा हुन्थ्यो– खसीको मासु मात्रै चल्न बाहुनका लागि एउटा । गुरुङका लागि अर्को र दलितका लागि अर्को । बाहुनहरू धोती फेरेरै भोज खान्थे । सबैजना लामो गुन्द्रीमा लहरै बसेर खाइन्थ्यो।

सेना निवृत्त लाहुरेहरुले भान्छाको कमाण्ड सम्हाल्थे । हामीले नाचगान गरेर उठाएर भाँडाकुँडा किनेपछि भोज गर्न सजिलो भएको थियो । मैले सन् २००४ को साँझ पोखराको रामबजारमा देउसी खेलेको थिएँ । गितार, मादल, कँगो र बाँसुरी बजाएर हामीले गाउन सुरु गरेपछि टोलभरिका मान्छे नाङ्लोमा फूलमाला, चामल, दक्षिणा र फलफूल राखेर आएका थिए । त्यो साँझ रामबजारमा ट्राफिक जाम नै भयो। 

हजारौं रुपैयाँ जम्मा भएको थियो । साथीहरुले सोधे– यो पैसा के गरुँ ? मैले भनिदिएँ–साथीहरुबीच बाँडिदेऊ । राति ८ बजे सुरु भएको भैलो सकिँदा १२ बजेको थियो । त्यस यता मैले भैलो खेलेको छैन । अचेल तिहारमा म टोपी लगाएर र झोला बोकेर डुल्छु । तन्नेरीहरुले खेलेको हेर्छु । क्यासेट बजाएर नाचे भने त्यसमा अलमलिन्नँ । जब लाइभ नाचगान गर्छन्, त्यसमा अर्ग्यानिक स्वाद भेट्छु । र, उनीहरुसँगै नाच्छु । दुई–चार सय दक्षिणा दिन्छु । मौका मिल्यो भने भट्टयाइ पनि दिन्छु। 

तिहारमा पहिला पहिला फूपुको हातबाट भाइटीका लगाउँथे । बहिनी जन्मेपछि उनीसँगै लगाउन थालेँ । भाइटीकाले पनि आत्मियता बढाउँछ ।  दुःखको कुरा हाम्रा कतिपय संस्कार र संस्कृति मासिँदै छन् । बसाइँ–सराइँसँगै संस्कार र संस्कृति स्थानन्तरण हुन्छ, मासिँदैन । तर, मुलुकमा द्वन्द्व बढेसँगै हाम्रा कतिपय संस्कृति सदाका लागि नामेट भएका छन् । हार्दिकता र सामाजिक सद्भावको जालो युद्धले छिन्नभिन्न पारिदिएको छ, सम्झेर ल्याउँदा दुःख लाग्छ। 

मलाई लाग्छ, चाडपर्वको रमाइलो हेर्न गरिबका झुपडीमा पुग्नु पर्छ । दुःखसुख गरेर उसले चाडको जोहो गर्छ । ऊ यति खुसी हुन्छ कि उसलाई भोलिको चिन्ता हुँदैन । आजको मात्रै महत्व हुन्छ । समय यति महँगो र अस्तव्यस्त छ कि एउटा गरिब बिरामी भयो भने काल कुर्नुको विकल्प छैन । उसलाई यो कुरा थाहा छ तर सबै बिर्सेर ऊ पर्वमा रमाउँछ । परिवारसँग खुसी हुन्छ । त्यो देख्दा लाग्छ– जिन्दगी जिउन उसले जानेको छ। 

दसैंलगत्तै म केही दिन पारिवारिक घुमफिरमा निस्कन्छु । कहिले पदयात्रामा जान्छु, कहिले अन्यत्र । अचेल मनाङ, मुस्ताङ र रारातिर नेपाली भेटिँदा खुसी लाग्छ । फेस्टिभ मुडमा आन्तरिक पर्यटन प्रवद्र्धन भैरहेको छ । अन्त्यमा, मलाई लाग्छ जिन्दगी भनेकै भेटघाट हो । दसैं–तिहार जस्ता चाडबाड खुसियाली बाँड्ने अवसर हुन् । यसको हामीले सदुपयोग गर्नु पर्छ । अब त स्मृतिमा मात्रै छ बालापन । ती दिन फर्केर आउँदैनन् । सम्झेर रोमाञ्चित हुनेबाहेक अरु केही गर्न सकिँदैन । यतिबेला फेरि दसैं नजिकिदैछ । यसैको माहोलमा म रोमाञ्चित भइरहेको छु।

                                                                                   (अमृत भादगाउँलेसँगको कुराकानीमा आधारित ।) 

प्रकाशित: ३ कार्तिक २०७५ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App