मिश्रित समाजमा दशहरा

शनिबार, ०३ कार्तिक २०७५, ११ : ५४ नागरिक

‘दसैंको मूलमन्त्र हो असत्यमाथि सत्यको विजय । त्यो मूल मन्त्र हराएको छ ।’ समाजसेवीको रुपमा नगरमा प्रतिष्ठा अर्जेका वीरगञ्जका सुपरिचित व्यवसायी बिहारी लाठका छोरा गणेशप्रसाद लाठमा समाजसँग जोडिने प्रवृत्ति बुबाबाट सरेको छ । बुबा सामाजिक संघ–संस्थामार्फत समाजमा भिजेका थिए भने छोरा लेखनमा हात हालेर वीरगञ्जबाट समकालीन नेपाली साहित्यिक क्षेत्रमा आफ्नो उपस्थितिको जनाउ दिन खोज्दैछन्।

निजी क्षेत्रको संगठन वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष रहिसकेका र नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारी सदस्य भएर भूमिका गरिरहेका ५३ वर्षीय लाठ वीरगञ्जमै जन्मेका, हुर्केका र यहाँको समाजमा घुलेर यसका परिवर्तनहरुलाई बुझेका व्यक्ति हुन् । पारिवारिक कारोबार खाद्य सामग्रीको प्रशोधन र उत्पादन अब थोरै मात्र बाँकी छ, व्यापारलाई फेर्दै गणेश ट्रेडिङ कम्पनीमार्फत विभिन्न किसिमका मेसिनरी र अन्य सामानहरुको आयात र वितरण गरिरहेका उनी कपडा उद्योग पनि सञ्चालन गरेका छन्। 

व्यावसायिक व्यस्तताका बीच लाठका दुईवटा साहित्यिक कृति पुस्तकको रुपमा आएका छन् । पहिलो ‘अनुराधा भवन’ (उपन्यास) र दोस्रो ‘छमिया’ (व्यङ्ग कथासंग्रह) । अरु फुटकररूपमा उनका कथा, कविता र लेख पनि प्रकाशित छन् । वीरगञ्ज भन्ने बित्तिकै मारवाडी समुदाय र उद्योगी व्यवसायीको सहरको छवि आउँछ । मारवाडी परिवारमा जन्मेका, नेपालीभाषी समुदायसँग हुर्केका र भोजपुरी भाषी समाजमा घुलेका व्यक्ति भएकाले वीरगञ्जमा ‘दशहरा’ अर्थात् दसैं हिजो कस्तो थियो आज के परिवर्तन भएको छ भन्ने विषयमा केन्द्रित रहेर परिवारको तर्फबाट रितेश त्रिपाठीले गरेको कुराकानी। 

यस पटकको दसैं कसरी मनाउने तयारी छ ? 
दसैंका लागि परम्परागत चलन छ हाम्रो घरमा कलश स्थापना गर्ने, ९ दिन नियमित पूजाआजा गर्ने, मन्दिरहरुमा दर्शन गर्ने । यस दौरान शहर बाहिर जाने अनुमति हुँदैन । यो १० वटा दिनलाई एउटा देउता मानिएको हुन्छ । दशहरा देउता । यस दौरान रमाइलोका लागि केही परिवारमा बसेर विभिन्न खेलहरु पनि खेलिन्छ । दशौं दिन ठूलाबडाको हातबाट टीका थाप्ने चलन छ । मारवाडी समुदायमा टीका थाप्ने परम्परा छ, नेपालीभाषी साथीहरुको घरमा पनि त्यसैगरी टीका थाप्ने चलन छ । उनको अलि ठूलो आकारको टीका हुन्छ, हाम्रो सानो । मिश्रित समाजमा हामी बाँचेकोले एकअर्काबाट केही प्रभावहरु पनि परेका छन् । जे होस् सामान्यरूपमा दसैं मनाउने हो । 

तन्नेरी हुँदा तपार्इंंले मनाउने दसैं र अहिले तपाईंले भनेकोमा केही भिन्नता भएको छ ? 
उतिबेला हामी दसैंलाई कुरेर बसेका हुन्थ्यौं, पहाडी साथीहरुको घरमा गएर रमाइलो गर्न पाइन्छ भनी । स्कुल पढ्दाको कुरा हो । त्यतिबेला दसैंदेखि छठसम्मको लामो बिदा हुन्थ्यो । साथीहरुको घरमा जाने र उनीहरुलाई आफू कहाँ बोलाउनेको मज्जा नै बेग्लै हुन्थ्यो । विजया दशमीको अवसरमा महिलाहरु व्रत बस्थे । हामी पनि बस्थ्यौं । व्रत बस्दाको पारितोसित के हुन्थ्यो भने, राम्रा राम्रा कुरा खान पाइन्थ्यो । अन्न नखाइए पनि आलुका मात्र ९–१० किसिमका परिकार हुन्थे । फलफूल र अरू कुराहरु पनि हुन्थ्यो । दसैं चर्खबापत केही नगदनारायण पनि पाइन्थ्यो । क्या मज्जा लाग्थ्यो । अहिले भने वर्षमा एक चोटी दसैं लगत्तै कतै घुम्न निस्किने अनि तिहारसम्म फर्केर आइहाल्ने चलन केही वर्षदेखि मैले अपनाएको छु । यस्ता घुमफिरमा व्यापारिक उद्देश्य पनि हुन्छ । कहिले कोलकाता गइन्छ, कहिले चाइना। 

तपाईं साहित्यिक मान्छे, समाजलाई मसिनोसँग नियालिराख्नु भएको होला । के–कस्ता परिवर्तन पाउनु भएको छ ? 
अलि गहिरिएर हेर्ने हो भने दसैं अब मानिसलाई घाँडो हुँदै गएको छ । व्यापारिक प्रतिष्ठानहरुको कुरा गर्दा त्यहाँ काम गर्नेलाई दसैंको एउटा नशाजस्तै हुन्छ । त्यसको ‘ह्याङ्ग ओभर’ छठसम्म रहन्छ । यस बीचमा काम कारोबार हुँदैन । हामीजस्तो व्यापारीले माल जति बेच्नु छ भने श्राद्धभन्दा पहिले जति ठेल्नुछ ठेल्यो । लिनुपर्ने पैसा पनि सक्ने जति त्यति बेला नै उठायो । नभए छठपछि हुने भयो । के लाग्छ भने दसैंमा सारा ‘मेकानिज्म’ एक पल्टका लागि शिथिल भयो। 

पहाडी समुदायमा पनि दसैंमा घर आउनै पर्ने ‘कमिटमेन्ट लेबल’ घटेको छ । ‘यसपटकको दसैंमा घर आउन पाइएन’ जस्तो रोइलो साथीहरुले फेसबुकमा गरेको देखिन्छ । दसैंको मूलमन्त्र हो ‘असत्यमाथि सत्यको विजय’ । त्यो मूल मन्त्र हराएको छ । पुरानो वैमनस्यता बिर्सेर साथीभाइबीचको मनमुटाव हटाउन समाजका मध्यस्थकर्ताहरुले दसैंलाई एउटा अवसरको रुपमा सदुपयोग गर्थे । र, त्यो कारगर हुन्थ्यो । अब त्यो रहेन । गाउँ देहातका मानिसहरुका लागि दसैं एउटा वीरगञ्ज आउने, घुमफिर गर्ने र किनमेल गर्ने अवसरको रुपमा हुन्थ्यो । अब त्यो अवस्था छैन । एउटा स्वाभाविक परिवर्तन हो यो । दसैं विपरीततिर गएको भान हुन्छ । न दसैंमा ‘दर्शन’ रह्यो र ‘पर्यटन’ न त्यो आकर्षण । मनाउँदै आएकोले मानिसहरु मनाउँदैछन् । त्यत्ति हो। 

दसैंले कारोबार–व्यवसायमा कस्तो असर पार्दछ ?
व्यापारीहरु दसैं कुर्थे । बिक्री बढ्छ भनेर । दसैंको पहिलेदेखि ‘स्टक’राख्थे । अब भने बिक्री र कारोबारमा दसैंले राम्रो प्रभाव पार्न छोड्यो । दसैंमा पसलहरुमा तपाईं अहिले पहिलेजस्तो बिक्री बढेको पाउनु हुन्न । पहिले सरकार सचेत देखिन्थ्यो दसैंमा सरसामान घट्नु हुँदैन भनेर । खसी–भेँडा, चिनी खाद्य सामग्री सबै यथेस्ट काठमाडौंलाई पुर्याउनुपर्ने तत्परता सिडियो र अञ्चलाधीशले पनि देखाउँथे । दसैंका लागि भन्सारको मतलब हुँदैनथ्यो, विनारोकटोक सीमापारिबाट समान भित्र्याइन्थ्यो । सिडियो र अञ्चलाधीशले यसका लागि ‘मिटिङ’ नै बोलाउँथे व्यापारीहरुको । व्यापारीलाई चिया खुवाएर आग्रह गर्थे, ज्याइँजस्तै आदर गर्थे । सरकारको ध्येय हुन्थ्यो, खासमा काठमाडौंलाई केही पनि नघटोस् भनी नेपाललाई होइन । काठमाडौंमा चिनी, पेट्रोल, भेँडा च्याङ्ग्रा आदि नघटोस् भनेर ‘ग्रे च्यानल’बाट पर्याेइन्थ्यो । त्यो ‘च्यानल’ अब छैन । यी कुराहरु फेरिएका छन्। 

केही विकृतिहरु थपिएको जस्तो पाउनु भएको छ ? 
दसैं ताकेर गुणस्तरहीन सामानहरु किनबेच हुनु हुँदैन । त्यस्तै अनुगमनको नाममा दसैं लक्षित गतिविधिमा कर्मचारीहरु निस्किनु हुँदैन । दसैंमा आएर एकाएक अनुगमन बढ्छ । त्यस्तै सामाजिक स्तरमा सुनिएअनुसार दसैंमा रक्सी, मासु र गुलियोको सेवन बढ्छ । स्वास्थ्य र आर्थिक बजेट दुवैमा यसको नराम्रो असर पर्छ । कतिपय मानिसहरु आफ्नो आर्थिक हैसियत बिर्सेर दसैंमा खर्च गर्छन् । यसले उनीहरुको आर्थिक सन्तुलनमा धक्का लाग्छ । ‘ठूलो बुबाको छोराले खसी काट्दैछ, मैले पनि काट्नुपर्छ ।’ ‘फलानोले यस्तो जमघट गरेर भोज गर्दैछ, मैले पनि गर्नु पर्छ ।’ दसैंलाई भयंकर खर्चिलो नबनाएर पनि मनाउन सकिन्छ। 

केही राम्रा पक्ष पाउनु भएको छ ? 
केही हदसम्म सामाजिकतालाई यसले बचाएको छ । विकृतिलाई मात्र कम गर्दै लैजाने हाे एक आपसमा छुट्टिँदै गएका मानिसलाई जोड्ने एउटा माध्यम हो दसैं । दसैंको सदुपयोग गर्दै सामाजिक सम्बन्धहरु नवीकरण हुन्छ । ‘आज हम तुम्हारे यहाँ आ रहे हैं’ भनेर साथीहरु कहाँ जमघट भइन्छ । ‘मेरे घर पर कल बैठते हैं’ भनेर साथी–भाइहरुलाई घरमा बोलाइन्छ । नातेदारहरुसँग भेटघाट हुन्छ । यी सबै राम्रा पक्ष अहिले पनि छन्। 

बाहिरबाट आयात व्यापारका लागि वीरगञ्जलाई चिनिन्छ । यहाँ बसेर भन्नुपर्दा व्यापारमा दसैंको असर कस्तो रहन्छ ?
दसैंमा नेपालतिर चौतर्फी बिदा हुन्छ, बन्द हुन्छ । तेस्रो मुलुकसँगको आयात गर्ने प्रमुख भारतीय बन्दरगाह कोलकातामा छ । त्यहाँ पनि दसैंमा पूरै बन्द हुन्छ । बन्दरगाहमा आइपुग्ने माल सामान त्यतिबेला आउन बन्द हुन्छ । यसबाट ‘कन्जेसन’ (जाम) सुरु हुन्छ । यो कन्जेसन हट्न ३–४ महिना समय लाग्छ । ‘डेमरेज’ र ‘डिटेन्सन’मा करोडौं रुपैयाँ तिर्नुपर्छ । त्यो नोक्सानी व्यापारीमार्फत अन्ततः उपभोक्तामाथि नै पर्छ । अब व्यापारीहरु दसैं अगाडि ‘एलसी’ खोल्न चाहँदैनन् । नचाहँदा–नचाहँदै राष्ट्रलाई ठूलो घाटा भइरहेको छ । हरेक वर्ष यो समस्या आउँदा समाधान निकाल्नुपर्छ भने व्यापारीदेखि सरोकारवाला सरकारी निकायहरु केही दिन तात्छन् । फेरि अर्को वर्ष यो दोहोरिन्छ । ट्रान्जिट हाम्रो ‘लाइफलाइन’ हो । हरेक वर्ष यसमा समस्या भइरहेको छ । वास्तवमा यस विषयलाई राष्ट्रिय बहसमा ल्याउनुपर्ने छ। 

अनि दसैं खर्च भनेर व्यापारिक प्रतिष्ठानहरुमा माग्न आउने गरेको सुनिन्छ नि ! 
बक्सिसको रुपमा लिन आउने मान्छेहरु टन्नै छन् । त्यो भनेको जमानादेखि चलेको चलन हो, देउसी मागेजस्तै । निर्धक्क भएर आउँछन दसैं खर्च चाहियो भनेर । कसैले नगद दिन्छ भने कसैले सामग्री पनि दिन्छ । म स्वयं पनि कुनै बेला रक्सी बाँड्थे । यसो मैले विचार गरेँ रक्सी मँ खाँदैन बाँड्नु पनि ठीक होइन भन्ने सोँची गुलियो बाँड्न थालेँ । गुलियो पनि ठीक होइन भनेर लाग्यो । पछि पुस्तक बाँड्न थालेँ । एक हिसाबले यो नराम्रो होइन । यो ‘ट्रेन्ड’ वीरगञ्जमा मात्र छैन नेपालमै छ । यस्तो एउटा सानो कुराले सम्बन्धलाई जोड्छ । दसैंको बेला नै कसैले ठग्न वा असुल्न खोजिरहेको छ भने यो दसैंको प्रभाव नभएर त्यसको सधैंको प्रवृत्ति हुनुपर्छ ‘बाह्र महिने’ । त्यस्तोलाई भने दिनुहुँदैन। 

कल्पना गर्नु तपाईं आफ्नो छोराछोरीलाई जन्मदिनमा ‘गिफ्ट’ किन दिनुहुन्छ ? उसका लागि कुनै पनि दिन तपाईंले सामान किनेर दिन सक्नु हुन्छ । तर छोरा कुरेको हुन्छ जन्मदिनको ‘गिफ्ट’को लागि । किन कि त्यो बेलाको ‘गिफ्ट’ले उसका लागि वर्षभरि महत्व राख्छ । कम आर्थिक हैसियत भएकोले आश राखेको हुन्छ आफूभन्दा बलियो आर्थिक हैसियतबाट केही पाउने । तपार्इं यथाशक्य दिनुस् आफूलाई ‘प्रेसर’ नहुने गरी । सहज भावले लिन आउने र सहज भावले दिनेले दिने चलन त ठिकै हो । सामान्यतया सम्बन्धको आधारमा दिइने वर्षेनी एउटा ‘गिफ्ट’ले सम्बन्धलाई गति पनि दिन्छ । उच्च तहका कर्मचारीहरु कहिले काहीँ केही कोसेलीहरु पठाउने पनि गरेका छन् । यो पनि एउटा पाटो हो भनेर बुझ्नुपर्छ। 

यसपालिको तपार्इंको दसैं विशेष के छ ? 
त्यस्तो खासै केही छैन । मलाई पढ्ने इच्छा हुन्छ । वीरगञ्जमा बसेर पढ्न भ्याइरहेको हुँदैन म । यसका लागि कि बिदाको समय उपयुक्त हुन्छ कि म यात्रामा रहेकोबेला पढ्छु । यसपालि वीरगञ्जमा भर्खरै सम्पन्न नेपाल–भारत साहित्यिक महोत्सवमा मैले करिब १८ वटा किताब पाएको छुँ । त्यसमध्ये रोजेर पढ्छु । एउटा किताब त छानिसकेको छु । मदन पुरस्कार विजेता पुस्तक ‘योगमाया’ त्यो पढेर सकाउँछु । अरु कुरा त ‘एज युजवल’।  

गौरा, दसैं र तिहार 
प्राडा. हेमराज पन्त/संस्कृतिविद् 

म डोटीको सिलगढीमा २०११ फागुनमा जन्मिएँ । हाम्रो पुख्र्यौली घर डोटीको उच्चकोट हो । मेरा बुबा खगेन्द्रराज पन्त सिलगढी आयुर्वेदिक अस्पतालमा जागिरका सिलसिलामा त्यहाँ बस्नुहुन्थ्यो । सात वर्षको उमेरमा बुबासँगै म डडेल्धुराको रुपाल गएँ । दसैँको जमरा पहिलोपटक मैले त्यहीँ कानमा सिउरेको हुँ । त्यतिबेला डडेल्धुराका गाउँमा जमरा राख्ने चलन थिएन । मन्दिरमा जमरा राखिन्थ्यो र टीकाको दिन लगाइन्थ्यो। 

अहिले पनि मलाई त्यो सम्झना छ । बुबाले दसैँको टीका लगाउने भनेर मलाई मन्दिरमा लग्नुभयो । मन्दिरको पुजारीले जमरा र टीका लगाइदिए । पछि बुबाले पनि टीका लगाइदिनुभयो । मेरो पहिलोपटक दसैँको टीका मन्दिरमा लगाएको मधुरो सम्झना छ।

मेरो मात्र बाल्यकालको कुरा होइन यो । अधिकांश सुदूरपश्चिमेलाई पछिसम्म पनि दसैँका बारेमा त्यति थाहा थिएन । सुदूरपश्चिमका जिल्लामा अहिलेको जस्तो दसैँ धुमधामका साथ मनाइँदैनथ्यो । एक प्रकारले भन्ने हो भने त्यसबेलाको दसैँको कुनै महत्व नै थिएन । घटस्थापनाका दिन घरमा जमरा राखेर दसैँको टीकाको दिनदेखि ५ दिनसम्म टीका लगाएर दसैँ मनाउनु उदेकको चलन लाग्थ्यो । दसैँका दिन सामान्य रुपमा बिहान टीका लगाएर दिउँसो नियमित खेतीपातीको काम गर्न निस्कने चलन बढी थियो । दसैँका दिन बिहान कुनै ठाउँ मन्दिरमा गएर, कोहीले घरमै टीका लगाएर मध्याह्नतिर खेतीपातीको काममा निस्कने चलन थियो । खेतमा लहलह पाकेका धानबाली हुन्थे । दसैंका दिन बिहान टीका लगाएर सर्वसाधारणहरु दिउँसो ती धानबाली उठाउन, काट्न निस्कने चलन थियो । अन्यत्रजस्तो दसैँका बेला ससुराली, मावली जाने, चेलीबेटी माइत आउने र घर बाहिरका आफन्त घर आउने चलन थिएन । दसँैमा मन्दिरमा पूजाआजा गर्ने चलन मात्र थियो।   

बरु सुुदूरपश्चिमका बासिन्दाको ठूलो दसैँ भन्नु नै गौरा पर्व थियो । जे जति रमाइलो गर्नुछ, यही गौरा पर्वका बेला गरिन्थ्यो । गाउँतिर बस्नेहरुको प्रायः आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले सधैँ नयाँ लुगा किन्ने हुँदैनथ्यो । एकजोर नयाँ लुगा किन्ने भनेको सबैले गौरापर्वकै बेला हुन्थ्यो । नयाँ लुगा लगाउन पाइने भएकाले दसैँभन्दा गौराको महत्व बढी थियो । मीठो खान पाइने र राम्रो लाउन पाइने भएकाले गौराका बेला सबैभन्दा बढी बालबालिका खुसी हुन्थे। 

गौराका बेला १०–१५ दिनसम्म गौरा नचाएर, गौराका अवसरमा  धमारी, चैत, ढुक्सो र डेउडा खेलेर मनाइन्थ्यो । गौरा खेल्ने खुला चौरमा हप्तौँसम्म मेला लाग्ने गथ्र्यो । मुख्य पर्व भएकाले गौराका बेला गाउँघरमा अर्कै रमाइलो वातावरण हुन्थ्यो । अहिले गौराको त्यो मौलिकता कम हुँदै गएको छ । मैले पनि बाल्यकालमा दसैँभन्दा गौरा पर्व बढी रुचाउँथेँ।

बाल्यकालमा भैलो खेल्न पाइने, भैलो खेलेर केही दाम पनि पाइने भएकाले मलाई तिहार बढी मन पथ्र्यो । होली पर्व पनि विभिन्न विद्यालय र समूह बनाएर घर–घर गई होली नाचेर मनाइने गर्नाले यो पनि रमाइलो थियो । अहिले गौरा भनेको डेउडा हो जस्तो भएको छ । गौराको आफ्नै मौलिकता छ। 

काठमाडौंबाट उच्च शिक्षा अध्ययन सकेपछि म धनगढी फर्केँ । लगत्तै मैले कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न थालेँ । धनगढीमा आएपछि मात्रै हाम्रो घरमा जमरा उमार्ने र दसैँ मनाउने गर्न थालिएको हो । विकासले किनारामा पारिएको सुदूरपश्चिममा १०÷१५ दिनसम्म दसैँ मनाउने चलन ४० को दशकबाट सुरु भएको हो । मूलप्रवाहबाट बाहिर रहेको सुदूरपश्चिममा यातायात सुविधा थिएन । २०५१ सालमा कर्णालीमा पुल बनेपछि अहिलेको प्रदेश ७ अर्थात् हिजोको सुदूरपश्चिम भौगोलिक रुपमा काठमाडौंसँग जोडिएको हो । यहाँबाट बुबा–बाजेका पालादेखि भारतका विभिन्न शहरमा मजदुरी गर्न जाने भएकाले भारतका दिल्लीलगायतका सहरसँग सम्पर्क थियो, काठमाडौँसँग थिएन । भारतमा अहिले पनि दसैँ दसहरा भनेर एक दिन मात्र मनाइन्छ। 

यातायात सुविधा भएपछि काठमाडाैंसँग सम्पर्क जोडिन थाल्यो । घरमा रेडियो, टिभी घरमा राख्न थाले । सरकारले १५ दिनको बिदा दिन थालेपछि दसैँको महत्व बढेको हो । मेरो विचारमा कर्णाली प्रदेशका लागि दसैँ आयातित पर्व हो । काठमाडौंमा राणा परिवारमा १०–१५ दिनसम्म मनाइने दसैँ राजनीतिका कारण यहाँ पनि भित्रियो । यहाँ पनि दसैँ १०÷१५ दिन मनाउने, पाँच दिनसम्म टीका लगाउने, आफन्त कहाँ टीका लगाउन जाने चलन सुरु भएको हो । पहिला राणाहरुको घरमा टीका लगाउन जाने चलन थियो पछि अञ्चलाधीशकहाँ जाने चलन सुरु भयो । क्रमशः ठूलाबडाकहाँ पन टीका लगाउने चलन बस्यो।

यहाँ धैरे कुरा काठमाडौं र पूर्वतिरबाट आउने गर्छ । तीज महिलाले नाच्ने, गाउने र महिनौँ मनाउने चलन थिएन । धेरै जिल्लामा तीज पर्व मनाइँदैनथ्यो । अहिले पनि पहाडका केही गाउँमा तीज मनाइँदैन । गौरा पर्व नै महिलाहरुले महिनौँसम्म नाचेर, गाएर मनाउने र रमाइलो गर्ने, आफ्नो दुःखपीडा बिसाउने चाड हो । तीजको व्रतसम्म बस्ने चलन मेरो परिवारमा थियो तर कयौँ गाउँमा त तीज पर्वका बारेमा अधिकांशलाई जानकारी नै थिएन । अहिले पनि कतिपयले तीज मनाउँदैनन्।

दसैँको बेलामा मेरो घरमा बलि हान्ने चलन छैन । नरिवलको बलि चढाएर दसैँ मनाउँछौँ । केही वर्ष बच्चाहरुले रहर मान्ने भएकाले दसैँमा खसी ल्याएर काटे । भाइ केशव पन्तले खसी काट्न मन गर्ने भएकाले पनि पहिले केही वर्ष खसी काटे । भाइ केशवको निधनपछि र बच्चाहरु पनि हुर्केर ठूला भएपछि दसैँमा खसी काट्न छाडिएको छ। 

दसैँ–तिहार र अन्य चाडबाडका बेलामा खेलिने तास, कौडाजस्ता कुरामा मेरो रुचि छैन । सानो उमेरमा एकपटक भिनाजुले एक पैसा दिएर कौडा खेल्न दिनुभएको थियो । अञ्जानमै मैले लगाएको दाउ परेर खल्तीभरि पैसा जितेर ल्याएको थिएँ । खासगरी सुदूरपश्चिममा तास र कौडा तिहारमा खेलिन्छ।

२०४५ सालमा अञ्चलाधीशबाट पनि टीका थापेको अनुभव छ । पञ्चायतकालमा राजाको प्रत्यक्ष शासनका बेला राजाको प्रतिनिधिका रुपमा अञ्चलमा अञ्चलाधीश शक्तिशाली मानिन्थे । म कैलाली बहुमुखी क्याम्पसको प्रमुख थिएँ । सबै कार्यालयका प्रमुख र कर्मचारी अञ्चलाधीशकहाँ टीका लगाउन जाने चलन थियो । म गइनँ । टीका लगाउन किन जानु भएन ? गएन भने त चित्त दुखाउँछन् भनेर कसैले भनेपछि मात्र दोस्रो दिन गएर टीका लगाएँ । अञ्चलाधीशले निधारै छोपिने गरी टीका लगाइदिएका थिए । दसैँका बेला अञ्चलाधीशकहाँ टीका लगाउन जानेको भीड हुन्थ्यो । टीका लगाइसकेपछि खानपिन गर्ने चलन हुन्थ्यो।

सुदूरपश्चिममा शास्त्रमा उल्लेख गरेका र देवीदेवता बसेका धेरै महत्वका धार्मिक स्थल छन् । धार्मिक स्थलमध्ये सुदूरपश्चिममा रहेका ७ बहिनी भगवतीका महाशक्ति पीठ दुर्लभ सम्पत्ति हुन् । बाजुरामा रहेका बडीमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराका उग्रतारा, बैतडीका निंगलाशैनी, त्रिपुरा सुन्दरी, डिलाशैनी र मेलौली लाई ७ बहिनी भगवती मानिएको छ।

अछाममा रहेका वर्दादेवी र बझाङको सुर्मादेवी पनि सुदूरपश्चिमका  प्रसिद्ध भगवती मन्दिर हुन् । १६ बहिनीमध्ये यी भगवतीका मन्दिर पर्छन् । यी भगवतीका मन्दिर मिलाएर नवदुर्गा सुदूरपश्चिममै रहेको मान्न सकिन्छ । दसैँका बेलामा सुदूरपश्चिमका भगवती मन्दिरमा राँगा र बोकाको बलि दिने चलन छ । सुदूरपश्चिममा दसैँ मौलिक रुपमा कुल देवता र भगवती देवताको पूजा गरेर मनाउने गरिन्छ । देवताको पूजा गरेर र देवताको टीका लगाएर नै दसैँ मनाउने पुरानो चलन हो । मनोरञ्जन गर्ने, ५ दिनसम्म टीका लगाउने र टीका लगाउन विभिन्न ठाउँ जाने चलन थिएन।

दसैँमा कुल देवता र भगवतीका मन्दिरमा पूजाआजा गर्ने चलन हो । महिशासुर दानवले देवताहरुलाई धेरै दुःख दिएपछि देवताहरु विष्णुकहाँ प्रार्थना गर्न गए । विष्णु, ब्रह्मा, महेशको शक्ति पाएर भगवती प्रकट भइन् र रक्तबीज क्षमता भएको महिशासुर दानवलाई मारेको दिनको सम्झनामा दसैँ मनाउने गरेको मान्यता छ । दसैँमा भगवती मन्दिर भक्तजनका लागि विशेष महत्व राख्ने गर्छ। 

यसैगरी राम र रावणको नौ दिन यु्द्ध भएको र रामले रावणलाई मारेको दिनको रुपमा पनि दसैँ मनाइने गरेको मान्यता छ । असोज र चैत गरी दुई दसैँ मनाइन्छन् । अहिलेको दसैँ भगवतीले महिशासुर मारेको रुपमा मनाइने भएकाले भगवती मन्दिरमा बलि दिने चलन बसेको हो । बलि दिनु गलत छ । शास्त्रमा बलि भनेर सम्मान गर्न भन्ने अर्थमा भनिएको हो । निर्दोष प्राणीको बलि दिएर भगवती, देवता खुसी हुन्छन् भन्नु कुरा गलत हो । पञ्च बलि दिइनु पर्छ भनेर शास्त्रमा लेखिएको छ । काग, नाग, गाई, कुकुर र कमिलालाई बलि दिइनु पर्छ भनिएको छ । बलि भनेको सम्मान दिनु भनिएको हो, यी प्राणीलाई सम्मान दिनमा हामीले कञ्जुस्याइँ गर्नु हुँदैन।

                                                                                                प्रस्तुतिः दिलबहादुर छत्याल








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad