७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली भनिएका चिकित्सकलाई सफाइ

वीरगन्जस्थित जिल्ला अदालत पर्सा ।

वीरगंज–शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपसहित पक्राउ परी पर्सा जिल्ला अदालतमा ठगी मुद्दा चलाइएका पर्साका आठजना चिकित्सकले सफाइ पाएका छन्।

आरोपमा दाबी गरे अनुसारको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो (सीआईबी)ले आदालत समक्ष पेश गर्न नसकेपछि बुधवार आदालतले फैसला सुनाएको हो।

पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी नठहर्ने भन्दै आठजना चिकित्सकलाई सफाइ दिएको हो। सिआइबीको टोलीले असार ३ गते वीरगंजमा कार्यरत डा.रामकुमार प्रधान, डा. इर्सादुल हक, डा. कुशराज गिरी, डा. सरोज सिंह, डा. पन्नालाल पटेल, डा. दिनेशकुमार तेली, डा. निमेषपाल रमन र डा. रूहुल्लाहलाई नक्कली शैक्षिक प्रमाणपत्र भएको कसुरमा पक्राउ गरेको थियो।

बुधबार प्रतिवादी चिकित्सकको तर्फबाट कानुन व्यावसायीहरू सुधीर कर्ण, प्रमोद साह, रामनारायण कुर्मी र हरिकृष्ण अधिकारीले तथा वादी नेपाल सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता सुर्यप्रसाद सुवेदीले बहस गरेका थिए। वहसपछि वादीको माग दाबी नठहर्ने भन्दै आदालतले फैसला सुनाएको थियो ।

‘आरोपीहरु आरोपित ठगीको कसुरबाट सफाई पाए,’ पर्सा अदालतका सूचना अधिकारी माधव तिमिल्सिनाले भने, ‘कसुर ठहर भएन।’ प्रहरीको दाबी अनुसार सरकारी वकिलको कार्यालयले ठगीको महलको १ र २ बमोजिमको कसुर दाबी गर्दै सोही महलको ४ अनुसार सजाय माग गरेको थियो। जस अनुसार ५ हजारसम्म जरिवानार ५ बर्षसम्म कैद हुन सक्ने ब्यवस्था छ।

चिकित्सकमाथि ठगी यस मुद्दामा भारतमा गएरसमेत अनुसन्धान गरेको भनिएको सिआइबीले अदालत समक्ष ठोस प्रमाण पेश गर्न नसकेको वकिलहरुको भनाइ छ। ‘पहिला किर्ते भनियो त्यसपछि ठगी, शैक्षिक प्रमाणपत्र किर्ते देखिने त्यसलाई जारी गर्ने निकायबाट प्रमाणिकरण भएर पेश भएन,’ प्रतिवादीका वकिल रामनारयण कुर्मीले भने, ‘सिआइबीको टोलीलाई आदालतले दुईपटक पत्र लेखेर बोलाउदा पनि उहाँहरु आउनु भएन् । ठगि भनिएको कससँग हो? भनी देखाइएन्, नेपाल सरकारबाट इजाजत लिई गरेको पेशमा पारिश्रमिक लिनु ठगी त होइन नी!।’

यसअघि पर्सा जिल्ला अदालतमा असार १९ मा चलाइएको मुद्दामा अदालतले असार २० गते आठैजना २ देखि ३५ लाख रुपैयाँसम्म धरौटी राखी तारिखममा रिहा गरेको थियो।
    

 

प्रकाशित: ६ आश्विन २०७३ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App