खुसी बोकेर आउने दसैं

शुक्रबार, ०२ कार्तिक २०७५, १५ : ३० नागरिक

हनिफ मियाँ 

मूलतः दसैं हिन्दू समुदायको चाड हो तर यो चाड आउँदा हाम्रो मन पनि रमाउँछ । आनन्दित हुन्छ । बर्खापछिको निख्खर नीलो आकाश, खेतमा झुलेका पहेँलपुर धान, गामबेसीका उज्याला अनुहार, जताततै आशैआशा देखिन्छ दसैंताका।  

मौसम पनि सफा हुन्छ सर्वत्र । हाम्रो गाउँबाटै देखिन्छन्, कुमारी माछापुच्छेसँगै अन्नपूर्ण हिमालहरु । बिहान उठ्नेबित्तिकै नीलो आकाशमुन्तिर चाँदीझैं टलक्क टल्केका हिमाल देख्दा मनमा उत्साहको दियो बल्छ । जसरी प्रकृतिले पोखरालाई सुन्दर बनाएको छ, त्यसैगरी यो सुन्दर फूलबारीमा थरिथरिका जातजाति मुस्कुराएका छन्। 

हाम्रो पोखरामा को हिन्दू, को मुसलमान, को बौद्धमार्गी हामी सबै मिलेर बसेका छौं । हाम्रो गाउँ मियाँपाटन (पोखरा महानगरपालिका–१३)मा आजका मितिमा करिब मुसलमानको जनसंख्या करिब १५ सय छ । हाम्रो गाउँसँगै जोडिएको कुँडहरमा विशेषतः ब्राह्मण, क्षेत्री, नेवारलगायत जातजातिको बसोबास छ।     

मलाई लाग्छ, दसैं आउँदा मुस्लिम जति खुसी हुन्छन् सायदै त्यति हिन्दू होलान् ! नढाँटी भनुँ भने अलिकति धन कमाएका व्यापारीमा चाहिँ दसैं आउँदा व्यापार बढ्नेथियो भन्ने खुसी मात्रै हुन्छ । गरिब समुदाय भने दसैंकै बहानामा नयाँ–नयाँ लुगा, खानपिन र किनमेलमा रमाउन पाउँदा बेग्लै खुसी हुन्छ।  

पहिला–पहिला पोखरामा चुरा, धागोको व्यापार हाम्रो समुदायले मात्रै गथ्र्यो । दसैं–तिहार र तीजजस्ता चाडबाडमा धेरै व्यापार हुन्थ्यो । आज पनि हुन्छ । त्यस हिसाबले पनि व्यापारीलाई दसैं आइदेओस् भन्ने लाग्नु स्वाभाविक हो।   

हाम्रो गाउँमा दसैंमा च्याङ्ग्रा, खसी, राँगो, परेवा र कुखुरा काटेर खाने चलन पुरानै हो । नयाँ कपडा किनेर लगाउने चलन पुरानै हो । त्यस्तै पहिला पहिला त ढुंगा र माटाका घर बढी थिए । त्यसैले हामी कमेरो र रातोमाटोले लिपपोत गथ्र्यौं । अचेल धेरै आधुनिक घर बनिसके । लिपपोत गर्नुपर्ने घर कम छन् ।  अहिले पनि हाम्रो एउटा घर पुरानै छ, दसैंको मुखमा हामी त्यसमा लिपपोत गर्छौं । करेसाबारी र घर आँगन सफा गर्छौं । नाति–नातिनालाई नयाँ कपडा किनिदिन्छौं। 

दसैं आउँदा हामी घरआँगन लिपपोत गर्छौं । सेलरोटी पकाउँछौं । च्याङ्ग्रा काट्छौं । पहिला पहिला त टीकासमेत लगाउँथ्यौं , अचेल लगाउँदैनौं।  

पहिला–पहिला हाम्रो गाउँमा पिङ हाल्ने चलन थियो । रोटे पिङ, लिंगे पिङ खेल्थ्यौं हामी । अचेल न पिङ देखिन्छ, न पिङ हाल्ने जग्गा नै छ । चचहुई... गर्दै पिङमा मच्चिएको  सम्झँदा आनन्द लाग्छ । ती दिन साँच्चै सुखद् थिए ।  
एउटा कुरा दसैंमा सेल रोटी पकाएर खाने चलन भने कायमै छ । मासु खाने चलन पनि कायमै छ । सक्नेले सिङ्गै खसी र च्याङ्ग्रा ल्याउँछन् । नसक्ने वा कम मासु खानेहरु मिलेर ल्याउँछन् । मेरो आफ्नै कुरा गर्ने हो भने छिमेकी भीमप्रसाद रानाभाट, अम्बिका भट्टराई र म मिलेर च्याङ्ग्रा ल्याउँछौं । बाँडेर खान्छौं। 

च्याङ्ग्रा किन्न जाँदा रमाइलो लाग्छ । कहिले फूलपातीका दिन त कहिले अष्टमीका दिन च्याङ्ग्रा लिन हामी पोखराको पुरानो टुँडिखेल पुग्छौं । त्यो भीडबाट मन परेको एउटा छानेर ल्याउँछौं । ठूलाबडा अथवा मान्यजनका हातबाट टीका थाप्ने संस्कार दसैंको महत्वपूर्ण पक्ष हो जस्तो लाग्छ मलाई । केही वर्ष अघिसम्म हाम्रो समुदायमा दही र चामलको टीका लगाउने चलन थियो । गाउँका जिमुवाल र ठूलाबडाका हातको टीका थाप्न पाउँदा रमाउँथ्यौं हामी । त्यो चलन अहिले हटेको छ।

हिन्दु समुदायका मान्छे पनि मुसलमानकोमा टीका थाप्न आउँथे । मेरा पिताजी लोककवि अलिमियाँको हातबाट टीका थाप्न लमजुङका दीपक सोती, पोखराका डम्बरबहादुर, चिसापानीका कृष्णबहादुर थापा र काजीपोखरीका रामकृष्ण घिमिरेलगायत धेरै जना आउनु हुन्थ्यो । अन्यत्रबाट पनि आउँथे ।  मुसलमानको हातको टीका क्षत्री, बाहुन र नेवार पनि टीका लगाउन आउँथे । मलाई लाग्छ, टीकाले आत्मीयताको गाँठो मजबुत बनाउँथ्यो । आपसी सद्भाव गाढा बनाउँछ।  

सोह्र श्राद्धमा कसैले श्राद्ध गर्नु पर्दा, मुसलमान चोखो हुन्छन् भनेर हामीलाई बोलाउन आउँथे । जस्तो कि चाउथेका रामकृष्ण घिमिरेले आफ्ना मितबा (अलिमियाँं) लाई अगाडि राखेर मात्र श्राद्ध गर्थे ।  कुरा दसैंको मात्र होइन, अन्य चाडपर्वमा पनि हामीबीच सद्भाव छ । मैले तीजमा वरपरका चेलिबेटीलाई डाकेर दर खुवाउने गरेको छु । बुबाको मुख हेर्ने दिन कतिपय हिन्दुहरु पनि मलाई ‘बा’ भनेर उपहारसहित भेट्न आउँछन्। 

आपसी संगतबाट प्रेम बढ्छ । आपसमा सद्भाव बढ्छ ।  चाडपर्वमा आपसमा निम्तो गर्ने चलन बस्छ । यसले एक–अर्काको संस्कृति बुझ्न मद्दत मिल्छ । हिन्दू समुदायसँग पनि हामी हाम्रो इदमा मिलेर खानपिन गर्छौं । यसरी हामीले आपसी सद्भाव र मायाको भारी बोक्यौं भने मात्र समाजमा शान्ति हुन्छ।

हामी सबैले एक–अर्काको धर्म र संस्कृतिको सम्मान गर्नु पर्छ । ‘म मात्रै राम्रो हुँ’ भन्ने कट्टरताले विनाशतिर पुर्याउँछ । त्यतिबेला मानवता मर्छ । आखिर सबै धर्मको लक्ष्य शान्ति र सुख हो । हामीले जुनै धर्मको अभ्यास गरे पनि गन्तव्य भनेको मानवता नै हो । हामीलाई शान्ति चाहिएको छ । हामीले एक अर्काको सम्मान गर्न जान्यौं भने मात्रै समाजमा सहअस्तित्व र सहिष्णुता बलियो हुन्छ। 

क्लाइमेट चेञ्जका कारण अचेल कुमारी हिमाल माछापुच्छे«मा हिउँ कम पर्छ । तर, पनि हिमाल हाँस्न छाडेको छैन । तीव्र सहरीकरणका कारण पर्व मनाउने शैलीमा केही परिवर्तन भए पनि दसैं आउँदा हाम्रो मनमा खुसी सल्बलाउन थालिहाल्छ।  

              प्रस्तुतिः अमृत भादगाउँले  








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad