दुर्गाका नौ रूप

शुक्रबार, ०२ कार्तिक २०७५, १० : ३० रोशन दाहाल

पौराणिक कथाहरूअनुसार महिषासुर नाम गरेको दानव थियो । उसका पिता रम्भ असुरहरूका राजा थिए । एकपटक जलमा रहने भैँसीसँग रम्भको प्रेम बस्यो र उनीहरूकै योगबाट महिषासुरको जन्म भयो । पुरूष र भैँसीको संयोगबाट जन्मिएकाले उसको नाम महिषासुर रहन गयो । त्यसैले आफ्नो इच्छाअनुसार उसले भैँसी र मान्छेको रूप धारण गर्न सक्थ्यो। 

एकपटक उसले अमर हुने इच्छाले कठिन तपस्या गर्याे । उसको तपबाट ब्रह्मा प्रसन्न भए र इच्छा लागेको वर माग्न भने । महिषासुरले अमर हुने वर माग्यो । ब्रह्माले अमर हुने वर दिन मानेनन्– “कुनै पनि जीव जन्मेपछि मर्नैपर्छ । तिमी त्यसभन्दा अर्को कुनै वर माग ।” महिषासुरले केही समय सोच्यो र भन्यो– “मलाई देवता, असुर र मानवले मार्न नसकून् । कुनै स्त्रीको हातबाट मात्रै मेरो मृत्यु होस् । हजुरले मलाई यही आशीर्वाद दिनुहोस् ।” ब्रह्माले ‘तथास्तु’ भने। 

वरदान पाएपछि महिषासुर सबै दैत्यहरूको राजा बन्यो । राजा बन्नेबित्तिकै उसले आफ्नो विशाल सेना प्रयोग गरेर पाताल र मृत्युलोकमाथि आक्रमण गरी आफ्नो अधिनमा लियो । देवताहरूको इन्द्रलोकलाई समेत जितेर आफ्नो नियन्त्रणमा लियो । ऊसँग युद्ध गर्दा देवताहरूलाई विष्णु र शिवले पनि साथ दिएका थिए, तर सबै मिलेर पनि उसलाई पराजय गर्न सकेनन् । यसरी महिषासुर सबै लोकको अधिपति बन्यो। 

आफ्नो राज्य गुमेपछि देवताहरूले भगवान् शंकर र ब्रह्मालाई अगाडि लगाएर भगवान् विष्णुको शरण लिए र महिषासुरको आतंकबाट छुट्कारा पाउन दुर्गा महाशक्तिको आराधना गर्न अनुरोध गरे । त्यही प्रार्थना मान्दै विष्णु, ब्रह्मा र देवताहरूले समेत महिषासुरको वधका लागि आर्तस्वरमा प्रार्थना गरे । सबै देवताको शरीरबाट दिव्य तेज निस्केर एक परमसुन्दरी स्त्रीका रूपमा प्रकट भइन्। 

भगवान् शंकरको तेजबाट देवीको मुख प्रकट भयो । यमराजको तेजबाट मस्तक, विष्णुको तेजबाट भुजाहरू, चन्द्रमाको तेजबाट स्तन, इन्द्रको तेजबाट कम्मर, वरूणको तेजबाट जाँघ, पृथ्वीको तेजबाट नितम्ब, ब्रह्माको तेजबाट चरण, ब्रह्माको तेजबाट खुट्टा, सूर्यको तेजबाट दुवै खुट्टा र हातका औँला, प्रजापतिको तेजबाट दाँत, अग्निको तेजबाट आँखा, सन्ध्याको तेजबाट आँखीभौँ, वायुको तेजबाट कान र अन्य देवताहरूको तेजबाट उनका भिन्नभिन्न अंग बने । दुर्गा उत्पन्न गरेपछि सबै देवताहरूले आफ्ना–आफ्ना हतियार उनलाई प्रदान गरे। 

भगवान् शिवले त्रिशुल दिए । विष्णुले चक्र दिए । अन्य सबै देवताले अनेक प्रकारका शस्त्रअस्त्र दिए । हिमवानले भगवतीको सवारीका लागि सिंह दिए । दुर्गाले प्रसन्न भएर छिट्टै नै देवतालाई महिषासुरको भयबाट मुक्त गर्ने आश्वासन दिइन् । यता देवीको रूप देखेर महिषासुर उनीप्रति निकै आकर्षित हुन थाल्यो र दूत पठाएर विवाहको प्रस्ताव पठायो । महिषासुरको यस्तो व्यवहार देखेर देवी अत्यन्तै क्रोधित बनिन् र महिषासुरलाई युद्धका लागि बोलाइन् । उनले दूतमार्फत खबर पठाइन्– “या त पाताललोकमा गएर बस्, या आफ्नो मृत्युका लागि तयार बन्।” 

अनेक भुजा भएकी र विशाल शरीरकी भगवती अस्त्रशस्त्रले सज्जित भएर सिंहमाथि बसी महिषासुरसँग युद्ध गर्न गइन् । उदग्र नामक महादैत्यले ६० हजार राक्षसहरू लिएर महिषासुरलाई सहयोग गर्याे। महानु नामक दैत्यले एक करोड, अशीलोमा नामक दैत्यले पाँच करोड र वास्कल नामक राक्षसले ६० लाख सैनिकसहित महिषासुरलाई सहयोग गरे। 

देवताहरूले यस महायुद्धलाई कौतूहल हुँदै हेरिरहेका थिए । भगवती दुर्गाले हिमालयमा पुगेर अट्टहासपूर्वक घोर गर्जना गरिन् । महिषासुरका असुरहरूसँग उनको भयङ्कर युद्ध भयो । रणचण्डिका देवी दुर्गाले आफ्नो तलबारले केही समयमै सयौं असुरलाई मारिदिइन् । बिस्तारै सबै सेना मारिएपछि महिषासुरले बाध्य भएर देवीसँग युद्ध गर्याे । उसले नाना प्रकारका मायिक रूप धारण गरेर देवीलाई छलपूर्वक मार्ने प्रयास गर्याे । अन्त्यमा भगवतीले आफ्नो चक्रले महिषासुरको मस्तक काटिदिइन् र ऊ मर्याे। यही कारण हो दुर्गालाई ‘महिषासुर मर्दिनी’ भनिनुको। 

उनैले मधु–कैटभ नाम गरेका दैत्यहरूको पनि वध गरेकी थिइन् । शुम्भ–निशुम्भको पनि उनैले वध गरेकी थिइन् । 
महिषासुरलाई मारेपछि सबै देवताहरूले उनको स्तुति गरे । भगवती दुर्गा उनीहरूलाई सधैँ सहयोग गर्ने आश्वासन दिएर अन्तरध्यान भइन्। 

हिन्दूहरूको शाक्त सम्प्रदायमा ईश्वरलाई देवीका रूपमा पुजिन्छ । वेदहरूमा दुर्गाको व्यापक उल्लेख भएको पाइन्छ । उपनिषद्मा भने उमा हेमवती (उमा, हिमालयकी पुत्री) को वर्णन आउँछ । पुराणमा दुर्गालाई आदिशक्ति मानिएको छ, जसअनुसार दुर्गा शिवकी पत्नी आदिशक्तिकै एक रूप हो । शिवको त्यस पराशक्तिलाई प्रधान प्रकृति, गुणवती माया, बुद्धितत्वकी जननी तथा विकाररहित बताइएको छ । केन्द्रित भएपछि त्यो मायाशक्ति संयोगवश अनेक हुन्छ । त्यही आदिशक्ति देवीले नै सावित्री (ब्रह्माकी पहिली पत्नी), लक्ष्मी (विष्णुकी पत्नी), पार्वती या सती (शिवकी पत्नी) का रूपमा जन्म लिएकी हुन् । तीन रूप भएर पनि दुर्गा (आदि शक्ति) एकै हुन्। 

दुर्गाका अन्य पनि कैयौं रूप छन्, तर उनको मुख्य रूप गौरी हो । गौरी अर्थात् शान्तमय, सुन्दर र गोरो रूप । उनको सबैभन्दा भयानक रूप काली हो । अर्थात् कालो रूप । उनका विभिन्न रूपहरू भारत र नेपालका कैयौं मन्दिर र तीर्थस्थानहरूमा पूजिन्छन् । केही मन्दिरमा त पशुबलि पनि दिने गरिन्छ । चैत्र र आश्विन शुक्लपक्षको पहिलो तिथिदेखि नवौं तिथिसम्म प्रत्येक दिन यिनै एक दुर्गाको अर्थात् नौ रूपको पूजा हुन्छ– शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री।

नौ दिन व्रत बस्ने सम्बन्धमा एउटा पौराणिक कथा छ । जसअनुसार प्राचीनकालमा दुर्गम नामक राक्षसले कठोर तपस्या गरेर ब्रह्मालाई प्रसन्न ग¥यो । ब्रह्माबाट वरदान लिएर उसले चारै वेद र पुराणहरूलाई कब्जामा लिई कतै लुकाइदियो । जसका कारण पूरै संसारमा वैदिक कर्महरू बन्द भए । चारैतिर घोर अकाल लाग्यो । रुखबिरुवा सुक्न थाले । नदीनालामा पानी बग्न छाड्यो । चारैतिर हाहाकार मच्चियो । जीवजन्तु मर्न थाले । सृष्टिको विनाश हुन थाल्यो । सृष्टिलाई बचाउनका लागि देवताहरूले व्रत राखेर नौ दिनसम्म माता दुर्गाको आराधना गरे र सृष्टि बचाउनका लागि बिन्ती गरे । तब दुर्गा र असुर दुर्गमबीच घमासान युद्ध भयो । दुर्गाले दुर्गमको वध गरिन् र देवताहरूलाई निर्भय बनाइन्। त्यही बेलादेखि नवदुर्गा तथा नव व्रत प्रारम्भ भयो। 

देवी दुर्गाका नौ रूप यसप्रकार छन्– 
१. उनको पहिलो रूप शैलीपुत्रका नामले चिनिन्छ । पर्वतराज हिमालयका घरमा पुत्रीरूपमा उत्पन्न भएका कारण उनलाई शैलपुत्री भनिएको हो । नवरात्रको पहिलो दिन उनकै पूजा र उपासना गरिन्छ । यिनको वाहन भृषभ हो, त्यसैले वृषारुढा पनि भनिन्छ । यिनको दायाँ हातमा त्रिशूल र बायाँ हातमा कमल सुशोभित छ । यिनलाई सतीका नामले पनि चिनिन्छ । सतीका विषयमा एउटा मार्मिक कथा छ–

एकपटक दक्ष प्रजापतिले यज्ञ गरे । त्यसमा सबै देवता र विष्णुलाई निमन्त्रणा गरियो, तर शिवलाई बोलाइएन । सतीले आफ्ना पिताले यज्ञ गरेका र आफूहरूलाई नबोलाएको थाहा पाइन् । विशेषगरी आफ्ना पतिलाई नबोलाएकोमा चिन्तित बनेकी सती त्यहाँ जान चाहिन् । शिवले उनलाई त्यहाँ जानबाट रोक्न खोजे, तर उनले मानिनन् । उनको प्रबल आग्रह देखेर शिवले आज्ञा दिए। 

यज्ञस्थलमा पुगेपछि उनका बुबा दक्ष प्रजापतिले शिवलाई तथानाम गाली गरे । उनको शिवप्रतिको अपमानजनक शब्दहरू सुनेर सतीलाई अत्यन्तै दुःख लाग्यो । त्यो अपमान उनले सहन सकिनन् र यज्ञको अग्निमा हामफालिन् । 
आफ्नी पत्नीले यज्ञाग्निमा प्राण त्यागेको सुनेर व्यथित भएका शिवले यज्ञमा विध्वंस उत्पन्न गराए र सतीको शरीर आफ्नो काँधमा बोकेर मृत शरीरका अङ्गहरू कुहिएर नझरुञ्जेल यात्रा गरिरहे । सतीका अङ्गहरू जहाँजहाँ खसे, त्यहीँत्यहीँ शक्तिपीठ स्थापित भए। 

तिनै सती अर्को जन्ममा हिमालयकी छोरीका रूपमा जन्मिन् र शैलपुत्री कहलाइन् । उनको विवाह पनि शिवसँगै भयो । उनलाई पार्वती र हेमवती भनेर चिनिन्छ। 

२. दुर्गाको दोस्रो रूप हो ब्रह्मचारिणी । ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने खालकी, अर्थात् तपको आचरण गर्ने खालकी । कठिन तपस्याका कारण उनलाई तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नामले चिनियो । त्यसैले यिनको उपासना गर्नाले तप, त्याग, वैराग्य, सदाचार र संयममा वृद्धि हुन्छ। 

पूर्वजन्ममा यिनले हिमालयको घरमा पुत्रीका रूपमा जन्म लिइन् र नारदको उपदेश सुनेर भगवान् शङ्करलाई पतिरूपमा पाउनका लागि घोर तपस्या गरिन् । एक हजार वर्षसम्म यिनले केवल फलफूल खाएर बिताइन् । सय वर्षसम्म केवल जमिनमा रही सागपात खाएर बिताइन् । केही दिनसम्म कठिन उपबास बसिन् र खुला आकाशमुनि वर्षा र घामको पीडा सहिन् । फेरि तीन हजार वर्षसम्म खसेका बेलपत्र खाएर शिवको आराधना गर्दै रहिन् । पछि उनले त्यो पनि खान छाडिन् र कैयौँ हजार वर्षसम्म निर्जल र निराहार रहेर तपस्या गर्दै रहिन् । पातहरू खान छाडेका कारण यिनको नाम अपर्णा रहन गयो। 

यसरी कठिन तपस्या गरेपछि यिनको शरीर एकदमै क्षीण बन्यो । देवता, ऋषि, सिद्धगण, मुनि आदि सबैले यिनको तपस्यालाई अभूतपूर्वक पुण्यको काम भएको बताए र सराहना गरे । उनीहरूका अनुसार आजसम्म त्यति कठिन तपस्या कसैले पनि गरेको थिएन । उनीहरूले उनको मनोकामना पूरा हुने र शिव पतिरूपमा प्राप्त हुने आशीर्वाद दिए । अब तपस्या छाडेर घर जान सल्लाह पनि दिए । उनको कथाबाट जीवनका कठिन संघर्षहरूमा पनि मनलाई विचलित गर्नुहुँदैन भनेर सिक्न सकिन्छ। 

३. दुर्गाको तेस्रो शक्तिको नाम हो चन्द्रघण्टा । यिनको उपासना गर्नाले साधकले मणिपुर चक्रको सिद्धि प्राप्त गर्छ भनिन्छ । उसलाई देवीको कृपाले अलौकिक वस्तुहरू दर्शन हुन्छ । उसले दिव्य सुगन्ध अनुभव गर्छ र कैयौँ खालका ध्वनि सुन्छ। 

यिनको मस्टकमा घण्टा आकारको आधा चन्द्रमा छ । त्यसैले यिनलाई चन्द्रघण्टा भनिएको हो । यिनको शरीर सुनझैँ चम्किलो छ । यिनका दस हात छन् । ती सबै खड्ग तथा अन्य अस्त्रशस्त्रले विभूषित छन् । यिनी सिंहमाथि सवार छिन् । यिनको भयानक ध्वनि सुनेर अत्याचारी दानवहरू काँप्छन् । यिनको आराधना गर्नाले वीरता र निर्भयता आउँछ । साथै सौम्यता र विनम्रता विकास हुन्छ। 

४. दुर्गाको चौथो रूप हो कुष्माण्डा । अण्ड अर्थात् ब्रह्माण्ड उत्पन्न गरेका कारण यिनलाई कुष्माण्डा भनिएको हो । जब सृष्टि थिएन र चारैतिर अन्धकार थियो, यिनै देवीले ब्रह्माण्ड रचना गरेकी थिइन् । त्यसैले यिनलाई सृष्टिको आदिस्वरूपा या आदिशक्ति मानिन्छ।

यिनका आठ भुजा छन्, त्यसैले अष्टभुजा पनि भनिन्छ । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमलपुष्प, अमृतपूर्ण कलश, चक्र, तथा गदा छन् । आठौं हातमा जपमाला छ । यिनको वाहन सिंह हो । यिनी सौर्यमण्डलभित्रको लोकमा बस्छिन्, जहाँ रहने क्षमता उनमा मात्रै छ । यिनकै तेजले सबै दिशा आलोकित छन् । ब्रह्माण्डका सबै वस्तु र प्राणीहरूमा यिनकै तेज व्याप्त छ । यिनको उपासना गर्नाले रोग र शोक नाश हुन्छ । आयु, यश, बल र आरोग्य प्राप्त हुन्छ । विधिपूर्वक पूजा गर्ने हो भने साधकले सूक्ष्मभावको अनुभव गर्न सक्छ। 

५. दुर्गाको पाँचाैं रूप हो स्कन्दमाता । स्कन्दकुमार कार्तिकेयकी माता भएकी कारण यिनलाई स्कन्दमाता भनिएको हो । यिनको कृपाले मूढ व्यक्ति पनि ज्ञानी बन्छ । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो भुजामा स्कन्दलाई काखमा समातेकी छिन् । तल्लो भुजामा कमलको फूल छ।

बायाँतर्फको माथिल्लो भुजा वरदमुद्रामा छ र तल्लो भुजामा कमलपुष्प छ । यिनी कमलको आसनमा विराजमान रहन्छिन् । त्यसैले यिनलाई पद्मासना पनि भनिन्छ ।यिनको उपासना गर्नाले साधकको मनको सबै इच्छा पूरा हुन्छ । भनिन्छ, कालिदासले रघुवंश नामक महाकाव्य र मेघदूतको रचना यिनकै कृपाका कारण गर्न सकेका थिए। 

६. दुर्गाको छैटौं रूपको नाम कात्यायनी हो । कात्य गोत्रमा प्रसिद्ध महर्षि कात्यायनले भगवती पराम्बाको उपासना गरेका थिए । उनले पुत्री प्राप्त होस् भनेर कठिन तपस्या गरेको फलस्वरूप भगवतीले उनको घरमा पुत्रीका रूपमा जन्म लिइन् । त्यसैले यिनलाई कात्यायनी भन्न थालियो। 

श्रीकृष्णलाई पतिरूपमा पाउनका लागि ब्रजका गोपिनीहरूले यिनकै पूजा गरेका थिए । यिनको स्वरूप अत्यन्त भव्य र दिव्य छ । सुनजस्तै चम्किली छिन् । यिनका चार भुजा छन् । दायाँतर्फको माथिल्लो हात अभयमुद्रामा छ र तल्लो हात वरमुद्रामा । बायाँतर्फको माथिल्लो हातमा तलबार र तल्लो हातमा फूल छ । यिनको वाहन सिंह हो । यिनको विधिपूर्वक उपासना गर्नाले परमपद प्राप्त हुन्छ। 

७. दुर्गाको सातौं शक्तिको नाम हो कालरात्रि । यिनको शरीर अँध्यारोजस्तै कालो छ । त्यसैले यिनलाई कालरात्रि भनिएको हो । यिनको रूप भयानक छ । कपाल छरिएका छन् । विद्युत् झैँ चम्किने माला धारण गरेकी छिन् । यिनका तीन तेत्र छन् । यिनको श्वासबाट अग्नि निस्कन्छ । यिनको उपासना गर्नाले निर्भयता प्राप्त हुन्छ । यिनको बायाँतर्फको माथिल्लो हातमा फलामको काँटा तथा तल्लो हातमा खड्ग छ । यिनको रूप भयानक भएपछि शुभ फल दिन्छिन् । 
यिनको स्मरण गर्नाले मात्रै असुरशक्तिहरू भाग्छन् । ग्रहहरूको बाधा हट्छ । हरेक प्रकारको भयबाट मुक्ति मिल्छ। 

८. दुर्गाको आठौं शक्तिको नाम हो महागौरी । यिनका सबै आभूषण र वस्त्र सेतो भएका कारण यिनलाई श्वेताम्बरधरा पनि भनिएको छ । शिवलाई पतिका रूपमा पाउन महागौरीले कठोर तपस्या गरेकी थिइन् । तपस्याकै कारण उनको शरीर कालो बन्यो । पछि उनको तपस्याबाट खुशी हुँदै ब्रह्माले शरीरलाई गंगाको जलले धोएर कान्तिमय बनाइदिए । त्यस बेलादेखि यिनलाई महागौरी भन्न थालियो । यिनको उपासना गर्नाले सबै पापबाट मुक्ति मिल्छ। 

९ दुर्गाको नवौँ रूप हो सिद्धिदात्री । नवरात्रि पूजाको नवौं दिन देवी सिद्धिदात्रीको उपासना गरिन्छ । शिवले पनि सिद्धिदात्रीको कृपाले सबै सिद्धि प्राप्त गरेका थिए । यिनकै कृपाले महादेवको आधा शरीर देवीको भएको थियो र अर्धनारीश्वरका नामले प्रसिद्ध भएका थिए । यिनको साधना गर्नाले लौकिक र पारलौकिक सबै प्रकारका कामना पूरा हुन्छन्। 

दसैंको कथा
श्रीराम रावणको राज्य लंकामाथि आक्रमण गर्ने तरखर गर्दै थिए । त्यसभन्दा पहिला उनले समुद्रतटमा नौ दिनसम्म देवीको पूजा गरे । यसरी पूजा गर्नका लागि ब्रह्माले उनलाई सल्लाह दिएका थिए। 

रावणले रामको पूजामा व्यवधान उत्पन्न गर्ने प्रयास गरे । उनी आफैँले पनि विजयप्राप्तिका लागि देवीको पाठ सुरु गरे । रावणले पाठ गर्न थालेको कुरा वायुदेवले रामको कानसम्म पुर्याइदिए । रामले त्यसलाई सहज रूपमा लिए।

रावणको यज्ञमा ब्राह्मणहरूको सेवा गर्ने बहानामा हनुमान बटुकको रूप बनाएर गए । त्यहाँ उनले सक्दो सेवा गरे । उनीबाट खुसी हुँदै यज्ञमा मन्त्रोच्चारण गरिरहेका ब्राह्मणहरूले उनीसँग इच्छा लागेको कुरा माग्न भने । हनुमानले ब्राह्मणहरूले उच्चारण गरिरहेको मन्त्रको अगाडिको अक्षर आफूले भनेअनुसार बदलिदिन अनुरोध गरे । हनुमानको चाल ब्राह्मणहरूले थाहा पाउनै सकेनन् । ब्राह्मणहरूले सोच्दै नसोची ‘तथास्तु’ भनिदिए। 

हनुमानले ‘जयादेवी... भूर्तिहरिणी’ मन्त्रबाट ‘ह’ को सट्टा ‘क’ उच्चारण गर्न भने । ब्राह्मणहरूले आफ्नो वचन हार्न सकेनन् र ‘भूर्तिकरिणी’ भनिदिए । प्राणीहरूको पीडा हर्ने खालकी ‘हरिणी’ को सट्टा पीडा दिने खालकी ‘करिणी’ हुन गयो । यस्तो मन्त्रोच्चारण देखेर रावणदेखि देवी रुष्ट भइन्।

यता रामले गर्न लागेको पूजा र हवनका लागि दुर्लभ एक सय आठ नीलकमलको व्यवस्था गरिएको थियो । रावणले आफ्नो यज्ञ सफल र रामको यज्ञ असफल पार्न विभिन्न षड्यन्त्र गरिरहेका थिए । उनले आफ्नो मायावी शक्ति प्रयोग गरेर रामले तयार गरेका नीलकमलमध्ये एउटा गायब पारिदिए । आफ्नो नीलकमल हराएको थाहा पाएपछि देवी रुष्ट होलिन् भनेर राम डराए । दुर्लभ नीलकमलको तत्कालै व्यवस्था गर्न सम्भव पनि थिएन। 

रामलाई मानिसहरूले ‘कमलनयन नवकञ्च लोचन’ भन्ने गर्थे । उनले त्यही सम्झे र आफ्नो यज्ञ पूरा गर्नका लागि आफ्नै एउटा आँखा अर्पण गर्न तयार भए । बाणद्वारा आँखा निकाल्नै लाग्दा देवी प्रकट भएर उनलाई रोकिन् र उनको त्याग देखेर खुसी हुँदै विजयप्राप्तिको आशीर्वाद दिइन्। 

नौ दिनको यज्ञ सकिएपछि दसौं दिन रामले लंकामाथि आक्रमण गरे । उनको आक्रमण सफल भयो । असत्यमाथि सत्य र अधर्ममाथि धर्मको जित भएको मानियो र खुसियाली मनाइयो । त्यसै बेलादेखि सुरु भएको हो दसैं मनाउने चलन। 

टीका लगाइदिँदा दिने आशिषः
आयु द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु र दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् । भगवान् रामको जस्तो शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत्त हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस्।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad