७ वैशाख २०८१ शुक्रबार
अन्य

हराउँदै पिङको रौनक

पिङ हाल्ने परम्रा घट्दै 
पहिलेपहिले गाउँ घर होस् या सहरबजार दसैंको बेला युवाहरुमा बाबियो कहिले काट्ने, पिङ कहिले हाल्ने भन्ने सल्लाह हुने गर्दथ्यो । एकहुल केटा क्लबमा होस् या चौरमा बसेर को–को बाबियो काट्न जाने कसकसले पिङ बाट्नमा सहयोग गर्ने भन्ने सल्लाह हुने गरेको पाइन्थ्यो । त्यति मात्र होइन । दसैंको सुरुवात भएसँगै घर–घर, टोलटोलमा चङ्गा उडाउने र पिङ खेल्ने प्रतियोगिता नै हुने गरेको पाइन्थ्यो । तर पछिल्लो समयमा यसको रौनक घट्दै गएको पाइन्छ।

दसैंको बेला यदाकदा पिङ लगाएको देखे पनि पहिलाको जस्तो पिङ खेल्नलाई न पालो कुर्नु पर्छ न पिङ खेल्ने ठाउँमा पिङ खेल्नका लागि मान्छेको भीड नै लाग्छ । कुनै समयमा पिङ बनाउनका लागि खुला ठाउँ, चौर, चोकमा युवाहरु जम्मा हुन्थे बुढापाकाले बाबियाको डोरी बाटेर पिङका लागि तयारी गरिदिन्थे र युवाहरुले लिङ्गे पिङ लगाउन बाँसहरु भेला बनाएर बिहानदेखि लागी पर्थे तर अहिले गाउँ घरमा कामका लागि विदेश जाने बाध्यताले गर्दा युवा पाउन मुस्किल भएको छ। 

गुल्मीका आयुष अर्याल अहिले काठमाडौंमा पढ्न बसेका छन् । दसैंको बेला अहिले गाउँमा रौनक घट्दै गएको बताउँछन् । सबै साथीहरु विदेश गएका कारण गाउँघरमा आफूसरहका साथीभाइ नभएकोमा दुःखेसो पोख्छन् । पहिला दसैं कतिखेर आउँछ र घर कतिखेर जाउ जस्तो हुन्थ्यो । गाउँमा गएर साथीहरु भेला भएर लिङ्गे पिङ हालिन्थ्यो । तर अहिले गाउँमा युवाहरु छैनन् । भएका पनि इन्टरनेटमा झुम्मिने मात्र गर्न थालेका छन् । त्यसैले दसैंको रौनक पूर्वतिर मात्र नभएर पश्चिमतिर होस् वा जतातजै अलि घटेको उनले बताएका छन्। 

रमाइलोका लागि पिङ
अरु समयमा भन्दा पनि दसैंका बेला पिङ हाल्ने र त्यो पिङ तिहारपछिसम्म खेल्ने चलन थियो, अहिले भने कहीँ कतै मात्र देख्न पाइन्छ । पिङ खेल्ने भनेको विशेषतः दसैंको समयमा हो । अरुबेला भन्दा पनि दसैंमा टीकाको दिन भुइँ छोड्नका लागि एकपटक पिङ खेल्नै पर्छ भन्ने मान्यता रहेको छ । दसैंको अवसरमा लिङ्गे पिङ खेल्ने संस्कृति नेपालमा मात्र पाइन्छ । धेरै जसोले भन्ने गरेका छन् पिङ रमाइलोका लागि खेल्ने हो तर शास्त्रमा भने दसैंमा पिङ खेल्नैपर्छ भन्ने कुरा उल्लेख भएको पाइँदैन । अहिले पिङ खेल्ने भनेको केवल रमाइलोका लागि मात्र हो भन्ने मान्यता गर्न थालिएको छ।

राजधानीका केही स्थानमा पनि पिङ लगाउने गरिएको छ । पशुपतिको सिर्जनशील युवा क्लब अगाडि लिङ्गे पिङ लगाउने गरेका छन् । पहिला–पहिला यो ठाउँमा पिङ खेल्नका लागि मान्छेहरु लाइन लागेर भेला हुने गर्थे । पछिल्लो समयमा फाट्टफुट्ट मात्र पिङ खेल्नका लागि भेला हुने गरेका छन् । टीकाको दिन केही मान्छे भुँइ छोड्नुपर्छ भन्ने मान्यताले गर्दा पिङ खेल्न आउँछन् । स्थानीय विवेक वैद्यले भने, ‘अरु बेला त मान्छे खासै हुँदैनन् । हिजो आज त पिङ बनाउन पनि अल्छी गर्न थालेका छन् । के गर्ने खेल्ने मान्छे भए पो सबैलाई जाँगर चल्छ।’ 

इन्टरनेटमा युवाको चासो 
सबै ठाउँमा इन्टरनेट सेवा पुगेपछि सामाजिक सञ्जालमा दसैंको शुभकामना दिन थालिएको छ । युवाहरुलाई दसैंको बेला पिङ हालेर, चङ्गा उडाएर रमाइलो गर्नुको सट्टा घरमा बसेर मोबाइलमा फेसबुक, युट्युव आदिमा फिल्म हेर्न सजिलो माध्यम भएका कारण दसैंमा पिङ हाल्ने, चङ्गा उडाउने जमात कम भएको हो । घरैमा सुतेर मोबाइलमा सबै कुरा पाउने भएपछि बाहिरी खेलको बारेमा युवाले खासै चासो नदिएको देखिन्छ । धेरै जसो युवा विदेश पलायन भएका छन् । गाउँमा भएका केही युवाले पिङ हाल्ने चङ्गा उडाउने बारेमा चासो दिन छाडेका छन् । बरु उनीहरु फुर्सदको समयमा इन्टरनेट चलाउने बस्ने गरेको पाइन्छ।     

पिङको इतिहास
पिङको सुरुवात कहिलेबाट भयो भन्ने यकिन तथ्यांक छैन ।  नेपालमा खेलिने रोटे पिङको सुरुवात नेपालबाटै भएको हो भन्ने भनाइ छ । नेपालमा पहिलाका मान्छेहरुले पिङका रुपमा काठमा खोपेर र काठका टुक्रालाई जोडेर दुई खम्बामा ठड्याउने गरेका थिए । रोटेसनमा घुम्ने भएकाले यो पिङलाई रोटे पिङ भन्ने गरिएको छ । पहिले–पहिले काठका रोटेपिङ हुन्थे भने अहिले आधुनिक र ठूलो रोटे पिङ बनाएर मेला पर्वमा शुल्क लिएर खेल्ने गरेका छन् । जुन पिङ शहरबजारमा राखिन्छ । त्यो रोटेपिङ खेल्नका लागि भने मानिसको भीड नै लाग्ने गर्छ । तर काठबाट बनाइएको रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको देखिन्छ ।

पिङलाई नेपालमा भन्दा भारतमा केही फरक तरिकाले हेरिने गरिएको छ । पौराणिक काल खण्डमा कृष्ण रोएको अवस्थामा उनलाई भुलाउनका लागि पिङ जस्तो बनाएर हल्लाइएको थियो । यसरी हल्लाएपछि उनी चुपचाप लागे र यसैको विकसित रूप नै पिङ हो भन्ने बुझाइ छ । यो परिमार्जन हुँदै लिंगे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो।

दसैंमा पनि ब्रत बस्ने चलन 
नेपालमा दसैंमा विभिन्न परिकारहरु खाने चलन छ । शरद ऋतुमा आउने नवरात्रलाई शारदी नवरात्र भनिन्छ । यतिखेर मौसम परिवर्तनको समय भएकाले यमराजको दाह्राहरू नजिक आएको हुन्छ भन्ने  भनाइ रहँदै आएको छ । यमराजको दाह्रा नजिक आएका कारण यो समयमा मानिसलाई विभिन्न रोगले आक्रमण गर्छ । यी रोगबाट जोगिनका लागि केही समुदायका मानिसले दसैंको नवरात्रमा व्रत बस्ने साँझमा मात्र एक छाक सात्विक भोजन गर्ने गर्छन् । यतिखेर व्रत बस्दा सात्विक भोजन गर्ने हुँदा स्वास्थ्यलाई पनि फाइदा हुने स्वास्थ्यकर्मीको भनाइ रहेको छ।

दसैंमा पिङ मात्र होइन, पिङसँगसँगै चङ्गा उडाउने परम्परा रहेको छ । संस्कृतिकै रूपमा विकसित भइसकेको चङ्गा उडाउने चलन बिस्तारै–बिस्तारै ओझेलमा पर्दै गएको देखिन्छ । चङ्गा उडाउने चलन नेवारी संस्कृति हो कि भन्ने गरिएको छ । तर पछिल्लो समयमा सबैले चङ्गा उडाउने गरेका छन् । रमाइलोका लागि चङ्गा उडाउने गरेको भए पनि यो एउटा संस्कृति नै बनिसकेको छ । नेवारी संस्कृतिसँग किन जोडियो भने पहिला–पहिला नेवारी बस्ती बढी भएको स्थानमा चङ्गा बढी उडाइन्थ्यो । पछि रमाइलो हुने हुँदा सबैले चङ्गा उडाउन थालेको भन्ने गरिएको देखिन्छ।

प्रकाशित: २ कार्तिक २०७५ ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App